Wednesday, November 14, 2018

हज्जारौँ वर्षअघि

हज्जारौँ वर्षअघि

म मेरी नजन्मिएकी छोरी बोकेर
एक्लै तरीरहेको थिएँ पुरानो अमिलो नहर ।
छुट्याउन मुश्किल थियो
एकबित्ते ह्वेलहरूले
मेरा पाइतालामा काउकुती लगाएको
अनि भक्तपुरका सिकर्मीहरूले
करौँती तिखारेको ।
यक्कीन सम्झना छैन कुनचाहीँ हो
शब्द हो कि छाया हो
दुत्कारेको हो कि माया हो
मेरो कानमा बिझाइरहेको थियो ।
कुँडहर फाँटको जेठोबुडो अनि पएँलेको वास्ना
ह्वार्र नाकमा एकैचोटी पस्दा
मूढो लडे झैँ किंकर्तव्यविमूढ
मेरो चेतना लडेको थियो लम्पसार ।
प्लाष्टिकको झ्यालखानामा बटारिएर
कैद भएकाहरू
के जान्दथ्यौ कुहिनुको मजा
माटामा मिल्नुको मजा ।
शायद गम्भीर अत्याचारमा परेर होला
टाऽऽढा कतै नेपथ्यबाट चिहिरिएर रोएको सुनेँ
अँध्यारोलाई चिरेर ।
पऽऽर अनि एक्लै
केही गर्न सकिन मैले ।
केवल दोहोर्‍याइरहेँ
'अस्वत्थामाको नाक चुच्चो छ
अनि मेरी छोरीका बाको पनि'
यसो भनीरहँदा मलाई सम्झना भएन
'अस्वत्थामाको शिरमा घाउ छ
तर तिम्रा बाको टाउकोमा छैन' ।
घरैमा ब्याएकी बिरालाकी माउ म्याउँ गर्छे
ढाढेको अत्तोपत्तो छैन ।
छाउराहरू मुखमा च्यापेर
ओसार पसार गरीरहन्छे
ढुङ्गाको मूर्ति अनि ढुङ्गाकै हिमालले मित लगाएछन्
हिउँको अत्तोपत्तो छैन ।
मन्दिरका गर्भगृहमा
मूर्तिहरू छैनन् त के भयो?
ती गौण हुन् , कम्तिमा अँध्यारो त छ!
असीना पर्छ फाँटहरूमा
अनि पग्लिन्छ आत्मा
आमाका स्तनका मुण्टाहरूमा
मेरी छोरीले जीवन चुस्छे ।
हिलोमा घिस्रिएको कछुवाले
आफ्नो खबटो दान दिन्छ
निर्दयीहरूका पाइला कोमल छन्
सहृदयीहरूका पाइला कठोर छन्
आगो दन्काउने मान्छे हो
पानी उमाल्ने मान्छे हो
समुद्र तिमीले बनाएको होइन
धर्ती तिमीले बनाएको होइन
मैले बनाएको हुँ ।
सुस्तरी सास फेर्दैमा
शहरहरू सोत्तर पार्ने
दानवलाई भेटेँ मैले
मैले 'ए' भन्दा
'है' भन्दैथियो ।
अनि मीऽठो मानेर चुसीरहेको थियो
मेरो नलीहाडमा टाँस्सिएको मासु
मलाई लुछिएकोमा चिन्ता थिएन
दैत्यले रमाइलो मानेकोमा आनन्द थियो ।
उसका नङ्‌ग्रा अनि दाह्राका चेपमा
छिन्न भिन्न भएर लुकामारि खेल्नमा आनन्द थियो ।
अनि त्यसपछि सबै सकियो ।
यो मेरो सपना थियो
भनेको भए शायद तिमीले पत्याउँथ्यौ होला
तर यो त विपनै थियो
यदि तिमी मनमनै 'अहा!' भन्दैछौ भने
पत्रु छ मेरो लेखनी
यदी तिमी मनमनै 'छ्या: जेपायो तेही' भन्दैछौ भने
कृतकृत्य भयो मेरो लेखनी
अब त तिमी मनले जे ठान्यो त्यो भन्न पनि
दुई पटक घोरिन्छौ
ठीकै छ मैले खोजको पनि त्यही हो
तिमीलाई सहस्र शुभाशीर्वाद छ!
यो के लेखेँ मैले मलाई पनि थाहा छैन
हज्जारौँ वर्षपछि ।

Saturday, August 25, 2018

कारखानामा आगलागी



कुनै समयमा एक जना अत्यन्तै परिश्रमी सेठ थिए । उनले बर्षौँसम्म परिश्रम गरेर कपडाको एउटा ठूलो कारखाना बनाएका थिए । आफ्नो व्यवसायमा व्यस्त रहँदा उनले आफ्नै परिवारलाई पनि राम्ररी समय दिन पाएका थिएनन् । एक दिन उनलाई यो कुराको बोध भयो र कारखानाको दशौँ वार्षिकोत्सव आफ्नै घरमा आफ्नै परिवारका साथ मनाउने निर्णय गरे ।

कार्यक्रमको भव्य तयारी भयो । स्वादिष्ट व्यञ्जनहरू तयार गरी भोजको तयारी गरियो । सबै प्रसन्न र उत्साहित थिए । सेठ आफ्ना सबै परिवारका सदस्यहरूलाई वरिपरी राखेर खान बसे । तरह तरहका परिकारहरूबाट अलग अलग किसिमका वास्नाहरू आईरहेका थिए । उत्कृष्ट खाद्य परिकार र परिवारको भेलाले परिस्थिति अत्यन्त उत्साहप्रद बनाएको थियो ।

सेठले खान शुरू गर्नै लागेका थिए, उनको फोन बज्यो । कसैले सूचना गर्‍यो 'सेठको कारखानामा आगलागी भयो' । सेठ नीला भए । उनको ओठ तालु सुक्यो । उनको वाक्य बन्द भयो । उनको दश वर्षको परिश्रम खरानी भएको थियो । उनले बीमा त गरेका थिए तर बीमा प्रक्रिया सम्झँदैैैैमा उनका नौनारी गले । अब सम्पूर्ण व्यञ्जनहरू उनका लागि माटो समान भैसकेका थिए । सबैको अनुहारको रङ्ग उड्यो । उत्सवको परिवेश एकाएक भयङ्कर शोकको वातावरणमा डुब्यो ।

यत्तिकैमा उनको फोन फेरी बज्यो । यसपटक, सूचना दिनेले भन्यो 'आगलागी भएको कारखाना उनको कारखाना हैन रहेछ, त्यो त अलि परको अर्कै कारखाना रहेछ' ।
'धत्तेरिका झण्डै मुटु रोकिएको !' उनले गहिरो सास फेरे । उनको ज्यान फर्किएर आयो । परिवेश पुन: बदलियो । उत्साहका साथ भोज भयो । सबैले स्वाद मानी मानी खाए । सेठले मन खोलेर परिवार र सेवकहरूलाई उपहार बाँडे । अब नाचगाना शुरू भयो । परिवेश पुन: हर्ष र उल्लासमा डुब्यो ।

यत्तिकैमा एकपटक पुन: उनको फोन बज्यो । यसपटक पक्का सूचना आयो । उनको आफ्नै कारखानाको गार्डको फोन थियो । उसले रूँदै खबर सुनायो । आगलागी भएको कारखाना उनकै रहेछ ।

Sunday, July 15, 2018

भगवद्गीता र विश्वकप फुटबल २०१८ (छन्द कविता पाठ सहित)

श्रीमद्‌भगवद्‌गीता द्वितीय अध्याय (विश्वकप फुटबल २०१८ विशेष-१)



अकीर्तिं चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम् ।
संभावितस्य चाकीर्ति मरणादतिरिच्यते ।।३४

अवाच्यवादांश्च बहून्वदिष्यन्ति तवाहिता:
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम् ।।३६

सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८

अर्थ:
(जब पेनाल्टि मिस हुनेछ) तब सबैले त्यसैको चर्चा गरेर अपयश फैलाउने छन् । पहिला (लिगमा उत्कृष्ट खेलेर) बनाएको नाम बदनाम हुँदा मरेतुल्य भन्दा पनि नराम्रो हुनेछ ।। ३४

(फेसबुक ट्विटर आदिमा) धेरैले दुर्वाच्य बोल्नेछन् । (लाजमर्दा मिमहरू बनाउनेछन्, उत्कृष्ट खेलाडिहरूको ) सामर्थ्यको ('गल्लीको टोलीसँग पनि जित्न सक्दैन' आदि भन्दै) निन्दा गर्नेछन् । त्यो भन्दा दुःखपूर्ण के होला ।। ३६

तर (मेसी, रोनाल्डो, नेमार, मुलर आदि खेलाडीहरू हो! ) सुख र दुःखलाई बराबर मानेर (यसबाट कत्ति प्रभावित नभैकन, तिमीहरू) यस (फुटबलको) युद्धमा लाग, यसरी लागेमा नै तिमी(हरू)लाई पाप (कलङ्क) लाग्नेछैन ।।३८

श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष-२)

ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते
सङ्गात्सञ्जायते कामः कामात्क्रोधोऽभिजायते ।।
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रम:
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।। २। ६२-६३ ।।

