Wednesday, May 8, 2019

अनिद्राको धङधङी र आँधीको मनोरम नृत्य


 ‘बाथटब’को ह्याङओभर सकिएको छैन ।

हो, ‘बाथटब’को पुनर्जन्म पटक–पटक भइरहन्छ । अर्थात् नाटकको पुनर्जन्म । किनकि प्रत्येक नाटकहरू अघिल्ला नाटकका पुनर्जन्म हुन् । प्रथम हुन् अनि अन्तिम पनि । यो नै चक्र हो । चक्र अर्थात् अनन्तता । अनन्तता अर्थात् पुनरावृत्ति । यो पुनरावृत्ति यसपटक ‘आँधीको मनोरम नृत्य’का रूपमा भयो ।

‘बाथटब’ हेर्न मैले कसैका आँखा सापट लिनु परेको थियो भने ‘आँधीको मनोरम नृत्य’ हेर्दा मसितै बसेका अनिद्रा र निःशब्द शमशेरका गरेर तीनजोर आँखा भए । अनि शिल्पी रंगमञ्चको गोठाले नाटकघरमा उपस्थित अनेक आँखाहरू मेरै आँखा भए । सिरियल किलर र नगरकोटीले भने सुटुक्क अघिल्लै दिन नाटक हेरेछन् । त्यो दिन तिनका आँखा अन्तै छुटिगए ।

त्यो दिन अनिद्रासित मेरो अपोइन्टमेन्ट थियो । नाटक हेर्ने योजना थिएन । शायद अनिद्रालाई भेटेर म फर्किन्थें होला किनकि मलाई टाढा पुग्नु थियो । तर, त्यो दिन मलाई शिल्पी जानु रहेछ । अनिद्राको योजनामा मलाई पनि समाविष्ट हुनु रहेछ । तर, नाटक हेर्नुअघि हामी भेट्यौं । छोटो भेटमा पनि अनेक कुरा गर्न भ्यायौं । त्यही दिन पहिले अनिद्राको स्कुटर बिग्रिएको थियो । अनि त्यसपछि उनको ट्याक्सी भीमसेनगोलाको अनन्त जाममा फसेको थियो । तर, अन्ततः उनी आएकी थिइन् ।

कुरा छन्दको चल्यो अनि जीवनको । प्रेमको अनि पीडाको । कतिपय अति भौतिक लाग्ने र कतिपय अति आध्यात्मिक सुनिने बातसमेत भएछन् ।

“हामी एउटा कम्बाइन एन्थलजी गरम् न !”

“तर, लेट्स् टेक टाइम ।”

“हो जीवनका डेडलाइनहरू हास्यास्पद हुन् ।”

“नो एक्सलरेसन, नो रिटार्डेसन ।”

“जबसम्म कर्म ध्यान हुन्छ, तबसम्म ठीक छ । जब ढकोसला हुन खोज्छ, बेकार !”

“बालककालका अनुभवहरू शक्तिशाली हुन्छन् । हाम्रो आत्मालाई भित्रैसम्म बेरेर राख्न सफल हुन्छन् ती अनुभव !”

हामी बात गर्दै गयौं । मैले उनको छन्द गायनको प्रत्यक्षदर्शी मेरा मित्रहरूले गरेको प्रशंसा पनि सुनाउन भ्याएँ । उनले पनि छन्द गायनमा आफूलाई अलौकिक आनन्द मिल्ने बताइन् ।

“विचरति मृड इह नीरसग्रीष्मे
कलहान्तरितानामतिभीष्मे…”

(कलहान्तरिता अर्थात् बिनाकारण प्रेमीसित रिसाएर बिछोडिएकी नायिकाहरूका लागि अत्यन्त भयानक यस निरस ग्रीष्म ऋतुमा भगवान् शंकर कैलाश शिखरको वारिपारि यसै घुमिरहेका छन् ।)

म गुनगुनाउँदै थिएँ । म मुस्कुराउँदै थिएँ । तर, शायद यसका रचनाकार स्वर्गवासी कविरत्न कृष्णप्रसाद घिमिरेलाई मैले गुनगुनाएको मन परेन । उहाँले महाकवि जयदेवको ‘गीतगोविन्द’को शैलीमा लेख्नुभएको गीतिमहाकाव्य ‘गौरीगिरीशम्’बाट थियो त्यो गीत । ‘गीतगोविन्द’जत्तिकै अद्वितीय । उत्तिकै अद्भूत ।

“यसलाई न्याय गर्न भूषिता वशिष्ठले गाउनुपर्छ,” मैले भनें । शायद मनोयोगपूर्वक उनले यो गाएको दिन म पुनः मुस्कुराउनेछु ।

प्रसंग बदलियो । शास्त्रीय नृत्यमा रस छ । अनि उर्दू कवितामा पनि । उनलाई फैज पढ्नु छ । मलाई अहमद फराजको मुहाशरा अनुवाद गर्नु छ । करिब दुई वर्षदेखि म प्रयासरत छु तर चार पंक्ति पनि चित्त रमाउने गरी बनेको छैन ।

मैले उनलाई अहमद फराजको मुहाशराको शुरुवाती अल्फाज सुनाएँ—

“मेरे गनीम ने मुझ को पयाम भेजा है
कि हल्काजन है मेरे गिर्द लश्करी उस के
फसील ए शहर के हर बुर्ज हर मिनारे पे
कमाँ ब–दश्त सितादा है अश्करी उस के”

(मेरा शत्रुले मलाई सन्देश पठाएका छन् कि मलाई चारैतिरबाट उनका सैनिकले घेरिसकेका छन् । शहरबाहिरको पर्खालका हरेक बुर्जा र मचानमा उनका सैनिकहरू धनु तानेर बसेका छन् ।)

“कडा उर्दू छ यसमा,” म भन्दै थिएँ । यस्तैमा भूषिता अर्थात् अनिद्राको फोन बज्यो । पल्लोपट्टि शायद निःशब्द शमशेर थिए । हामी उठ्यौं ।

नाटक शुरु हुन केही समय बाँकी थियो । हामी शिल्पी छि¥यौं । अनिद्रालाई निःशब्द शमशेरले स्वागत गरे । छेवैमा घिमिरे युवराज थिए । मैले सुस्तरी ‘नमस्ते, म फलानो’ भनें । घिमिरे युवराजले विस्फारित नेत्रले मलाई हेरे ।

“गज्जब, नाटक हेर्न आइदिनुभएकोमा धन्यवाद,” मलाई अँगालो मारेर यसो भन्दै गर्दा उनी औपचारिकभन्दा पनि वास्तविक सुनिएका थिए । कम्तीमा मलाई त्यस्तो लाग्यो । शब्द र चित्रबाट मात्र सम्बन्धित हुनुभन्दा सशरीर भेटिनुको उमंग छुट्टै हुँदो रहेछ ।

हामी नाटकघरभित्र छि¥यौं । केही क्षणमै नाटक शुरु भयो । मञ्चमा शिशुकक्षाका विद्यार्थीहरू चढ्ने बसको दृश्य तयार भयो । युवा कलाकारहरूले गजब प्रभाव पारे । छिनमै ती हुर्के, अल्लि ठूला भए । नाटकको दृश्य बस अनि कक्षाकोठा अनि फेरि कक्षाकोठा अनि बस गर्दै अघि बढ्यो । अल्लि पछि सरकारी कार्यालय र जागिरेको घरसम्म दृश्य स¥यो ।

सीमित साधनहरूमा तयार गरिएको भए पनि सेट प्रभावकारी लाग्यो । बस र कक्षाकोठामा बस्ने आसनका रूपमा, घरको टेबलका रूपमा, स्कुल ब्याग वा शिक्षणपद्धतिको भारको प्रतीकका रूपमा तथा अफिसका फाइलको रूपमा समेत फोल्डिङ स्टुलको प्रयोग गजब थियो । चल्तीका अंग्रेजी गीतमा विद्यार्थीहरूका नाच जमे । प्रिन्सिपलले शिक्षकहरूलाई परिश्रम गराएको प्रतीकात्मक दृश्य पृथक् देखियो ।

सौभाग्य सिंहको प्रिन्सिपलसुलभ कठोरता, सौरभ कट्टेलको विदूषक चरित्रको शिक्षकको भूमिका, आमा र हजुरआमाको स्वरूपकी पवित्रा खड्का र मञ्जु श्रेष्ठको भावभंगिमा उल्लेखनीय थिए । कर्मचारी बनेका कलाकारको परिपक्वता र विद्यार्थी बनेका कलाकारको परिश्रम स्पष्ट झल्किएको थियो भने संगीता उराँव र निस्सिम श्रेष्ठले आ–आफ्नो चरित्रद्वारा विशेष मन जिते ।

बीच–बीचमा छुटेको अनिद्राको उन्मुक्त हाँसोले नाटक हेरेको मजालाई दुगुना गरिरहेका थिए । धन्न नाटक शुरु गर्दा नियम बताउन आएका घिमिरे युवराजले ‘कुरा गर्न पाइँदैन’ भने पनि हाँस्न पाइँदैन भनेका थिएनन् ।

शिशुकक्षाका विद्यार्थीदेखि किशोरावस्थाका विद्यार्थीसम्मका र तिनका शिक्षक तथा अभिभावकका समेत अनुभव र मनोविज्ञानलाई नाटकमा खोतलिए । समाजका पेशाकर्मीमध्ये सरकारी कर्मचारी, शिक्षक तथा प्रिन्सिपल; घरभित्रका परिवारका सदस्यहरूमा आमा, हजुरआमा, बाबु, छोरी तथा छोरा; किशोरावस्थाका तथा वयस्क मित्रलगायतका भिन्न–भिन्न चरित्रहरू नाटकमा मिहिन तरिकाले देखाइए । विद्यालयका शिक्षक र प्रिन्सिपल तथा शिक्षक र विद्यार्थीबीचको सम्बन्ध, किशोरावस्थाको कुलत तथा विपरीतलिंगीप्रतिको आकर्षण, सरकारी कार्यालयको कार्यसंस्कृति, घरपरिवारका विभिन्न पुस्ताका व्यक्तिहरूको रूचिको भिन्नता, घरमा मदिरा सेवन गर्ने÷गराउने प्रचलन, घरकी छोरीप्रति पाहुनाको दुव्र्यवहार, कलिलो उमेरको प्रेम सम्बन्धले ल्याउने परिणामलगायतका समाजका अनेक पक्षका घटनाक्रम र यसले सम्बन्धित पात्रहरूमा पार्ने भौतिक तथा मानसिक प्रभावलगायतका विषयवस्तुसमेत नाटकमा छरितो रूपमा उजागर गरिए ।

१ घण्टा २० मिनेट एक झमटमा बित्यो । नाटक समाप्त भयो । निःशब्द शमशेरले बिस्तारै अघि बढेर मञ्चमा रहेको ‘बाथटब’ निस्कने तहखानालाई नमन गरे, सुमसुम्याए । अनि हामी सबै गएर नाटकमा प्रत्यक्ष संगीत तथा गायन प्रस्तुत गर्ने कलाकारहरूलाई भेट्यौं । मैले स्मारिका फुयाँललाई नमस्कार गरेँ अनि भनें, “यहाँको स्वर साह्रै सुमधुर छ !”

अनि बिस्तारै हामी निस्क्यौँ । दिन रमाइलो बित्यो !

हो, हामी कसैलाई भेट्छौं अनि भेटेपछि ताजा अनुभव गर्छौं, प्रेरित हुन्छौं वा अनन्तमा उडे–उडे जस्तो अनुभव गर्छौं भने यस्तो भेटको गजब आनन्द हुन्छ । अनिद्रासितका हरेक भेट यस्तै हुन्छन् ।

शायद यही नै ‘आँधीसितको मनोरम नृत्य’ हो !

Friday, May 3, 2019

छेस्को (कथा)

‘साहुजी एक कप कालो चिया दिनुहोस् त !’
मैले अर्डर गरेँ ।
‘हस् लेमन टी बनाइदिम् कि सादा ?’
साहुजीले सोधे ।
‘कागती छ भने लेमन टी नै बनाइ दिनुहोस् न त !’



मेरो जबाफ राम्ररी झर्न पाएको थिएन, साहुजीको ‘हस्’ हावामा तरङ्गित भयो । साह्रै फरासिला र मिजासिला स्वभावका थिए साहुजी । सानैमा गाउँकै लाहुरेहरूका साथ लागेर भारत पसेका साहुजीले आफ्नो जीवनको करीब बीस वर्ष भारतका इलाहाबाद, नयाँ दिल्ली, बम्बई आदि शहरहरूका होटलमा सानो तिनो काम गरेर बिताएका थिए । पछि भारतमा देखे सिकेको शीपका आधारमा स्वदेश फर्केर पोखरामा आफ्नै गाउँको नाममा ‘मर्स्याङ्दी खाजा पसल’ खोलेका थिए उनले । मसला चिया, बदाम हालेको समोसा र आलु पराठामा उनको विशेष दख्खल थियो ।

चिया अर्डर गरेपछि म ‘मर्स्याङ्दी खाजा पसल’ को आँगनको छेवैमा राखिएको बेन्चमा टुसुक्क बसेँ । जसरी त्यो बेन्चमा म मेरो चार बर्षे स्नातक तहको विद्यार्थी जीवन भरीमा करीब तीनहजार घण्टा जति बसेँ हुँलाँ । शायद यो मेरो जीवनकै सबैभन्दा धेरै क्रेडिट आवरको कक्षा थियो । सामाजिक शिक्षा विषयको । जीवनका अनेक आरोह, अवरोह र समाजको प्रवाह मैले त्यसै बेन्चमा बसेर सिकेँ । नियमित भेटिने करीब पचास साठी साथीभाइका अतिरिक्त पनि सयौँ मान्छेसित प्रत्यक्ष सम्बन्ध मैले त्यहीँ बनाएँ । झरी होस् या बादल म हरेक दिन एकपटक त्यहाँ पुगेकै हुन्थेँ । परीक्षाका व्यस्त दिनहरूमा समेत म कम्तीमा एक घण्टा त्यहाँ बसेकै हुन्थेँ, जतिबेला त्यहाँ विद्यार्थीहरू नगण्य मात्रामा भेटिन्थे । 

मैले नियमित चिया खाने पसल थियो त्यो । मैले गलत भनेँ । वास्तवमा भन्नु पर्दा सामान्यतः म चिया खान्नथेँ । म त्यसै बिना काम पनि साँझ बिहानको रमझम हेर्न वा साथीहरूसित गफिन त्यहाँ जान्थेँ  ।  यसै पनि त्यो पसल मेरा मित्रहरूको आकाश पाताल जोडेर गफ गर्ने अखडा थियो । कलेजको गेटको करीब बीस मीटरमै अवस्थित उक्त चियापसल मेरा मित्रहरूको चिया, खाजा खाने मुख्य थलो मात्रै नभएर ‘कुन विषय कति गाह्रो वा सजिलो छ?, कुन विषयको नोट कसले सबैभन्दा राम्रो बनाएको छ? कसको परीक्षा कति राम्रो वा झुर भयो’ भन्ने छलफल गर्ने थलो समेत थियो । त्यहाँ पढाइका अतिरिक्त ‘कलेजमा आन्दोलनका योजना गर्ने, आन्दोलनको शान्तिपूर्ण अवतरणको रोडम्याप तयार गर्ने, फलाना टीचरको कक्षा बहिष्कार गर्ने, फलाना केटीको त फलाना केटासित चक्कर चलीरहेको छ भन्दै कुरा काट्ने, फलानो किताब पढ्यौ?, अहिले कुन सिनेमा लागीरहेको छ ? फलाना राजनीतिक नेता यस्तो उस्तो’ भन्ने जस्ता गफ पनि बढाइ चढाइ हुन्थ्यो ।  त्यहीँ चिया खाजा खाएर धेरैका सम्बन्ध जोडिए । कतिका तोडिए पनि । नजिकै मालपोतको कार्यालय थियो । त्यसो हुँदा त्यहाँ मालपोतका कर्मचारी, किसिम किसिमका सेवाग्राही र चतुर बिचौलियाहरू समेत खाजा खान आउँथे । यसले गर्दा मेरो समाजिक शिक्षाको ज्ञानको दायरा अझै फराकिलो बनेको थियो ।

मैले चिया नखाए पनि यस्ता प्रकारका हरेक छलफलमा म सक्रिय भएर भाग लिन्थेेँ।  मेरा तर्क वितर्क र कुतर्क समेत सुन्न पनि त्यहाँ मेरा मित्रहरू अटूट रूपमा उपस्थित हुने र उनीहरूको बसाइले त्यहाँ चिया, खाजा, चुरोट र अन्य पदार्थसमेतको निरन्तर बिक्रि हुने हुनाले साहुजी म प्रति उति कडा थिएनन् अर्थात् उठेर जाऊ भन्थेनन् । साहुजीले मलाई मायै गरेका हुन् अन्यथा त्यहाँ त्यत्तिकै घोसेमुण्टो लगाएर बसेर वातावरण धमिलो बनाउने विद्यार्थीहरूलाई साहुजीले नमीठो गाली गरेर पठाएको सम्झना मलाई अझै ताजै छ ।

‘अमेरिकाको न्यूयोर्कमा भएको आक्रमणको पृष्ठभूमि, इराकमा भएको नेपालीहरूको हत्या, अफगानिस्तानको तोराबोराका पहाडका निवासीहरूको जीवनशैली, पाउलो कोहेलोको अल्केमिस्टको पात्रका मनका चलेको विचार, नेपालको आगामी राजनैतिक व्यवस्थाको हुनुपर्ने स्वरूप, रामगोपाल वर्माको आग किन चलेन ? ग्वान्तानामो बे र अबु घ्राएब जेलको अवस्था, नेपालका विश्वविद्यालयको शैक्षिक सुधार’ आदि विषयमा म र मेरा मित्रहरूले त्यही चियापसलका बेन्चमा बसेर प्रस्तुत गरेका कार्यपत्र र ती माथिका विवेचनात्मक टिप्पणीहरूकै भरमा मेरो आजसम्मको सामान्यज्ञान चलीरहेको छ ।

‘परिवारका सदस्य बीचको जग्गा विवाद कति भयानक हुन्छ ?, कीर्ते कागज बनाएर जग्गा कसरी लट्टीपट्टी पार्न खोजिन्छ?, बहुविवाह भएको परिवारको अंश विवाद कुन हदसम्म तन्किन्छ?  खेतलाई खोला र खोलालाई खेत कसरी बनाइन्छ ? जग्गा खरीद बिक्रि तथा अंशबण्डामा लाग्ने कर कसरी छल्न सकिन्छ? आदि अनेक विषयका लम्बेतान कथादेखि बढ्दो उमेरमा देखा पर्ने विभिन्न शारीरिक र मानसिक समस्या र तिनका घरेलु निराकरणका उपायहरू’ सम्मका बारे समेत मैले त्यहीँ बसेर जानेको हुँ । अब मलाई सानोतिनो जग्गा विवाद सल्टाउन र अधबैंशे हुँदै जाँदा आफूलाई हेरचाह गर्न पनि कुनै पीर छैन ।

तर म आज एक अलग्गै दिनको कथा भन्दैछु । जसको सम्बन्ध माथि उल्लेख गरिएका ज्ञान र सूचनाभन्दा बिलकुलै भिन्न छ । जुन दिन घटित बोधले मेरो बाँकी जीवनलाई नै नयाँ दिशा दिन सफल भयो । त्यो दिन घटेको घटना मेरो जीवनमा एक विशिष्ट अनुभवको  रूपमा आजसम्म पनि रहेको छ । मेरो जीवनमा त्यस्तो दिन यस अघि र यस पछि पनि कहिल्यै आएन ।

हो त्यो दिन जुन दिन मेरो ऊसित अलौकिक रूपमा भेट भयो ।

त्यो भेटले मेरो त्यसपछिको जीवनको दिशा  नै मोड्न सफल भयो ।  त्यो बेला हाम्रो कलेजमा परीक्षा चलीरहेको थियो । निःसन्देह परीक्षाका दिनहरूमा त्यो चियापसलको बेन्चमा बस्ने हामीहरू नगण्य हुन्थ्यौँ । त्यो दिन म एक्लै थिएँ । चिया अर्डर गर्ने कोही थिएनन् । त्यसैले साहुजीलाई ठिक्क पार्न मैले नै कालो चियाका अर्डर गरेको थिएँ । हो त्यही दिन जुन दिन मेरो ऊसित भेट भयो ।

‘ल लिनुहोस् चिया, कागती लागेको छैन भने भन्नुहोस है !’ साहुजीको आवाज सुनियो ।

मैले चिया समाएँ  र हल्का चुस्की लिन लागेँ । चिया च्वास्स पोल्दो थियो । सामान्यतया चिया नखाने हुँदा मलाई चिया तात्तातै सुर्काउने अभ्यास छैन । म चिया खानै पर्दा चियालाई आरामसित सेलाउन दिन्छु । अनि घुटुघुटु पिउँछु । तर त्यो दिन भने किन हो म तात्तातो चिया चुस्की लिई लिई पिउन लागेको थिएँ ।

अचानक मेरा आँखा टेबलमुनि उत्तानो परेर पल्टिएको ऊमाथि परे ।

मानौँ लामो परिश्रम पछि थाकेर पल्टेजस्तै थियो ऊ । व्यस्त चौबाटोको सडक किनारको चमेनाघर अगाडी राखिएको  टेबलमुनि  ऊ  कताबाट आएर पल्टन पुग्यो अचम्मको कुरा थियो । म भने आँपूm सँधै बस्ने बेन्चमा बसेर चिया खाँदै थिएँ ।  चोकमा भैरहेको गतिविधिमा नजर दिँदादिँदै मेरो ध्यान अचानक ऊमाथि परेको थियो । निःशब्द, असहाय र धूलोले ढाकिएको थियो ऊ ।  एकमन त लाग्यो गएर उठाउँ तर अर्को मनले भन्यो ऊ लडेको हैन सुतेको हो, उसलाई विश्राम गर्न देऊ । दोस्रो मनले जित्यो । अतः न मैले उसलाई सुमसुम्याउन नै सकेँ न त आँफू त्यहाँबाट उठेर अन्यत्र जान नै सकेँ ।

म चियाको चुस्की लिईरहेँ ।

बेलाबेलामा मेरो ध्यान सडकमा गुडीरहेका गाडीहरूमा जान्थ्यो भने बेलाबेलामा मेरो ध्यान त्यहाँ ओहोर दोहर गरीरहेका मानिसहरूमा जान्थ्यो । तर एकैछिनमा मेरो ध्यान फर्केर उसैप्रति आउँथ्यो। यसरी नै केही मिनेट बित्यो । मैले चिया पिएर सकेँ । तर न त ऊ उठ्यो न त म नै उठेर जान सकेँ । मलाई उसको उपस्थितिले तानीरह्यो । गजबको आकर्षण थियो उसमा । शायद उसमा आकर्षण भन्दा पनि म नै ऊ प्रति ज्यादा तानिएको थिएँ । निःशब्द, अचल लडीरहेको उसलाई अपलक हेरीरँहदा मलाइ एकप्रकारको अलौकिक आनन्दको अनुभूति भइरहेको थियो । मलाई मेरो मस्तिष्क नै शून्य शून्य हुँदै आएजस्तो लाग्यो । म कहाँ थिएँ? वा को थिएँ? मलाई खासै होश हुन छाड्यो । उसो त अरुबेला वरपरका मान्छेहरू नबोल्दा पनि  ‘यिनीहरू मनमा पक्कै यही सोचेर बसेका होलान्' भनेर कल्पना गर्ने मान्छे म त्यस घडी मेरो वरीपरी को थिए वा तिनीहरूले के भने भन्ने समेत सोचीरहेको थिइन । म त केवल उसैलाई अपलक हेरीरहेको थिएँ ।

अचानक त्यो टेबलको छेउमा दुइजना मानिसहरू आए । शायद मालपोत कार्यालयमा आएका सेवाग्राही थिए । उनीहरू आरामले छेवैको कुर्सीमा बसे । तिनीहरूले ऊ त्यसरी टेबलमुनि लडेको पत्तै पाएनन्, मानौँ ऊ त्यसरी त्यहाँ लड्नुले उनीहरूलाई कुनै फरक परेको थिएन । अझ ती मध्ये एकले त उसलाई लात्तो पनि लगायो । आँफूमाथि लात्तो लाग्दा पनि उसलाई मेसो भएन । प्रतिक्रिया विहीन थियो ऊ । न त लात्तो हान्नेलाई नै त्यहाँ कुनै अपराधबोध भयो । ‘हरे कति संवेदनाहीन छन् मान्छेहरू !’ मेरो एक मनले भन्यो । तर उत्तिखेरै अर्को मनले जबाफ दियो ‘तैँले पो के गरिस् र खै ? खाली तमाशा हेरेर बसेको त छस् ।’ हुन पनि मैले पनि केही गरेको त थिइन नि ? म निश्चल भएर उसैलाई हेरी मात्रै रहेको थिएँ । ती मानिसहरू कुरा गर्दै थिए । मेरा कानले तिनको वार्तालाप सुने पनि आँखा भने उसैमाथि गाडीएका थिए ।

ती मानिसमध्ये एकजनाले भन्दै थियो ‘जीवन कति सस्तो भएको छ  हिजोआज कसैको जीवन प्रति कसैलाई कुनै मतलब नै छैन। सबैलाई आफ्नैमात्र ध्याउन्न छ । अरुको बारेमा सोच्ने फुर्सद यहाँ कसलाई छ र ?’

‘हो त मान्छे अति स्वार्थी छ सर्वश्रेष्ठ प्राणी भनेर के गर्नु ? प्रकृति जीववन्तुको त परै जाओस् उसलाई मान्छेकै समेत पनि माया छैन’ अर्कोले थप्यो ।

यस्ता यस्ता कुराकानीमा मस्त रहेका ती व्यक्तिहरूको पनि ऊ प्रति कुनै संवेदना भने देखिएन । जाँदा जाँदै तीमध्ये एक महाशयले पुनः उसलाई लात्तो लगायो । अर्कोले यो सबै देखेर पनि नदेखे जस्तै गर्‍यो । ती दुबै साहुलाई चियाको पैसा तिरेर आफ्नो बाटो लागे ।

म भने उसैलाई हेरीरहेको थिएँ । ती मानिसहरूको लात्ती खाएर पनि ऊ अविचलित थियो । मानौँ ऊ अचेत थियो । कहाँबाट आयो होला ऊ? अब कता जान्छ होला ? किन त्यसरी टेबुलमुनि लडीरहेको होला? मेरो मनमा यस्तै भावहरू खेल्दै थिए । हेर्दै जाँदा अचानक मेरो मनको भित्री अन्तर कुन्तरबाट ऊ प्रति गम्भीर सम्मोहन पैदा भएर आयो । शायद मभित्र ऊ प्रति प्रेम अङ्कुरित भैरहे जस्तो लाग्यो । मलाई लाग्यो शिरदेखि पाउसम्म धूलोले पुरिएको ऊ पक्कै पनि कर्मठ हुनुपर्छ । उसको शरीर कठोर थियो । धेरैको नजरमा कुरूप समेत । तर मलाई उसको त्यै कुरूप शरीर पनि अलौकिक आकर्षणयुक्त लागीरहेको थियो । यसरी उसैलाई अपलक हेरीरँहदा कतिबेला मिनेटहरू घण्टामा बदलिए थाहै भएन ।

साँझ ढलीरहेको थियो । वरपर केही सुनसान हुन लाग्दै थियो । अब मेरो धैर्यको बाँध फुट्न लाग्यो । मैले आँँफूलाई रोकीराख्न सकिन । मैले बिस्तारै गएर उसलाई उठाएँ । ऊ पनि उठेर बस्यो । म ऊ नजिकै गएर बसेँ । मैले उसका आँखाहरूमा हेरेँ । उसले पनि मेरा आँखाहरूमा हेर्‍यो । यो हेराहेर एकक्षण चल्यो ।  उसका आँखा मादक थिए । उसको नकोरिएको खजमजिएको र धुलोले पुरिएको कपालले पनि उसको तेजिलो अनुहारमा चमक थपिदिएको हो कि भनेजस्तो लाग्यो । अब भने मैले आँँफूलाई सम्हाल्नै सकिन । मलाई वरपर रहेका मानिसहरूको कुनै वास्ता भएन । मैले उसको टाउकोलाई मेरा मायालु हातहरूले सुम्सुम्याएँ । उसको कपालबाट धुलो झारिदिएँ । अब मेरो टाउको उसको छातीमा थियो । उसले पनि आफ्ना मायालु हातहरूले मेरो टाउको सुमसुम्यायो । मैले उसलाई अङ्गालो हालेँ ।  मेरो अङ्गालो पनि हुनसक्नेसम्मको कसिलो थियो । हामी दुईलाई कसैको परवाह थिएन । मानौँ यो संसारभर ऊ र म दुईजना मात्रै थियौँ । क्षमा गर्नु होला त्यहाँ हामी दुई जना थिएनौँ ।  हामी एकाकार भैसकेका थियौँ । हामी एकाकार पनि थिएनौँ संसारभरी फैलेका थियौँ । त्यहाँ अरु कोही थिएन ।  त्यहाँ अरु केही थिएन ।  मैले उसलाई धित मर्ने गरेर म्वाईँ खाएँ ।

‘के गर्दै हुनुहुन्छ टेबलमुनि ? खै उठ्नुस् !
पसल बन्द गर्ने बेला भयो  टेबल भित्र हुल्नुपर्‍यो’
अचानक ‘मर्स्याङ्दी खाजा पसल’का साहुजीको आवाज कानमा पर्नाले म झसङ्ग भएँ । उनी अगाडी भन्दै थिए

‘यो फोहोर छेस्को किन मुखमा हाल्दै हुनुहुन्छ ?’



धेरै पढिएकाे

पृष्ठ संग्रह