Wednesday, February 14, 2018

वैज्ञानिक (२०७४ फागुनको मधुपर्कमा प्रकाशित कथा)


वैज्ञानिक (कथा)
~शिव सङ्कल्प


    

‘देशको विकास विज्ञानबाटमात्र सम्भव छ ।’

सानैदेखि सुनेको थियो उसले । विद्यालयमा विज्ञान भन्ने विषयका शिक्षकले सुनाएका थिए यो कुरा उसलाई ।  त्यतिबेलासम्म साइन्स भन्ने उसले सुनेको थिएन । उतिबेला उसको गाउँमा अंग्रेजी विद्यालयहरू थिएनन् । 

‘आजका हामी कोपिला
भोलि फूल बन्नेछौँ
पढी गुनी ठूलो भै
देशको विकास गर्नेछौँ...’

यस्तै यस्तै शब्द भएका कविता लेखेर पाँच कक्षामा हुँदा सान्त्वना पुरस्कार पनि जितेको थियो उसले । जोशका साथ यो कविता पाठ गरीरहँदा उसको मनमा ठूलो मान्छे भन्नाले वैज्ञानिक भन्ने छाप थियो । उसका विज्ञान शिक्षक बडा प्रगतिशील विचारका थिए । पाठकहरूमा भ्रम नपरोस्, कुनै राजनैतिक संगठनका सदस्य भने होइनन् ।  काठमाण्डौँबाट प्रथम श्रेणीमा आईएस्सी गरेर पनि गाउँमा शिक्षक हुन रोजेका थिए उनले ।  उनैको प्रभाव परेको थियो उसलाई । तिनले केटाकेटीमा ठूलो मान्छे भन्नाले डाक्टर वा इञ्जिनयिर मात्र भन्ने अवधारणामा वैज्ञानिक भन्ने पनि जोडिदिएका थिए । वैज्ञानिक भन्नाले सेतो कोट र मोटो चश्मा लगाएको सूक्ष्मदर्शक यन्त्र हेरिरहेको मान्छे थियो उसको मनमा । जसले नयाँ नयाँ चीज आविष्कार गर्थ्यो ।
उसले अति परिश्रमका साथ पढ्यो । ब्याट्री र नीलो तुथोको मद्दतले स्टीलको चम्चामा तामाको जलप लगाएको प्रयोगले उसको मनमा राम्रै जलप लगाएको थियो भने  कीलामा तार बेरेर चुम्बक बनाएको प्रयोगले उसलाई चुम्बकले झैँ आकर्षित गर्थ्यो ।

० ० ०

उसले प्रथम श्रेणीमा एसएलसी पास गर्‍यो । एकासी प्रतिशत त्यसताक ठूलो प्रतिशत थियो । युवा पाठकहरू नझुक्किनुहोस् । त्यो ताक विशिष्ट श्रेणीको व्यवस्था थिएन । प्यूठान जिल्लाभरीमा सर्वप्रथम भएको थियो ऊ । 

‘योगबहादुर घर्ती मगरले आज जिल्लाकै नाम राखेका छन् । प्यूठान जिल्लाले आज शिक्षाको क्षेत्रमा फड्को मारेको छ ।’

जिल्ला शिक्षा अधिकारीले भाषण गरे ।

‘अब राम्रो शिक्षाको लागि दाङ नेपालगंज राखेर पढाउनुपर्ने अवस्था छैन । अलिकति परिश्रम गराउन सकेको भए हाम्रो योगबहादुर बोर्डमा आउने थियो । सकिएन ।’

हेडसरले नरमाइलो माने । 

तैपनि स्कूलको नाम उँचो भयो । उसको अबीर जात्रा भयो । आमाले इन्द्रबेली चामलको खीर पकाएर खुवाइन् । फूलमालाले ऊ पुरियो । रिन काढियो । सुन बेचियो । ऊ काठमाण्डौँ पुग्यो । 

० ० ०

भौतिक शास्त्रका प्राध्यापक कडा थिए । अर्थात् फिजिक्सको प्रोफेसर स्ट्रिक्ट थिए । गाउँतिरबाट आएका विद्यार्थीलाई उनी छेड हानी रहन्थे । अप्टिक्सको क्लासमा प्रश्न सोध्दा प्रोफेसरले योगबहादुरलाई झपारे । 

‘ग्लास स्लाब भनेको के रे ? के हो यस्तो ? भोलि रुलर भनेको के हो ? मैले त देखेकै छैन भनेर पनि सोध्छौ तिमीहरू... बकवास ...तिमीहरूको क्वेइशन इण्टरटेन गरेर सकिएला ?’

