Tuesday, December 3, 2019

म सामान्य केटी होइन

मूल लेखिकाः अनिशा
म सामान्य केटी होइन

मूल अंग्रेजीः अनिशा
अनुवादः शिव संकल्प
-----------------
म सामान्य केटी होइन
म उत्प्रेक्षा हुँ रसशास्त्रकी
म ध्यानावस्थिति हुँ अमर प्रेमीहरूकी
जो पसारिएकी छु धरतीमुनि
म फैलिएकी मायाजाल हुँ जादूगरहरूकी
अनि गुप्त आक्रोश हुँ परीहरूकी
म कविता हुँ यथार्थवादकी, म गद्य हुँ परित्यक्त इन्द्रजालकी
तिनीहरू भन्छन् म हुँ अर्कै आयामबाट आएकी
यदि म कथा हुँदी हुँ भने, उनीहरूले मलाई पुस्तकालयबाट प्रतिबन्ध लगाउने थिए
अनि मलाई छोएपछि चोख्याउने थिए तिनका शरीरहरू पवित्र पानीमा चोपल्दै
म सामान्य केटी हैन
मेरा आँखामा आरोपहरू प्रतिबिम्बित छन्
अनि अमरता बहन्छ मेरा नशा नशामा
लाखौँ वर्ष पुराना ब्रह्माण्डीय अणुहरूले मेरो शरीर बनेको छ
अनि चाहे जोसुकै पनि आउनेछ मेरो तेजसित ठोक्किन
जलेर आगोका लप्कामा विलाउनेछ
म सामान्य केटी हैन
कहिलेकाँहि म वासनायुक्त सपनाका जालीहरू बुन्छु
अनि कहिलेकाँहि म उडीरहेकी हुन्छ आफ्नै कुचोमा चढेर
मसित सफा हृदय छ तैपनि सामान्य मान्छेहरू मलाई बौलाही भन्छन्
म आँफैसित कुरा गर्छु अनि भुतभुताउँछु परीकथाहरू
तर जोसुकैले पनि मलाई धरतीमा पठाउने सोच्यो
पक्कै पनि स्वर्ग र नर्कबीचको अन्तर जानेन

म सामान्य केटी हैन
म एक नौली मात्र हुँ
यदि मान्छेहरू अझैपनि बोक्सीविद्यामा विश्वास राख्छन् भने
र कुनै दुइसय वर्ष पुरानी बोक्सीलाई खोज्दै छन् भने
पक्कै पनि तिनीहरूले मलाई जिउँदै जलाउनेछन् ।।

Original English Version by Anee:
I’m not a normal girl.

I’m not a normal girl.
I’m a metaphor of alchemy
and the musings of immortal lovers
that lay beneath the grounds.
I’m a spilling sorcery of magicians
and the secret resentment of the angels.
I’m poems on realism. I’m essays on forbidden magic.
They say I belong to another dimension,
If I were a fable, they’d ban me from libraries and
Purify their bodies by immersing
on holy water
after they’ve touched me.

I’m not a normal girl.
Accusations reflect on my eyes
and immortality runs in my veins.
My body is made up of million years old stardust
and whoever comes in contact with my spark,
they burn into flames.

I’m not a normal girl.
I sometimes weave a web of lustful dreams.
And on other days, I just imagine flying on my broomstick,
I’ve a fair heart and normal people call me a lunatic.
I talk to self and mutter fairytales,
But whoever thought of sending me to the earth,
Clearly didn’t know the difference between heaven and hell.

I’m not a normal girl, I am just naïve.
If people still believed in witchcrafts
and hunted for a 200 years old witch,
They’d burn me Alive.

Monday, September 30, 2019

दशैँमा पढ्नुहोस् यी दश पुस्तक

परिचय नेटवर्कमा प्रकाशित

दशैँ पारिवारिक मिलन, खानपिन तथा अनेक किसिमका मनोरञ्जनात्मक कार्यहरू गरेर मनाउने प्रचलन छ । तर पठनमा रस पसेका व्यक्तिहरू भने यो चाड नयाँ नयाँ पुस्तक खोजी खोजी पढेर पनि मनाउने गर्दछन् ।
विशेष गरी शैक्षिक क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई तुलनात्मक रूपमा लामो विदा हुने हुँदा यो उनीहरूका लागि पाठ्यक्रम आधारित भन्दा भिन्न पुस्तक पठनको उत्तम समय हो । शरद् ऋतुको यस समयको बाह्य वातावरणले पनि पठनका लागि प्रेरक भूमिका खेलेको प्रस्तुत पंक्तिकारको अनुभव छ । यसै अवसरमा आज दशैँको समयमा पढ्न उपयुक्त दश पुस्तकहरूका बारेमा चर्चा गरिँदै छ ।
यहाँ छनौट गरिएका पुस्तकहरू नेपाली पाठकहरूबीच कम चर्चित तर पंक्तिकारलाई विशेष प्रभाव पारेका पुस्तकहरूमध्येबाट छानिएका हुन् । यी दश पुस्तकहरूको छनौट गर्दा भिन्न भिन्न विधाका पुस्तकहरूको छनौट गर्न प्रयासगरिएको छ । आशा छ यसले विविध रूचि भएका पाठकहरूको रूचिलाई अझै विस्तार गर्नेछ ।
१.माचु बाशोका हाइकुहरू
माचु बाशो सत्रौँ शताब्दीका एक जापानी जेन कवि हुन् । उनका हाइकुहरू अझै पनि जपानमा मात्र नभै संसारभर उत्तिकै चाखले पढिन्छन् । हाइकुको क्षेत्रका उत्कृष्टतम कवि मानिने बाशोका हाइकुहरू संसारका अनेक भाषामा अनुदित भएका छन् । उनका प्रतिनिधि कविताहरू “द न्यारो रोड टुद डीप नर्थ याण्ड अदर ट्राभल स्केचेज” नामक कृतिमा अंग्रेजीमा अनुवाद गरी संग्रहित गरिएकाछन् । मात्सुओ बाशोका केही हाइकुहरूको अनुवाद तल प्रस्तुत छन् ।
पुरानो कुवा
फुत्त भ्याकुतो
छप्ल्याङ्ग !
……………………….
क्योटोमा
कोइली गाउँछे
म क्योटो सम्झन्छु
………………………….
यात्रामा बिरामी हुँदा
मेरा सपनाहरू बरालिन्छन्
सुख्खा घाँसमाथि

२. स्याउको रुख ( एप्पल ट्री)
स्याउको रुख (एप्पल ट्री)सन् १९१७ मा प्रकाशितअंग्रेज उपन्यासकार तथा नाटककार जोन गल्सवर्थीको लघुउपन्यास हो । गल्सवर्थीले सन् १९३२मा साहित्य तर्फको नोबल पुरस्कार जितेका थिए । स्याउको रुखको कथानकमा कसरी एक शहरिया उच्च वर्गको संभ्रान्त युवक फ्य्राङ्क याशर्स्ट, मेगन डेविड नामक एक गरीब, अल्पशिक्षित गाउँले युवतीसित प्रेममा पर्छ अनि कसरी उनीहरूको विछोड हुन्छ भन्ने कुरालाई अत्यन्तै मिहीन एवं काव्यात्मक ढङ्गले वर्णन गरिएको छ । कथा सरल तर अत्यन्त भावनात्मक रहेको छ । कथाको अन्त्यमा उद्घाटित हुने अप्रिय सत्यले सबै पाठकको अन्तस्करणलाई स्पर्श गर्न सफल हुन्छ । उनको यसै उपन्यासमा आधारित रही सन् १९८८मा “अ समर स्टोरी” नामक चलचित्र पनि बनेको थियो । यो उपन्यासको लैनसिंह बाङदेलले गरेकोे नेपाली अनुवाद पनि उपलब्ध छ ।

३. भोलाराम का जीव
“भोलाराम का जीव” भारतका सिद्धहस्त व्यंग्यकार हरिशंकर परसाईको व्यंग्य कथा संग्रह हो । आफ्ना चोटिला कथाहरूद्वारा सामाजिक, राजनैतिक विसङ्गति, मध्यमवर्गीय पीडाहरूलाई अत्यन्त कुशलताका साथ पस्कने परसाईले हिन्दी व्यंग्य विधामा अतुलनीय योगदान दिएका छन् । कथा संग्रहको सबैभन्दा प्रसिद्ध रहेको शीर्षक कथा भोलाराम का जीवमा मरेर धर्मराजकोमा पुग्नु पर्ने भोलाराम बीचमै हराएको र कतै पनि नभेटिएको र अन्त्यमा आफ्नै पेन्सनको फाइलमा लुकेर बसेको भेटिएको कथा छ । नाटकका रूपमा पनि अनेक स्थानमा मञ्चित यो कथा माथि एनिमेशन विधिको लघुचलचित्र पनि बनेको छ ।

