Thursday, November 29, 2012

वृत्ति

येन शुक्लीकृता हंसाः शुकाश्च हरितीकृताः | 
मयूराश्चित्रिता येन स ते वृत्तिं विधास्यति ll - हितोपदेश
One, who made the swans white; parrots green; 
and the peacocks spotted, will also provide them their living.

Tuesday, November 13, 2012

निधारमा लर्काएर सप्तरंगी टिको

"निधारमा लर्काएर सप्तरंगी टिको... हिंडी रहू संधै तिमी शिखरको बाटो...
ओखरमा फोरेकी छु बाधाहरू मैले.... जता पनि पुग दाजै घामभन्दा पैले...."


मखमली स्वरकी धनी गायिका हेमलता तिहारको यो यौटै गीतले नेपालमा अमीट छाप छोड्न सफल भइन्
उनको यौटा अर्को "तानसेन घमाइलो..." भन्ने गीत पनि भए जस्तो लाग्छ तर त्यो त्यति बजेको सुनिंदैन 
धेरै कम तर मीठा मीठा गीत गाएकी हेमलता का व्यक्तिगत रूपमा मलाई विशेष मन पर्ने गीतहरू यी हुन्:
कौन दिशा में लेके चला रे वटुहिया ...(नदिया के पार, 1982)
तू इस तरह से मेरी जिन्दगी में शामिल है...(आप तो ऐसे न थे, 1980)
अखियोँ के झरोखों से मैने देखा जो साँवरे... (अखियोँ के झरोखों से, 1978)
ले तो आये हो हमें सपनों के गांव में प्यार के छांव में बिठाये रखना...(दुल्हन वही जो पिया मन भाये, 1977)

Sunday, October 21, 2012

बन्धुको संग

"देश् देश् का बोटुलिन्छन् बुझ तिमि मनले बाटका पाटिमाहाँ
बात् चित् गर्दै रहन्छन् खुसीसित ति सबै बन्धु झैँ राति ताहाँ
प्रातःकाल् भो जसै ता उठीकन ति सबै दश् दिशा लागि जान्छन्
बन्धुको संग यस्तो बुझिकन गुणीले दुःख सुख् एक मान्छन् ll"
-भानुभक्तकृत रामायण, अयोध्याकाण्ड, श्लो ३२
People from several locations meet at the highway guesthouses. They talk happily during the nights, as they were long time friends.
Next very morning they all leave for their respective destinations.
Knowing this fate of all alliances, wisemen remain neutral over joy and sorrow.

Wednesday, September 12, 2012

मैले मृत्यु किनेँ


मेरा रगतमा अक्षर बहन्छन् म अक्षर नै श्वास फेर्छु, म अनुभव गर्छु मेरा शरीरका हरेक जीवकोषका आनुवंशिकी सूत्रहरूमा अक्षरहरू बटारिन्छन्, ती तँछाड मछाड गर्छन् जन्म लिन र श्वास लिन खुला आकाशमा । मेरो बालककाल बित्यो मेरा पिताजीको पुस्तकालयमा जहाँ मेरा खेलौनाहरू पुस्तक बाहेक केही थिएनन् । सानो बालकका लागि पूर्णतया दुर्बोध पुस्तकहरू तर जीवनका उन्नाइस बसन्त पार गर्दा नगर्दै त्यस पुस्तकालयका आधाजसो पुस्तकहरू मैले पढेर सक्काएँ बाकिँ पुस्तक शायद न म पढेर बुझ्न नै सकुँला र अब त त्यस पुस्तकालयबाट भौतिक दुरीमा भएको नै एक दशक भयो । तर ती दिनहरू सुनौला थिए जसले ममा अनौठो जग बसाए जहाँ म कुनै दिन जस्तो चाह्यो महल खडा गर्न सक्नेछु अक्षरको, साहित्यको ।
.
तर साहित्यले पेटको समस्या हल गर्दैन । कम्तिमा शुरूमा त गर्दै गर्दैन त्यसैले त नेपालमा सचिवहरू साहित्यकार हुन्छन् कि त अझ नेताहरू वा व्यापारीहरू । म साहित्यकार होइन किनभने मसँग समय छैन । म पनि कुनै दिन साहित्यकार बनुँला जुन दिन ताउलो बसाल्ने पीरबाट म मुक्त हुनेछु । तर धन्यवाद छ मेरा गौरवमय देशका रचनात्मक मानिसहरूलाई जसले तालिका मिलाएर बन्द गर्छन् देश र प्रदान गर्छन् यौटा साहित्यिक बन्द सत्र  नभए औषधि विज्ञानशास्त्रको तथाकथित अनुसन्धान छात्र मसँग समय नै कहाँ छ र यी सब कुराहरूका लागि ? यसैले  यी अक्षरहरूको जन्मको श्रेय जान्छ तिनै महान् सपूतहरूलाई जसले बन्द गरीदिन्छन् देश र र जन्म लिन्छन् अक्षरहरूले जसले अन्यथा गर्भमै मर्नु पथ्र्यो ।
.
फेसबुकले ममा रहेको प्रतिसाहित्यकार जगायो । सबिन सिंहका गजल गीत हुन् वा हाइवे भन्ने चलचित्रको बहुप्रचार । ती कारण बनेँ मेरो लेखनका, प्रेरणा बने ममा रहेको आलोचक बाहिर निकाल्नमा  र नवीन पहारी उपाध्यायका हरेक कविताहरू उत्तेजना बने मेरो कल्पनालोकका प्रतिच्छायाहरू बाहिर निकाल्नमा ।
.
तर आज प्रसंग छ सूरज अर्यालको 'मृत्यु विक्रिमा छ' को । सूरज अर्याल नातामा मेरा बरिष्ठ हुन्, उमेरमा समकालीन । समग्रमा एक सहृदयी मित्र हुन् । यिनले विगत केहि सप्ताहबाट इन्टरनेटको कल्पनालोकमा एउटा दोकान थापे मृत्यु विक्रिमा छ भन्ने सूचना टाँगेर । पढ्ने फुर्सत जुटाउँदा जुटाउँदै यसका ६ भाग आए र यसको धारावाहिक अन्त्य भयो । म भाग्यशाली हुँ यस अर्थमा कि मैले एउटा भाग पढेर अर्कोको लागि पर्खनु परेन एकै दिन सबै पढेर यो लेखोट लेख्न पाएँ ।
.
सर्वप्रथम कथानकको मूल सारमा नै जाउँ । मृत्युको पसल खुलेको दिन अर्थात् पहिलो भाग पोखरावासी 'म'पात्रको एक रात  संभवतः  (परिचय नखुलेको अर्थमा) एक पूर्व परिचितासंग  इन्टरनेटमा भेट भएको कुरामा सकिन्छ । दोस्रो भागमा भेट मोबाइल फोनको सन्देशमा सर्दछ । तेस्रो भागमा मोबाइल फोनकै सन्देशमा परिचय खुलेको प्रसंगमा सकिन्छ । यहाँ सम्म कथामा कथानकको नै अभाव छ केवल एउटा रहस्यमात्र पैदा गर्न खोजिएको छ । चौथो भागमा कथा 'फ्ल्याशब्याक'मा  'टिपिकल डियर कल्याण' शैलीमा अगाडी बढ्छ जहाँ परिचय खुलेकी पात्र  (स्मारिका पौडेल) र 'म'पात्र  (सुयोग्य लम्साल)बीच केही वर्ष पहिला काठमाण्डौमा चलेको प्रेमप्रसंगलाई चुरोटसंग घोलेर प्रस्तुत गरिएको छ । पाँचौ भागमा त्यही सम्बन्धले उचाई लिएर कथाको माग अनुसार एकदिन रहस्यपूर्ण ढंगमा 'ब्रेक अप मेसेज' आएको देखाइएको छ । कथाको अन्तिम भाग अर्थात् छैटौं भाग सबैभन्दा राम्रो छ लेखनको शैलीमा,  परिष्कारवादी । रहस्य यथावत् छ अन्त्यसम्म "नोरा कता गई ?" भने जस्तो तर एउटा कुरा फरक के छ भने यहाँ 'नोरा' फर्किन्छे तर किन विछोड भयो त शायद यही रहस्य हो । कम्प्युटर, इन्टरनेट, मोबाइल, म्यासेज, कफी, चिया, चुरोट यीनै आधुनिक उपकरण, प्रविधि र जीवनशैली को जालमा घुमेको छ कथा l  उत्तरकिशोरावस्थाको प्रेम, आत्मीयता, मानवका संवेदना र सम्बन्धहरूमा सूचना प्रविधिको प्रभाव, नवआधुनिक जीवनशैलीका  शायद विवाहपूर्वको भौतिक सम्बन्धसम्मका उदारताका प्रसंगहरू कथामा पाइन्छन् । समग्रमा शायद कथाको प्रस्तुतिकरण वा लेखकको व्यक्तिगत स्वैरकल्पना नै यसको विशेषता हो । यो शुभ सन्देश हो आगामी दिनको ।
.
कथा उत्तरआधुनिक शैलीको छ मजस्तो जीवनको एउटा पाटोमा गहिरो पुरातनपन्थी संस्कारबोकेको व्यक्तिले यसको समीक्षा गर्न खोज्नु नै प्रसंग बाहिर  लाग्यो मलाई । तसर्थ शायद यो फरक निबन्ध हो । 'मृत्यु विक्रिमा छ' प्रशंगबश घुस्न पुग्यो यसमा ।
.
अन्त्यमा सूचना प्रविधिका ज्ञाता लेखकले आफ्नो संजालपृष्ठलाई गह्रौँ र चित्रविचित्र बनाइदिँदा हामी जस्ता कच्छप गतिको अन्तरसंजाल सुविधा  लिएर बसेका पाठकलाई धैर्यको मीठो पाठ पढाउन सफल हुनुलाई पनि एउटा उपलब्धि मान्नुपर्ने  भयो  अनि, यसले गर्दा  ममा रहेको प्रतिसाहित्यकारले पुनः शिर उठायो एउटा धारावाहिक आख्यान लेख्न तर देशका गौरवपूर्ण जनताहरूले मलाई तालिकाबद्ध तवरले मलाई सहयोग गर्लान् ?
.
मैले महंगो मुल्य तिरेर मृत्यु किनेँ ।

Wednesday, September 5, 2012

दिगम्बरः कथं जीवेत् अन्नपूर्णा न चेद् गृहे ?

स्वयं पञ्चमुखः पुत्रौ गजानन षडाननौ 
दिगम्बरः कथं जीवेत् अन्नपूर्णा न चेद् गृहे ll


आफ्ना पाँच मुख छन् छोराहरू हात्तीमुखे  छ मुखे छन्, यस्तोमा माता अन्नपूर्णा घरमा नभएकी भए दिगम्बर भगवान् शिवजी कसरी बाँच्थे होलान् ?

Sunday, August 26, 2012

मेरो रंगहीन मन र मेरो आत्मघाती जिजीविषा

विचारका सीमामा निमग्न हुँदै
निष्कलंक जडसमाधि लिन्छु म, उही खण्डित आकाशमुनि
जहाँ प्रकाशको हर्षातिरेकमा चित्कार गर्छ अग्निले
मानौँ नव परिणीत दम्पती झैँ, सहर्ष !
वासना, आनन्द अनि उन्मादका रोमांचमा आरूढ हुँदा
म अनुभूति गर्छु सरीसृपकीटहरू मेरो तनभरी
ती रक्तपिपासुहरू मानौँ बालदैत्य झैँ
सलबलाउँछन् फुत्कार्दै, भुनभुनाउँदै अनि कोमल निःश्वास फेर्दै
मथन गर्दै पाण्डुरंगी पीत त्यो विषाक्त मेरो मृतचर्म !
विचित्र रंग संश्लिष्ट हुन्छन् र रचना गर्छन् यौटा अमृतयज्ञ
श्याम अनि श्वेत मानौँ सम्मोहित वा विमोहित
मधुरवञ्चनाहरू या यौटा नयाँ विद्युतीय पुनराभास !
रश्मिविद्ध म, यौटा कल्पनातीत स्वप्नदृष्टा बन्छु !

तिम्रो प्रीति, मानौँ यौटा वनकुसुम वा अलौकिक सुप्रभात !
तिम्रा परिवर्तित मुहारहरूका अन्तरमा  देख्छु म त्यो आत्मज्योति !
यौटा रेशमी पथ, यौटा जगद्व्यापी प्रीति अनि एक बिन्दु निःशब्दता !
सुनौला र हराभरा निर्दोषिताका पंखहरू लिएर
तिमी जब 'आइज निदरी' गाउँछ्यौ तब निदाउँछिन् धरती !
उन्मत्त झैँ वनमा, उत्कीर्ण त्यो सौरभको अन्तरमा !
त्यो प्रेमरसशास्त्र, प्राप्त गर्छ तिम्रो आत्माको वातायन !
कति युवा अनि कति प्रेमपूर्ण ! विस्मित हुँदै त्यो सुषुप्तिको मोहलोकमा !
नवजीवनदायी स्मृति त्यो त्रास, वेदना र मेरा गूढसम्बन्धहरूको
म अनुभव गर्छु मेरै रहस्यपूर्ण परमानन्दको अनि त्यो प्रेमब्रह्मको !
मेरो रंगहीन मन र मेरो आत्मघाती जिजीविषा
मानौँ यौटा अतर्कपूर्ण मधुर आत्मसमर्पण !

Original By Nabin Bliss goes like this:
Engrossed ahead in the boundary of thoughts,
I trance stone immaculate beneath the scattered sky,
Fire flies screaming in the ecstasy of light,
Happy like a newly wedded couple,
Rising high, in thrills of lust, bliss, insanity
I can feel the creeping bugs in my skin,
Sucking blood, like a tiny monster,
Hissing, chirping, breathing softly,
Stirring on pale, yellow, intoxicated dying skin,
Colorful hues connect to create the moment of immortality,
Black and white, dazed and confused,
Sweet deceptions, a new glittering déjà vu,
Moonstruck, I dreamed far ahead the imagination
Her love a rare flowering, a rosy morning,
Amidst her morphing faces, I can see the light of the spirit,
A silk road, a cosmic love, a drop of silence,
Green and gold, on the wings of innocence,
She sings a lullaby, while the earth sleeps
Wild in the woods, amid breeze of the fragrance so engraving,
Alchemy of the love, found the window to her soul,
So young so full of love, Wondering in the wonderland of numbness,
Rejuvenating longings of phobia, agony, hidden connections,
I can feel the aura of my secret bliss, the Tao of love
Colorless mind, love for my life will kill me,
Like a sweet capitulation, in the wilderness of speculation

Sunday, August 19, 2012

विश्व सुन्दरीमा चिनियाँ युवती

वर्तमान विश्व बजारको विश्व हो, विश्वको पहिलो जनसंख्या, चीनले आर्थिक उदारीकरणका साथ बजार खोले पछि विश्व सुन्दरीमा चिनियाँ युवतीलाई जिताइनु यौटा अपरिहार्य घटना थियो l 2007 मा झांग जिलिनको सफलता चीनको विश्व बजारमा प्रवेशको शंखनाद थियो भने 2012 मा यु वेंगजियाको सफलता विश्व बजारमा चीनको प्रभावको ढोल हो l
1990 को दशकमा आर्थिक महाशक्तिको रूपमा उदाउन लागेको विश्वको दोस्रो जनसंख्या भारतमा बजार अर्थतन्त्र चुलिनु  ऐश्वर्या राय  सुस्मिता सेनको सफलतामा ठूलो सम्बन्ध छ l ती सुन्दरीको उमेर ढल्कँदै जाँदा प्रियंका चोपडा, लारा दत्ता, युक्ता मुखी आदिले बजारमा प्रभाव कायम राखेका हुन् l यी सबै तमाशाहरू तथाकथित नवउदारवाद, वैश्वीकरण बहुराष्ट्रिय कम्पनीको विश्व बजारमा एकछत्र राजका उपकरण हुन् l