योगबहादुरलाई घोच्यो । अब पढाईको माध्यम अंग्रेजी भइसकेको थियो । योगबहादुरलाई धेरै मुश्किल पर्‍यो । ठमेलको क्याम्पस नजिक पर्छ भनेर सामाखुसीमा डेरा लिएको उसले नियमित कक्षा लिए पनि क्याम्पसमा पढाएको बुझ्न सकेन । अझ अलि दिनपछि त कक्षा पनि कम कम हुन थाल्यो । सय डेढसयजना भरी हुने कक्षामा मुस्किलले दश पन्ध्रजना आउन थाले । अरुहरू प्राक्टिकलमा मात्रै आउँथे । पछि सोध्दा उसले थाहा पायो पढाई त बागबजारतिर हुँदो रहेछ । ऊ पनि बागबजार धाउन लाग्यो ।

‘योगबहादुर, भोलिबाट क्लास नआउनु , आउन मन भए फी लिएर आउनु’
बागबजारका कोचिङ मास्टरले थर्काए ।

 उसलाई धेरै नरमाइलो लाग्यो । शहर उसले सोचे जस्तो थिएन । न त विज्ञानको पढाई नै । काला अक्षर नै घोक्नुपर्थ्यो यहाँ पनि । उसले प्रयोग गरेर सिक्न बहुत कम पायो । तर योगबहादुरका आँखामा सपना थिए । उसलाई जसरी पनि वैज्ञानिक बन्नु थियो । देशको विकास गर्नु थियो । आमाका सुनले योगबहादुरलाई पुगेन । योगबहादुरका बाले पाखो बारी बेचे । 

० ० ०

धेरै थरी मान्छे भेट्यो योगबहादुरले कलेजमा । शहरको स्कूलमा पढेकाहरू फरर्र अंग्रेजी बोल्थे । उसलाई बुझ्न हम्मे हम्मे पथ्र्यो । तिनीहरू अंग्रेजी गीतका गायकको कुरा गर्थे, बास्केटबलका कुरा गर्थे, क्रिकेटका कुरा गर्थे, जनरल नलेजका कुरा गर्थे आईएस्सी सकेपछि डाक्टर र इञ्जिनियर पढ्न पाइने स्कलरशीपको कुरा गर्थे । उसले बुझ्थेन । 

अर्काथरी मान्छे उसलाई ‘फलानो रङ्गको झण्डा बोक’ भन्थे । ‘आज यो दाई आउँदै हुनुहुन्छ भोलि त्यो दिदीको भाषण छ’ भन्थे उनीहरू । उसले त्यो पनि बुझ्थेन । 

कहिले काहिँ गोरो सोझो केटो देखेर राम्री केटीहरू आएर ‘आज बालाजु तिर जाने ?’ भन्थे । त्यो कुरा चाहिँ उसले बुझे पनि उसको खल्तीले बुझ्थेन । 
तर ती कसैले पनि वैज्ञानिक हुने  अथवा देशको विकास गर्ने  कुरा गरेनन् । 

‘आईएस्सी सकेपछि के गर्ने ?’ भनेर सोध्थे उनीहरू । 

‘म वैज्ञानिक बन्छु’ योगबहादुरले भन्थ्यो । गलल्ल हाँस्थे उनीहरू ।

कुनै कुनै शिक्षकले भने उसलाई माया गर्थे । 

‘किताबको ज्ञानले मात्र पुग्दैन र क्याम्पसको पढाईले मात्र पुग्दैन योगबहादुर, बाठो बन, अंग्रेजी सुधार । पहिले पहिले म पनि तिमीजस्तै थिएँ ।’ 

