Friday, June 10, 2016

ज्ञान र धर्म (न्याय र क्षमा )

 कुनै बखतमा एउटा राजकुमार र ऋषिकुमारका बीचमा 'को ठूलो?' भन्ने विवाद भएछ । विवादले ठूलो स्वरूप लिँदै जाँदा कुरा बाजीसम्म पुगेछ । कति बाजी थाप्ने भन्दा राजकुमारले दश करोड स्वर्णमुद्रा वा अझ बीस करोड स्वर्णमुद्राको बाजी थाप्ने कुरा गरे । ऋषिकुमारसँग त त्यत्रो सम्पत्ति नभएकाले उनले भने, "यो दश करोड वा बीस करोड स्वर्णमुद्रा त मसँग छैन यो त असमान बाजी भयो, अाऊ बरु दुवैसँग भएको प्राणकै बाजी थापौँ" । राजकुमार पनि सहमत भए, बरु निर्णय 'कोसँग लिने?' भन्दा ऋषिकुमारले निर्णय राजासँगै लिने कुरा बताए र दुवै राजा समक्ष पुगे । राजाले निर्णय सुनाउँदै राजकुमारलाई भने, "बाबु तिमीबाट बाजी थापेर ठूलो गल्ती भएछ, यी ऋषिकुमारकी आमा तिम्री आमा रानी भन्दा धेरै महान् हुन्, यिनका पिता ऋषि पनि मभन्दा धेरै महान् हुन् र यी ऋषिकुमार पनि तिमीभन्दा धेरै महान् हुन् , अब बाजी अनुसार तिमीले प्राण दिनुपर्ने भयो "। तर ऋषिकुमारले राजकुमारलाई क्षमा दिए । राजकुमारको पनि दम्भ हट्यो । उनले ज्ञान र क्षमाशीलता तथा शासकधर्म र न्यायको सम्बन्ध एवं महत्त्व बुझे ।

सुख दुःख

फाेटाेः  फ्लिकर
कुनै बखतमा चिनीको पहाडमा बस्ने कमिलाले नूनको पहाडमा बस्ने आफ्नो परममित्र कमिलालाई आफ्नो पहाडमा आउने निमन्त्रणा दियो । चिनीको पहाडमा घुम्दै गर्दा नूनको पहाडवाला कमिलाले भन्यो "खै त तेरो पहाडमा सुने जस्तो मीठो त केही छैन त? " । यस्तो सुनेर चिनीको पहाडवाला कमिलाले यसो आफ्नो मित्रको मुखमा हेरेको त उसले आफ्नो मुखमा नूनको ढिक्का लिएर आएको रहेछ । त्यसपछि चिनीवालाले भन्यो "हेर् मित्र, जबसम्म तैँले आफ्नो मुखको नून फ्याक्दैनस् तबसम्म तँलाई चिनीको स्वाद आउने छैन! " ।
हामी पनि दु:ख, पीर, चिन्ता अादिको यति अभ्यस्त भैसकेका छौँ कि जति नै सुखद परिस्थितिमा पनि हामी यी चीजलाई छोड्न सक्दैनौँ । सुखको पहिलो सूत्र हो : पीर, चिन्ता आदि नकारात्मक कुराको त्याग । तब नै हामी प्राप्त सुखलाई अँगाल्न सक्छौँ । अस्तु ।।

धेरै पढिएकाे

पृष्ठ संग्रह