Thursday, December 28, 2017

ज्ञानकी डाँकुरानीः अलेक्जाण्ड्रा


अल्मा अाटा डिक्लेरेशनका लागि प्रसिद्ध कजाकिस्तानकाे अल्माटी शहरमा अाजभन्दा २९ वर्ष पहिले जन्मेकी अलेक्जाण्ड्रा एल्बाक्यानले कम्प्युटर र मस्तिष्ककाे सम्बन्धका विषयमा अध्ययन गरेकी  थिइन् । कम्प्युटर सुरक्षा र ह्याकिङमा सिद्धहस्त भएकी उनले रसियाकाे मस्काे र जर्मनीकाे  फ्राइबर्गमा काम गरिन् । 

२०११ मा कजाकिस्तान फर्केर उनले विज्ञान जगत् मा तहल्का मच्चाउने काम गरिन् । मात्र २३ वर्षकी अलेक्जाण्ड्राले संसारका पैसा तिरेर मात्र पढ्न पाइने वैज्ञानिक लेखहरू अाफ्नाे साइट "साइ हब" मार्फत् निःशुल्क पढ्न पाइने व्यवस्था गरिन् । प्रति लेख कम्तिमा ३० डलर तिरेर पढ्नु पर्ने हज्जाराैँ लेखहरू उनकाे साइटमा निःशुल्क पढ्न मिल्ने भयाे । (हाल साइ हबमा उपलब्ध लेखकाे संख्या छ कराेड भन्दा धेरै छ ।) विपन्न देशका विपन्न शाेधार्थीहरूले उनकाे साइटबाट धेरै लाभ लिए तर प्रतिलिपि अधिकार उल्लङ्घनकाे गम्भीर अाराेप उनलाइ लाग्याे । पश्चिमी नवसाम्राज्यवादकाे विराेधी रहेकी अलेक्जाण्ड्राले अाफ्नाे काम कजाकिस्तान र धेरै अरू विपन्न देशमा पनि अनुसन्धान हाेस् भन्ने अवधारणाले जन्मिएकाे बताइन् ।

अमेरिकाकाे प्रकाशक एल्सभाएरले उनी विरूद्ध मुद्दा हालेर उनकाे बेवसाइट बन्द गर्न लगायाे । तर उनले पटक पटक डाेमेन नाम फेर्दै अाफ्नाे बेवसाइट चलाइराखिन् । तर सुपुर्दगीका डरले उनले हाल भूमिगत हुनु परेकाे छ। उनले गर्दै गरेकाे मस्तिष्क विज्ञानकाे शाेध पनि हाल राेकिएकाे छ । 

विश्वप्रसिद्ध वैज्ञानिक पत्रिका नेचरले २०१६ मा विज्ञान जगत् मा व्यापक प्रभाव पार्ने १० व्यक्तिकाे सूचीमा उनलार्इ सामेल गरेकाे  थियाे ।

२०१७मा एउटा नयाँ पत्ता लागेकाे परजीवि बारूलाकाे नाम उनकाे नाममा इडियाेग्रामा एल्बाकिनी भनेर राखियाे ।  उनले यसकाे प्रतिक्रियामा भनिन्  "वास्तविक परजीविहरू ती प्नकाशकहरू हुन् जाे एउटा वैज्ञानिक लेख पढेकाे माेटाे रकम असुल्छन् ।" पछि यसका नामकर्ताले याे नाम उनकाे अपमान गर्न नभै उनकाे  याेगदानकाे सम्मानमा राखिएकाे बताए ।
हाल विश्वकाे वैज्ञानिक जगत् उनकाे पक्ष र  विपक्षमा विभक्त भएकाे छ । उनकाे काम   गैरकानूनी भएकाले धेरैकाे नजरमा उनी अपराधी हुन् भने धेरैकाे नजरमा उनी धनीहरूकाे एकाधिकार ताेड्ने समाजसेवी हुन् ।

