सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही वर्षअघि गनेस पौडेलका पैतालामुनि के छ ? भनेर खोस्रेका थिए । पञ्चासेको पोखरी किनारमा बिसाएपछि भाषिकले प्रेमिकलाई सोध्यो-
‘अनि तिमीले आफ्नो नाम शुद्ध पार्ने विचार गर्यौ त ?’
प्रेमिकले वास्ता गरेन । भाषिकले दोहोर्याएर सोधेपछि प्रेमिकले भन्यो-
‘नाम मिथ्या छ । ब्रह्म सत्यं जगत् मिथ्या भन्ने तिमीले सुनेका छैनौ ? हो त्यस्तै मिथ्या ।’
‘सुनेको छु तर त्यसको लगत्तै जीवो ब्रह्मैव नापरः भनेको तिमीले पनि त सुनेको होलाउ नि?’
भाषिकले उत्तर दियो ।
प्रेमिकको हातमा यसपटक कालो आवरणमा सेतो अक्षरले ‘मिथ्या’ लेखेको पुस्तक थियो । जुन पुस्तक भाषिकले धुल्याएर प्रेमिकलाई पढ्न दिएको थियो ।
‘यति राम्रो पुस्तकलाई राता कलमले कोरेर किन रातै पारेको होला ?’
प्रेमिकले पुस्तकका पृष्ठ पल्टाउँदै उदेक मान्दै सोध्यो ।
‘कुनै पुस्तकमा पाठकले कोरेको रातो रङ टल्किन्छ भने त्यो सुन्दर पुस्तक हो ।’ यसबेला भने बाटो हिँड्दै गरेको पथिकले उत्तर दियो ।
“सुन्दर पुस्तक? हरे, के भन्नुभएको ? यो पुस्तक त पैताला जस्तै अशुद्धि र असङ्गत प्रयोगको पेटारो रहेछ । पुस्तकको प्रारम्भ नै दोषपूर्ण छ । सुन्दर, शान्त, भव्य र मङ्गलवचनका साथ प्रारम्भ हुनु पर्नेमा असुन्दर, दुच्छर र अमङ्गल पूर्वकथाका साथ पुस्तक प्रारम्भ भएको छ । भालुको मुत अनि गोरुको मुत (पृ.१) भनेका कस्ता उपमा हुन् ? यी उपमाहरू प्रयोग गर्ने पात्रहरूद्वारा ग्रन्थको प्रारम्भ किन गर्नु परेको हो ? अनि भाइरल (पृ.१) भनेको के हो ? अल्पपठित पाठकका बिच भाइरल हुने रहरमा जे पनि प्रयोग गर्ने ? जुम्लाहात (पृ.७) पसार्ने भनेको कस्तो हो ? जुम्ला गएर हात पसार्ने हो? किन्चित (पृ १४), आँकलन (पृ.३६), अवशाद (पृ.३०), अट्टाहस (पृ.३९), उद्दार (पृ.४१), ध्यानस्त (पृ.६४), भष्म (पृ.८२), प्रदिप्त (पृ.९४), प्रसिद्धी (पृ.९५), विभुषित (पृ.९६), दैदिप्यमान (पृ.९७), गरिमाहिन र हितैसी (पृ.१०७), मूर्तिवत (पृ.१२४),सङ्ज्ञा (पृ.१६३) र शास्वत (पृ.१९१) भनेजस्ता हिज्जेहरू कुन नियम अन्तर्गतका हुन् ? एकै पङ्क्तिमा वन्चित लेख्दा आधा न र प्रपञ्च लेख्दा आधा ञ लेखिएको (पृ.१६) अनि एकै वा लगातारका वाक्यमा डन्डा र डण्डा (पृ.४७), काठमाँडु र काठमान्डु (पृ.४१), कापि र कापी (पृ.५०), पूर्णीमा र पुर्णिमा (पृ.६६), रोमान्चित र रोमाञ्चक (पृ.९४), कालिगण्डकी र कालीगण्डकी (पृ.१००) लेखिएको किन हो ? घटोत्कचको पुत्रको नाम लेख्दा कहिले बर्बरीक (पृ.१६) त कहिले बर्बरिक (पृ.१९) किन लेखिएको हो ? प्रसङ्गवशः (पृ.५२) भनेर अप्रासङ्गिक रूपमा विसर्ग राख्नेले विसर्ग राख्नै पर्ने स्वान्तः सुखायमा चाहिँ किन स्वान्तसुखाय (पृ.१६५) लेखेको हो? यी त केही प्रतिनिधि त्रुटि मात्रै हुन् । यस्ता भाषिक त्रुटि अनगिन्ती भएको अर्थात् सम्पादकले कामै नगरी पारिश्रमिक लिएको वा सम्पादकलाई बिना पारिश्रमिक काम लगाइएको ग्रन्थको के समीक्षा गर्नु ?”
भाषिकले एकै सासमा व्यङ्ग्यात्मक पारामा भन्यो ।
“तिम्रो सुन्दरता र माङ्गलिकताको पूर्वाग्रह नितान्त निजी हो । आधुनिक औपन्यासिक चेतबाट तिमी सर्वथा विमुख छौ । यसमा मैले तिमीमा केवल दयामात्र राख्न सक्छु । शास्त्रीय माङ्गलिकताको मोह प्रयोगधर्मी कृतिबाट राख्नु उदेकलाग्दो हो । समाजमा देखापर्ने स्वाभाविक शैलीबाट नै रहस्य र कल्पनालोकमा प्रवेश गर्ने हो । अस्वाभाविक आदर्शवादबाट हैन । जुम्लाहात नै जम्लाहात हो । भाषाको शुद्धता यसका स्वाभाविक प्रयोगकर्ताका जिब्रामा खोज्ने हो । शासकले लादेका शब्दकोशमा हैन । तिमीले खोजेको स्वान्तःसुखायको विसर्ग तिम्रा करले छापिएको अनेक असङ्गतिले भरिएको शब्दकोशमा हटिसकेको छ गएर हेर । मानक नेपाली व्याकरणका ह्रस्व र दीर्घका नियम भनेर घोकाइने नियमहरू अवैज्ञानिक र जनजिब्राको प्रतिकूल छन्, जनजिब्राले ठिक्क मिठो वा ठिक्क चिसो वा ठिक्क ठुलो को अर्थमा मिठो, चिसो र ठुलो बोल्छ भने तिनै गुण अतिरिक्त हुँदा मीठो, चीसो र ठूलो बोल्छ । अहिले व्याकरण भनेर पढाइने पुस्तकले यी कुरा समेट्दैन । भाषामा लादिएका अनेक असङ्गत नियमलाई अनुसरण गर्ने वा प्रतिवाद गर्ने बिचको दोधारले नै तिमीले गनेका जस्ता त्रुटि देखिने हुन् । यस्ता सबै त्रुटिमा लेखकको मात्रै हात हुँदैन । कतिपय स्थलमा त सम्पादकले उपबुज्रुक बनेर बिगारिदिएको पनि हुन्छ । वा प्रमादवश छुटेको पनि हुनसक्छ ।
उदाहरणका लागि लेखक सम्पादकहरूले किन्चित् मा खुट्टा काट्नै नजानेको भने होइन (पृ.२३)। भावको प्रवाहमा व्यवधान नभैन्जेल यस्ता झिनामसिना त्रुटिको तिलको पर्वत बनाउनु मूढता नै हो । तिम्रो छिद्रान्वेषण देख्दा म अवाक् भएँ । ‘गच्छतः स्खलनं क्वापि भवत्येव प्रमादतः हसन्ति दुर्जनास्तत्र समादधति सज्जनाः (अघि बढ्दै जाँदा कतिपय स्थलमा भूलवश त्रुटि भैहाल्छ, दुर्जनहरू यसमा पनि हाँसो गर्छन् भने सज्जनहरूले भने सुधार गरिदिन्छन्)’ भन्ने सुभाषित त तिमीले सुनेकै हुनुपर्छ ।
तिमीले छुद्र त्रुटिहरू गन्दै गर्दा त म न्यानो हुनु पर्नेमा न्यायो भएको (पृ.६१), ज्योतिषी हुनु पर्नेमा ज्यातिषी (पृ.६८), पुस्तैनी हुनु पर्नेमा पुस्तौनी (पृ.११५), लिफ्ट हुनु पर्नेमा लिट (पृ.१३१), छापामार हुनु पर्नेमा छापारमार (पृ.१७७) भएको पनि भन्छौ कि? भनेर पर्खन थालेको थिएँ । कस्सो त्यो चाहिँ भनेनौ ।”
