Sunday, April 23, 2017

अस्पताल फार्मेसीः चुनौतीका चाङ

­


सुस्मिता शर्मा 

(लेखक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका अस्पताल फार्मेसी प्रमुख हुनुहुन्छ)

पृष्ठभूमि

आधारभूत स्वास्थ्य सेवा विश्वका हरेक नागरिकको अधिकार हो ।  नेपालको संविधान २०७२ ले पनि आधारभूत स्वास्थ्यसेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ । संविधानको मर्म अनुरूप हरेक नागरिकलाई स्वास्थ्य सम्बन्धि हरेक सेवाहरू आफ्नो स्वास्थ्य संस्थाबाट प्राप्त गर्ने अधिकार छ । अस्पताल वा स्वास्थ्यसंस्थाबाट प्राप्त हुने स्वास्थ्य सम्बन्धी सेवाहरूमा फार्मेसी सेवा पनि एक प्रमुख सेवा हो । यहाँ फार्मेसी सेवा भन्नाले फार्मेसी विषयमा निश्चित योग्यता प्राप्त गरेका औषधिविज्ञ दक्ष जनशक्तिबाट प्राप्त गरिने औषधिको वितरण र प्रयोग सम्बन्धि सल्लाह बुझ्नुपर्छ । यस्ता औषधिविज्ञलाई फार्मासिष्ट भनेर जानिन्छ । विश्वमा हाल फार्मासिष्टले प्रदान गर्ने विशिष्ट सेवाको बारेमा धेरै जागरुकता रहेको  छ । औषधिको वितरण (डिस्पेन्सिङ) र परामर्श (काउन्सिलिङ) बाहेक औषधिको उत्पादन, गुणस्तर नियन्त्रण र औषधिको उचित प्रयोगसम्बन्धि अन्य कार्यहरूमा पनि फार्मासिष्टहरूको विशेष भूमिका रहेको हुन्छ । अस्पतालमा प्रयोग हुने औषधिको उपलब्त्रता तथा समुचित प्रयोग सुनिश्चित गर्न अस्पतालको आफ्नै अस्पताल फार्मेसी हुनुपर्ने विश्वव्यापी मान्यता रहेको छ । 

नेपालमा फार्मेसी जनशक्तिको अवस्था

नेपालमा फार्मासिष्टहरूको संख्या अन्य स्वास्थ्यकर्मीको तुलनामा धेरै न्यून रहेको छ । भएका फार्मासिष्टहरू पनि औषधि उत्पादनतर्फमात्र बढी केन्द्रित देखिन्छन् । त्यसैले  पहिले पहिले फार्मेसी विषयमा छोटो समयको तालीम लिएका व्यक्तिहरूलाई पनि फार्मेसी व्यवसायीको  रूपमा सरकारद्वारा औषधि व्यवसाय गर्न अनुमति दिइएको थियो ।  तर हाल नयाँ व्यक्तिहरूलाई यस्तो अनुमति दिइएको छैन यद्यपि पहिले त्यस्तो तालीम लिएका व्यक्तिहरू भने अभैm फार्मेसी पेशामा नै रहेका छन् । यदा कदा यस्ता तालीम पुनः संचालन हुनुपर्ने मागहरू पनि सुनिन्छन् तर उच्च तहको अध्ययनको पर्याप्त व्यवस्था भैसकेको वतमान परिप्रेक्ष्यमा पेशाको गुणस्तरका लागि पनि यस्ता छोटा अवधिका तालीम सदाका लागि बन्द गर्नु नै उचित देखिन्छ । 

नेपालमा फार्मेसी व्यवसायलाई नियमन गर्ने सरकारी निकायको रूपमा स्वास्थ्य मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभाग रहेको छ भने फार्मेसी  शिक्षा र जनशक्तिलाई नियमन गर्न नेपाल फार्मेसी परिषद् बनेको छ । हालैबाट नेपाल फार्मेसी परिषद्ले छुट्टै लाइसेन्सिङ परीक्षा लिई फार्मेसी विषयमा स्नातक तहको योग्यता प्राप्त गरेका जनशक्तिलाई फार्मासिष्ट तथा डिप्लोमा तहको योग्यता प्राप्त गरेको जनशक्तिलाई असिष्टेण्ट फार्मासिष्टको लाइसेन्स प्रदान गर्न शुरु गरेको छ । हाल यो लाइसेन्सिङ परीक्षामा असफल उम्मेद्वारको संख्या उल्लेख्य रहेकोले फार्मेसी शिक्षाको गुणस्तरमा समेत प्रश्नचिह्न पैदा भएको छ । यो समस्यालाई हल गर्न देशभित्रका शैक्षिक संस्थाहरूको अनुगमन र देश बाहिर पढ्न जाने जनशक्तिको समेत अनुगमन गर्नु आवश्यक देखिएको छ । उत्पादित जनशक्तिको गुणस्तर अभिवृद्धि गर्न विश्वविद्यालयहरू तथा प्राविधिक तालीम परिषद्ले पनि विशेष पहल गर्नुपर्ने देखिन्छ । यसरी नेपालमा लाइसेन्स प्राप्त फार्मेसी जनशक्ति देशको आवश्यकताको तुलनामा अभैm धेरै कम छन् । धेरै उच्च शिक्षा प्राप्त फार्मेसी जनशक्ति  विदेश पलायन भएकाछन् । अन्य धेरै विषयमा उच्च शिक्षा पाएका जनशक्तिको तुलनामा विदेशिएका फार्मासिष्टको अनुपात ठूलो छ । त्यसैले अझै पनि अधिकांश स्वास्थ्यसंस्थामा  फार्मेसी विषयमा विस्तृत ज्ञान नभएका जनशक्तिबाट फार्मेसी सेवा संचालन हुँदै आएको छ । 

