Friday, June 9, 2017

निशान भट्टराईलार्इ सुन्नुभयाे ?

फाेटाेः  निशान भट्टराईकाे फेसबुकपृष्ठबाट 

निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो  कलाकार । आजभोलि टेलिभिजनमा, इण्टरनेटमा खूब सुन्न पाइएको छ उसको गीत । मैले पनि सुनेँ । मैले पहिलो पटक उसलाई हाल एपीवान टेलिभिजनमा चलिरहेको ‘नेपाल आइडल’ भन्ने कार्यक्रमको ‘अडिशन’मा सुनेको थिएँ । शास्त्रीय रागमा आधारित गायनका लागि चर्चित भारतीय गायक मन्नाडेले माइतीघर चलचित्रका लागि जयदेवको संगीतमा गाएको ‘जिन्दगीलार्इ जीत हैन हारले नै स्वागत’ भन्ने गीत उसकाे स्वरमा सुनेर  निर्णायकहरू पनि ‘दिक्क’ (चकित) परेका  थिए । 

उसको घर विराटनगर नजिकै मोरङ उर्लाबारी रहेछ । सानैदेखि गायनमा रूचि रहेछ उसलाई । सानैदेखि सुरीलो रहेछ ऊ । त्यसैले उसले परिवारको सहयोग पनि पाएछ संगीत सिक्न । हाल त्रिवि शंकरदेव क्याम्पस स्नातक तहमा अध्ययनरत रहेको निशानलाई पूर्वका विशाल राई, यशोदा शाक्य र कमला खनाल तथा काठमाण्डौँमा  मनोजराज सिवाकोटीले संगीत सिकाएका र सिकाउँदै गरेका रहेछन् ।  

आवाजमा अलिकति केटौले पन बाँकी भए पनि शास्त्रीय संगीतको राम्रो प्रशिक्षण लिएको निशानको स्वर आगामी वर्षहरूमा अझै खारिने छ । शब्दको शुद्ध र स्पष्ट उच्चारण गायनको महत्त्वपूर्ण आवश्यकता भएकाले निशानले यसतर्फ अझै प्रयास गर्नेछ र सुविधा भएसम्म केही संस्कृतका मन्त्र र स्तोत्रको गायनको अभ्यास पनि गर्नेछ भन्ने मैले आशा गरेको छु । यसका लागि उपयुक्त गुरु वा इण्टरनेटबाट पनि उसले सहयोग पाउनेछ ।अलिकति डराए जस्तो तर विनयशील देखिने निशान भविष्यमा आत्मविश्वासी बनोस् तर विनयशीलता नछोडोस् । 

उसले ‘नेपाल आइडल’ भनिएको प्रतियोगिता जित्ला वा नजित्ला त्यो गौण विषय हो तर मेरो मन परेको गायक भने निशान भट्टराई भैसकेकाे छ । नेपाल टेलिभिजनकाे एक कार्यक्रममा  ऊ किशाेर अवस्थामा हुँदा नै उसकाे गायन सुनेकी ज्ञानु राणाकै शब्दमा  भन्दा यस्ताे लाग्छ कि ‘निशानलार्इ भगवानले याे पृथ्वीमा गाउनकै लागि पठाएका हुन् र उसले संगीतलार्इ विशेष ध्यान  दिएर अझै परिश्रम गराेस्  र भगवानले सँधै अाशीर्वाद  दिऊन्  ।’

हामीलाई गर्व छ हामी निशान हुर्कँदै गएको समयमा बाँच्यौँ र उसलाई सुन्न पायौँ ।





No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह