प्रिय एस्ईई परीक्षा दिएका भाई बहिनीहरू
(कृपया अभिभावकहरूले पनि ध्यान दिनुहोला)
नमस्कार । सञ्चै हुनुहुन्छ ?
हिजो अचानक सामाजिक सञ्जालमा हेलम्बुका तपाईँहरूका दाजु दीपकिरण खड्काले लेख्नुभएका तलका पंक्तिहरू देखे पछि यो चिठी नलेखि बस्न सकिन ।
वहाँले लेख्नुभएको थियो
"शैक्षिक क्षेत्रका माफियाहरूले ल्याएको बेतुकको एस्ईई पछिको ब्रिज कोर्स झुक्किएर पनि गर्दै नगर्नुहोला ।"
अनि उसोभए के गर्ने त ? हो त्यसैको सेरोफेरोमा यो चिठी लेखिएको छ ।
हाे ब्रिज काेर्स गर्दै नगर्नुहाेस् । बरु गाउँ जानुहोस्। गाउँमै हुनुहुन्छ भने पनि खेतबारीमा जानुहोस्। बा, आमा, हजुरबा, हजुरआमाहरूसँग एकैछिन बस्नुहाेस्। कुरा गर्नुहोस् । पुराना कुरा सोध्नुहोस् । नयाँ ठाउँकाे यात्रा गर्नुहोस्। संगीत, नृत्य, चित्रकला, मूर्तिकला, काष्ठकला, प्रस्तरकला, धातुकला, विभिन्न हस्तकला अादि सिक्नुहोस् । माटो र पानीसँग खेल्नुहोस् । बिरूवाका खस्रा र चिल्ला पातहरू छाम्नुहोस् । ऐंसेलु, चुत्रो, बडहर, दैक्याम्लो, भक्याम्लो, जामुन, बयर, किम्बु, काफल, कटुस, हलुवावेद, अमाराे, अारूबखडा, खुर्पानी, कागुनु, कुरीलो, जलुको, ठाेट्ने, जरिङ्गो, ओल, हलहले, टुसा, न्यूराे आदि जे जे फलशाकादि पाइन्छ खोजेर चाख्नुहोस् । धान, जाै, गहुँ, काेदाे, फापर, उवा, शामा, अादि अन्नहरू पनि चिन्नुहाेस् र चाख्नुहाेस् । कोइली, लाहाँचे, काफल पाक्यो, तित्रो, कालिज, जुरेली, न्याउली, गिद्ध, भ्याकुर, ढुकुर, सुगा, मैना, डाँफे, चाँचर, मुनिया, भारद्वाज, मुनाल, मलेवा, जलेवा, चखेवा, जलकौवा, धनेश, फापरे आदि चराका शब्द पाएसम्म सुन्नुहोस् । तुलसी, घिउकुमारी, अविजालाे, भृङ्गीराज, गुर्जाे, गुदरगानाे, पाखनभेद, ठूलाे अाेखति, कण्टकारी, अश्वगन्धा, सर्पगन्धा, जटामसी, नीरमसी, पाँचअाैँले, भलायाे, अलैँची, चिराइताे, बाेझाे, सुगन्धवाल, डालेचुक, टिमुर, अाँक, चरिअमिलाे, लज्जावती, रातीगेडी, राजवृक्ष, सिन्केकाँडा, थकालीकाँडा, विजयसाल, टाप्रे, घाेडटाप्रे, हर्राे, बर्राे, अमला, पिप्ला, मरिच, अदुवा अादि अनेक जडीबुटीहरू पनि चिन्न र तिनका उपयाेग जान्न प्रयास गर्नुहाेस् ।