अर्थ:
(फुटबल आदि) इन्द्रियका विषयको (सेवन) चिन्तनले तिनमा ( र त्यो खेल खेल्ने टोलीप्रति) आशक्ति पैदा हुन्छ। आशक्तिले गर्दा (ती टोलीले जितोस् भन्ने) कामना पैदा हुन्छ । कामना पूरा नहुँदा क्रोध पैदा हुन्छ । क्रोधले गर्दा आँखै नदेख्ने हुन जान्छ । आँखै नदेखे पछि मति भ्रमित हुन जान्छ । भ्रमित मति भएकाको बुद्धिनाश भएर जान्छ।  (र मान्छेले सामाजिक सञ्जालमा अनापशनाप लेख्न थाल्छ।) र बुद्धिनाश भएपछि अन्त्यमा त्यस्ता  मान्छेको (मान, व्यक्तित्व) नाश भएर जान्छ ।



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष-३)

यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्य: स मे प्रिय:।। १२।१७ ।।

अर्थ:
(हे फ्यानहरू हो! ) जो (फ्यानहरू, पेनाल्टी गोल हुँदा वा रोकिँदाका कारणले ) न हर्षित हुन्छन् न त (स्ट्राइकर वा कीपर प्रति) द्वेष नै गर्छन् । न त (गोल हुँदा वा रोकिँदा) कुनै शोक नै गर्छन् , न त  (गोल भइदिए वा रोकिए हुन्थ्यो भन्ने) कुनै कामना नै गर्छन् । त्यस्ता शुभ र अशुभ सबै कर्मका त्यागी (खेललाई नितान्त खेलकै रूपमा लिएर आनन्द लिनसक्ने ) भक्तियुक्त व्यक्तिहरू नै (सच्चा खेलप्रेमी फ्यान भएकाले) मलाई प्रिय छन् ।



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष -४)

तस्मात् सर्वेषु कालेषु मामनुस्मर युद्ध्य च ।
मय्यर्पितमनोबुद्धिर्मामेवैष्यस्यसंशयम् ।। ८।७।।

अर्थ:
(म्याराडोना मेसीलाई भन्छन्:) त्यसैले (हे मेसी,) सबै समयमा मलाई नै सम्झिय, (मैले आफ्नो जमानामा कस्तो खेल्थेँ, त्यो याद गर) र (फुटबलको मैदानमा डटेर) युद्ध गर । ममा (र मेरै खेलमा) मन र बुद्धि लगायौ (र खेल्यौ) भने नि:सन्देह तिमीले (आफ्नो खेलमा पनि) मलाई नै पाउनेछौ । :-P



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष -५)

वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णा-
न्यन्यानि संयाति नवानि देही ।।२।२२।

अर्थ:
जसरी (हारेका टोलीका जर्सी आदि) पुराना वस्त्र त्याग गरेर (फुटबल फ्यान) मान्छेले (नकआउट चरणमा प्रवेश गरेको टोलीको) नयाँ (जर्सीरूपी) वस्त्र धारण गर्दछ (र रिसको झोँकमा फुटाएको सीआरटी टिभी त्याग गरी नयाँ एलसीडी टिभी किन्दछ) त्यसैगरी आत्माले पनि पुरानो शरीर त्याग गरी नयाँ शरीरधारण गर्दछ । :-)



श्रीमद्‌भगवद्‌गीता (विश्वकप विशेष-अन्तिम)

नष्टो मोह: स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत ।
स्थितोऽस्मि गतसन्देह: करिष्ये वचनं तव ।। १८-७३

अर्थ:
हजुरका कृपाले मलाई (यो विश्वकपको) मोह नष्ट भएको छ । मैले स्मृति पाएको छु । अब संशयरहित भएर हजुरले भने जस्तै (फुटबल फुटबल भन्दै काम नष्ट गर्न छाडेर) म संसारका सारा आफ्ना कर्तव्यहरू पालन गर्नेतर्फ लाग्दछु ।

अन्त्यमा विश्वकप सम्बन्धी एक छन्द कविता







Monday, May 21, 2018

हनुमान्‌‌‌ले रामायण समुद्रमा फालिदिए ।

हनुमान्‌‌‌ढोकाको हनुमान्‌‌‌को मूर्ति (विकिमिडिया)
रामायणका अनेक संस्करण छन् । तीमध्ये सबै भन्दा प्रसिद्ध वाल्मीकि रामायण हाे । वाल्मीकि अाँफै पनि रामायणका पात्र भएकाले उनकाे रामायण सबैभन्दा अाधिकारिक मानिनु स्वाभाविक नै हाे ।

वाल्मीकि रामायण देखि अन्य रामायणमा  संस्कृतमै वेदव्यासकृत अाध्यात्म रामायण र  हिन्दीकाे तुलसीकृत रामायण (रामचरित मानस) बढी चर्चित छन् । रामायण भारतका अनेक भाषादेखि अतिरिक्त विश्वका प्रमुख भाषाहरूमा अनुदित/पुनर्लिखित छ । यसमा अाधारित रहेर अनेक उपन्यास तथा चलचित्रहरू बनेका छन् ।
नेपालीमा भानुभक्तकृत रामायण प्रमुख छ । भानुभक्तकाे रामायण अाध्यात्म रामायणमा अाधारित हाे ।


तर अाज यहाँ चर्चा गर्न लागिएकाे छ । वाल्मीकि रामायण भन्दा पनि पुरानाे र अाधिकारिक हनुमान्‌‌‌कृत रामायणकाे बारेमा । 

श्रीरामकाे राज्याभिषेक पछि चिरजीवि हुने वरदान पाएका हनुमान् हिमालयमा तपस्या गर्न गएका थिए। त्यहाँ उनले अाफ्ना नङले शिलामा काेतरेर रामायण लेखे र  भगवान् शिवलार्इ चढाए । पछि महर्षि वाल्मीकिले पनि अाफ्नाे रामायण लेखेर भगवान् शिवलार्इ चढाउन जाँदा उनले शिलामा कुँदिएकाे रामायण देखे । किंवदन्ति अनुसार शिलामा कुँदिएकाे रामायण पढेपछि वाल्मीकि साह्रै निराश भए  किनकि त्याे रामायण उनकाे रामायणकाे तुलनामा ज्यादै उत्कृष्ट थियाे । वाल्मीकि अब मेराे रामायण कसले पढ्ला भनी विलाप गर्न लागे ।  याे जानेर हनुमान्‌‌‌मा ज्यादै करूणा उत्पन्न भयाे र उनले अाँफूले लेखेकाे रामायण समुद्रमा फ्याँकिदिए र वाल्मीकि रामायणलार्इ सबैभन्दा प्रसिद्ध हुने वरदान दिए ।

यसैमा थप नयाँ किंवदन्ति अनुसार पछि धारानरेश भाेज समुद्रयात्रामा जाँदा एक शिलामा केहि श्लाेक कुँदिएकाे फेला पारे र अाफ्ना सेवकहरूद्वारा समुद्रबाट पाइएसम्मका रामायण कुँदिएका शिलाहरू झिक्न लगाए जसलार्इ उनकाे दरबारका पण्डित दामाेदर मिश्रले व्यवस्थित र पूर्ति गरी हनुमन्नाटकम्  नामक नाटककाे स्वरूप दिए जुन अहिले पनि उपलब्ध छ । तर हनुमानकै अाशीर्वादले हाेला कतिपय साह्रै राम्रा श्लाेक हुँदा हुँदै पनि याे  अपूर्ण नै लाग्छ र वाल्मीकि रामायण नै सबैभन्दा प्रसिद्ध छ । 


हाल नेपालकाे राष्ट्रिय चिह्नमा रहेकाे श्लाेकार्ध रहेकाे तलकाे श्लाेक वाल्मीकि रामायणमा पाइँदैन । संभवतः याे श्लाेक हनुमद्‌‌‌रामायणमा रहेकाे हुनुपर्छ । 

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते |

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ||
(हे लक्ष्मण, जतिनै सुनैसुनकाे भए पनि मलार्इ लङ्का मन पर्दैन, किनभने अामा र जन्मभूमि नै स्वर्गभन्दा पनि ठूला हुन् ।)
यसबारे थप पढ्न यता जानुहाेस् ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । 
अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् । 
नेपालकाे राष्ट्रिय चिह्नमा अङ्कित वाक्य (श्लाेकार्ध) हाे याे । 

धेरैलार्इ श्लाेकार्धकाे पूरा श्लाेक पनि कण्ठ छ । 

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते |
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ||
(हे लक्ष्मण, जतिनै सुनैसुनकाे भए पनि मलार्इ लङ्का मन पर्दैन, किनभने अामा र जन्मभूमि नै स्वर्गभन्दा पनि ठूला हुन् ।)

धेरैलार्इ याे श्लाेक वाल्मीकि रामायणकाे हाे भन्ने लाग्छ, यद्यपि हाल उपलब्ध वाल्मीकि रामायणमा याे  श्लाेक पाइँदैन । संभवतः याे श्लाेक हनुमान्‌‌‌द्वारा रचित रामायणकाे हुन सक्ने मानिन्छ । जुन रामायण हाल पूर्ण रूपमा उपलब्ध छैन ।
यसबारे पढ्न यता जानुहाेस् ।

तर सन् १९३०मा  हिन्दी प्रचार प्रेस मद्रासले प्रकाशित गरेकाे  
वाल्मीकि रामायणकाे संस्करणकाे युद्धकाण्डमा (सर्ग १२४ श्लाे. १७) मा भने पहिलाे पंक्ति भिन्दै रहेकाे याे श्लाेक पाइन्छ अरे । यहाँ याे श्लाेक रामका मुखबाट नभै भारद्वाजका मुखबाट रामलार्इ उपदेश दिँदाकाे  प्रसङ्गमा अाएकाे छ । जुन यस्ताे छ ः

मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव |
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ||
( मित्रहरू, धन र  अन्नकाे संसारमा ठूलाे मान छ तर अामा र जन्मभूमि चाहिँ स्वर्गभन्दा पनि ठूला हुन् ।)

भक्तराज अाचार्यले गाएकाे प्रसिद्ध राष्ट्रिय गीत 'जहाँ छन् बुद्धका अाँखा'मा  (२ः२९) पनि याे पंक्तिकाे प्रयाेग गरिएकाे छ ।





Friday, May 18, 2018

सहस्रानन वध (वाल्मीकि रामायणमा छुटेकाे कथा )

रामले रावणलार्इ जितेर सीतासहित अयाेध्या फर्के पछि धूमधामसँग रामकाे राज्याभिषेक भयाे । ऋषिमुनि सबै मिलेर रामकाे वीरता र शौर्यकाे गान गर्न लागे । तर याे देखेर सीतामाता भने कुटिल हाँसाे हासिन् ।  याे देखेर रामले सीतासित हाँस्नुकाे कारण साेधे । सीताले भनिन् ~
"हजुरले केवल दशानन रावणकाे बध गर्नुभएकाे हाे तर उसकाे भार्इ सहस्रानन अझै जिउँदै छ । उसलार्इ जित्नुभयाे भने बल्ल हजुरकाे वीरता र याे शाैर्यगान सार्थक हुनेछ ।"

सीताजीका वचन सुनेर श्रीरामले तुरुन्त चतुरङ्गिणी सेना तयार गरी विभीषण, लक्ष्मण, भरत, शत्रुध्न, हनुमान् अादि वीरहरूलार्इ साथमा लिएर समुद्रपार गरी सहस्राननमाथि चढार्इ गरे । साथमा सीता माता पनि थिइन् । तर चढार्इ गर्नु के थियाे सहस्राननले मात्र एक बाण प्रहार गरी श्रीरामका सम्पूर्णसेना र वीरहरूलार्इ एकैपटक उचालेर अयाेध्यामा पछारिदियाे ।   रणभूमिमा केवल राम र सीता मात्रै रहे । त्यसमा पनि सहस्राननकाे बाण लागेर राम पनि मूर्च्छित भए ।
त्यसपछि माता सीता भयङ्कर क्राेधित भर्इ असीता अर्थात् महाकाली स्वरूप लिर्इ  सहस्राननकाे बध गरीन् । सहस्राननकाे वध गरीसकेपछि पनि महाकालीकाे  रिस शान्त भएन । उनी जिब्राे लपलपाउँदै उन्मत्त नृत्य गर्न लागिन् । पछि महादेव शिव स्वयं महाकालीकाे पाउमुनि अाएर लडे पछि बल्ल महाकालीकाे  रिस शान्त भयाे र उनी पुनः सीताजीकाे स्वरूपमा अार्इ रामलार्इ विउँझाएर अयाेध्या फर्किइन् ।


कथाः अद्भुत रामायण
चित्रः काली (राजा रवि वर्मा)

Sunday, May 13, 2018

ढपाेर शङ्खकाे कथा

कुनै बखतमा एकजना गरीब ब्राह्मणकाे अत्यधिक गरीबी देखेर एकजना ऋषिले उनलार्इ समुद्रकाे अाराधाना गर्ने सल्लाह दिए । ब्राह्मणले पनि  समुद्रकाे किनारमा पुगेर दत्तचित्त भएर समुद्रकाे अाराधना गर्न लागे । ब्राह्मणकाे एकचित्तको आराधनाबाट प्रसन्न भएका समुद्रले ब्राह्मणलार्इ एक विशिष्ट शङ्खी दिए जसले हरेक साँझकाे सन्ध्यावन्दन पछि एकपटक पाँच चाँदीका असर्फी दिन्थ्याे । ब्राह्मण प्रसन्न भएर घर फर्कँदै थिए । फर्कँदा बाटामा एक मित्रकाे घरमा वास पर्‍‍‍यो।  मित्रकाे घर सन्ध्यावन्दन गरे पछि ब्राह्मणले शङ्खीसित पाँच रूपैँया मागे ।  शङ्खीले पनि चाँदीका पाँच असर्फी दियाे । याे देखेर मित्रलार्इ लाेभ लाग्याे र भाेलिपल्ट बिहानै सुटुक्क उनले ब्राह्मणकाे शङ्खीसित अाफ्नाे शङ्खी साटे । उता ब्राह्मणले भाेलिपल्ट साँझ सन्ध्यावन्दन गरेर पाँच रूपैँया माग्छन् त शङ्खीले केहि पनि दिएन । 

यसबाट दुःखी भएका उनी पुनः समुद्रकाे अाराधना गर्न लागे । सबै घटना बुझेर यसपटक समुद्रले ब्राह्मणलार्इ अझ ठूलाे शङ्ख दिए ।  फर्कँदा यसपटक  पनि ब्राह्मणकाे वास तिनै मित्रका घर पर्‍‍‍यो । मित्रले पनि यसपटक 'ब्राह्मणले के ल्याएछन् त!' भनि हेर्दा अझ ठूलाे शङ्ख देखे । तिनकाे मनमा फेरी लाेभ जाग्याे उनले 'याे शङ्खले त पक्कै पनि सुनकै असर्फि दिन्छ हाेला' भन्ने विचार गरी चाँदीका रूपैँया दिने शङ्खसित याे शङ्ख साटे  । मख्ख परेर मित्रले भाेलिपल्ट शङ्खसित पाँच सुनका असर्फी मागे । शङ्खले "पाँच किन ? दस माग" भन्याे । उनले दस मागे ।शङ्खले "दस किन ? बीस माग" भन्याे । उनले बीस मागे । शङ्खले "बीस किन ? चालीस माग" भन्याे । उनले चालीस मागे । तर याे क्रम राेकिएन शङ्खले "चालीस किन ? असी माग" भन्याे । उनले जति मागे पनि शङ्खले दाेब्बर माग भन्थ्याे तर दिन्थेन । अनि अाजित भएर उनले "मलार्इ दाेब्बर चाहिएन पाँच नै देऊ" भने ।
त्यसपछि शङ्खले भन्याे ~
परहस्ते गता शङ्खी पञ्चरूप्यकदायिनी
अहं ढपाेरशङ्खाेऽस्मि वदामि न ददामि च ।।
(पाँच रूपैँया दिने शङ्खी त अरुकै हात पुगीसकिन् । म त ढपाेर शङ्ख हुँ । बाेल्छु मात्रै दिन्न । )

चित्रः  विकिमिडिया कमन्स

Monday, April 30, 2018

एस्ईई परीक्षा दिएका भाई बहिनीहरूलाई चिठी




प्रिय एस्ईई परीक्षा दिएका भाई बहिनीहरू
(कृपया अभिभावकहरूले पनि ध्यान दिनुहोला)

नमस्कार । सञ्चै हुनुहुन्छ ? 

हिजो अचानक सामाजिक सञ्जालमा हेलम्बुका तपाईँहरूका दाजु दीपकिरण खड्काले लेख्नुभएका तलका पंक्तिहरू देखे पछि यो चिठी नलेखि बस्न सकिन । 

वहाँले लेख्नुभएको थियो 

"शैक्षिक क्षेत्रका माफियाहरूले ल्याएको बेतुकको एस्ईई पछिको ब्रिज कोर्स झुक्किएर पनि गर्दै नगर्नुहोला ।"

अनि उसोभए के गर्ने त ? हो त्यसैको सेरोफेरोमा यो चिठी लेखिएको छ । 

हाे ब्रिज काेर्स गर्दै नगर्नुहाेस् ।  बरु गाउँ जानुहोस्।  गाउँमै हुनुहुन्छ भने पनि खेतबारीमा जानुहोस्। बा, आमा, हजुरबा, हजुरआमाहरूसँग एकैछिन बस्नुहाेस्। कुरा गर्नुहोस् । पुराना कुरा सोध्नुहोस् । नयाँ ठाउँकाे यात्रा गर्नुहोस्। संगीत, नृत्य, चित्रकला, मूर्तिकला, काष्ठकला, प्रस्तरकला, धातुकला, विभिन्न हस्तकला अादि सिक्नुहोस् । माटो र पानीसँग खेल्नुहोस् । बिरूवाका खस्रा र चिल्ला पातहरू छाम्नुहोस् । ऐंसेलु, चुत्रो, बडहर, दैक्याम्लो, भक्याम्लो, जामुन, बयर, किम्बु, काफल, कटुस, हलुवावेद, अमाराे,  अारूबखडा, खुर्पानी, कागुनु, कुरीलो, जलुको, ठाेट्ने, जरिङ्गो, ओल, हलहले, टुसा, न्यूराे आदि जे जे फलशाकादि पाइन्छ खोजेर चाख्नुहोस् । धान, जाै, गहुँ, काेदाे, फापर, उवा, शामा, अादि अन्नहरू पनि चिन्नुहाेस् र चाख्नुहाेस् । कोइली, लाहाँचे, काफल पाक्यो, तित्रो, कालिज, जुरेली, न्याउली, गिद्ध, भ्याकुर, ढुकुर, सुगा, मैना, डाँफे, चाँचर, मुनिया, भारद्वाज, मुनाल, मलेवा, जलेवा, चखेवा, जलकौवा, धनेश, फापरे आदि चराका शब्द पाएसम्म सुन्नुहोस् । तुलसी, घिउकुमारी, अविजालाे, भृङ्गीराज, गुर्जाे, गुदरगानाे, पाखनभेद, ठूलाे अाेखति, कण्टकारी, अश्वगन्धा, सर्पगन्धा,  जटामसी, नीरमसी, पाँचअाैँले, भलायाे, अलैँची, चिराइताे, बाेझाे, सुगन्धवाल, डालेचुक, टिमुर, अाँक, चरिअमिलाे, लज्जावती, रातीगेडी, राजवृक्ष, सिन्केकाँडा, थकालीकाँडा, विजयसाल, टाप्रे, घाेडटाप्रे, हर्राे, बर्राे, अमला, पिप्ला, मरिच, अदुवा अादि अनेक जडीबुटीहरू पनि चिन्न र तिनका उपयाेग जान्न प्रयास गर्नुहाेस् ।

