Wednesday, November 14, 2018

हज्जारौँ वर्षअघि

हज्जारौँ वर्षअघि

म मेरी नजन्मिएकी छोरी बोकेर
एक्लै तरीरहेको थिएँ पुरानो अमिलो नहर ।
छुट्याउन मुश्किल थियो
एकबित्ते ह्वेलहरूले
मेरा पाइतालामा काउकुती लगाएको
अनि भक्तपुरका सिकर्मीहरूले
करौँती तिखारेको ।
यक्कीन सम्झना छैन कुनचाहीँ हो
शब्द हो कि छाया हो
दुत्कारेको हो कि माया हो
मेरो कानमा बिझाइरहेको थियो ।
कुँडहर फाँटको जेठोबुडो अनि पएँलेको वास्ना
ह्वार्र नाकमा एकैचोटी पस्दा
मूढो लडे झैँ किंकर्तव्यविमूढ
मेरो चेतना लडेको थियो लम्पसार ।
प्लाष्टिकको झ्यालखानामा बटारिएर
कैद भएकाहरू
के जान्दथ्यौ कुहिनुको मजा
माटामा मिल्नुको मजा ।
शायद गम्भीर अत्याचारमा परेर होला
टाऽऽढा कतै नेपथ्यबाट चिहिरिएर रोएको सुनेँ
अँध्यारोलाई चिरेर ।
पऽऽर अनि एक्लै
केही गर्न सकिन मैले ।
केवल दोहोर्‍याइरहेँ
'अस्वत्थामाको नाक चुच्चो छ
अनि मेरी छोरीका बाको पनि'
यसो भनीरहँदा मलाई सम्झना भएन
'अस्वत्थामाको शिरमा घाउ छ
तर तिम्रा बाको टाउकोमा छैन' ।
घरैमा ब्याएकी बिरालाकी माउ म्याउँ गर्छे
ढाढेको अत्तोपत्तो छैन ।
छाउराहरू मुखमा च्यापेर
ओसार पसार गरीरहन्छे
ढुङ्गाको मूर्ति अनि ढुङ्गाकै हिमालले मित लगाएछन्
हिउँको अत्तोपत्तो छैन ।
मन्दिरका गर्भगृहमा
मूर्तिहरू छैनन् त के भयो?
ती गौण हुन् , कम्तिमा अँध्यारो त छ!
असीना पर्छ फाँटहरूमा
अनि पग्लिन्छ आत्मा
आमाका स्तनका मुण्टाहरूमा
मेरी छोरीले जीवन चुस्छे ।
हिलोमा घिस्रिएको कछुवाले
आफ्नो खबटो दान दिन्छ
निर्दयीहरूका पाइला कोमल छन्
सहृदयीहरूका पाइला कठोर छन्
आगो दन्काउने मान्छे हो
पानी उमाल्ने मान्छे हो
समुद्र तिमीले बनाएको होइन
धर्ती तिमीले बनाएको होइन
मैले बनाएको हुँ ।
सुस्तरी सास फेर्दैमा
शहरहरू सोत्तर पार्ने
दानवलाई भेटेँ मैले
मैले 'ए' भन्दा
'है' भन्दैथियो ।
अनि मीऽठो मानेर चुसीरहेको थियो
मेरो नलीहाडमा टाँस्सिएको मासु
मलाई लुछिएकोमा चिन्ता थिएन
दैत्यले रमाइलो मानेकोमा आनन्द थियो ।
उसका नङ्‌ग्रा अनि दाह्राका चेपमा
छिन्न भिन्न भएर लुकामारि खेल्नमा आनन्द थियो ।
अनि त्यसपछि सबै सकियो ।
यो मेरो सपना थियो
भनेको भए शायद तिमीले पत्याउँथ्यौ होला
तर यो त विपनै थियो
यदि तिमी मनमनै 'अहा!' भन्दैछौ भने
पत्रु छ मेरो लेखनी
यदी तिमी मनमनै 'छ्या: जेपायो तेही' भन्दैछौ भने
कृतकृत्य भयो मेरो लेखनी
अब त तिमी मनले जे ठान्यो त्यो भन्न पनि
दुई पटक घोरिन्छौ
ठीकै छ मैले खोजको पनि त्यही हो
तिमीलाई सहस्र शुभाशीर्वाद छ!
यो के लेखेँ मैले मलाई पनि थाहा छैन
हज्जारौँ वर्षपछि ।

धेरै पढिएकाे

पृष्ठ संग्रह