Sunday, December 17, 2017

सत्ताभक्तिकाे तीनपुस्ते अनुभव

हजुरबाका पालामा
आजभन्दा करिब ८८ वर्ष पहिले चन्द्रशमशेरको अन्तिम अवस्था हुँदा सिंहदरबार बाहिर झोक्राएर कुरेर बस्नेहरू चन्द्रशमशेर बिते भन्ने सुन्नासाथ बुर्कुसि मारेर टंगाल दरबारमा पुगेर श्री३ महाराज भीम शमशेर की जय! भन्न पुगेका थिए अरे! त्यसको दुई वर्ष जति पछि फेरी तिनै मान्छे जाउलाखेल पुगेर श्री ३ महाराज जुद्धशमशेर की जय! भन्न पुगे अरे! पछि तिनै मान्छे सातसाल तिर परिवर्तन पक्का भएपछि इन्कलाब जिन्दावाद भन्दै दगुरेको पनि देखियाे अरे। 


बाका पालामा
सत्रसालमा राजाले सत्ता लिँदा रातारात धेरै कांग्रेसीहरू राजा जिन्दाबाद भन्दै पञ्चायत प्रवेश गर्ने चलन चल्यो । छत्तीस सालको जनमत संग्रहमा सुधारिएको पंचायतले जितेपछि विराेधीहरूलार्इ अराष्ट्रिय तत्त्व, विदेशिकाे बुइ चढेकाे अादि भनिन्थ्याे भने राजाकाे भ्रमण र पञ्चभेलाकाे रेडियाेमा प्रत्यक्षप्रसारण हुन्थे ।  निर्विकल्प पञ्चायती प्रजातन्त्र, देश र नरेश, राष्ट्रियता र राजमुकुट भन्दै भजन स्तुति लेख्ने, गाउने दरबारका तथा अञ्चलाधीशका ढोकामा नित्य हाजिर चढाउनु जीवनपद्धति थियाे। 

ठुल्दाजुका पालामा
२०४६ सालमा बहुदल आएपछि र २०४८ सालमा कांग्रेसको बहुमत आएपछि पञ्चायतमा राजारानीको जय जय भन्दै हिँड्नेहरू पनि 'जय नेपाल' भन्दै फलाना दाजु र फलानी भाउजु भन्दै दगुरेको देखियो । अल्लि पछि गठबन्धनकाे प्रचलन अायाे, जुन पृष्ठभूमिबाट अाए पनि सत्ता साझेदारी गर्न काेहि कसैसित बाधा भएन । तेस्राे हाेस् कि चाैथाे दल, प्रम उपप्रम हुन बाधा भएन । शक्तिमा हुनु मात्रै पर्‍यो पूजा भइहाल्ने । "हलाे कमरेड जय नेपाल" भनेजस्ताे बेला  थियाे त्याे । पार्टी अफिसहरू मन्दिर बने। भक्तहरूको लेखो पाखो भएन । 
६२/६३काे अान्दाेलनमा पाेखरा रत्नचाेकमा कर्फ्यु ताेड्ने क्रममा

मेरा पालामा
६२/६३ पछि गणतन्त्रवादीहरू ह्वात्तै बढे । राजाले सत्ता हातमा लिँदा समर्थन गर्नेहरू अब राजतन्त्र टिक्दैन भनेपछि गणतन्त्रका संवाहक बने । २०६२/६३ कै अान्दाेलनमा जुलुसमा हिँड्दा एकजना 'कम्युनिष्ट बहिनीले सर्वहारा भनेकाे के हाे दार्इ ? भनेकाे र  राजनीतिमा सक्रिय नै रहेका एकजना दाजुले संघीयता भनेको के हो भाई? भनेर सोधेको हिजै जस्तो लाग्छ । १९ दिने आन्दोलन पछि सँगै जुलुसमा हिँडेको साथीले अबीर घस्न ल्याउँदा मैले साँच्चैको जनताको जीवनमा फरक ल्याउने परिवर्तन भएकै छैन भनेर अबीर घस्न नमानेको पनि हिजै जस्तो लाग्छ ।

हुन पनि अहिले पनि बुढानीलकण्ठ दरबार, लाजिम्पाट दरबार र बालकोट दरबार राणाकै द्वारको स्वरूपमा छन् । मेरा बालकोट निवासी एकजना मित्रको ट्विट मार्फत् अहिले सुन्दैछु वहाँकाे छिमेकमा भीड बाक्लिँदै छ अरे!