Monday, July 23, 2012

बालस्मृति

जलनको पीडा सहन गर्दै
म पुनरूक्ति गर्दै छु धर्मराजको अगाडी
मेरा नारकीय भोगाइहरू प्रेम, ऐश्वर्य अनि प्रणयको नाममा
एक नवजात आत्मवञ्चना : मानौँ की जीवन एक उन्माद हो
म उन्माद नै लक्ष्य प्राप्त गर्छु मानौँ यो नै एक ब्रह्मज्ञान हो
म अवचेतनमा रमण गर्छु अनि एउटा साम्राज्य किन्छु म
म श्रवण गर्छु पदचाप असुरसैन्यागमनको  अराजक त्यो स्मितहास्य
अनि सम्झाउँछन्, मेरा तप्त श्रुतिविवरहरू मेरो नव प्रेमोत्कर्ष
हो ! म प्रीति गर्छु मेरै उन्मत्तता  गदोद्वेगलाई


मूल अंग्रेजीः नवीन उपाध्याय


Enduring the pain of burning blisters,
I reiterate on the judgment day,
All hell in the name of love, luxury and romance,
Smug in the infancy, life is crazy
I can reach the insanity, the culminate wisdom
Wondering in the trance, I can buy a kingdom,
I can hear the devil parade, the boisterous smile,
And the blazing ear is warm, like a new ecstasy

Oh, I love the sense of lunacy and madness....

Saturday, July 21, 2012

हाइवे हेरे पछि


सर्वप्रथम म कुनै चलचित्र समीक्षक वा अझ भन्दा चलचित्रको उल्लेख गर्न लायक दर्शक पनि होइन । त्यसैले पाठकहरूले मेरो यस लेखोटमा अभिव्यक्त कुराहरूले समग्र नेपाली चलचित्रको तुलनात्मक मापदण्डलाई कुनै पनि रूपमा अभिव्यक्त गर्दैनन् भन्ने बुझिदिनुहोला । आजको मेरो “हाइवे” दर्शन, नितान्त मेरा वैज्ञानिक एवं कला संस्कृतिप्रेमी अग्रज समीरमणि दीक्षितको नेपाली चलचित्रलाई भेटी चढाऔं भन्ने आह्वानको पालना एवं र सहृदयी सूरज अर्यालको मित्रवत् प्रस्ताव  (यसमा यातायात सुविधा संलग्न छ है! ) को फलस्वरूप थियो ।
पोखराको श्रीकृष्णचलचित्र भवनको विशिष्टश्रेणी लगभग भरिएको स्थितिमा चलचित्र प्रारम्भ भयो । व्यक्तिगत रूपमा मेरो चलचित्रबाट अपेक्षा शून्य नै थियो ( साधारणतया हरेक चलचित्रबाट म यही अपेक्षा राख्छु, अतः निराशाको कुनै संभावना रहन्न )l अझ म त पहिले नै चलचित्रको दरो छिद्रान्वेषण गरेर कटु टीप्पणी गरौँला भनेर भवनमा छिरेको थिएँ । तर भवनबाट बाहिरिँदा विचार व्यापक परिवर्तन भैसकेको थियो । तैपनि शुरू उपदेशबाट नै गरौँ । सर्वप्रथम नेपालीहरूमा  धूमपानको अभिरूचि व्यापक भए पनि चलचित्रमा यस दृश्यलाई कम गर्न सकिन्थ्यो जस्तो लाग्छ । पर्दाको दृश्यबाट मन थाम्न नसकेका मेरा सहदर्शकहरूको मौखिक र व्यावहारिक आतुरताबाट पनि मलाई यो टीप्पणी विशेष रूपमा गर्न मन लाग्यो ।
चलचित्र दर्शकहरू पटमूर्ख हुन्छन् भन्ने सोचाईबाट माथि उठेर दर्शकलाई प्रशस्त आफ्नो सृजनशीलतालाई प्रयोग गर्ने अवसर प्रदान गर्नुपर्छ र निश्चय नै एउटा राम्रो चलचित्रले धेरै प्रश्नहरूको उत्तर दर्शकलाई नै गर्न दिनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता छ। यस अर्थमा कथासित संलग्न रहन नै नै हरबखत कान र आँखा चनाखा पार्नु पर्ने यस चलचित्र मलाई धेरै नै मन पर्यो । घटनाक्रमलाई तासका पत्ति जस्तै फिटेर देखाइँदा पनि चलचित्रले आफ्नो गति राखेको देख्ता उदेकका साथै धेरै रमाइलो लाग्यो । चिकित्साशास्त्र पढ्न लागेको विद्यार्थी , बसचालक, डाक्टर, घरेलु वा रेष्टुरेण्ट कामदारलगायत समाजका  विभिन्न वर्गका प्रतिनिधि पात्रहरू पनि तासकै पत्ति जस्तै विभिन्न गुरुत्वका तर एक अर्कासँग नराम्ररी गाँजिएर आएका थिए । उनीहरूको अन्योन्याश्रित सम्बन्धले हरेक सजग दर्शकलाई यौटा सामाजिक अनुसन्धाता बनाउन सफल भयो ।
समग्रमा नायकरहित भए पनि शुरुमा मैले  आफ्नो नायकाकांक्षा  इलम दीक्षित बाट पूरा गरेँ । अग्ला सलक्क परेका इलम आकर्षक देखिए । अपर्झट दुलाहा बनेका इलम दीक्षितले सल्काएको चुरोटबाटै दुलही बनेकी अभिनेत्रीले चुरोट सल्काउन लागेको दृश्य पर्दामा धेरै प्रेमपूर्ण देखिए पनि लगत्तैको दृश्यमा उनले चुरोट तान्न नजानेको देख्दा निर्देशक बढी नै सृजनशील  (तान्न नजानेकै देखाउन खोजेको अर्थमा) वा सहनशील  (पुनःदृश्याङ्कन नगराएको अर्थमा) लागे । चलचित्रमा उत्तेजक नृत्य नभएको भनिए तापनि “पप्लु” नामक गीतले यसलाई प्रतिनिधित्व गरेको देखियो तर क्यामेरा संचालन र यसको लम्बाई र कथाको सम्बन्धको सरसताको दृष्टिकोणले यसलाई क्षम्य नै मान्न सकिने ठानियो । सुधारको रूपमा, रवीन्द्र मिश्रको चरित्रलाई अझ सबल बनाउन सकिन्थ्यो सशक्त संवादद्वारा   (सेन्सरले काटेको अंशदेखि अतिरिक्त पनि) त्यसमा निर्देशक चुकेका छन् । संपादनमा पनि उनी रहेको दृश्यमा अरु निर्दयीपन आवश्यक थियो जस्तो लाग्छ । पार्श्व ध्वनिको प्रयोग/अभाव दुवै उत्कृष्ट छ । शास्त्रीय संगीत कतै सुने जस्तो लाग्छ । त्यो अझ कतै एक ठाउँमा नेपाली शैलीमा चुटुक्क एक्कै छिन मीठो बजेको भए राम्रै सुनिन्थ्यो । छायाङ्कन  (सिनेमाटोग्राफि) उत्कृष्ट र अन्तर्राष्ट्रियस्तरको छ बसको गियरमुनिबाट लिएको “शट” , रबीन्द्र मिश्रले खानलाग्दाको “डिष्टण्ट् शट” र अन्त्यको काठमाण्डौंको झरीपूर्णसडकको “रात्री शट” मलाई औधी मन परे ।
चलचित्र समग्रमा राम्रो छ तर निश्चय नै यौटा ठूलो समूहले यसलाई मन पराउने छैन तर मेरो बुझाइमा चलचित्रका निर्माताहरू यस तथ्यबाट राम्ररी परिचित छन् । लगानी सानो छ तर प्रचार प्रसारका खर्चले पनि यसमा उल्लेख्य हिस्सा ओगटेको होला । चलचित्रले १०० दिन वा १५० दिन मनाउला भनेर त कसैले पनि आशा नगरेकै कुरा हो तर यसलाई याद गरिनेछ यौटा अलग्गै धारको ( साँच्चैको अर्थमा) चलचित्रको रूपमा । चलचित्रका परिकल्पनाकार संभवतः निर्देशक दीपक रौनियार हुन् उनलाई धेरै धेरै साधुवाद छ र उनले र जो अन्य सम्पादकले यसका दृश्यहरूलाई निर्मायासित  (सकारात्मक अर्थमा) चटचट काटे, उनीहरूको आत्मविश्वास नै मेरो लागि यस चलचित्रको सबै भन्दा बढी प्रसंशनीय पक्ष हो ।
मेरो नितान्त नीजी विचारमा चलचित्रको नाम नेपाली शब्दमा राख्ने साहस पनि निर्माण पक्षले देखाउनु पर्थ्यो जसले यौटा भए पनि नेपाली शब्दलाई यसको अन्तर्राष्ट्रिय सफलताको सन्दर्भमा वैश्वीकरण गराउँथ्यो कि ?
विगतमा रेनकोट  (हिन्दी, २००४), पीपली लाइव  (२०१०), धोबीघाट  (२०१०) अ सेपेरेशन  (२०११, ईरान) जस्ता चलचित्र मन पराएको मलाई यसको अन्त्य सबैभन्दा उत्कृष्ट लाग्यो, जहाँ “जनता” जो जति नै सर्वशक्तिमान भएता पनि कति निरीह छन् र संसाररूपी नाटकका प्रतिनिधि पात्रद्वारा क्षणिक प्रयोजनका लागि कसरी प्रयुक्त तथा अन्त्यमा परित्यक्त हुन्छन् भन्ने प्रतिबिम्ब छ र  मेरालागि तिनै जनताहरू  यस चलचित्रका वास्तविक नायक हुन् l
यद्यपि मलाई थाहा छ की मेरो समय र परिवेश अनि  रस्सियन फिल्मकर्मी सेर्गेइ आइजेन्स्टाइनले बाँचेको समय र  परिवेश दुवै नितान्त फरक छन्।
मेरो यो जीवनकै पहिलो चलचित्र समीक्षा हो र मैले यसलाईँ पाँचमा साँढे चार तारा दिएँ ।