झरना र खाेलामा सँग्लो पानी कलकल बगेको कस्तो हुन्छ कतै गएर हेर्नुहोस् ,सुन्नुहोस्, डुबुल्की मार्नुहाेस्। चिलाउने र उत्तिस, साल र सल्लाकाे जङ्गलमा विचरण गर्नुहाेस् । सल्लाघारीमा चैत वैशाखको हुरी चल्दा कस्तो सुनिन्छ सुन्नुहोस् । लालपाते, जाई, जुही, चम्पा, गुहेली, पारिजात, करबीर, आरू, नास्पाती, सुनाखरी, चाँदिखरी, घण्टीफूल, धसिंग्रे, बाबरी, बाह्रमासे, बेली, चमेली, रातकी रानी, गुँरास, गुलाफ, कमल, इन्द्रकमल, गलैँची, गुनकेशरी, काेइरालाे, मालती, नागकेशर, प्याउली, बुकी, टाँकी आदि फूलको सौन्दर्य र सुगन्ध पाएसम्म अनुभव गर्नुहोस् । कतै गाउँतिर गएर रातिमा आकाशका ताराहरू हेर्नुहोस् । चन्द्रमाकाे बढ्दै गएकाे कान्ति र घट्दै गएकाे कान्ति, चम्किलाे शुक्र अनि बुध, तीनतारे, घुमीरहेकाे प्रश्नचिह्न जस्ताे सप्तर्षि,  उत्तर दिशा देखाउने ध्रुवतारो, झुरूप्प परेका कृत्तिका, वृश्चिक राशिकाे घुमेकाे पुच्छर, व्याधा र मृगशिरा , अादि ग्नह र नक्षत्रहरू चिन्न प्रयास गर्नुहोस् । झ्याउँकिरि, किथ्रो वा भ्यागुताहरूका ट्यारट्यार ध्यानपूर्वक सुन्नुहोस् । इतिहास, भूगोल र संस्कृतिका पाठ्यपुस्तकभिन्न पुस्तकहरू पढ्नुहोस् । नक्शाहरू घोत्लिएर हेर्नुहोस् । उत्तर, दक्षिण, पूर्व, पश्चिम, अाग्नेय, नैऋत्य, वायव्य र र्इशान दिशाहरू खुट्याउनुहाेस् ।  पाटी, पाैवा, सत्तल, बहाल, देवस्थलहरू, चाैताराे, ढुङ्गेधारा, दरबार, पाेखरी,  अादि प्राचीन धरोहरहरू घुम्नुहोस् । वृद्ध, असहाय र अनाथहरूलाई भेट्नुहोस् । जो सकेको सहयोग गर्नुहोस् ।


कुनै तथाकथित राम्रो मानिएको विद्यालयमा प्रवेश गरेर पुनः घोकन्ते ११ र १२ को चक्करमा पर्नभन्दा अघि अलिकति जीवनलाई व्यापक रूपमा अनुभव गर्नुहोस् । जीवनमा सिक्नुपर्ने कुरा अनगिन्ति र व्यापक छन् । जीवनका मूल्यवान् दुई तीन महिना पनि सँधैजस्तो एकोहोरो कक्षाकोठामै नष्ट नगर्नुहोस् । पुनः पुरानै शैलीमा फर्कनु अघि तपाईँ र तपाईँको मस्तिष्कलाई ताजगीको आवश्यकता छ । तपाईँले यी दुई तीन महिना पनि अलिकति पृथक् बाँच्नसक्नुभयो भने जीवनभरको लागि अमूल्य बन्नेछ ।

अन्त्यमा पुनः यो पत्र लेख्न प्रेरणा दिने भाई दीपकिरण खड्का तथा यसलाई अझै परिष्कृत बनाउन प्रेरणा दिने दाजु केदार शर्मालाई धन्यवाद दिँदै यो पत्र यहीँ टुङ्याउँछु ।


तपाईँहरूको स्नेही दाजु,

शिव संकल्प
पोखरा, कास्की, नेपाल । 

चित्र: काठमाण्डुु पोष्ट

२०७५ वैशाख ३ गतेकाे बाह्रखरीमा प्रकाशित


Wednesday, February 14, 2018

वैज्ञानिक (२०७४ फागुनको मधुपर्कमा प्रकाशित कथा)


वैज्ञानिक (कथा)
~शिव सङ्कल्प


    

‘देशको विकास विज्ञानबाटमात्र सम्भव छ ।’

सानैदेखि सुनेको थियो उसले । विद्यालयमा विज्ञान भन्ने विषयका शिक्षकले सुनाएका थिए यो कुरा उसलाई ।  त्यतिबेलासम्म साइन्स भन्ने उसले सुनेको थिएन । उतिबेला उसको गाउँमा अंग्रेजी विद्यालयहरू थिएनन् । 

‘आजका हामी कोपिला
भोलि फूल बन्नेछौँ
पढी गुनी ठूलो भै
देशको विकास गर्नेछौँ...’

यस्तै यस्तै शब्द भएका कविता लेखेर पाँच कक्षामा हुँदा सान्त्वना पुरस्कार पनि जितेको थियो उसले । जोशका साथ यो कविता पाठ गरीरहँदा उसको मनमा ठूलो मान्छे भन्नाले वैज्ञानिक भन्ने छाप थियो । उसका विज्ञान शिक्षक बडा प्रगतिशील विचारका थिए । पाठकहरूमा भ्रम नपरोस्, कुनै राजनैतिक संगठनका सदस्य भने होइनन् ।  काठमाण्डौँबाट प्रथम श्रेणीमा आईएस्सी गरेर पनि गाउँमा शिक्षक हुन रोजेका थिए उनले ।  उनैको प्रभाव परेको थियो उसलाई । तिनले केटाकेटीमा ठूलो मान्छे भन्नाले डाक्टर वा इञ्जिनयिर मात्र भन्ने अवधारणामा वैज्ञानिक भन्ने पनि जोडिदिएका थिए । वैज्ञानिक भन्नाले सेतो कोट र मोटो चश्मा लगाएको सूक्ष्मदर्शक यन्त्र हेरिरहेको मान्छे थियो उसको मनमा । जसले नयाँ नयाँ चीज आविष्कार गर्थ्यो ।
उसले अति परिश्रमका साथ पढ्यो । ब्याट्री र नीलो तुथोको मद्दतले स्टीलको चम्चामा तामाको जलप लगाएको प्रयोगले उसको मनमा राम्रै जलप लगाएको थियो भने  कीलामा तार बेरेर चुम्बक बनाएको प्रयोगले उसलाई चुम्बकले झैँ आकर्षित गर्थ्यो ।

० ० ०

उसले प्रथम श्रेणीमा एसएलसी पास गर्‍यो । एकासी प्रतिशत त्यसताक ठूलो प्रतिशत थियो । युवा पाठकहरू नझुक्किनुहोस् । त्यो ताक विशिष्ट श्रेणीको व्यवस्था थिएन । प्यूठान जिल्लाभरीमा सर्वप्रथम भएको थियो ऊ । 

‘योगबहादुर घर्ती मगरले आज जिल्लाकै नाम राखेका छन् । प्यूठान जिल्लाले आज शिक्षाको क्षेत्रमा फड्को मारेको छ ।’

जिल्ला शिक्षा अधिकारीले भाषण गरे ।

‘अब राम्रो शिक्षाको लागि दाङ नेपालगंज राखेर पढाउनुपर्ने अवस्था छैन । अलिकति परिश्रम गराउन सकेको भए हाम्रो योगबहादुर बोर्डमा आउने थियो । सकिएन ।’

हेडसरले नरमाइलो माने । 

तैपनि स्कूलको नाम उँचो भयो । उसको अबीर जात्रा भयो । आमाले इन्द्रबेली चामलको खीर पकाएर खुवाइन् । फूलमालाले ऊ पुरियो । रिन काढियो । सुन बेचियो । ऊ काठमाण्डौँ पुग्यो । 

० ० ०

भौतिक शास्त्रका प्राध्यापक कडा थिए । अर्थात् फिजिक्सको प्रोफेसर स्ट्रिक्ट थिए । गाउँतिरबाट आएका विद्यार्थीलाई उनी छेड हानी रहन्थे । अप्टिक्सको क्लासमा प्रश्न सोध्दा प्रोफेसरले योगबहादुरलाई झपारे । 

‘ग्लास स्लाब भनेको के रे ? के हो यस्तो ? भोलि रुलर भनेको के हो ? मैले त देखेकै छैन भनेर पनि सोध्छौ तिमीहरू... बकवास ...तिमीहरूको क्वेइशन इण्टरटेन गरेर सकिएला ?’

