Thursday, December 28, 2017

ज्ञानकी डाँकुरानीः अलेक्जाण्ड्रा


अल्मा अाटा डिक्लेरेशनका लागि प्रसिद्ध कजाकिस्तानकाे अल्माटी शहरमा अाजभन्दा २९ वर्ष पहिले जन्मेकी अलेक्जाण्ड्रा एल्बाक्यानले कम्प्युटर र मस्तिष्ककाे सम्बन्धका विषयमा अध्ययन गरेकी  थिइन् । कम्प्युटर सुरक्षा र ह्याकिङमा सिद्धहस्त भएकी उनले रसियाकाे मस्काे र जर्मनीकाे  फ्राइबर्गमा काम गरिन् । 

२०११ मा कजाकिस्तान फर्केर उनले विज्ञान जगत् मा तहल्का मच्चाउने काम गरिन् । मात्र २३ वर्षकी अलेक्जाण्ड्राले संसारका पैसा तिरेर मात्र पढ्न पाइने वैज्ञानिक लेखहरू अाफ्नाे साइट "साइ हब" मार्फत् निःशुल्क पढ्न पाइने व्यवस्था गरिन् । प्रति लेख कम्तिमा ३० डलर तिरेर पढ्नु पर्ने हज्जाराैँ लेखहरू उनकाे साइटमा निःशुल्क पढ्न मिल्ने भयाे । (हाल साइ हबमा उपलब्ध लेखकाे संख्या छ कराेड भन्दा धेरै छ ।) विपन्न देशका विपन्न शाेधार्थीहरूले उनकाे साइटबाट धेरै लाभ लिए तर प्रतिलिपि अधिकार उल्लङ्घनकाे गम्भीर अाराेप उनलाइ लाग्याे । पश्चिमी नवसाम्राज्यवादकाे विराेधी रहेकी अलेक्जाण्ड्राले अाफ्नाे काम कजाकिस्तान र धेरै अरू विपन्न देशमा पनि अनुसन्धान हाेस् भन्ने अवधारणाले जन्मिएकाे बताइन् ।

अमेरिकाकाे प्रकाशक एल्सभाएरले उनी विरूद्ध मुद्दा हालेर उनकाे बेवसाइट बन्द गर्न लगायाे । तर उनले पटक पटक डाेमेन नाम फेर्दै अाफ्नाे बेवसाइट चलाइराखिन् । तर सुपुर्दगीका डरले उनले हाल भूमिगत हुनु परेकाे छ। उनले गर्दै गरेकाे मस्तिष्क विज्ञानकाे शाेध पनि हाल राेकिएकाे छ । 

विश्वप्रसिद्ध वैज्ञानिक पत्रिका नेचरले २०१६ मा विज्ञान जगत् मा व्यापक प्रभाव पार्ने १० व्यक्तिकाे सूचीमा उनलार्इ सामेल गरेकाे  थियाे ।

२०१७मा एउटा नयाँ पत्ता लागेकाे परजीवि बारूलाकाे नाम उनकाे नाममा इडियाेग्रामा एल्बाकिनी भनेर राखियाे ।  उनले यसकाे प्रतिक्रियामा भनिन्  "वास्तविक परजीविहरू ती प्नकाशकहरू हुन् जाे एउटा वैज्ञानिक लेख पढेकाे माेटाे रकम असुल्छन् ।" पछि यसका नामकर्ताले याे नाम उनकाे अपमान गर्न नभै उनकाे  याेगदानकाे सम्मानमा राखिएकाे बताए ।
हाल विश्वकाे वैज्ञानिक जगत् उनकाे पक्ष र  विपक्षमा विभक्त भएकाे छ । उनकाे काम   गैरकानूनी भएकाले धेरैकाे नजरमा उनी अपराधी हुन् भने धेरैकाे नजरमा उनी धनीहरूकाे एकाधिकार ताेड्ने समाजसेवी हुन् ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह