Friday, July 17, 2020

समूह असफल हुने पाँच कारण




(याे टिप्पणी हालै मैले भाग लिएकाे एक व्यक्तित्व विकास कार्यक्रमकाे सामूहिक गृहकार्यकाे रूपमा लेखिएकाे हाे । याे लेख्नमा मेराे समूहका मित्रहरू मञ्जुश्री अधिकारी, हृदयेन्द्र जङ्ग शाही ठकुरी र विष्णु केसी काे सामूहिक याेगदान छ । साथैमा भएकाे हस्तलिखित  चित्र मञ्जुश्री अधिकारीले बनाउनुभएकाे हाे  भने पुस्तककाे मुखपृष्ठकाे चित्र अमेजन डटकमबाट लिइएकाे हाे )

समूह असफल हुने अनेक कारण हुन सक्छन् । तिनलाई अलग अलग रूपमा गन्न पनि सकिएला तर यस स्यानाे टिपाेटमा  'द फाइव डिस्फङ्शन्स अव अ टीम' ( The Five Disfunctions of a Team) अर्थात् 'समूह असफल हुने पाँच कारण' भन्ने अमेरिकी लेखक प्याट्रिक लेन्सिय‍ोनि ( Patric Lencioni)द्वारा लिखित सन् २००२ मा प्रकाशित एउटा लोकप्रिय नेतृत्व वा व्यवस्थापन सम्बन्धित आख्यानमा गनिएका पाँच कारणबारे लेखिँदैछ ।
यसमा नेतृत्व, व्यापार र व्यवस्थापन सञ्चालन गर्दा समूहमा आउन सक्ने समस्या र त्यसलाई समाधान गर्ने उपायहरू 'डिसिजन टेक'भन्ने एक काल्पनिक कम्पनिका प्रमुख, पूर्व प्रमुख, बजार प्रमुख, आर्थिक प्रमुख आदिको बीचमा घटेको कथानकका माध्यमले बताइएको छ ।
पुस्तकमा गणना गरिए अनुसार कुनै पनि समूह असफल हुनुमा तलका पाँच कारणहरू जिम्मेवार हुन्छन् । ती कारणहरू र तिनका कारण उत्पन्न हुनसक्ने परिस्थितिलाई तल सूचीकृत गरिएको छ ।
१. विश्वासको अभाव:
कमजोरी र गल्तीको दोष एक अर्कालाई लगाउने । सिक्न र सिकाउन डर या लाज मान्ने । अरुको बाहिरी शैली वा व्यवहारबाटै उसको बारेमा अन्तिम अवधारणा बनाउने, यसबारे प्रष्टसित नसोध्ने, केवल एक्लै सोचेर समय नष्ट गर्ने । एक अर्काका विशिष्ट ज्ञान र शीपबाट सिक्न नखोज्ने । तुस पाल्ने । छलफलबाट बच्ने । एक अर्काको सामुन्ने पर्नै नखोज्ने ।
२. संघर्षको डर:
पट्यारलाग्दा बोक्रे बैढक गर्ने तर खुलेर कुरा नगर्ने । परोक्षमा अनेक तिकडम/राजनीति गर्ने । व्यक्तिगत आरोप प्रत्यारोप आक्षेप गर्ने । चर्चा गर्नुपर्ने विवादास्पद कुरामा छलफलै नगर्ने । गजक्क परेर बस्ने । झगडा हुन्छ कि वा एक्लै परिएला कि भनेर डराएर आफ्नो मत राख्नबाट पछि हट्ने ।
३. प्रतिबद्धताको कमी:
के गर्न खोजेको वा कुन कुरा महत्त्वपूर्ण छ भन्ने कुरा
छुट्याउन नसक्ने/नचाहने, अनावश्यक ढीलासुस्ती र ज्यादा विश्लेषण गरेर समय बिताउने र मौका गुमाउने । आत्मविश्वासको कमी र असफल हुने डर । फर्की फर्की पुरानै छलफल र निर्णयहरूमा भुल्ने ।
४. जबाफदेहिताबाट पन्छिने प्रवृत्ति:
फरक कार्यकुशलता भएका सदस्यबीच तीतोपन बढाउने । कामचलाउ प्रवृत्ति । समयसीमाहरू छुटाउने र परिणाम निकाल्न नसक्ने । सबै जिम्मेवारी समूह नेतामा थुपार्ने ।
५. नतिजामा ध्यान नदिने प्रवृत्ति:
यथास्थितिमा रहने/रहन चाहने । प्रतिस्पर्धामा विरलै रहने । सँधै पछि पर्नुलाई स्वीकार गर्ने । राम्रो गर्न चाहने व्यक्तिहरूलाई गुमाउँदै जाने । समूहका सदस्यहरू समूहको सफलताभन्दा पनि व्यक्तिविशेषको सफलतालाई प्राथमिकता दिने तर्फ पुग्ने । सजिलैसित आफ्नो कामभन्दा अन्य अनावश्यक कुरा तर्फ भुल्ने ।
यी चीजहरूबाट बच्न सकेमा मात्र कुनै पनि समूह सफल हुन सक्छ ।

धेरै पढिएकाे

पृष्ठ संग्रह