Saturday, January 21, 2012

हरित्-मृत्यु

हरित्-मृत्यु (शार्दूलविक्रीडित)


हे मृत्यु तँ कसो गरीकन अहो! रङ्गीन छस् दूरमा
कुर्दैछु तँसितै बिहे गरुँ भनी माला लिई हातमा
प्याला लाल बनेर हात बिचको हेर्छस् तँ आँखा तरी
तेरो चुस्कि म लिन्छु सोचिकन यो 'जाडो छ' रातैभरी ।।१।।

मेरो प्रीति कडा छ जीवित अझै साक्षात् हरित्-मृत्युमा
यस्तो लाग्छ म हूँ कि एक पुतली झुल्दो सडक बत्तिमा
साथी होस् तँ बुढो, युवा पनि तँ नै, त्यो दीव्य दैत्यै तँ होस्
निल्दो सुस्तरि छामि चेतनतलै निश्वास सुंघ्दो तँ होस् ।। २ ।।

ताजा बूटि र धूमपूरित अहो यो कक्ष मेरो न हो
मेरो जीवनको स्वतन्त्र पलको मुस्कानको साक्षि हो
हे मृत्यु तँ हरित्-रहस्य जसरि लुक्थिस् सुरापात्रमा ?
धूँवा बन्दुक, गोलि, राजपथमा की जङ्गलि फूलमा ।। ३ ।।

इन्द्रेणी अनि श्यामश्वेत रँगमा, चौडा रजत्-पट्भरी
तेरो त्यो स्मित हास्य फैलन गयो लाखौँ परेको सरी
ज्यूँदो छु म अझै पनि, ग्रहणको छाया सरी सर्दछु
हे प्यारो हरियो ! तँ मृत्यु प्रतिको यो वासना पाल्दछु ।।४।।



धेरै पढिएकाे

पृष्ठ संग्रह