योगबहादुरलाई घोच्यो । अब पढाईको माध्यम अंग्रेजी भइसकेको थियो । योगबहादुरलाई धेरै मुश्किल पर्‍यो । ठमेलको क्याम्पस नजिक पर्छ भनेर सामाखुसीमा डेरा लिएको उसले नियमित कक्षा लिए पनि क्याम्पसमा पढाएको बुझ्न सकेन । अझ अलि दिनपछि त कक्षा पनि कम कम हुन थाल्यो । सय डेढसयजना भरी हुने कक्षामा मुस्किलले दश पन्ध्रजना आउन थाले । अरुहरू प्राक्टिकलमा मात्रै आउँथे । पछि सोध्दा उसले थाहा पायो पढाई त बागबजारतिर हुँदो रहेछ । ऊ पनि बागबजार धाउन लाग्यो ।

‘योगबहादुर, भोलिबाट क्लास नआउनु , आउन मन भए फी लिएर आउनु’
बागबजारका कोचिङ मास्टरले थर्काए ।

 उसलाई धेरै नरमाइलो लाग्यो । शहर उसले सोचे जस्तो थिएन । न त विज्ञानको पढाई नै । काला अक्षर नै घोक्नुपर्थ्यो यहाँ पनि । उसले प्रयोग गरेर सिक्न बहुत कम पायो । तर योगबहादुरका आँखामा सपना थिए । उसलाई जसरी पनि वैज्ञानिक बन्नु थियो । देशको विकास गर्नु थियो । आमाका सुनले योगबहादुरलाई पुगेन । योगबहादुरका बाले पाखो बारी बेचे । 

० ० ०

धेरै थरी मान्छे भेट्यो योगबहादुरले कलेजमा । शहरको स्कूलमा पढेकाहरू फरर्र अंग्रेजी बोल्थे । उसलाई बुझ्न हम्मे हम्मे पथ्र्यो । तिनीहरू अंग्रेजी गीतका गायकको कुरा गर्थे, बास्केटबलका कुरा गर्थे, क्रिकेटका कुरा गर्थे, जनरल नलेजका कुरा गर्थे आईएस्सी सकेपछि डाक्टर र इञ्जिनियर पढ्न पाइने स्कलरशीपको कुरा गर्थे । उसले बुझ्थेन । 

अर्काथरी मान्छे उसलाई ‘फलानो रङ्गको झण्डा बोक’ भन्थे । ‘आज यो दाई आउँदै हुनुहुन्छ भोलि त्यो दिदीको भाषण छ’ भन्थे उनीहरू । उसले त्यो पनि बुझ्थेन । 

कहिले काहिँ गोरो सोझो केटो देखेर राम्री केटीहरू आएर ‘आज बालाजु तिर जाने ?’ भन्थे । त्यो कुरा चाहिँ उसले बुझे पनि उसको खल्तीले बुझ्थेन । 
तर ती कसैले पनि वैज्ञानिक हुने  अथवा देशको विकास गर्ने  कुरा गरेनन् । 

‘आईएस्सी सकेपछि के गर्ने ?’ भनेर सोध्थे उनीहरू । 

‘म वैज्ञानिक बन्छु’ योगबहादुरले भन्थ्यो । गलल्ल हाँस्थे उनीहरू ।

कुनै कुनै शिक्षकले भने उसलाई माया गर्थे । 

‘किताबको ज्ञानले मात्र पुग्दैन र क्याम्पसको पढाईले मात्र पुग्दैन योगबहादुर, बाठो बन, अंग्रेजी सुधार । पहिले पहिले म पनि तिमीजस्तै थिएँ ।’ 

बोटनीका प्रोफेसर ज्ञवालीले योगबहादुरलाई ज्ञान दिए । तिनले योगबहादुरको सपनालाई हाँसोमा उडाएनन् । तिनले योगबहादुरलाई आईएस्सी सकेपछि  बायोटेक्नोलोजि पढ्न सुझाव दिए । 

लामखुट्टेको टोकाइ सह्यो उसले । झूल किन्न भनेर छुट्याएको पैसाले दश ब्याण्डको रेडियो किन्यो ।  मट्टितेलको स्टोभमा दम दिँदै शर्टवेभमा बीबीसी विश्वसेवा सुन्यो । अंग्रेजी पत्रिकाको ग्राहक बन्यो । काठमाण्डौँका विभिन्न पुस्तकालयको सदस्य बन्यो । ज्ञानगुनका धेरै कुरा सिक्यो । जसोतसो टुप्लुक्क आइएस्सीमा प्रथम श्रेणी टेक्यो उसले । उसलाई डाक्टर बन्नु थिएन । उसलाई वैज्ञानिक बन्नु थियो । योगबहादुर अटल थियो । 

० ० ०

शहरकै एक नीजि कलेजबाट बायोटेक्नोलोजि गरी सक्दा नसक्दै योगबहादुरले साइन्स र रिसर्च कम बुझेपनि देश र समाज धेरै बुझिसकेको थियो । उच्च अध्ययनका लागि छात्रवृत्तिका लागि अनेक प्रयास गर्दा पनि केहि नलागे पछि उसले गाउँ फर्कने बिचार गर्यो । तर सात सात वर्ष काठमाण्डौँ बसेर उसले सिध्याएको घरको सम्पत्ति सम्झ्यो । बाउको उदास अनुहार सम्झ्यो । आमाका बुच्चा नाक र कान सम्झ्यो । ऊ गाउँ फर्कन सकेन । बोर्डिङ स्कूलमा र ट्युसन पढाएर उसले पेट पाल्यो । काठमाण्डौँ छाडेन ।  धेरै प्रयासपछि जापानमा एग्रिकल्चरल बायोटेक्नोलोजि पढ्न छात्रवृत्ति पायो योगबहादुरले । उसले अनेक परिश्रम गरेर सिकेको अंग्रेजीले उसको विश्वविद्यालयमा काम गरेन । एक वर्ष अतिरिक्त नष्ट गरेर जापानी भाषा सिक्यो उसले । एक वर्षमै भाषामा राम्रो दख्खल बनाए पछि योगबहादुरले बुझ्यो भाषा केवल माध्यम रहेछ । जति धेरै भाषा जान्यो उति राम्रो तर गौरव भने आफ्नै भाषामा हुँदो रहेछ । देश समृद्ध हुनु महत्त्वपूर्ण रहेछ ।

० ० ०

चिल्ला सडक र अग्ला घरहरू अब विपना थिए । संसारकै सबैभन्दा ठूलो र महंगो मध्येको शहरमा थियो ऊ । बिजुलीका कहिल्यै कल्पना नगरेका यन्त्रहरूको प्रयोग उसका लागि सामान्य बने । विश्वकै तीव्रतम गतिका रेलको यात्रा, उच्च सुविधासम्पन्न प्रयोगशालामा नित्य नया परीक्षण उसका दैनिकी बने । भौतिक समृद्धिको चरम देख्यो उसले । मान्छेहरू अति परिश्रमी थिए । कतिपय अवस्थामा यन्त्रवत् लाग्थे । ‘तिनीहरू खुसी चाहि कति थिए ?’ भन्ने योगबहादुरले भेउ पाउन सकेन । 

उसको प्रयोगशालामा अधिकांश वस्तु स्वचालित थिए । तर पनि कतिपय मुख्य कुराहरू हातैले गर्नुपर्थ्यो । नेपालकै परम्परागत धान इन्द्रबेलीको नयाँ प्रजातिको विकासको लागि डीएन्एमा गर्न सकिने संभावित परिवर्तनको विषयमा उसको अनुसन्धान थियो । युरोपका अन्य दुई तथा अमेरिकाको एक विश्वविद्यालयको सहकार्य थियो उसको काममा । वैज्ञानिक जर्नलमा प्रकाशित भएका नवीनतम शोधहरू उसको कम्प्युटरमा उपलब्ध थिए । योगबहादुरले प्रशस्त पढ्यो । पढ्नु अनुसन्धानको पूर्वकार्यमात्र रहेछ । तिनमा आधारित रहेर नयाँ काम गर्नुपर्ने रहेछ । नैतिकवान् हुनु अनुसन्धानका मुख्य पूर्वशर्त रहेछ ।  विश्वविद्यालयको काम दक्ष जनशक्ति उत्पादन गर्ने भनेर बुभेको योगबहादुरले विश्वविद्यालयको मुख्य काम ज्ञानको अभिवृद्धि रहेछ भन्ने बल्ल बुझ्यो ।  उसैका अनुसन्धानपत्रहरू नाम चलेका जर्नलमा निस्के । उसले मास्टर्स गर्‍यो । पीएच्‌डी गर्‍यो ।  योगबहादुरलाई यो सबै मन लगाएर सिक्नुथियो । आफ्नो देशमा प्रयोग गर्नु थियो । 

‘तिमी जबसम्म आफ्नो संस्कृतिमा गर्व गर्दैनौ तबसम्म तिम्रो देश विकसित हुन सक्दैन ।’

‘जबसम्म युवाहरूले आफ्नो भाषामा प्राविधिक शिक्षा पाउँदैनन् व्यक्तिहरू अगाडी बढ्लान् तर देश अगाडी बढ्न सक्दैन ।’