बोटनीका प्रोफेसर ज्ञवालीले योगबहादुरलाई ज्ञान दिए । तिनले योगबहादुरको सपनालाई हाँसोमा उडाएनन् । तिनले योगबहादुरलाई आईएस्सी सकेपछि  बायोटेक्नोलोजि पढ्न सुझाव दिए । 

लामखुट्टेको टोकाइ सह्यो उसले । झूल किन्न भनेर छुट्याएको पैसाले दश ब्याण्डको रेडियो किन्यो ।  मट्टितेलको स्टोभमा दम दिँदै शर्टवेभमा बीबीसी विश्वसेवा सुन्यो । अंग्रेजी पत्रिकाको ग्राहक बन्यो । काठमाण्डौँका विभिन्न पुस्तकालयको सदस्य बन्यो । ज्ञानगुनका धेरै कुरा सिक्यो । जसोतसो टुप्लुक्क आइएस्सीमा प्रथम श्रेणी टेक्यो उसले । उसलाई डाक्टर बन्नु थिएन । उसलाई वैज्ञानिक बन्नु थियो । योगबहादुर अटल थियो । 

० ० ०

शहरकै एक नीजि कलेजबाट बायोटेक्नोलोजि गरी सक्दा नसक्दै योगबहादुरले साइन्स र रिसर्च कम बुझेपनि देश र समाज धेरै बुझिसकेको थियो । उच्च अध्ययनका लागि छात्रवृत्तिका लागि अनेक प्रयास गर्दा पनि केहि नलागे पछि उसले गाउँ फर्कने बिचार गर्यो । तर सात सात वर्ष काठमाण्डौँ बसेर उसले सिध्याएको घरको सम्पत्ति सम्झ्यो । बाउको उदास अनुहार सम्झ्यो । आमाका बुच्चा नाक र कान सम्झ्यो । ऊ गाउँ फर्कन सकेन । बोर्डिङ स्कूलमा र ट्युसन पढाएर उसले पेट पाल्यो । काठमाण्डौँ छाडेन ।  धेरै प्रयासपछि जापानमा एग्रिकल्चरल बायोटेक्नोलोजि पढ्न छात्रवृत्ति पायो योगबहादुरले । उसले अनेक परिश्रम गरेर सिकेको अंग्रेजीले उसको विश्वविद्यालयमा काम गरेन । एक वर्ष अतिरिक्त नष्ट गरेर जापानी भाषा सिक्यो उसले । एक वर्षमै भाषामा राम्रो दख्खल बनाए पछि योगबहादुरले बुझ्यो भाषा केवल माध्यम रहेछ । जति धेरै भाषा जान्यो उति राम्रो तर गौरव भने आफ्नै भाषामा हुँदो रहेछ । देश समृद्ध हुनु महत्त्वपूर्ण रहेछ ।

० ० ०

चिल्ला सडक र अग्ला घरहरू अब विपना थिए । संसारकै सबैभन्दा ठूलो र महंगो मध्येको शहरमा थियो ऊ । बिजुलीका कहिल्यै कल्पना नगरेका यन्त्रहरूको प्रयोग उसका लागि सामान्य बने । विश्वकै तीव्रतम गतिका रेलको यात्रा, उच्च सुविधासम्पन्न प्रयोगशालामा नित्य नया परीक्षण उसका दैनिकी बने । भौतिक समृद्धिको चरम देख्यो उसले । मान्छेहरू अति परिश्रमी थिए । कतिपय अवस्थामा यन्त्रवत् लाग्थे । ‘तिनीहरू खुसी चाहि कति थिए ?’ भन्ने योगबहादुरले भेउ पाउन सकेन । 