नेपालमा अस्पताल फार्मेसीको अवधारणा

नेपालमा आधुनिक स्वास्थ्य संस्थाको रूपमा वीर अस्पतालको स्थापनासँगै आधुनिक औषधिको प्रयोग बढ्दै गएको भएता पनि आजभन्दा करीब पाँच दशक अघि पाटन अस्पतालमा पहिलो पटक आधुनिक अस्पताल फार्मेसीको स्थापना भएको थियो । पाल्पा अस्पताल, पोखराको मणिपाल अस्पताल लगायतका अस्पतालहरूमा केही दशकदेखि अस्पतालकै स्वामित्वमा अस्पताल फार्मेसी चले तापनि देशका अधिकांश सरकारी तथा नीजि अस्पतालहरूमा निकट भूतकालसम्म पनि फार्मेसी अस्पतालको अङ्गको रूपमा नभै स्वतन्त्र नाफामूलक व्यवसायको रूपमा संचालन भैरहेको परिस्थिति थियो । हाम्रो मुलुकमा विकसित मुलुकको तुलनामै पनि जनसंख्याको अनुपातमा धेरै स्वतन्त्र फार्मेसीहरू (चल्तीको भाषामा औषधि पसल वा मेडिकल हल) रहेको तर ती पसलहरूबाट पाइने सेवा भने व्यवस्थित हुन नसकेको हुनाले पनि  जनसाधारणमा पनि फार्मेसीको बारेमा यौटा ज्ञानमूलक सेवाको भन्दा पनि नाफामूलक व्यवसायकै रूपको पहिचान रहेको छ । 

यो विषम परिस्थितिलाई केही नियन्त्रण गर्न हालै सरकारले केही कदमहरू चालेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अस्पताल फार्मेसीलाई व्यवस्थित गर्न “अस्पताल फार्मेसी निर्देशिका २०७०” र यस पछि “अस्पताल फार्मेसी निर्देशिका २०७२” जारी गरीसकेको छ । जुन निर्देशिकाले स्पष्ट रूपमा फार्मेसी, अस्पतालकै स्वामित्वमा रहनु पर्ने, फार्मेसी सेवा दक्ष जनशक्तिद्वारा दिइनुपर्ने, ठूला अस्पतालमा विशेषज्ञ क्लिनिकल फार्मासिष्टको सेवा उपलब्ध हुनुपर्ने, फार्मेसीमा विक्रिवितरण गरिने औषधिहरू अस्पतालको फार्मेसी तथा थेराप्युटिक कमिटिले व्यवस्थापन गर्नुपर्ने र जनतालाई सहुलियत दरमा औष्धि उपलब्ध गराइनुपर्ने निर्देश गरेको छ । “नेपालको स्वास्थ नीति २०७१”मा पनि यीनै कुराहरू स्पष्ट रूपमा उल्लेख गरिएका छन् । नीति र निर्देशिकाले स्पष्ट पारीसके पनि धेरै समयसम्म  अधिकांश सरकारी अस्पतालहरूमा समेत आफ्नै स्वामित्वको फार्मेसी संचालनमा आउन नसकेको र नीजि संस्थालाई भाडामा फार्मेसी संचालन गर्न दिईराखिएको  अवस्था थियो । यस परिस्थितिमा सम्मानित सर्वोच्च अदालतमा समेत निवेदन परी सो अदालतले भाडामा संचालनमा रहेका फार्मेसी बन्द गर्न र आफ्नै फार्मेसी संचालन गर्न अस्पतालहरूलाई अन्तरिम आदेश जारी गरे पछि कान्ति बाल अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका धेरै अस्पतालहरूमा अस्पतालको आफ्नै स्वामित्वमा रहेको फार्मेसी सञ्चालनमा आएका छन् भने अन्य धेरै अस्पतालहरू पनि तयारी अवस्थामा रहेका छन् । तर धेरै अस्पतालमा अस्पताल फार्मेसी संचालनको तयारी सन्तोषजनक छैन ।  