प्रोफेसर नाकामुराले जापानी भाषामा भने । योगबहादुरलाई चसक्क घोच्यो । ‘एक पुस्ताले कठिन परिश्रम गर्नै पर्छ ।’ उसलाई दिव्यज्ञान खुल्यो । ‘एकपुस्ताले मात्र किन? पुस्तौँ पुस्ताले परिश्रम गर्नुपर्छ ।’ उसले दिव्यज्ञानलाई अझ परिष्कृत बनायो । 

पोष्ट डक्टरेटको अवसरलाई मात्र होइन ल्याबोरेटोरिमा सँगै काम गर्ने डा. मासायोको सँगै जिउने बाँच्ने प्रस्तावलाई पनि चटक्कै छोडेर योगबहादुरले स्वदेश फर्कने निर्णय गर्यो । हुन पनि उसले आठ आठ वर्ष विदेशमा बिताइसकेको थियो ।

० ० ०

योगबहादुरले विश्वविद्यालय चहार्‍यो अनुसन्धान केन्द्र चाहार्‍यो । निजी कम्पनीहरू पनि चाहार्‍यो ।  काम पाउन सकेन । दुई वर्ष वितेपछि उसले विश्वविद्यालयमा आंशिक पढाउने जागिर पायो । त्यहाँ उसको लागि अनुसन्धानको वातावरण थिएन । ऊ सरकारी र नीजि दुबै खाले अनुसन्धान केन्द्रमा पालै पालो सर्‍यो । त्यहाँ पनि उसको मन रमाएन । त्यहाँ प्रयोगशाला त थियो यन्त्र थिएनन् । जहाँ यन्त्र  थिए ती बषौँ देखि नचलेका थिए । जहाँ नयाँ यन्त्र थिए तिनका लागि आवश्यक रसायन थिएनन् । जहाँ सबै थिए  त्यसलाई चलाउन अनुमति लिने प्रक्रिया पूरा गर्न छ महिना लाग्थ्यो । जहाँ सबै सरल थियो त्यहाँ उसले गरेको कामको नाम पाउँथेन । जहाँ नाम पाउँथ्यो त्यहाँ जति तलब बुझेँ भनेर उसले सही गथ्र्यो त्यसको आधामात्र पाउँथ्यो ।  आँफैले लगानी गरेर अनुसन्धान केन्द्र पनि खोल्यो उसले  तर सरकारी अनुमति, कर आदिको जञ्जाल चिर्न सकेन । उसका पैसा मात्रै सकिए । 

० ० ०

उसले आफ्ना क्षेत्रका अग्रजहरूलाई भेट्यो । आफ्ना क्षेत्रका राजनैतिक नेतालाई भेट्यो । एक जनाले उसलाई कृषि मन्त्रीको वैज्ञानिक सल्लाहकार बनाइदिए । उसले ‘रैथाने प्रजातिको धानको विकास र संरक्षण सम्बन्धि योजना’ देशभर लागूगर्ने योजना बनायो । तर छ महिना पछि उसको जागिर खुस्कियो । जागिर खुस्किए पनि आँफूले थालेको काम नरोकियोस् भनेर उसले नयाँ मन्त्रीलाई अनुनय विनय गर्‍यो ।

‘डाक्टर साहेब जापानमा पढेको भन्दा जर्मनीमा पढेका वैज्ञानिक राख्ने हाम्रो सरकारको नीति छ । नयाँ सल्लाहकारका अनुसार तपाईँको योजना प्रतिगामी रहेकाले तत्काललाई लागु गर्न नसकिने भयो । माइण्ड नगनुहोला ।’
नयाँ कृषिमन्त्रीले धानदिवसको भाषण पछि उसलाई खुसुक्क भने । 

उसलाई आफू वैज्ञानिक भएको कुरामा पत्यार परेन । तीन वर्ष  यसरी यता उता हल्लिए पछि उसले गाउँ फर्कने निर्णय गर्‍यो ।

० ० ०

योगबहादुरले गाउँ फर्केर बिहे गर्‍यो । बाख्रा पाल्यो । भैँसी पाल्यो । अर्काको बारीमा मकै र कोदो छर्‍यो । साहुको बिग्रेको खेत सजेर उसले इन्द्रबेली धान लगायो । तरकारी खेती गर्‍यो । जडीबुटी लगायो । निरन्तरको परिश्रमले पाँच वर्षमा आफ्नै पाखो बारी पुनः किन्यो आमालाई फेरी गहना किनिदियो । आँफै पढेको स्कूलमा पढाउन लाग्यो योगबहादुर । जहाँबाट शुरु भएको थियो त्यहीँ आइपुगेको थियो उसको जीवन ।


एक दिन उसले पत्रिकामा खबर देख्यो नेपाली धान इन्द्रबेलीको नयाँ प्रजातिको विकासमा नेपाली मूलका जापानी वैज्ञानिक डा.भोगेन्द्र तथा उनकी जापानी पत्नी डा. मासोयाका सफलताको खबर थियो त्यो । डा. मासोयाले उसैको जुनियर अर्को नेपाली भोगेन्द्रसँग बिहे गरिछ । उनीहरूले त्यसको पेटेण्ट समेत लिएका थिए । योगबहादुरलाई एकचरण झनक्क रिस उठ्यो । ऊ पुनः काठमाण्डौ आयो । आफ्नो गाउँको धानको पेटेण्टको लाभ स्थानीयले पाउनुपर्छ भनी उसले पैरवी गर्‍यो । यसपालिका मन्त्रीले उसलाई सहयोग गरे । कृषि मन्त्रालय, विज्ञान मन्त्रालय र परराष्ट्र मन्त्रालयका विशेष पहलमा यो पेटेण्टको लाभ स्थानीयलाई दिलाउन पहल भयो । विश्वका परस्परमा प्रतिस्पर्धी सञ्चारमाध्यमले यो विषयलाई उराले ।  विश्वभरी यो विषयमा हंगामा भयो । योगबहादुर नायक भयो । पेटेण्टमा उसको नाम पनि जोडियो । उसको गाउँलाई नमुना गाउँ मान्दै इन्द्रबेली धानको स्थानीय प्रजातिको संरक्षणको लागि नेपालभरी योजना बन्यो । 


० ० ०

आज योगबहादुरले  आफ्नै गाउँको आफ्नै निर्देशक भएको अनुसन्धानकेन्द्रको परिसरबाट पर पर सम्म लटरम्म झुलेको इन्द्रबेली धान हेर्‍यो । उसलाई आज पहिलो पटक वैज्ञानिक भएको अनभूति भयो । 󠄊

Sunday, January 28, 2018

पाेखरामा जडीबुटीको वैज्ञानिक प्रयोग सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन हुदै (भिडियाे सहित)




नेपाल व्यापक जैविक विविधता र जडीबुटीको प्रशस्त उपलब्धता भएकाे मुलुक हाे । जैविक विविधताकाे लाेककल्याणकारी उपयाेगकाे प्रचूर संभावना भएका मुलुकमा नेपालकाे  विश्वमै अग्रणी  स्थान छ ।  तर पनि नेपालमा उपलब्ध जैविक स्राेत साधनकाे वैज्ञानिक उपयाेगकाे क्षेत्रमा भने उल्लेख्य प्रगति हुन सकेकाे छैन । यसै परिप्रेक्ष्यमा नेपालमै अाैषधि विज्ञानकाे अाधारभूत अध्ययन गरी विश्वका विभिन्न मुलुकहरूबाट उच्च अध्ययन पूरा गरेका युवाहरूकाे अग्रसरतामा यही फागुन २ र ३ गते पर्यटकीय नगरी पाेखरामा त्रिभुवन विश्वविद्यालय,कृषि तथा वन विश्वविद्यालय लगायत सम्वन्धित सरोकारवाला संस्थाहरुको सहकार्यमा हिमालयक्षेत्रकाे जैविक विविधता र जैविक स्राेत सम्बिन्ध विषयमा दुर्इ दिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएकाे छ ।  सम्मेलनमा नेपाल, भारत, जापान, जर्मनी, नर्वे, दक्षिण काेरिया, बंगलादेश लगायतका मुलुकका  विश्वविद्यालय तथा अनुसन्धान संस्थाका वैज्ञानिकहरूले  विशेष गरी अाैषधीय वनस्पतिलगायतका प्राकृतिक स्राेतकाे वैज्ञानिक अध्ययनका विषयमा कार्यपत्र प्रस्तुत गर्ने याेजना रहेकाे छ । सम्मेलनमा नेपाल लगायतका विभिन्न मुलुकका करीब चालीस युवा वैज्ञानिकहरूले वैज्ञानिक पाेष्टर प्रदर्शन गर्ने कार्यक्रम पनि रहेकाे छ ।

सम्मेलनका बारे थप सूचनाका लागि यहाँ क्लिक गर्नुहाेस् 


 


बिटकाेइन किन्नुभयाे ? (इन्टरनेटको संसारको टाइमलाइन!)