प्रेमिकले स्पष्ट र उत्तिकै व्यङ्ग्यात्मक पारामा प्रतिवाद गर्यो ।
“पुस्तकको एक प्रमुख अध्यायको नाममै प्रयोग भएको तथा गर्भमा पनि प्रशस्त प्रयोग भएको यक्षणी (पृ.४७ र अनेक स्थलमा), कृष्णद्वौपायन (पृ.५१) अनि भष्मभूषण (पृ.१२४ र अनेक स्थलमा) जस्ता शब्दबारे चाहिँ महाशयको राय के छ नि? कि यी पनि जनजिब्राकै शब्द हुन् ? कि त यक्षी कि त यक्षिणी भन्नुपर्छ भन्ने लेखकले साधारण खोजबाट पत्ता लगाउन सक्ने कुरा हैन र ? भष्मभूषण भनेर नाम राख्दा श र षलाई पनि स बोल्ने नेपाली जिब्राले सलाई ष त पक्कै भन्दैन होला भनेर विचार गर्नुपर्दैन ? कि पेट फार्यो ष राख्दा आँफै शुद्ध हुने हो ? अनि बर्बरिककी आमा अहिलावतीलाई अहिलवती (पृ.१६) लेख्नु चाहिँ अङ्ग्रेजीमा महाभारत पढ्नुको परिणाम होला कि अङ्ग्रेजीमा महाभारत पढ्नेहरूको अनुकरणको परिणाम? तक्षशिला जस्तै सुनिने मोक्षशीला विश्वविद्यालयको नाममा शीला गर्नु परेको किन होला (पृ.२६) ? अनि सुन्दरे बस्ने डहर गुह्ये (पृ.६५) त नहोला कि गुहे कि गुह्य होला नि हैन र ? अनि उसले बजाउने बाजा पनि त हार्बिन होला हार्पिन (पृ.६६) त नहोला हैन र ? अनि भक्ष अभक्ष (पृ.१०८) हैन भक्ष्य अभक्ष्य हुन्छ भन्ने होसै नभएको हो कि यो पनि जनजिब्रै हो ? अनि सित्कार (पृ.१६०) जस्तो शब्द प्रयोग गर्न जान्नेले खास शब्द शीत्कार हो भन्ने जान्न अनि निर्णयसँग लागेका जघन्य र पाशविक (पृ १०) वा अर्कै अर्थमा आएको तरक्की (पृ.१२)को प्रयोग असङ्गत छ भन्ने पहिल्याउन कति वर्ष तपस्या गर्नु पर्ने हो ? छिनमै वात्स्यायनको कोकशास्त्र (पृ.१३७) अनि छिनमै वात्स्यायनको कामशास्त्र (पृ. १३९) लेख्नाले ती दुई शास्त्र अलग ग्रन्थकारका अलग ग्रन्थ हुन् पत्तै नभएको र यसमा सामान्य अनुसन्धान पनि नगरिएको झल्काउँदैन र ? अङ्ग्रेजीको एक्स्ट्र्याक्ट लेख्नुपर्ने स्थानमा अर्कै अर्थतिर ढल्किएको जस्तो लाग्ने शब्द एब्स्ट्र्याक (पृ.१४६) लेख्नाले शब्द जानेर भन्दा पनि सुरसुरैमा प्रयोग गरेजस्तो देखाउँदैन र ?