४. द कज्मिक सर्पेण्ट
“द कज्मिक सर्पेण्ट ःडीएनए याण्ड द ओरिजिन अफ नलेज” क्यानडेली मानवशास्त्री जेरमी नार्बीको सन् १९९८ मा प्रकाशित गैर आख्यानकृति हो । यस पुस्तकमा आधुनिक रसायनिक यौगिकको तहको जीवविज्ञान (मोलिकुलर बायोलोजी) तथा पारलौकिक विद्या (शामनिज्म) का बीचको समानता खोज्ने प्रयास गरिएको छ । नार्बीका अनुसार पेरुका आदिवासीहरूको परम्परामाथि गरिएको अनुसन्धानका क्रममा उनलाई यसतर्फको ज्ञान खुलेको थियो ।
कतिपय समीक्षकहरूले यसलाई अमेरिकी भौतिकशास्त्री फ्रिट्जफ काप्राको ताओ अफ फिजिक्सकै कोटीको कृति मानेका छन् । नार्बीले यस पुस्तकमा हिन्दुहरूको शेषनाग तथा मिश्रवासीहरूको ओरोबोरस तथा त्यस्तै खाले नर्डिक आदिवासी, अष्टेलियाली आदिवासीहरूका मिथकमा प्रयुक्त नागको स्वरूप तथा आधुनिक जीवविज्ञानको डीएनएको स्वरूपको रोचक ढङ्गले तुलना गरेका छन् । उनले गरेको यो खोजको बारेमा “नाइट अफ द लियाना” नामक वृत्तचित्रमा पनि वर्णन गरिएको छ ।

५. द सोल अफ मनि
“द सोल अफ मनि ः ट्रान्सफर्मिङ योर रिलेसनसिप विथ मनि याण्ड लाइफ”सन् २००३ मा प्रकाशित लिन ट्विस्टको कृति हो । गरिबी उन्मूलन, भोकमरी उन्मूलन तथा समाजिक न्यायका क्षेत्रमा चालिएका विविध अभियानमा बिगत चार दशकदेखि सक्रिय लिनले यो पुस्तकमा कतिपय व्यावहारिक सिद्धान्तहरू तथा कथाहरूको उदाहरणद्वारा अभाव र समृद्धिको अवधारणालाई व्याख्या गर्न प्रयास गरेकी छिन् । हामीमा रहेको धन आर्जन गर्ने, खर्च गर्ने, लगानी गर्ने र दान गर्ने स्वभाव र प्रवृत्तिलाई केलाउँदै लिनले अभाव छ भन्ने अवधारणा, धेरै हुनु राम्रो हो भन्ने अवधारणा र यो यस्तै हो भन्ने अवधारणालाई विषालु अवधारणाको रूपमा व्याख्या गरेकी छन् । उनको सिद्धान्त अनुसार संसारमा प्रशस्त छ र सबैलाई पुग्नेगरी छ । यसै पुस्तकको नाममा उनको अभियानलाई कार्यरूप दिन“द सोल अफ मनि फाउण्डेशन” पनि सञ्चालनमा छ ।

६. अन द जुछे आइडिया
“अन द जुछे आइडिया” उत्तरकोरियाली नेता किम जोङ इलको नाममा प्रकाशित उत्तर कोरियाको“जुछे” भनिने राजनैतिक विचारधाराका सिद्धान्तहरूको सँगालो हो । सन् १९८२मा उत्तर कोरियाका तत्कालीन नेता तथा किम जोङ इलका पिता किम इल सङको ७० औँ जन्मदिनका अवसरमा प्रकाशित यस संग्रहमा जुछे विचारधाराका आधारभूत सिद्धान्तहरूकोे व्याख्या गरिएको छ । मार्क्सवादी भौतिकवादबाट अघि बढ्दै जुछे विचारधाराले नयाँ ढङ्गको दर्शन प्रस्तुत गरेको छ । मानवलाई केन्द्रमा राखेको यस सिद्धान्तले मानवलाई स्वतन्त्र, सिर्जनशील र चेतन सत्ताको रूपमा व्याख्या गरेको छ । यसै गरी यस सिद्धान्त अनुसार श्रमिक जनताको शोषक वर्गसित नभै मानवको प्रकृति र समाजसितको संघर्ष र तिनको रूपान्तरणको प्रयासलाई केन्द्रमा राखिएको छ । आर्थिक आत्मनिर्भरता र हरेक कुरामा सिर्जनशील चेत यस सिद्धान्तका अन्य पक्ष मानिएका छन् । देशप्रेम, राजनीतिमा सैनिकको प्रधानता आदि अन्य सिद्धान्तहरू जुछे विचारधाराका थप पाटा हुन् ।