झरना र खाेलामा सँग्लो पानी कलकल बगेको कस्तो हुन्छ कतै गएर हेर्नुहोस् ,सुन्नुहोस्, डुबुल्की मार्नुहाेस्। चिलाउने र उत्तिस, साल र सल्लाकाे जङ्गलमा विचरण गर्नुहाेस् । सल्लाघारीमा चैत वैशाखको हुरी चल्दा कस्तो सुनिन्छ सुन्नुहोस् । लालपाते, जाई, जुही, चम्पा, गुहेली, पारिजात, करबीर, आरू, नास्पाती, सुनाखरी, चाँदिखरी, घण्टीफूल, धसिंग्रे, बाबरी, बाह्रमासे, बेली, चमेली, रातकी रानी, गुँरास, गुलाफ, कमल, इन्द्रकमल, गलैँची, गुनकेशरी, काेइरालाे, मालती, नागकेशर, प्याउली, बुकी, टाँकी आदि फूलको सौन्दर्य र सुगन्ध पाएसम्म अनुभव गर्नुहोस् । कतै गाउँतिर गएर रातिमा आकाशका ताराहरू हेर्नुहोस् । चन्द्रमाकाे बढ्दै गएकाे कान्ति र घट्दै गएकाे कान्ति, चम्किलाे शुक्र अनि बुध, तीनतारे, घुमीरहेकाे प्रश्नचिह्न जस्ताे सप्तर्षि, उत्तर दिशा देखाउने ध्रुवतारो, झुरूप्प परेका कृत्तिका, वृश्चिक राशिकाे घुमेकाे पुच्छर, व्याधा र मृगशिरा , अादि ग्नह र नक्षत्रहरू चिन्न प्रयास गर्नुहोस् । झ्याउँकिरि, किथ्रो वा भ्यागुताहरूका ट्यारट्यार ध्यानपूर्वक सुन्नुहोस् । इतिहास, भूगोल र संस्कृतिका पाठ्यपुस्तकभिन्न पुस्तकहरू पढ्नुहोस् । नक्शाहरू घोत्लिएर हेर्नुहोस् । उत्तर, दक्षिण, पूर्व, पश्चिम, अाग्नेय, नैऋत्य, वायव्य र र्इशान दिशाहरू खुट्याउनुहाेस् । पाटी, पाैवा, सत्तल, बहाल, देवस्थलहरू, चाैताराे, ढुङ्गेधारा, दरबार, पाेखरी, अादि प्राचीन धरोहरहरू घुम्नुहोस् । वृद्ध, असहाय र अनाथहरूलाई भेट्नुहोस् । जो सकेको सहयोग गर्नुहोस् ।
कुनै तथाकथित राम्रो मानिएको विद्यालयमा प्रवेश गरेर पुनः घोकन्ते ११ र १२ को चक्करमा पर्नभन्दा अघि अलिकति जीवनलाई व्यापक रूपमा अनुभव गर्नुहोस् । जीवनमा सिक्नुपर्ने कुरा अनगिन्ति र व्यापक छन् । जीवनका मूल्यवान् दुई तीन महिना पनि सँधैजस्तो एकोहोरो कक्षाकोठामै नष्ट नगर्नुहोस् । पुनः पुरानै शैलीमा फर्कनु अघि तपाईँ र तपाईँको मस्तिष्कलाई ताजगीको आवश्यकता छ । तपाईँले यी दुई तीन महिना पनि अलिकति पृथक् बाँच्नसक्नुभयो भने जीवनभरको लागि अमूल्य बन्नेछ ।
अन्त्यमा पुनः यो पत्र लेख्न प्रेरणा दिने भाई दीपकिरण खड्का तथा यसलाई अझै परिष्कृत बनाउन प्रेरणा दिने दाजु केदार शर्मालाई धन्यवाद दिँदै यो पत्र यहीँ टुङ्याउँछु ।
तपाईँहरूको स्नेही दाजु,
शिव संकल्प
पोखरा, कास्की, नेपाल ।
चित्र: काठमाण्डुु पोष्ट
२०७५ वैशाख ३ गतेकाे बाह्रखरीमा प्रकाशित