अस्पताल फार्मेसीको संचालन र चुनौतीहरू

अस्पताल फार्मेसी भन्नाले  अस्पताल भित्रको यौटा यस्तो संरचना जसमा औषधिको वैज्ञानिक आपूर्ति, भण्डारण, तथा दक्ष जनशक्तिद्वारा उचित परामर्शपूर्वक विक्रिवितरण गरिने संयन्त्र बुझ्नुपर्छ । अस्पताल फार्मेसीको संचालन नाफामूलक नभई सेवामूलक भएकाले बिरामीहरूलाई न्यूनतम मूल्यमा औषधि प्राप्त गर्दछन् । अस्पताल फार्मेसीमा उपलब्ध हुने औषधि तथा अन्य सामग्रीहरूको छनौट फार्मेसी तथा थेराप्युटिक कमिटिले गर्दछ । यो समितिमा अस्पतालका विभिन्न विभागका चिकित्सकहरू तथा अस्पताल फार्मेसी प्रमुख रहेका हुन्छन् । अस्पतालले आफ्नो अस्पतालमा प्रयोग गरिने औषधिहरूको सूची ‘हस्पिटल फर्मुलरि’को रूपमा प्रकाशित गर्ने पनि प्रचलन छ । नेपालमा पाटन अस्पताल र मणिपाल अस्पताल पोखराले यस्तो फर्मुलरि बनाएका छन् । अन्य अस्पतालहरूले पनि यस्को व्यवस्था यथाशीघ्र गर्नु उचित हुन्छ । 

यस अवस्थामा हाल अस्पतालमा आफ्नै स्वामित्वमा रहेको यस्तो अस्पताल फार्मेसी सचालन गर्न त्यति सहज वातावरण भने बनिसकेको छैन । धेरै अस्पतालहरूमा नेतृत्वको इच्छाशक्तिको अभाव, अस्पतालमा फार्मेसी संरचनाको अभाव, फार्मेसी जनशक्तिको दरबन्दी अभाव, उपलब्ध फार्मेसी जनशक्तिको अस्पलाल फार्मेसी संचालनमा अनुभवको कमी, चिकित्सकहरूले जेनेरिक भन्दा ब्राण्ड नाममा प्रेस्क्रिप्सन लेख्नु, सरकारी खरीद प्रक्रियाको जटिलता, टेण्डर प्रक्रियाबाट न्यूनतम मूल्यमा खरीद गरिएका औषधिकोे गुणस्तरमा यदाकदा उठ्ने प्रश्नचिह्न, नीजि फार्मेसी व्यवसायीहरूले सरकारी फार्मेसीलाई आफ्नो प्रतिद्वन्द्वीको रूपमा देख्नु आदिले अस्पताल फार्मेसी संचालनमा कठिनाइ उत्पन्न भैरहेको छ । 

अस्पताल फार्मेसीको भविष्य

अब संचालन हुने धेरै अस्पताल फार्मेसीमा विलकुलै नयाँ संरचनामा तुलनात्मक रूपमा कम अनुभव भएका फार्मासिष्टहरूले नेतृत्व लिनुपर्ने अवस्था छ । यस्तोमा अस्पताल प्रशासन तथा चिकित्सकहरूको दृढ इच्छाशक्ति र सहयोग र फार्मासिष्ट आँफैको प्राशासनिक लगायतका नयाँ कुरा ध्यानपूर्वक सिक्ने, परिश्रम गरी ज्ञान र शीपमा अद्यावधिक हुने आदि गुणको खाँचो पर्दछ । हालको अवस्थामा अस्पताललाई आवश्यक पर्ने औषधिको छनौट र खरीद प्रक्रियालाई परिमार्जित गर्नु अति आवश्यक देखिन्छ, अन्यथा अस्पताल फार्मेसीले लक्षित सेवा दिन सक्दैन । यसका लागि सरकारले हरेक अस्पतालको प्रशासनलाई यससम्बन्धि उचित मार्गदर्शन गर्नु आवश्यक छ । औषधिजस्तो अत्यन्तै संवेदनशील वस्तुको खरीद प्रक्रियालाई जटिलताबाट सहज बनाउन पनि सरकारले पहल गर्नुपर्ने देखिन्छ । अस्पताल फार्मेसीलाई जनताको सेवाको लागि प्रतिबद्ध निकायको रूपमा जनसमुदायमा परिचित गराउन समाजका हरेक शिक्षित र सचेत नागरिकहरूको समेत भूमिका हुन्छ । 

उपसंहार

अन्त्यमा, गुणस्तरीय फार्मेसी सेवा जनताको अधिकार हो भने सरकार, स्वास्थ्य संस्था र फार्मासिष्टको दायित्व । यसलाई सुनिश्चित गर्न हरेक सरोकारवालाहरूको उत्तिकै भूमिका हुन्छ । हरेक सचेत नागरिकले फार्मेसी सेवा के हो ? फार्मासिष्ट को हुन् ? जान्नु पर्दछ र अरूलाई पनि सुसूचित बनाउन प्रयास गर्नुपर्दछ ।

( २०७४ वैशाख ११मा स्वास्थ्यखबर पत्रिकामा प्रकाशित)



धेरै पढिएकाे

पृष्ठ संग्रह