Sunday, December 17, 2017

सत्ताभक्तिकाे तीनपुस्ते अनुभव

हजुरबाका पालामा
आजभन्दा करिब ८८ वर्ष पहिले चन्द्रशमशेरको अन्तिम अवस्था हुँदा सिंहदरबार बाहिर झोक्राएर कुरेर बस्नेहरू चन्द्रशमशेर बिते भन्ने सुन्नासाथ बुर्कुसि मारेर टंगाल दरबारमा पुगेर श्री३ महाराज भीम शमशेर की जय! भन्न पुगेका थिए अरे! त्यसको दुई वर्ष जति पछि फेरी तिनै मान्छे जाउलाखेल पुगेर श्री ३ महाराज जुद्धशमशेर की जय! भन्न पुगे अरे! पछि तिनै मान्छे सातसाल तिर परिवर्तन पक्का भएपछि इन्कलाब जिन्दावाद भन्दै दगुरेको पनि देखियाे अरे। 


बाका पालामा
सत्रसालमा राजाले सत्ता लिँदा रातारात धेरै कांग्रेसीहरू राजा जिन्दाबाद भन्दै पञ्चायत प्रवेश गर्ने चलन चल्यो । छत्तीस सालको जनमत संग्रहमा सुधारिएको पंचायतले जितेपछि विराेधीहरूलार्इ अराष्ट्रिय तत्त्व, विदेशिकाे बुइ चढेकाे अादि भनिन्थ्याे भने राजाकाे भ्रमण र पञ्चभेलाकाे रेडियाेमा प्रत्यक्षप्रसारण हुन्थे ।  निर्विकल्प पञ्चायती प्रजातन्त्र, देश र नरेश, राष्ट्रियता र राजमुकुट भन्दै भजन स्तुति लेख्ने, गाउने दरबारका तथा अञ्चलाधीशका ढोकामा नित्य हाजिर चढाउनु जीवनपद्धति थियाे। 

ठुल्दाजुका पालामा
२०४६ सालमा बहुदल आएपछि र २०४८ सालमा कांग्रेसको बहुमत आएपछि पञ्चायतमा राजारानीको जय जय भन्दै हिँड्नेहरू पनि 'जय नेपाल' भन्दै फलाना दाजु र फलानी भाउजु भन्दै दगुरेको देखियो । अल्लि पछि गठबन्धनकाे प्रचलन अायाे, जुन पृष्ठभूमिबाट अाए पनि सत्ता साझेदारी गर्न काेहि कसैसित बाधा भएन । तेस्राे हाेस् कि चाैथाे दल, प्रम उपप्रम हुन बाधा भएन । शक्तिमा हुनु मात्रै पर्‍यो पूजा भइहाल्ने । "हलाे कमरेड जय नेपाल" भनेजस्ताे बेला  थियाे त्याे । पार्टी अफिसहरू मन्दिर बने। भक्तहरूको लेखो पाखो भएन । 
६२/६३काे अान्दाेलनमा पाेखरा रत्नचाेकमा कर्फ्यु ताेड्ने क्रममा

मेरा पालामा
६२/६३ पछि गणतन्त्रवादीहरू ह्वात्तै बढे । राजाले सत्ता हातमा लिँदा समर्थन गर्नेहरू अब राजतन्त्र टिक्दैन भनेपछि गणतन्त्रका संवाहक बने । २०६२/६३ कै अान्दाेलनमा जुलुसमा हिँड्दा एकजना 'कम्युनिष्ट बहिनीले सर्वहारा भनेकाे के हाे दार्इ ? भनेकाे र  राजनीतिमा सक्रिय नै रहेका एकजना दाजुले संघीयता भनेको के हो भाई? भनेर सोधेको हिजै जस्तो लाग्छ । १९ दिने आन्दोलन पछि सँगै जुलुसमा हिँडेको साथीले अबीर घस्न ल्याउँदा मैले साँच्चैको जनताको जीवनमा फरक ल्याउने परिवर्तन भएकै छैन भनेर अबीर घस्न नमानेको पनि हिजै जस्तो लाग्छ ।

हुन पनि अहिले पनि बुढानीलकण्ठ दरबार, लाजिम्पाट दरबार र बालकोट दरबार राणाकै द्वारको स्वरूपमा छन् । मेरा बालकोट निवासी एकजना मित्रको ट्विट मार्फत् अहिले सुन्दैछु वहाँकाे छिमेकमा भीड बाक्लिँदै छ अरे!

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह