Sunday, July 15, 2018

भगवद्गीता र विश्वकप फुटबल २०१८ (छन्द कविता पाठ सहित)

श्रीमद्‌भगवद्‌गीता द्वितीय अध्याय (विश्वकप फुटबल २०१८ विशेष-१)



अकीर्तिं चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।
संभावितस्य चाकीर्ति मरणादतिरिच्यते ।।३४

अवाच्यवादांश्च बहून्वदिष्यन्ति तवाहिता:
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम् ।।३६

सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८

अर्थ:
(जब पेनाल्टि मिस हुनेछ) तब सबैले त्यसैको चर्चा गरेर अपयश फैलाउने छन् । पहिला (लिगमा उत्कृष्ट खेलेर) बनाएको नाम बदनाम हुँदा मरेतुल्य भन्दा पनि नराम्रो हुनेछ ।। ३४

(फेसबुक ट्विटर आदिमा) धेरैले दुर्वाच्य बोल्नेछन् । (लाजमर्दा मिमहरू बनाउनेछन्, उत्कृष्ट खेलाडिहरूको ) सामर्थ्यको ('गल्लीको टोलीसँग पनि जित्न सक्दैन' आदि भन्दै) निन्दा गर्नेछन् । त्यो भन्दा दुःखपूर्ण के होला ।। ३६

तर (मेसी, रोनाल्डो, नेमार, मुलर आदि खेलाडीहरू हो! ) सुख र दुःखलाई बराबर मानेर (यसबाट कत्ति प्रभावित नभैकन, तिमीहरू) यस (फुटबलको) युद्धमा लाग, यसरी लागेमा नै तिमी(हरू)लाई पाप (कलङ्क) लाग्नेछैन ।।३८

श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष-२)

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रम:
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।। २। ६२-६३ ।।

अर्थ:
(फुटबल आदि) इन्द्रियका विषयको (सेवन) चिन्तनले तिनमा ( र त्यो खेल खेल्ने टोलीप्रति) आशक्ति पैदा हुन्छ। आशक्तिले गर्दा (ती टोलीले जितोस् भन्ने) कामना पैदा हुन्छ । कामना पूरा नहुँदा क्रोध पैदा हुन्छ । क्रोधले गर्दा आँखै नदेख्ने हुन जान्छ । आँखै नदेखे पछि मति भ्रमित हुन जान्छ । भ्रमित मति भएकाको बुद्धिनाश भएर जान्छ।  (र मान्छेले सामाजिक सञ्जालमा अनापशनाप लेख्न थाल्छ।) र बुद्धिनाश भएपछि अन्त्यमा त्यस्ता  मान्छेको (मान, व्यक्तित्व) नाश भएर जान्छ ।



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष-३)

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्य: स मे प्रिय:।। १२।१७ ।।

अर्थ:
(हे फ्यानहरू हो! ) जो (फ्यानहरू, पेनाल्टी गोल हुँदा वा रोकिँदाका कारणले ) न हर्षित हुन्छन् न त (स्ट्राइकर वा कीपर प्रति) द्वेष नै गर्छन् । न त (गोल हुँदा वा रोकिँदा) कुनै शोक नै गर्छन् , न त  (गोल भइदिए वा रोकिए हुन्थ्यो भन्ने) कुनै कामना नै गर्छन् । त्यस्ता शुभ र अशुभ सबै कर्मका त्यागी (खेललाई नितान्त खेलकै रूपमा लिएर आनन्द लिनसक्ने ) भक्तियुक्त व्यक्तिहरू नै (सच्चा खेलप्रेमी फ्यान भएकाले) मलाई प्रिय छन् ।



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष -४)

तस्मात् सर्वेषु कालेषु मामनुस्मर युद्ध्य च ।
मय्यर्पितमनोबुद्धिर्मामेवैष्यस्यसंशयम् ।। ८।७।।

अर्थ:
(म्याराडोना मेसीलाई भन्छन्:) त्यसैले (हे मेसी,) सबै समयमा मलाई नै सम्झिय, (मैले आफ्नो जमानामा कस्तो खेल्थेँ, त्यो याद गर) र (फुटबलको मैदानमा डटेर) युद्ध गर । ममा (र मेरै खेलमा) मन र बुद्धि लगायौ (र खेल्यौ) भने नि:सन्देह तिमीले (आफ्नो खेलमा पनि) मलाई नै पाउनेछौ । :-P



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष -५)

वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा-
न्यन्यानि संयाति नवानि देही ।।२।२२।

अर्थ:
जसरी (हारेका टोलीका जर्सी आदि) पुराना वस्त्र त्याग गरेर (फुटबल फ्यान) मान्छेले (नकआउट चरणमा प्रवेश गरेको टोलीको) नयाँ (जर्सीरूपी) वस्त्र धारण गर्दछ (र रिसको झोँकमा फुटाएको सीआरटी टिभी त्याग गरी नयाँ एलसीडी टिभी किन्दछ) त्यसैगरी आत्माले पनि पुरानो शरीर त्याग गरी नयाँ शरीरधारण गर्दछ । :-)



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष-अन्तिम)

नष्टो मोह: स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत ।
स्थितोऽस्मि गतसन्देह: करिष्ये वचनं तव ।। १८-७३

अर्थ:
हजुरका कृपाले मलाई (यो विश्वकपको) मोह नष्ट भएको छ । मैले स्मृति पाएको छु । अब संशयरहित भएर हजुरले भने जस्तै (फुटबल फुटबल भन्दै काम नष्ट गर्न छाडेर) म संसारका सारा आफ्ना कर्तव्यहरू पालन गर्नेतर्फ लाग्दछु ।

अन्त्यमा विश्वकप सम्बन्धी एक छन्द कविता







धेरै पढिएकाे

पृष्ठ संग्रह