Friday, December 15, 2017

मेरा व्यायाम प्रेरणाहरूःसपना व्यास र अदिति गुरुङ

शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारकाे व्यायाम गरीरहेका देखिन्छन् । पुरूष र महिला दुबैले  हिजाेअाज अाफ्नाे शारीरिक तन्दुरुस्ति र स्वास्थ्यकाे लागि व्यायामलार्इ समय छुट्याएका हुन्छन् । 



अाज लेख्दैछु यस्तै दुर्इ जना महिलाहरूकाे बारेमा जसले व्यायामलार्इ अाफ्नाे लगन बनाएका छन् । नियमित व्यायामका साथसाथै खानपानमा  विशेष ध्यान दिएकै कारणले यी दुबैले अाफ्नाे शारीरिक कायापलट मात्र हैन धेरै अरूलार्इ प्रेरणा पनि दिएका छन् ।


भारतकाे गुजरात राज्यस्थित अहमदाबादमा बस्ने  सपना व्यास कुनैबेला ८६ केजी  थिइन् । व्यायाम प्रतिकाे अाकर्षणले उनलार्इ ५३ केजीकी तन्दुरुस्त मात्रै बनाएन व्यायाम र पाेषणमा गम्भीर अध्ययन गर्ने समेत बनायाे । यसै लगनले गर्दा पाेषणमा  पिएच् डी गरेकी व्यास हाल एक चर्चित व्यायाम तथा पाेषण प्रशिक्षक हुन् ।

यसैगरी नेपालकाे पाेखरा निवासी अदिति गुरुङ  मात्र तीनवर्ष अघि ९० केजी थिइन् । तन्दुरुस्त हुन व्यायाम थालेकी अदिति हाल ६० केजी भएकी मात्रै हाेइनन् अाफैमा एक प्रमाणपत्र प्राप्त व्यायाम प्रशिक्षक पनि भैसकेकी छन् । अध्ययनले पेडियाट्रिक नर्सिङकी विशेषज्ञ गुरुङ पाेखरा विश्वविद्यालयकी उपप्राध्यापक हुन् ।

सपना र अदितिकाे परिश्रम र सफलताकाे कथाबाट मैले चाहिँ निरन्तर प्रेरणा लिएकाे छु । यदि तपार्इँ पनि चाहनुहुन्छ भने सपना व्यासकाे फेसबुक तथा इन्स्टाग्राम र अदिति गुरूङकाे फेसबुक तथा इन्स्टाग्राममा गएर व्यायाम र पाेषण सम्बन्धि थप जानकारी र प्रेरणा लिन सक्नुहुन्छ ।

(चित्रः सपना र अदितिकाे इन्स्टाग्रामबाट पूर्व अनुमतिका साथ प्रकाशित )

Monday, December 11, 2017

प्रेमरहस्य (हरिभजन)



हे हरि...
म त  तिम्रै प्रेममा परेँ नि
संसारका दुःख संसारका पीडा
यसैमा भुलेँ नि
हे हरि...

राधा र मीराले पिएथे प्याला
मलाइ नि पिलाउ नन्दका लाला
तिम्रै प्रेममा लपक्कै परेँ नि
हे हरि...

प्रेमकाे डाेरी बाट्दा बाट्दै
न छुट्टी चाय्याे न विदा चाय्याे नि
म त हरि यसैमा भुलेँ  नि
हे हरि...

घर छ मेराे, घर् छैन मेराे
जाँ बसे पनि भर् छैन मेराे
फैलिएँ म त संसारै भरी नि
हे हरि...

तिमी त बस्याै मन् भित्र मेरा
(हरि तिम्लाइ) घर् किन चाय्याे नि
म त हरि कता पाे बस्नु नि
हे हरि...

अाकाश् र धर्तीले पुग्दैन तिम्लाइ
थपक्कै मेराे मनमा अाउनु नि
अनि बस्नु ढली र मली निहे हरि...

छु भने छैन, नभए छु म
बन्नेछु मै पनि
हरि!तिम्राे चरणकाे धूलाे नि 
हे हरि...