भाषिकले आफ्ना कटुवचन जारी राख्यो ।
“सुन भाषिक, तिमीलाई केवल काला अक्षर मात्रै पढ्न आउने रहेछ । मान्छेका मनमा लेखेको कुरालाई पढ्न तिमी सर्वथा असमर्थ रहेछौ, जो काला अक्षरका छुद्र आकृतिमै अल्झिएका छौ । तिमी जे खोज्छौ त्यही पाउँछौ । तिमी तुच्छ भाषिक अशुद्धि मात्रै खोज्न हिँडेका हुनाले त्यही पायौ । हे भाषिक, तिमी आफ्नो सीमित ज्ञानबाट माथि उठ, यिनी तिम्री यक्षी वा यक्षिणी हैनन् यी त लेखकको मनमा गडेकी यक्षणी नै हुन् । यो शुद्ध अशुद्ध भन्ने दुवै मिथ्या हुन् । जसले शब्दले गर्ने निश्चित भाव सञ्चारलाई अवरुद्ध गर्छन् । तिमी आफ्नो फोस्रो भाषिक आदर्शमा यति नराम्ररी जकडिएका छौ कि ‘आर्का हातका माल चुहाएर बस र्याल’ (पृ १०), भनाइचैं जस्तै चैं लेखिएको र जोडिएको (पृ. १५ र अनेक स्थलमा), कयौँ (अनेक स्थलमा), छयत्तरै (पृ.३९) सिल्का हान्न्ने (पृ.५३), यस्तो लाथ्यो (पृ.५४ं) गन्यमान्य (पृ.१२६) जिम्दै (पृ.१२७), ओडाउ (पृ.१५५), व्यक्ति अर्थमा दलाली (पृ.१७३), मन नलाइनलाई (पृ.२०४) सिउसिउ गर्दै (पृ.२०७) जस्ता नेपाली जनजिब्राबाट दुरुस्तै टिपेर ‘अर्गानिक’ तवरले ल्याइएका शब्दावलीमा पनि दोष देख्न सक्छौ । हो तिमीले यवण र शष्यशालीनी जस्ता नाम अशुद्ध र असङ्गत छन् भनौला तर के तिमीमा कुम्भोदर, परमदास, लाचिदा, सखाभक्त, अश्लेषा होटेल, श्यामकेतु, सुलभनाथ, कर्कटसिंह जस्ता नाम तत् तत् स्थानमा सुन्दर सुनिएका छन् भनेर प्रशंसा गर्ने छाती छ ?
प्रेमिकले भाषिकको छुद्रतामाथि दया देखाउँदै प्रतिप्रश्न गर्यो ।
“प्रेमिक, तिमी पनि बाहिरबाट मात्रै रसिलो र भरिलो तर भित्रभित्रै क्रमशः खाली र खोक्रो हुँदै गइरहेको रहेछौ ठ्याक्कै अज्ञानानन्द जस्तै । मैले त तिमीलाई पिताजस्तै भरोसायोग्य, मित्रजस्तै पक्का र प्रेमिका जस्तै शीतल सोचेको थिएँ तर तिमी त्यस्तो रहेनछौ । हो, मान्छेको मनमा लेखिएको भनेको बहनाले पानीमा कोरे जस्तै हो, एकै छिनमा बिलाउँछ र सूक्ष्म तरङ्गको रूपमा मनमा रहन्छ तर कलमले कोरिएको प्रष्ट र अमीट बनेर सँधै रहन्छ नि । भैगो यसमा विवाद नगरौँ । जनजिब्रोलाई अनुसरण गर्नेमा मेरो विमति छैन । जस्तै क्रूरलाई क्रुर (पृ.२०) लेखेको चाहिँ अलि कम क्रूर भएर हुन सक्छ भन्ने म मान्छु । स्विट्जरल्याण्डमा पर्ने जेनेभालाई फ्रान्समा पर्ने भन्नु अनि अनि जाँ ज्याक रुसोलाई जिन ज्याक रुसो (पृ.५८) भन्नु चाहिँ कस्तो हो ? पञ्चतन्त्रको काैलिक र रथकारकाे कथालाई स्वाट्टै तानेर आख्यानको उपकथा नै बनाइदिनु कस्तो हो ? अनि गणेशको हातबाट उछिट्टिएर संसार विचरण गरेर प्रमुख ग्रन्थ लेख्ने कलमको चोइटोलाई मानवसभ्यताको एक प्रमुख क्षेत्र चीन नलानु चाहिँ कस्तो हो नि ? के ‘आइ चिङ’ लेख्ने फु सी अनि ‘दाओ दे जिङ’ लेख्ने लाओ झी र कन्फ्युसियस भनेर जानिएका कोङ फुसीलाई त्यो कलम आवश्यक परेन ? कि त्यो फिनिक्स चरो चिनियाँ चरो फेङ ह्वाङ हुनाले आफ्नै देशका भनेर उनीहरूलाई माया गरेको हो? कि वा हेला गरेको हो ?”
यसपटक भाषिक अलिकति विनम्र र विनोदप्रिय सुनियो ।
“सामान्यज्ञानका घोकन्ते सूचनाको छिपछिपे विज्ञता मलाई नदेखाए हुन्छ । रुसोको नामको सही फ्रान्सेली उच्चारण गर्न तिमीलाई आउँछ ? देश फेरिँदै जाँदा उच्चारणमा परिवर्तन आउँदै जान्छ भन्ने तिमीले नजानेको कुरा हैन । रुसो जन्मिँदा जेनेभा छुट्टै देश थियो । जेनेभा अहिले राजनैतिक रूपमा स्विट्जरल्याण्डमा परे पनि यसको फ्रान्सेली संस्कृतिमा ठुलो स्थान छ । यहाँको भाषा फ्रान्सेली हो । यहाँको विमानस्थल स्विट्जरल्याण्ड र फ्रान्सको साझा छ । स्वैरकाल्पनिक लेखनमा प्रचलित लोककथा र मिथकमा आधारित कथाहरूको पुनःकथन गर्ने विश्वभरीको पद्धति हो । पञ्चतन्त्रका कथा हाम्रो जनजीवनमा लोककथा नै बनेर भिजेका कथा हुन् । गणेशको कलम चीन पुग्यो कि पुगेन? भनेर जिज्ञासा गर्नु ठिकै हो तर सबै कुरा ‘यक्षणी’लाई पनि थाहा नहुन सक्छ भन्ने कुरा तिमीलाई पनि थाहा हुनु पर्छ । तिमीले त ‘पोखराको छाँगो पातले वा मोटे हैन पाताले हो ।’ पनि भनौला तर पातले भने पनि पाताले भने पनि छाँगो उही हो र त्यसलाई अचेल पातले र पाताले भन्दा पनि ‘डेभिज फल’ वा अझ ‘डेभिड फल’ भनेर जान्नेहरू ज्यादा छन् भन्ने कुरामा ध्यान दिए तिमीलाई जाती होला ।”
प्रेमिकले उपेक्षा भावले भन्यो ।
“हो त डेभिज फल भन्नाले सम्झेँ । पुस्तकमा प्रयुक्त नेपालीमा विदेशी भाषाको प्रभाव वा आधुनिक शब्दावलीकाबारे चाहिँ तिम्रो मत के छ नि? चुतिया (पृ.१), भँडास (पृ.२३) फटाक्से (पृ.३२), रेगिस्तान (पृ.३२), अन्जाम (पृ.१६५) एब्सल्युटलि रङ म्यान इन द राइट प्लेस (पृ.८), नो रेस्पोन्स एट अल (पृ.२७) सेल्फ डिक्लेरेशन अफ द इग्नोरेन्स (पृ.९३), फुल इन्जोय (पृ.१३३) टोटल्ली भ्यालुलेस (पृ.१६८), पुलिसलाई फुलिस (पृ.१७१), सेलेब्रेट (पृ.१८७) टिकटक (पृ.२१०) जस्ता शब्दावलीको प्रयोग चाहिँ कथालाई नयाँ पुस्तासित वा अङ्ग्रेजीबाज वा हिन्दीबाज पुस्तासित तार जोड्न गरिएको होला हैन ? कि नगरकोटियन दुर्गन्धमा बानी परेकालाई भूलभुलैयामा पार्न हो ?”
भाषिकले पुनः तिरस्कारपूर्ण टिप्पणी गर्यो ।
“हेर भाषिक, तिमी अझै छुद्र टिप्पणी नै गर्दैछौ । भाषा जीवन्त चीज हो । समाजमा स्वाभाविक प्रयोगमा रहेका शब्दावलीहरू स्वदेशी र विदेशी हुँदैनन् । प्रगतिशील भाषाले समाजले अपनाएको भाषालाई स्वाभाविक रूपमा ग्रहण गर्दै आफूलाई समृद्ध बनाउँदै लैजान्छ । नगरकोटीका बारेमा टिप्पणी गर्ने तिम्रो हैसियत पुग्दैन । भाषाका सीमाबाट उन्मुक्त रहेर अन्तःकरणका तारहरूलाई झङ्कृत गर्ने उनका लेखनको स्वाद जिब्रो फट्कारी फट्कारी लिने रसलोलुपहरू यत्र तत्र छन् । तिम्रा जिह्वामा ती रसकोषिकाहरू छैनन् त त्यो तिम्रै हानी हो ”
एक छिनको मौनतापछि प्रेमिकले पुनः शुरु गर्यो ।