Thursday, July 12, 2012

भतृहरि

आज भतृहरिका बारेमा लेख्न मन लागिरहेछ l क्रैस्ताब्दको पाँचौ शताब्दी तिरका भतृहरिका संस्कृतव्याकरण  भाषाशास्त्रको स्फोट दर्शनको मूल ग्रन्थ वाक्यपदीय  विश्वप्रसिद्ध भतृहरिशतकत्रय (नीतिशतक, शृंगारशतक  वैराग्यशतक गरी तीन कृति) प्रमुख कृति हुन् l भतृहरिशतकत्रयका प्रत्येक कृतिमा नीति, शृंगार  वैराग्य सम्बन्धि साह्रै राम्रा शय शयवटा श्लोकहरू रहेका छन् l प्रत्येक कृतिबाट उदाहरणस्वरूप एक एक शलोक सानुवाद तल प्रस्तुत हुनेछन् l

नीतिशतकबाट...
लभेत सिकतासु तैलमपि यत्नतः पीडयन् 
पिबेच्च मृगतृष्णिकासु सलिलं पिपासार्दितः

कदाचिदपि पर्यटन् शशविषाणमासादयेन् 
नतु प्रतिनिविष्टमूर्खजन चित्तमाराधयेत् ll

यसको समश्लोकी अनुवाद मेरा पितामहले गर्नु भएको--
सिपालु जन बालुवा पिसी निकालला तेल् कहिँ
गएर मृगतृष्णिका जल लिएर फिर्ला पिई
घुमी लियेर आऊला सिङ ती चौवडाका पनी
सक्वैन अति मूर्खको समझ फेर्न ता त्यो पनि ll

(नोट: खरायोलाइ पश्चिम पहाडतिर चौवडा भन्छन्)

English:
Squeezing with efforts one can get oil from sand.
A thirsty person may drink water from the mirage. 
Sometimes while wandering one may find the horns of hare.
But it is impossible to please the minds of determined fools.