१९९९ हटमेल छ?
२००० याहुमा मेल गर!
२००१ एमएसनमा अनलाइन आऊ त! 
२००२ एओएलमा आऊ!
२००३ ब्लगिङ गर्छौ? 
२००४ माइस्पेसमा छौ? 
२००५ लिङ्क्डिनमा हेर प्रोफाइल!
२००६ अर्कुटमा भेटम्ला!
२००७ हाइ फाइव्‌मा खोज!
२००८ फेसबुकमा लाइक गर!
२००९ युट्युबमा हेर न! 
२०१० फ्लिकरमा हाल त! 
२०११ स्काइप्‌मा कुरा गरम्ला! 
२०१२ ट्विटरमा फलो गरन!
२०१३ गुगलमा ह्याङआउट गरम् त!
२०१४ इन्स्टामा फोटो हाल त! 
२०१५ स्न्यापच्याट गर त! 
२०१६ ह्वाट्स्यापमा फर्वार्ड गर त! 
२०१७ पिन्टरेस्टमा इन्टरेष्ट जाग्दैछ!
२०१८ बिटकोइन किन्यौ?

Sunday, January 14, 2018

माघ महात्म्य (आधुनिक)



अथ आधुनिक माघ महात्म्य ।

हे भक्तजनहरू! आजका दिन हरेक भक्तले बिहान सबरै आठ बजे उठेर मनतातो पानीको शावर लिई, धोइ पखाली प्रेस गरी शुद्ध गराइएका वार्मर, स्वेटशर्ट, जीन्स, ज्याकेट आदि वस्त्र पहिरी जानी नजानी खिचडी पकाइ, सुपरमार्केटबाट ल्याइएका सेल, तिलको लड्डु आदि सेवन गरोस् । सेवनपूर्व तिनक‍ो चित्र खिचि फेसबुक ट्विटर आदिमा टाङ्न नछुटाउनु । छुटाएमा फल मिल्दैन । आलु तरूल चाकु अादि उति हाइजेनिक नहुने हुँदा नखाए पनि दोष लाग्दैन । चित्र भने अरूक‍‍ै प्रोफाइल वा मैले झैँ गुगलकै पेटारोबाट झिकेर भए पनि हाल्दिनु अलिअलि दोष लागे पनि मेटिनेछ ।

त्यस पछि एकचरण ह्याप्पी माघे संक्रान्ति, ह्याप्पी माघी, ह्याप्पी मकर संक्रान्ति आदि लेखिएका रङ्ग र ठङ्गका फर्वार्डेड चित्रहरूलाई अरू पचास जानालाई ठेली गिदी गरोस् । त्यस पछि अल्लि दिउसो भए पछि " यो चाड सामन्ती शोषकहरूले परिश्रमी गरीब जनतालाई रमाइलोमा भुलाइ शोषण जारी राख्न चलाएको मध्ययुगीन चाड हो, बहिष्कार गरौँ" भनेर फेसबुक अादि संचारमा एकचरण वमन गरोस् । तर्क वितर्क र कुतर्क गर्न जान्ने भएमा च्याउ पत्रिका/अनलाइन आदिमा लेख/ब्लग लेखेर छपाए पनि हुन्छ ।

बेलुका भए पछि विदा त सेलेब्रेट गर्नै पर्‍यो भन्दै काम न काजका पत्रुहरू बटुलि कुत्सित रसपान गर्न जुटोस् । माहोल जमे पछि मदमत्त आंग्लभाषामा एकचरण ट्रम्प देखि देउवासम्म, किमदेखि ओली-प्रचण्डसम्म र मोदीदेखि रवीन्द्र मिश्रसम्मलाई सरापोस् । रात छिप्पिएर नशाले छोडेपछि "लुटतन्त्र ढाल्नैपर्छ, भ्रष्टलाई कीरा परोस्,  #आइएमविथ डाकेसी #ह्याप्पीमाघेसक्राति" लेखेर एउटा ट्विट ठेलेपछि सारा पापको प्रायश्चित्त भै व्रतपूर्ण हुन्छ  अथवा अाफ्ना आफ्ना स्मार्टयन्त्रबाट यो पोष्टलाई बुढी उम्लो उचालेको संकेत गरी  शेयर भन्ने ठाममा अँठ्याए पनि व्रत पूर्ण हुनेछ, यो पोष्ट लाइक गर्नि तर शेयर नगर्निले आधामात्र फल पाउँनेछ भने यो पोष्ट मुसुमुसु हाँस्दै पढेर  पनि लाइक शेयर केहि पनि नगर्निलाई भने ब्रह्महत्याको पातक लाग्नेछ।

इति श्री स्कन्दपुराणे नेपालखण्डे आधुनिक माघमहात्म्यं नाम दशमोऽध्याय: समाप्त: ।।

Tuesday, January 2, 2018

किन हार्यो कांग्रेस ?

किन हार्यो कांग्रेस ?

~ शिव संकल्प

मेरो डीएनएमा नै लोकतन्त्र कुँदिएको छ । यसबाट म कहिल्यै पनि अलग हुन सक्दिन । म एक प्रजातन्त्रवादी व्यक्ति हुँ । यसो भनीरहँदा धेरैले बुझ्ने अर्थ भनेको नेपाली कांग्रेससँग आबद्ध वा नेपाली कांग्रेसको कुनै भातृसंगठनमा आबद्ध भन्ने हुँदो रहेछ । तर यसो नबुझ्नु होला, जीवनको कुनै पनि कालखण्डमा कुनै पनि भातृसंगठनको कुनै पनि तहको सदस्यता नलिएको व्यक्ति हुँ म । आफ्नो विश्वविद्यालयको प्राध्यापक संघमा स्वतन्त्र प्रत्याशी भएर दुई मत पाएर पराजित भएको अनुभव छ मसँग । मेराे लाेकतन्त्र भनेकाे लाेककल्याणकारी राज्यव्यवस्था हाे । लाेकतन्त्रकाे अाधार जनताले चुनेकाे सरकार मात्रै हैन, जनकल्याणकारी सरकार पनि हाे । जनताले चुनेकै भए पनि जनकल्याणकारी हुन सकेन भने त्यसकाे अर्थ छैन । 

म यो कुरा प्रारम्भमा नै लेख्दैछु किनभने यहाँहरूमध्ये धेरैको नजरमा म अव्यावहारिक सुनिन सक्छु कतिले त यसको मानसिक स्थिति त ठीक छ ? पनि सोच्न सक्नुहुन्छ । यदि तपाईँ पनि यस्तै सोच्नुहुन्छ भने कृपया यो लेख यो भन्दा तल नपढ्नुहोला, अरू नै कुनै रमाइलो ट्रोलहरू भएतिर स्क्रोल गर्नुभए जाति हुन्छ । जो यो सुनेर पनि मेरा विचार जान्न चाहनुहुन्छ वहाँहरू समक्ष आज हालैको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसको पराजयका कारणहरूबारे चर्चा गर्न चाहन्छु । निश्चय पनि यो शीर्षक वर्तमान परिपाटी अनुसार अलकति पाठक तान्ने उद्देश्यका साथ बनाइएको हो ।  समग्रमा यो वर्तमान निर्वाचनको समीक्षा हुनेछ । 

हालको निर्वाचनमा मुख्य प्रतिस्पर्धीहरूलाई बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भनिन्थ्यो । बाम गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र थिए भने लोकतान्त्रिक गठबन्धनको मुख्य पार्टी नेपाली कांग्रेस थियो । म याे बुझ्दिन कि, आफ्नो मुख्य आदर्शमा समाजवाद बोकेको नेपाली कांग्रेस किन बाम भएन र लोकतान्त्रिक प्रक्रियामा सामेल भएर प्रतिस्पर्धामा उत्रेका कम्युनिष्ट पार्टीहरू किन लोकतान्त्रिक भएनन्? 

शायद नाम फरक राख्नुपर्ने भएकाले होला । मेरो बुझाइमा यी तीनै दलहरू एकै खाले हुन् । विशाल संविधानसभा बनाएर पनि देशको ठूला ठूला निर्णयहरू सीमित मान्छेहरू बसेर सहमति गरेरै टुङ्याएका दलहरू!  देशको राजनैतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक पक्षको भविष्य कुन दिशामा लैजाने भन्ने सोचमा यी सबैको एकै खाले सहमति हो । देशका जनताले बार बार  भोट हालेर जिताएका, आलो पालो सबैसँग मिलेर सरकार चलाएका पनि यिनै हुन् । आरोप प्रत्यारोपका बेला एकआपसमा निकालिने तुच्छ शब्दहरूको बारेमा पनि यी सबै 'को भन्दा को कम' नै छन् । यी सबै कारणहरूले पनि यी दलहरू मलाई खासै फरक लाग्दैनन् । कुनै व्यावसायिक खेल प्रतियोगितामा भाग लिने फ्रेन्चाइज टोली जस्तै हुन् । राष्ट्रको बृहत्तर हितमा यी सबै मिलेर राष्ट्रिय सरकार बनाए पनि फरक पर्दैन । कुन शक्तिले यो कुरा रोक्छ, रहस्यमय लाग्छ मलाई । तर यति हुँदा हुँदै पनि यिनमा केही बाह्य अन्तर छ , जसले एक अर्कालाई पृथक् बनाउँछ । शायद यसैले पनि होला यदि लोकतन्त्रको शोभाको रूपमा कुनै दल प्रतिपक्षमा बस्छ भने पनि उत्तम नै हुनेछ । तर प्रतिपक्ष रचनात्मक हुनु पर्छ । 

अब चर्चा गरौँ नेपाली कांग्रेस अहिलेको निर्वाचनमा किन पराजित भयो त? भन्ने बारे । यसबारेमा बुँदागत रूपमा तल विश्लेषण गरिएको छ ।