“हेर भाषिक, तिमीप्रति मेरो घोर सहानुभूति छ । आख्यानको रसमा, स्वैरकल्पनाको उडानको आनन्दमा तिमी डुब्नै सकेनौ । जगत् मिथ्या लोक भनेको कस्तो लोक हो ? मोहदत्त र कुम्भोदर भनेका को हुन्? अघोरी तान्त्रिक वा प्राध्यापक वा झण्डा मानव को हो? उसको पुनः पुनः कथाप्रवेश के को सङ्केत हो? श्यामकेतु, सुन्दरे, धुवाँ साहिँला, कास्कीकोटको समाजसेवी, यवण, इतिहास शिक्षक, ईशापुत्र जस्ता पात्र किन बुनिएका हुन्? तोरणघाटको बुढो माझी, लाचिदा, युरेश, कालिगड, मिथ्यामार्टको स्टाफ, अनादि, अस्तित्व, सापेक्ष र स्वरूपा भनेका को हुन् ? भनेजस्ता आख्यानका मूल प्रश्नमा तिमी प्रवेश नै गर्न सकेनौ ।
भीमसेन थापाका भाइ पछि स्वामी अभयानन्द बनेका रणवीरसिंह थापाको व्यक्तित्वको नेपाली राजनीति र सन्त परम्परामा परेको प्रभाव कस्तो हो? तन्त्रशास्त्रका अभिचारकर्महरू मारण, मोहन, वशीकरण, उच्चाटन, स्तम्भन र विद्वेषण कस्ता विद्या हुन् ? चाणक्यले लेखेको अर्थशास्त्र के विषयको पुस्तक हो? सुकरातका चेला प्लेटाेकाे रिपब्लिक, अरस्तुको पोलिटिक्स, मेकियावेलीको प्रिन्स अनि हेगेलको साइन्स अव लजिक भने जस्ता ग्रन्थमा बताइएको दर्शन के हो? भनेजस्ता सूक्ष्मप्रश्नमा त तिमी प्रवेश गर्ने कुरै भएन । सारमा तिमीले आफूलाई पाउन सकेनौ । बोक्राले नै तिम्रो सारा समय लियो । तिमी आफै मोहदत्त भयौ तर तिमीलाई पत्तै भएन । पहिलो दिन, दोस्रो दिन गर्दै दैनिक रूपमा वर्णित कथानक र दस्तावेज नं १, २ गर्दै अघि बढेको रहस्यको भेद तिमीले खोज्ने प्रयास नै गरेनौ । सापेक्षले देखेको सपनाले आख्यानको मेरुदण्डमै पुगेर सार खिचिसक्दा पनि तिमीलाई पत्ता भएन । तिमी समयसापेक्ष हुन सकेनौ । ”
एको द्रष्टासि सर्वस्य मुक्तप्रायोऽसि सर्वदा
अयमेव हि ते बन्धो द्रष्टारं पश्यसीतरम् ।।
(तिमी समस्त विश्वको एकमात्र द्रष्टा हौ, तिमी सदा मुक्त नै छौ, तिम्रो बन्धन भनेको यही मात्र हो कि तिमी अरुलाई नै द्रष्टा ठान्दछौ )
“हे भाषिक, पुस्तकमा उद्धरण गरिएको अष्टावक्रगीताको यो वचनको मर्मलाई मनन गर । पुस्तकमा खण्डाकारको स्थानमा क भएको छ (पृ. ११८) भनेर किचकिच नगर । त्यो खण्डाकारको स्थानमा अङ्ग्रेजी अक्षर S ले काम चलाउन खोज्दा भएको सामान्य त्रुटि हो ।”
यति भनेर प्रेमिक चुप लाग्यो ।
त्यसपछि प्रेमिकका अर्ध उन्मीलित नेत्रहरू पुस्तकको आवरणमा ध्यानस्थ भए । जहाँ उसको प्रिय कलाकार सचिन यगाेलले कोरेका मसिना नीला आसन र पहेँला बार भएका डुङ्गाहरू कालो सरोवरको भुमरीमा निरन्तर घुमिरहेका थिए । प्रेमिकका लागि तिनै मसीना डुङ्गाहरू आत्माको ऐना बनेका थिए ।
~शिव सङ्कल्प (कृति समीक्षा)
कृति: मिथ्या (उपन्यास)
लेखक: दीपक पराजुली
प्रकाशक: बुक हिल
पृष्ठ: २१४
मूल्य: रू. ४२५
गुणवत्ता: ✘✔✔✔✔