Thursday, May 27, 2010

जिन्दगानी

कर्म गर फल नखोजी कर्मयोग जिन्दगानी
तत्व बुझे सत्य चिने चिदानन्द जिन्दगानी ।।

भन्ने भए नाटक भन, अभिनय राम्रो गर
आफ्नो आफ्नो कर्मबन्धन खेल नै हो जिन्दगानी ।।

दृश्य तिमी, पात्र तिमी, दर्शक तिमी, दीर्घा तिमी
शुल्क तिमी, मञ्च तिमी, पर्दा तिमी जिन्दगानी ।।

आदि छैन, अन्त्य छैन, आत्मा अजर अमर छ
देहधारी भइ घुम्छ दशै दिशा जिन्दगानी ।।

सत्य एक विधाता र तिमी एकै चेतना हौ
मयापूर्ण संसार छ ‘गुरु’ज्ञान जिन्दगानी ।।

२०६७ जेष्ठ १३, बृहस्पतिबार

Friday, May 21, 2010

फरमाइसी हिन्दी फिल्मी गीत...

SIMPLY NOSTALGIC !
रात्रीको यस प्रहरमा फरमाइसी हिन्दी फिल्मी गीतको यस कार्यक्रम सुन्न रेडियो नजीक आउनुभएका सम्पूर्ण श्रोताहरूलाई स्वागत छ l अबको गीतलाई फरमाइस गर्नु भएको छ कमलपोखरीबाट राजु प्रधान. श्याम नापित  साथीहरूले; ... ... बागबजारबट रहमत मियाँ, अमजद मियाँ, अजमत मियाँ,परबीन खातून, शायरा खातून  साथीहरूले; 
विराटनगरबाट केशव, राधा, प्रियंका  कामिनी देवीले; बीरगंजबाट छोटेलाल, बब्लू, लालबाबु  साथीहरूले; 
इन्द्रचोकबाट न्हुछेमान  हसीनादेवीले;... ...  यसै गरी बिहार फारबिसगंजबाट परवान हबारि, रहमान हवारी. सुल्तान हबारी, चुन्नु बेगम, मुन्नु बेगम, पिंकू, टिकूं. रिंकू साथीहरूले...
लौ त अब तपाईँहरू सबैको फरमाइसमा सुन्नहोस् 'जनता हबल्दार' फिल्मबाट अनवरको आवाजमा यो गीत...
बोल छ आनन्द बक्शीको भने संगीत रहेको छ लक्ष्मीकांत-प्यारेलालको... ...


दमादम मस्त कलन्दर

'दमादम मस्त कलन्दर' भारतीय उपमहाद्वीपमा प्रसिद्ध पंजाबी  सिन्धि मिश्रित गीत हो यसमा झूले लाल को साथ साथै सूफी संत शाहबाज़ क़लन्दरको चर्चा छ l झूले लाल साईंलाई संधै रातोकपडा लगाएको रूपमा वर्णन गरिन्छ त्यसैलै उनलाई यहाँ 'लाल' या 'लालन' भनेर पुकारिएको छ। यहाँ गीतको हर फाँकी 'दमादम मस्त क़लन्दर, अली दम-दम दे अन्दर' भन्दै सकिन्छ, यसको अर्थ हो हरेक 'श्वास-श्वासमा मस्ती राख्नेवाला क़लन्दर (फ़क़ीर/योगी), जो हर श्वासमा रब (अली/भगवान) लाई राख्छ।' यस गीतलाई रूना लैला, रेश्मा, नुसरत फ़तेह अली खाँ,आविदा परबीन आदि कलाकारले गाएर प्रसिद्ध बनाएका छन् l आज म यहाँहरू समक्ष राजस्थानमा जन्मेकी रेश्माको आवाज राख्दै छु किनभने तथाकथित सुसंस्कृत कलाकारको भन्दा एक 'बन्जारन'को आवाजमा नै 'मिट्टी दा महक' बढी पाइन्छ l 
ओ लाल, मेरी पत्त रखियो बला झूले लालण,
सिन्धड़ि दा, सेवन दा, सख़ी शाहबाज़ क़लन्दर!

Monday, May 10, 2010

भोग र आसक्ति


कुनै समयमा मिथिला नरेश जनक राजा भैकन पनि ऋषितुल्य आत्मज्ञानी भएको ख्याति सुनेर एकजना महात्मालाई शंका उत्पन्न भएछ र “के रहेछ त चाला ?” भनी बुझ्न जनकपुरस्थित जनकको दरबारमा पुगेछन् । तेतिबेला जनक आफ्नो नाट्यशालामा सुन्दरीहरूको नाच हेर्न लागेका रहेछन् । यो देखि ती महात्माको शंका अझ दरो भएछ । तैपनि आइसके पछि ‘ज्ञानगुनका कुरा गरेरै जाने’ भन्दा उनलाई दरबार नजिकैै एउटा कुटी दिइयो । भोलिपल्ट जनक र ती महात्माको ज्ञानचर्चा चल्यो । “यसरी भोगविलासमा डुबेर पनि आत्मज्ञानी भइन्छ त ?” भनेर महात्माले सोध्दा नसोध्दै एकजना सिपाही आएर राजाको नाट्यशाला जलेर खरानी भएको खबर दियो । जनकले शान्तभावले सिपाहीलाई आत्मचर्चा चलेकोमा विघ्न नगर्न भने र महात्मालाई सोधे त “आत्मज्ञानी हुनलाई के हुनु पर्छ त ?” महात्माले उत्तर दिँदा नदिँदै अर्को सिपाही आएर ती महात्माको कुटीमा सुकाएको कौपीन (लँगौटी) गाईले खाईदिएको सूचना दियो । महात्मा राजाको प्रश्नको उत्तर नदिइकन “भोलि नुहाएर के फेर्ने ?” भन्दै बुर्कुसी मारेर कुँदे । उनी कुँद्दै गर्दा जनकले “भने भौतिक कुराको भोग भन्दा पनि त्यस प्रतिको आसक्ति आत्मोन्नतिमा बाधक हुन्छ ।” महात्माले कुरा बुझे र जनकसँग माफी मागेर बिदा भए ।

(चित्रः जागरनडटकम)

धेरै पढिएकाे

पृष्ठ संग्रह