१. एमाले र माओवादी एकता

निःसन्देह यो सबै भन्दा प्रमुख कारण हो । नेपालमा पञ्चायत कालदेखि नै कम्युनिष्टमत बलियो रूपमा प्रचारित हुने तर दलहरू छिन्नभिन्न हुने प्रचलन थियो । बहुदलको पुनस्र्थापना पछि नेकपा एमालेले कम्युनिष्ट दलहरूमा सबैभन्दा राम्रो संगठन गर्न सफल भयो । तैपनि २०४८ सालको निर्वाचनमा यो प्रमुख प्रतिपक्ष मात्रै बन्न सफल भयो । सांगठनिक रूपमा सशक्त हुँदै गए पनि दलमा आएको विखण्डनले सोचे जति सफलता भने पाउन सकेन।  २०५१ साल पछि शुरूमा विद्रोही र पछि २०६४ को संविधानसभा पछि राजनैतिक शक्तिको रूपमा उदाएको माओवादी पनि दोस्रो संविधानसभासम्म आइपुग्दा निरीह लाग्न थालीसकेको थियो । तैपनि दुवै संविधानसभाका निर्वाचनमा अलग अलग लड्दा पनि यी दुई दलको स्थान जोड्दा नेपाली कांग्रेस भन्दा राम्रो थियो ।  यसै क्रममा बाम एकताका नाममा अचानक यी दुई दल एक ठाउँमा आउँदा कार्यकर्तामा धेरै उत्साहको संचार पैदा भयो र उनीहरू यसलाई जनस्तरमा लैजान पनि सफल भए । पूर्ण बहुमतको पहिलो बाम सरकार आकर्षक नारा बन्न पुग्यो भने २०४८ साल र २०५६ सालमा बहुमत पाएर पनि स्थिर सरकार दिन नसकेको इतिहास कांग्रेसको विपक्षमा गयो । यिनै कारणले  मतसंख्यामा अझै पनि उल्लेख्य कमी  नआए तापनि प्रत्यक्षमा भने नेपाली कांग्रेस धेरै ठाउँबाट पराजित भयो । 

२. भागबण्डे सिण्डिकेटको प्रभाव

नेपाली कांग्रेसकै नेतृत्वमा शुरू भएको लाभको, शैक्षिक तथा प्राशासनिक  पदहरूमा गरिने घृणित भागबण्डे सिण्डिकेटमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई धेरै ठाउँमा सहमतिमै १ः१ः१ अनुपातमा भागबण्डा छुट्याइयो । यो अनुपात ओगट्न पछिल्ला दलमा हुँदै नभएका अवसरवादीहरू समेत ती दलमा सामेल भए ।  जसले गर्दा महत्वपूर्ण पदमा हालको समीकरणमा १ः२ अनुपात बन्न पुग्यो । महत्वपूर्ण पदमा पुगेका यी व्यक्तिहरुले जनमतलाई विभिन्न रूपले प्रभावित गर्न सफल भए । तत्कालमा यो लाभदायक देखिए पनि गठबन्धनले पार्टी एकीकरण गर्दा यी अवसरवादीहरूलाई छिमल्न आवश्यक छ अन्यथा भविष्यमा बाम गठबन्धनको पतनको कारण पनि यिनै हुनेछन् ।
भागवण्डा गर्दा पनि नेपाली कांग्रेसले आफ्नो भागमा परेका स्थानमा स्वतन्त्र, निष्पक्ष, वस्तुपरक आलोचना गर्ने र योग्य व्यक्तिहरूलाई अनुरोधपूर्वक लाने भन्दा पनि अन्यदलले झैँ अयोग्य र दलका चाटुकारलाई प्रश्रय दियो, जसले गर्दा परम्परागत रूपमा नेपाली कांग्रेसको समर्थन गर्दै आएका कार्यकर्तादेखि भिन्न जनताहरूको पनि नेपाली कांग्रेस प्रति मोह भङ्ग भयो । नेपाली कांग्रेसले आफूलाई सुशासनको पक्षधर भनेर कुनै पनि रूपमा सिद्ध गर्न सकेन । 

३. कथित राष्ट्रवाद

संविधान जारी भैसके पछिको मधेश आन्दोलन र त्यसपछिको नाकाबन्दीका बेला प्रधानमन्त्री रहेका केपीओलीको भाषणहरूलाई राष्ट्रवादीको रूपमा महिमामण्डन गर्न उनको दल सफल भयो । धेरै अबोध जनताहरूको विश्वास पाउन उनी सफल भए । नेपाली कांग्रेसले यो बेला जनविश्वास जगाउने सम्मोहक कुरा गर्न सकेन । बरू दलका धेरै व्यक्तिहरू आफ्ना टिप्पणीहरूका कारण आलोचित भए । (शायद यो बुँदाको शीर्षक कथित राष्ट्रवादका कारण म अहिले पनि “लम्पसारवादी” आरोपित हुनेछु, भलै ठूला ठूला “लम्पसारवादी”सँग “राष्ट्रवादी”हरू लपक्कै भएका किन नहुन् ।) अबोध जनताहरूसँग कुटनैतिक सुझबुझका कुरा गरेर हुँदैन सम्मोहक कुरा गर्न पर्छ भनेर नेपाली कांग्रेसले जानेन ।

४. असक्षम नेतृत्व र अस्पष्ट विचार

नेपाली कांग्रेसमा विषम परिस्थितिमा सुझबुझ देखाउने नेतृत्व देखिएन । चिन्तक, विचारकहरूले भरीभराउ भनिएको दलमा राम्रो चुनावी रणनीतिकार पनि देखिएन । बाम गठबन्धन भन्दा के के कारणले फरक र आवश्यक भनेर नेतृत्वले बुझाउन सकेन । आफ्ना योजना बताउनुभन्दा अधिनायकवाद र रुन समेत नपाइने भन्ने जस्ता प्रचार गर्नुले पनि उसकाे तयारी प्नष्ट भयाे । भर्खरैको स्थानीय चुनावमा माओवादीसँग मेलमिलाप गर्नु पनि दलका लागि प्रत्युत्पादक भयो ।  घोषणापत्रमा पनि बाम गठबन्धनकै झझल्को दिने असंभाव्य योजना र शब्दजाल राखियो तर आफ्नो स्पष्ट विचार आउन सकेन । उम्मेदवार चयनमा नयाँ दृष्टिकोण एकदमै बिरलै मात्र प्रकट हुन सक्यो ।  दलले गगनथापा, विश्वप्रकाश वा धनराज गुरुङ जस्ता राम्रो छवि प्रक्षेपित गर्न सफल व्यक्तिहरूको पनि  समुचित प्रयोग गर्न सकेन । 

५. अन्तर्घात

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको स्वभाव अन्य दलको तुलनामा भिन्न रहेको बताइन्छ । नेतृत्वमा बडप्पन, असौहार्दता, अन्य व्यक्तिप्रति सम्मानको अभाव जस्ता गुणहरू तुलनात्मक रूपमा ज्यादा रहेको कुरा कार्यकर्ताले अनुभव गरेको बताउँछन् भने कार्यकर्ताहरू धेरै गुटबन्दीले प्रभावित रहेको नेताहरूको अनुभव छ । यसका कारण एक आपसमा नसघाउने प्रवृत्ति अन्य दलको तुलनामा नेपाली कांग्रेसमा यो टड्कारो देखिन्छ । यही कारणबाट पनि नेपाली कांग्रेसले साेचे जति पनि सफलता पाउन सकेन ।

माथिका कारणहरूलाई अबका सत्तापक्ष र विपक्ष दुबैले मनन गर्नुपर्दछ । सत्तापक्षले धेरै विजयोन्मादी नभैकन लोककल्याणकारी कार्यमा आफूलाई प्रवृत्त गर्नुपर्छ । छरितो र स्वच्छ छविका व्यक्तिहरूको मन्त्रीमण्डल बनाउने, शीर्ष नेतृत्वले लोभ नगरीकन वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई अर्को कार्यकालको लागि चुन्ने, राज्यकोषको अनावश्यक दोहन न्यूनतम गर्ने, प्रदेशका संसद् तथा सरकारहरूका गठन र संचालनमा मितव्ययिताको सन्देश दिने, आर्थिक समृद्धकिा लागि उत्पादकत्व बढाउन बल दिने, छिमेकी राष्ट्रसितको सम्बन्धलाई सूझबुझका साथ विस्तार गर्ने, देश भित्रका शैक्षिक, प्राशासनिक पदहरूमा नियुक्ति गर्दा सक्षमतालाई विशेष विचार गर्ने आदि गरेर लोकको मन जित्न सक्नुपर्छ । अन्यथा याे निर्वाचित सरकार त हुनेछ तर लाेककल्याणकारी सरकार हुन भने विगतका सरकार झैँ असफल हुनेछ । 

विपक्षले पनि आत्मसमीक्षा गरी नयाँ नेतृत्व र कार्ययोजनाका साथ आगामी निर्वाचनसम्ममा सत्तापक्षका कमजाेरीका बलमा भन्दा पनि अाफ्ना गुणका बलमा आफूलाई विकल्पको रूपमा स्थापित गर्नसक्नुपर्छ ।

 २०७४ मंसिर २८ मा बाह्रखरीमा प्रकाशित
http://www.baahrakhari.com/news-details/43644/thought

धेरै पढिएकाे

पृष्ठ संग्रह