Saturday, August 25, 2018

कारखानामा आगलागी



कुनै समयमा एक जना अत्यन्तै परिश्रमी सेठ थिए । उनले बर्षौँसम्म परिश्रम गरेर कपडाको एउटा ठूलो कारखाना बनाएका थिए । आफ्नो व्यवसायमा व्यस्त रहँदा उनले आफ्नै परिवारलाई पनि राम्ररी समय दिन पाएका थिएनन् । एक दिन उनलाई यो कुराको बोध भयो र कारखानाको दशौँ वार्षिकोत्सव आफ्नै घरमा आफ्नै परिवारका साथ मनाउने निर्णय गरे ।

कार्यक्रमको भव्य तयारी भयो । स्वादिष्ट व्यञ्जनहरू तयार गरी भोजको तयारी गरियो । सबै प्रसन्न र उत्साहित थिए । सेठ आफ्ना सबै परिवारका सदस्यहरूलाई वरिपरी राखेर खान बसे । तरह तरहका परिकारहरूबाट अलग अलग किसिमका वास्नाहरू आईरहेका थिए । उत्कृष्ट खाद्य परिकार र परिवारको भेलाले परिस्थिति अत्यन्त उत्साहप्रद बनाएको थियो ।

सेठले खान शुरू गर्नै लागेका थिए, उनको फोन बज्यो । कसैले सूचना गर्‍यो 'सेठको कारखानामा आगलागी भयो' । सेठ नीला भए । उनको ओठ तालु सुक्यो । उनको वाक्य बन्द भयो । उनको दश वर्षको परिश्रम खरानी भएको थियो । उनले बीमा त गरेका थिए तर बीमा प्रक्रिया सम्झँदैैैैमा उनका नौनारी गले । अब सम्पूर्ण व्यञ्जनहरू उनका लागि माटो समान भैसकेका थिए । सबैको अनुहारको रङ्ग उड्यो । उत्सवको परिवेश एकाएक भयङ्कर शोकको वातावरणमा डुब्यो ।

यत्तिकैमा उनको फोन फेरी बज्यो । यसपटक, सूचना दिनेले भन्यो 'आगलागी भएको कारखाना उनको कारखाना हैन रहेछ, त्यो त अलि परको अर्कै कारखाना रहेछ' ।
'धत्तेरिका झण्डै मुटु रोकिएको !' उनले गहिरो सास फेरे । उनको ज्यान फर्किएर आयो । परिवेश पुन: बदलियो । उत्साहका साथ भोज भयो । सबैले स्वाद मानी मानी खाए । सेठले मन खोलेर परिवार र सेवकहरूलाई उपहार बाँडे । अब नाचगाना शुरू भयो । परिवेश पुन: हर्ष र उल्लासमा डुब्यो ।

यत्तिकैमा एकपटक पुन: उनको फोन बज्यो । यसपटक पक्का सूचना आयो । उनको आफ्नै कारखानाको गार्डको फोन थियो । उसले रूँदै खबर सुनायो । आगलागी भएको कारखाना उनकै रहेछ ।

धेरै पढिएकाे

पृष्ठ संग्रह