बेनामकृत रामूजे इश्कमा अाधारित । मेरा प्रिय मित्र सबिन एकतारे र अाबिदा परवीनलार्इ विशेष धन्यवाद । 



Tuesday, December 5, 2017

गिरिधर मिश्र(रामभद्राचार्य)काे कथा

सन् १९५० जनवरि १५का दिन भारत उत्तर प्रदेशकाे जाैनपुर जिल्ला अन्तर्गत शांडिखुर्द नामक गाउँमा संस्कृत भाषाका पण्डित राजदेव मिश्र  र माता शचीदेवीकाे घरमा एक बालककाे जन्म भयाे । उनकाे नाम गिरिधर मिश्र भनेर राखियाे । बालक गिरिधरकाे २ महिनाकै उमेरमा गलत उपचारका कारण दुबै अाँखाकाे ज्याेति नष्ट भयाे । अाधुनिक तथा परम्परागत उपचारका अनेक उपाय गर्दा पनि उनकाे अाँखाकाे ज्याेति फर्कन सकेन । त्यसैले  त्यसपछि न त उनले कहिल्यै अक्षर पढ्न नै सके न त लेख्न नै । बालककालदेखि नै एकपटक सुनेपछि कण्ठस्थ भैहाल्ने गुणका कारण उनले ब्रेललिपि पनि  सिकेनन् । उनले सुनेर पढ्छन् भने बाेलेर अरूलार्इ लेखाएर काम चलाउँछन्।
सानै उमेरमा गिरिधर मिश्रले अाफ्ना पितामहबाट सुनेरै १५ दिनमा गीता (७०० श्लाेक)र ६० दिनमा रामचरितमानस (१०,९०० चाैपार्इ) कण्ठस्थ गरे । सत्र वर्षकाे उमेरसम्म कुनै अाैपचािरक शिक्षा नलिए तापनि उनले रामायण, महाभारत, भागवत, वेद, उपनिषद् अादि अनेक ग्रन्थ पढीसकेका थिए । उनका मातापिताकाे उनलार्इ कथावाचक बनाउने मन थियाे ।  तर गिरिधरले अाैपचािरक शिक्षा प्राप्त गर्न मन गरे । सत्र वर्षकाे उमेरमा उनी सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीमा प्रविष्ट भए । त्यहाँ चारवर्ष पढेपछि  उनले उत्तरमध्यमा  (प्रमाणपत्र तह)उत्तीर्ण गरे । संस्कृत व्याकरणका अतिरिक्त हिन्दी, अंग्रेजी, इतिहास र भूगाेल उनका विषय  थिए । त्यसपछि उनले औपचारिक रूपमा व्याकरण विषयमा १९७४मा शास्त्री (स्नातक) र १९७६मा अाचार्य (स्नातकाेत्तर) पढेर विश्वविद्यालय प्रथम भए तापनि उनकाे अद्वितीय क्षमता देखेर विश्वविद्यालयले उनलार्इ एकै पटक विश्वविद्यालयमा पढार्इ हुने सबै विषयकाे अाचार्य उपाधि प्रदान गर्याे । उनले १९८१ मा र १९९७ मा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाटै उनले पाणिनीय व्याकरण विषयमै विद्यावारिधि तथा वाचस्पति (डी लिट्) उपाधि समेत प्राप्त गरे । विद्यावारिधि पछि उनलार्इ साेही विश्वविद्यालयमा व्याकरण विभागकाे अध्यक्ष हुन अाग्रह गरियाे तर धार्मिक जीवन बिताउन रूचाउने भन्दै उनले त्याे प्रस्तावलार्इ अस्वीकार गरे । उनले वैष्णव रामानन्द सम्प्रदायकाे दीक्षा लिए र गिरिधर मिश्रबाट रामभद्रदास हुँदै रामभद्राचार्य भए ।  हिन्दी र संस्कृत का अतिरिक्त उनी धाराप्रवाह अंग्रेजी, फ्रेन्च, भाेजपुरी, मैथिली, गुजराती, उडिया पञ्जाबी, अबधि, मगधि, ब्रज आदि  भाषामा अधिकार राख्दछन् । उनका काव्य तथा शास्त्रका विषयमा अनेक भाषामा ५० भन्दा बढी पुस्तक प्रकाशित छन् । 
उनले सामाजिक सेवाकाे लागि चित्रकुटमा  तुलसी पीठ र जगद्गुरु रामभद्राचार्य विकलाङ्ग विश्वविद्यालय पनि खाेलेका छन् । याे विश्वविद्यालयमा दृष्टि, श्रवण, चलन, र मानसिक सबै विकलाङ्गता भएका  विद्यार्थीहरूलार्इ अलग अलग विभिन्न विषयमा उच्च अध्ययनकाे सुविधा छ । विश्व भरिमै विकलाङ्गहरूका लागि यो पहिलो विश्वविद्यालय हो । 
विद्यार्थी जीवनमा अनेक स्वर्णपदक जितेका उनले एकपटक अाचार्यकक्षामा पढ्दै गर्दा (१९७५-७६) नयाँ दिल्लीमा अायाेजित अखिलभारतीय संस्कृत सम्मेलनमा संस्कृतका अाठ शास्त्रमा विद्वत्ता प्रदर्शन गरे बापत दिइने अाठमध्ये  व्याकरण, सांख्य, न्याय, वेदान्त र संस्कृतश्लाेकअन्ताक्षरी गरी पाँच विधामा स्वर्णपदक जितेका  थिए । पदक दिँदै गर्दा उनकाे विद्वत्ताबाट प्रभावित त्याे बेलाकाे भारतकी सर्वशक्तिमान प्रधानमन्त्री इन्दिरा गान्धीले उनलार्इ अाफ्नाे खर्चमा अमेरिका अाँखाकाे  उपचार गर्न पठाउने प्रस्ताव गरिन् । गिरधर मिश्रले इन्दिरा गान्धीकाे प्रस्तावलार्इ तलकाे श्लाेकमै उत्तर दिँदै अस्वीकार गरिदिए ।  
किं दृष्टव्यं पतितजगति व्याप्तदोषेऽप्यसत्ये
मायाचाराव्रततनुभृतां पापराजद्विचारे ।
दृष्टव्योऽसौ चिकुरनिकुरैः पूर्णवक्त्रारविन्दः
पूर्णानन्दो धृतशिशुतनुः रामचन्द्रो मुकुन्दः ॥