उसको प्रयोगशालामा अधिकांश वस्तु स्वचालित थिए । तर पनि कतिपय मुख्य कुराहरू हातैले गर्नुपर्थ्यो । नेपालकै परम्परागत धान इन्द्रबेलीको नयाँ प्रजातिको विकासको लागि डीएन्एमा गर्न सकिने संभावित परिवर्तनको विषयमा उसको अनुसन्धान थियो । युरोपका अन्य दुई तथा अमेरिकाको एक विश्वविद्यालयको सहकार्य थियो उसको काममा । वैज्ञानिक जर्नलमा प्रकाशित भएका नवीनतम शोधहरू उसको कम्प्युटरमा उपलब्ध थिए । योगबहादुरले प्रशस्त पढ्यो । पढ्नु अनुसन्धानको पूर्वकार्यमात्र रहेछ । तिनमा आधारित रहेर नयाँ काम गर्नुपर्ने रहेछ । नैतिकवान् हुनु अनुसन्धानका मुख्य पूर्वशर्त रहेछ ।  विश्वविद्यालयको काम दक्ष जनशक्ति उत्पादन गर्ने भनेर बुभेको योगबहादुरले विश्वविद्यालयको मुख्य काम ज्ञानको अभिवृद्धि रहेछ भन्ने बल्ल बुझ्यो ।  उसैका अनुसन्धानपत्रहरू नाम चलेका जर्नलमा निस्के । उसले मास्टर्स गर्‍यो । पीएच्‌डी गर्‍यो ।  योगबहादुरलाई यो सबै मन लगाएर सिक्नुथियो । आफ्नो देशमा प्रयोग गर्नु थियो । 

‘तिमी जबसम्म आफ्नो संस्कृतिमा गर्व गर्दैनौ तबसम्म तिम्रो देश विकसित हुन सक्दैन ।’

‘जबसम्म युवाहरूले आफ्नो भाषामा प्राविधिक शिक्षा पाउँदैनन् व्यक्तिहरू अगाडी बढ्लान् तर देश अगाडी बढ्न सक्दैन ।’

प्रोफेसर नाकामुराले जापानी भाषामा भने । योगबहादुरलाई चसक्क घोच्यो । ‘एक पुस्ताले कठिन परिश्रम गर्नै पर्छ ।’ उसलाई दिव्यज्ञान खुल्यो । ‘एकपुस्ताले मात्र किन? पुस्तौँ पुस्ताले परिश्रम गर्नुपर्छ ।’ उसले दिव्यज्ञानलाई अझ परिष्कृत बनायो । 

पोष्ट डक्टरेटको अवसरलाई मात्र होइन ल्याबोरेटोरिमा सँगै काम गर्ने डा. मासायोको सँगै जिउने बाँच्ने प्रस्तावलाई पनि चटक्कै छोडेर योगबहादुरले स्वदेश फर्कने निर्णय गर्यो । हुन पनि उसले आठ आठ वर्ष विदेशमा बिताइसकेको थियो ।

० ० ०

योगबहादुरले विश्वविद्यालय चहार्‍यो अनुसन्धान केन्द्र चाहार्‍यो । निजी कम्पनीहरू पनि चाहार्‍यो ।  काम पाउन सकेन । दुई वर्ष वितेपछि उसले विश्वविद्यालयमा आंशिक पढाउने जागिर पायो । त्यहाँ उसको लागि अनुसन्धानको वातावरण थिएन । ऊ सरकारी र नीजि दुबै खाले अनुसन्धान केन्द्रमा पालै पालो सर्‍यो । त्यहाँ पनि उसको मन रमाएन । त्यहाँ प्रयोगशाला त थियो यन्त्र थिएनन् । जहाँ यन्त्र  थिए ती बषौँ देखि नचलेका थिए । जहाँ नयाँ यन्त्र थिए तिनका लागि आवश्यक रसायन थिएनन् । जहाँ सबै थिए  त्यसलाई चलाउन अनुमति लिने प्रक्रिया पूरा गर्न छ महिना लाग्थ्यो । जहाँ सबै सरल थियो त्यहाँ उसले गरेको कामको नाम पाउँथेन । जहाँ नाम पाउँथ्यो त्यहाँ जति तलब बुझेँ भनेर उसले सही गथ्र्यो त्यसको आधामात्र पाउँथ्यो ।  आँफैले लगानी गरेर अनुसन्धान केन्द्र पनि खोल्यो उसले  तर सरकारी अनुमति, कर आदिको जञ्जाल चिर्न सकेन । उसका पैसा मात्रै सकिए । 