शृंगारशतकबाट...
केशानाकुलयन् दृशो मुकुलयन् वासो बलादाक्षिपन् 
आतन्वन् पुलकोद्गमं प्रकटयन्न् आवेग-कम्पं शनैः |. 

वारंवारमुदार-सीत्कृत-कृतो दन्त-च्छदान् पीडयन्.
प्रायः शैशिर एष सम्प्रति मरुत् कान्तासु कान्तायते ll 


Blowing away the untidy hairdos of the nymphomanic girls, forcing them to close their eyes, lifting their clothes forcefully and making them shiver..and finally letting out an amorous sighing voice from them. 
Yes, the cool winter breeze behaves very much like erotic men.


वैराग्यशतकबाट...
क्षणं बालो भूत्वा क्षणमपि युवा कामरसिकः 
क्षणं वित्तैर्हीनः क्षणमपि च संपूर्णविभवः । 

जराजीर्णैरङ्गैर्नट इव वलीमण्डिततनुः 
नरः संसारान्ते विशति यमधानीजवनिकाम् ll
For a moment like child and another moment like a lascivious youth; one moment a pauper, another a wealthy person; at the end of life, the body worn out by age and covered with wrinkles, man enters the abode of death like an actor exiting the stage.

Sunday, July 8, 2012

वरं शून्या शाला...

वरं शून्या शाला न च खलु वरो दुष्ट वृषभो
वरं वेश्या पत्नी न पुनरविनीता कुलवधूः ।
वरं वासोऽरण्ये न पुनरविवेकाधिपपुरे
वरं प्राणत्यागो न पुनरधमानामुपगमः ॥ (हितोपदेशः ४, १३१)
I prefer an empty stable rather than a wild bull in it
I prefer a whore wife rather than an indecent housewife
I prefer a shelter in woods rather than in a state ruled by idiots
I prefer to die rather than be in the circle of scoundrels.

Saturday, January 21, 2012

हरित्-मृत्यु

हरित्-मृत्यु (शार्दूलविक्रीडित)


हे मृत्यु तँ कसो गरीकन अहो! रङ्गीन छस् दूरमा
कुर्दैछु तँसितै बिहे गरुँ भनी माला लिई हातमा
प्याला लाल बनेर हात बिचको हेर्छस् तँ आँखा तरी
तेरो चुस्कि म लिन्छु सोचिकन यो 'जाडो छ' रातैभरी ।।१।।

मेरो प्रीति कडा छ जीवित अझै साक्षात् हरित्-मृत्युमा
यस्तो लाग्छ म हूँ कि एक पुतली झुल्दो सडक बत्तिमा
साथी होस् तँ बुढो, युवा पनि तँ नै, त्यो दीव्य दैत्यै तँ होस्
निल्दो सुस्तरि छामि चेतनतलै निश्वास सुंघ्दो तँ होस् ।। २ ।।

ताजा बूटि र धूमपूरित अहो यो कक्ष मेरो न हो
मेरो जीवनको स्वतन्त्र पलको मुस्कानको साक्षि हो
हे मृत्यु तँ हरित्-रहस्य जसरि लुक्थिस् सुरापात्रमा ?
धूँवा बन्दुक, गोलि, राजपथमा की जङ्गलि फूलमा ।। ३ ।।

इन्द्रेणी अनि श्यामश्वेत रँगमा, चौडा रजत्-पट्भरी
तेरो त्यो स्मित हास्य फैलन गयो लाखौँ परेको सरी
ज्यूँदो छु म अझै पनि, ग्रहणको छाया सरी सर्दछु
हे प्यारो हरियो ! तँ मृत्यु प्रतिको यो वासना पाल्दछु ।।४।।



धेरै पढिएकाे

पृष्ठ संग्रह