७.खाना खानुभयो ?
“खाना खानुभयोे ? हाम्रो भान्साबारे बजारका भ्रम” नामक पुस्तकलाई अरूणा उप्रेती र लक्ष्मण अधिकारीले लेखेका हुन् । स्वास्थ्यकर जीवनशैली कसरी अपनाउने भन्नेबारेमा लामो समय देखि विभिन्न तवरले जागरण चलाउन सक्रिय लेखकहरूले यस पुस्तकमा स्वास्थ्यकर खानाको बारेमा तथा विभिन्न किसिमका तयारी खाना तथा स्वास्थ्यवर्धक भनी बजारमा प्रचारित खाद्य सामग्रीहरूका खराब प्रभावको बारेमा लेखेका छन् । विशेष गरी स—साना बालबालिकालाई लक्षित गरेर उत्पादन गरिएका तथा प्रचार गरिएका तयारी खाद्यवस्तुले उनीहरूको स्वास्थ्यमा कसरी नकारात्मक असर पारीरहेको छ र स्थानीय उत्पादनहरूको प्रयोग गरेर कसरी पौष्टिक खाद्यवस्तुहरू तयार गर्न सकिन्छ भन्ने बारे पुस्तकमा बताइएको छ ।

८. श्री३हरूको तथ्य वृत्तान्त
नेपालको इतिहासको एक महत्त्वपूर्ण कालखण्डको रूपमा रहेको राणाकालका शासनका बारेमा सविस्तार लेखिएको यस पुस्तकका लेखक इतिहासकार पुरुषोत्तमशमशेर जबरा हुन् । यो पुस्तकमा वर्णन गरिएका घटनाहरू इतिहास भन्दा पनि संस्मरणात्मक शैलीमा लेखिएका हुनाले आख्यानका पाठकहरूले पनि रस लिएर पढ्न सक्नेछन् । जङ्गबहादुर देखि मोहनशमशेरसम्मका ९ राणा प्रधानमन्त्रीका शासनकालका बारेमा लेखिएको यस पुस्तकका लेखकले जङ्गबहादुरको शासनकालका बारेको विस्तृत ऐतिहासिक लेखोट प्राप्त गरेको, आँफू वीरशमशेरको पनाति रहेको र अन्तिम ३ प्रधानमन्त्रीहरूको शासनकाल स्वयं भोगेको हुँदा समेत यसमा गरिएको वर्णन आधिकारिक बन्न गएको छ । परराष्ट्र मन्त्रालयको अभिलेखमा रहेका त्यो समयका विशेष गरी ब्रिटिश भारतका शासकहरूसितको पत्रहरूका पाठ समावेश हुनाले तथा यथास्थानमा ऐतिहासिक चित्रहरूको विशेष सङ्ग्रह पनि समावेश हुनाले पनि यो पुस्तक अझै संग्रहणीय बनेको छ ।

९. नेपाली संक्षिप्त भारत
संस्कृतमा लेखिएको ऐतिहासिक महाकाव्य महाभारतको संक्षिप्त नेपाली गद्यसारको रूपमा लेखिएको यस पुस्तकका रचयिता चक्रपाणि चालिसे हुन् । यसै ग्रन्थमा लेखनाथ पौड्यालले रचना गरेको संक्षिप्त भगवद्गीता पनि समाविष्ट छ । आजभन्दा करीब एकसय वर्ष अगाडी लेखिएको यो पुस्तकको भाषाशैली आधुनिक पाठकहरूका लागि केही कठिन लाग्न सके तापनि मूल महाभारत पढ्न समय दिन र बुझ्न विशेष परिश्रम गर्न नसक्ने पाठकहरूका लागि यो पुस्तक उत्तम विकल्पको रूपमा रहेको छ । तुलनात्मक रूपमा कम परिश्रमद्वारा धेरै पाठकहरूले नै हिन्दी सिरियलमा मात्रै निर्भर रहेको आफ्नो महाभारतको ज्ञानलाई परिष्कृत गर्न सक्छन् भने नयाँ पुस्ताको लागि पुरातन भाषा र शैलीसित परिचित हुने अवसर पनि यस पुस्तकको पठनले मिल्दछ । बीचबीचमा राखिएका प्रासङ्गिक नीतिश्लोकहरूलेपनि पठनको रसमा अभिवृद्धि गर्दछन्   उदाहरण शल्यलाई सेनापति बनाएपछि दुर्योधन भन्छन्—
“भीष्म द्रोण र कर्ण आदि बलवान् उस्ता महावीरको
पत्ता केही चलेन ती सब गए प्रत्यक्ष नै देखियो
जाबो शल्य गएर पाण्डुसुतको संहार गर्ला भनी
लागेकै छ मलाई हा! बलवती आशा अहो तैपनि ।।”