० ० ०

उसले आफ्ना क्षेत्रका अग्रजहरूलाई भेट्यो । आफ्ना क्षेत्रका राजनैतिक नेतालाई भेट्यो । एक जनाले उसलाई कृषि मन्त्रीको वैज्ञानिक सल्लाहकार बनाइदिए । उसले ‘रैथाने प्रजातिको धानको विकास र संरक्षण सम्बन्धि योजना’ देशभर लागूगर्ने योजना बनायो । तर छ महिना पछि उसको जागिर खुस्कियो । जागिर खुस्किए पनि आँफूले थालेको काम नरोकियोस् भनेर उसले नयाँ मन्त्रीलाई अनुनय विनय गर्‍यो ।

‘डाक्टर साहेब जापानमा पढेको भन्दा जर्मनीमा पढेका वैज्ञानिक राख्ने हाम्रो सरकारको नीति छ । नयाँ सल्लाहकारका अनुसार तपाईँको योजना प्रतिगामी रहेकाले तत्काललाई लागु गर्न नसकिने भयो । माइण्ड नगनुहोला ।’
नयाँ कृषिमन्त्रीले धानदिवसको भाषण पछि उसलाई खुसुक्क भने । 

उसलाई आफू वैज्ञानिक भएको कुरामा पत्यार परेन । तीन वर्ष  यसरी यता उता हल्लिए पछि उसले गाउँ फर्कने निर्णय गर्‍यो ।

० ० ०

योगबहादुरले गाउँ फर्केर बिहे गर्‍यो । बाख्रा पाल्यो । भैँसी पाल्यो । अर्काको बारीमा मकै र कोदो छर्‍यो । साहुको बिग्रेको खेत सजेर उसले इन्द्रबेली धान लगायो । तरकारी खेती गर्‍यो । जडीबुटी लगायो । निरन्तरको परिश्रमले पाँच वर्षमा आफ्नै पाखो बारी पुनः किन्यो आमालाई फेरी गहना किनिदियो । आँफै पढेको स्कूलमा पढाउन लाग्यो योगबहादुर । जहाँबाट शुरु भएको थियो त्यहीँ आइपुगेको थियो उसको जीवन ।


एक दिन उसले पत्रिकामा खबर देख्यो नेपाली धान इन्द्रबेलीको नयाँ प्रजातिको विकासमा नेपाली मूलका जापानी वैज्ञानिक डा.भोगेन्द्र तथा उनकी जापानी पत्नी डा. मासोयाका सफलताको खबर थियो त्यो । डा. मासोयाले उसैको जुनियर अर्को नेपाली भोगेन्द्रसँग बिहे गरिछ । उनीहरूले त्यसको पेटेण्ट समेत लिएका थिए । योगबहादुरलाई एकचरण झनक्क रिस उठ्यो । ऊ पुनः काठमाण्डौ आयो । आफ्नो गाउँको धानको पेटेण्टको लाभ स्थानीयले पाउनुपर्छ भनी उसले पैरवी गर्‍यो । यसपालिका मन्त्रीले उसलाई सहयोग गरे । कृषि मन्त्रालय, विज्ञान मन्त्रालय र परराष्ट्र मन्त्रालयका विशेष पहलमा यो पेटेण्टको लाभ स्थानीयलाई दिलाउन पहल भयो । विश्वका परस्परमा प्रतिस्पर्धी सञ्चारमाध्यमले यो विषयलाई उराले ।  विश्वभरी यो विषयमा हंगामा भयो । योगबहादुर नायक भयो । पेटेण्टमा उसको नाम पनि जोडियो । उसको गाउँलाई नमुना गाउँ मान्दै इन्द्रबेली धानको स्थानीय प्रजातिको संरक्षणको लागि नेपालभरी योजना बन्यो । 


० ० ०

आज योगबहादुरले  आफ्नै गाउँको आफ्नै निर्देशक भएको अनुसन्धानकेन्द्रको परिसरबाट पर पर सम्म लटरम्म झुलेको इन्द्रबेली धान हेर्‍यो । उसलाई आज पहिलो पटक वैज्ञानिक भएको अनभूति भयो । 󠄊

धेरै पढिएकाे

पृष्ठ संग्रह