याे (चर्मचक्षुले देखिने) पतित संसारमा के नै छ र हेर्नु ? असत्य, दाेषैदाेष, क्षुद्रमान्छेका विवाद, छल, र पापाचारदेखि बाहेक ? हेर्नु नै छ भने त (दीव्यचक्षुले अाफ्नै मनमा )सुन्दर बालककाे स्वरूप लिएका घुम्रिएकाे कपालले मुखारबिन्द ढाकेका सच्चिदानन्दस्वरूप तारणहार श्रीरामलार्इ पाे हेर्नु !
चित्रहरूः विकिमिडिया कमन्स 

Monday, December 4, 2017

भेडागोठालो र अर्थशास्त्री (बाेधकथा)

कुनै समयमा एउटा गाेठालाे अाफ्ना भेडाहरूकाे विशाल बथानका साथ चरन तर्फ गैरहेकाे  थियाे । यस्तैमा विपरीत दिशाबाट एउटा मान्छे अाएर गाेठालाेलार्इ भन्याे -
"हेर गाेठाला! तिम्राे याे विशाल बथानमा कति भेडा छन् भनेर म नगनीकन ठ्याक्कै भन्नसक्छु नि!"
"हाे र ?" गाेठालाले अचम्म मान्दै साेध्याे, "तिमीले ठ्याक्कै मिलायाै भने म तिमीलार्इ एउटा भेडा उपहारमै दिन्छु!"
"लाै भन त! तिम्राे बथानमा ८८४ भेडा छन् हाे कि हाेइन ?" त्याे मान्छेले भन्याे ।"अाेहाे तिमीले त ठ्याक्कै पार्‍यौ!, एउटा भेडा राेजेर लैजाऊ" गोठालाले चकित पर्दै भन्यो ।
त्यो मानिसले रोजेर एउटा जन्तु काँधमा हालेर लैजान खोज्दै थियो, गोठालाले भन्यो, "सुन त! म पनि तिम्रो पेशा नसोधिकन नै भन्नसक्छु नि!, तिमी पक्कै पनि अर्थशास्त्री हुनुपर्छ, होइन त? "
अब छक्क पर्ने पालो त्यो मान्छेको थियो, उसले उदेक मान्दै सोध्यो-"हो, म अर्थशास्त्री नै हुँ, तर तिमीले कसरी ठ्याक्कै पार्‍यौ? मैले भेडाको संख्या ठ्याक्कै मिलाएकाले होला हैन?"
"हो शङ्का त मलाई त्यतिबेलै लागेको हो तर जब तिमीले मेरो कुकुर रोजेर काँधमा हाल्यौ, त्यसपछि मलाई पक्का भयो।" गोठालाले जबाफ दियो ।

(चित्रः विकिमिडिया कमन्स)

धेरै पढिएकाे

पृष्ठ संग्रह