१०. अष्टावक्रगीता
भगवद्गीताको तुलनामा अष्टावक्र गीता अत्यन्त कम प्रसिद्ध छ तर यसमा रहेको अध्यात्मिक तथा दार्शनिक पाटो भने धेरै नै विशिष्ट छ । धेरैको मतमा अष्टावक्रगीता जीवनको रहस्यलाई अत्यन्त सरलताकासाथ उद्घाटित गर्ने ग्रन्थ हो । किंवदन्ती अनुसार शारीरिक रूपमा कुरूप रहेका र कलिलो उमेरका युवा अष्टावक्रले राजा जनकलाई गरेको आत्मज्ञानोपदेश यसमा छ । यसका विभिन्न भाषमा अनुवाद भएका छन् । ती मध्ये राधाकमल मुखर्जी र स्वामी चिन्मयानन्दका अंग्रेजी अनुवादहरू विशेष प्रसिद्ध छन् । अष्टावक्रगीता माथिको ओशो रजनीशको प्रवचन पनि विशेष चर्चित छ । नेपालीमा पनि अष्टावक्रगीताको अनुवाद उपलब्ध छ । यसका नेपाली अनुवादक देवीप्रसाद प्रसाईँले आफ्नो अनुवादको भूमिकामा मोक्षप्राप्तिको सबैभन्दा सजिलो सिँढीका रूपमा चित्रित गरेका छन् ।
अष्टावक्रगीताको प्रारम्भमै अष्टावक्र भन्छन् 
मुक्तिमिच्छसि चेत्तात विषयान् विषवत् त्यज
क्षमार्जवदयातोषसत्यं पीयूषवद् भज ।।

अर्थात् तिम्रो मुक्तिको कामना तबमात्र पूरा हुन्छ जब तिमी सांसारिक भोग विलासलाई विषलाई झैँ त्याग गरी क्षमा, उदारता, दया र सन्तोषलाई  सेवन गर्दछौ ।

Tuesday, September 3, 2019

सरकारी स्वास्थ्य सेवामा कहाँ छन् फर्मासिस्ट?




 
सुस्मिता शर्मा


फर्मासिस्ट को हुन् ?

औषधि उत्पादनदेखि गुणस्तर नियन्त्रण, समुचित भण्डारण, बिक्रीवितरण एवं व्यवस्थापन तथा समुचित प्रयोगको सुनिश्चितता गर्ने पेसालाई फार्मेसी र यी कार्यहरुमा दक्षता हासिल गरेका विज्ञ जनशक्तिलाई  फार्मासिस्ट भनिन्छ। नेपालमा पनि यस पेसा र पेसाकर्मीको विशेषतालाई वैधानिक रूपमा ऐन–कानुनले स्थापित गरीसकेको छ। 

नेपालमा फार्मेसी पेसाको अवस्था कस्तो छ?
नेपालमा व्यवस्थित आधुनिक फार्मेसी पेसाको सुरुवात भएको करिब आधा शताब्दी मात्रै भएको छ। जसमा पनि यो पेसा अधिकांश तवरमा औषधि उत्पादनमा सीमित छ।

औषधि व्यवस्था विभागको पछिल्लो तथ्यांक अनुसार हाल ७८ वटा औषधि कम्पनी विभागमा दर्ता भएका छन्। दर्ता भएकामध्ये हाल ५२ वटा सञ्चालनमा छन् भने अन्य सञ्चालनमा आउने तयारीमा छन्। नेपालमा सञ्चालित औषधि कम्पनीहरूको उत्पादनले हाल देशको औषधिको करिब ५० प्रतिशत मात्रै माग पूरा गरेको अनुमान छ। तसर्थ यस क्षेत्रमा पनि पर्याप्त विकासको सम्भावना छ। 

औषधि उत्पादनको क्षेत्रमा केही सुधार भए तापनि औषधिको समुचित प्रयोगका क्षेत्रमा भने उल्लेखनीय सुधारको आवश्यकता देखिन्छ। औषधि विज्ञानमा दक्षता हासिल गरेका विज्ञ फर्मासिस्ट जनशक्ति पर्याप्त मात्रामा हुन थालेको सन्दर्भमा समेत राज्यका संयन्त्रहरूमा औषधि बिक्रीवितरण एवं व्यवस्थापनको भूमिकामा सो जनशक्तिलाई समावेश नगराउँदा औषधिको समुचित प्रयोग हुन सकेको अवस्था छैन।

सरकारी क्षेत्रबाट प्रवाह हुने स्वास्थ्य सेवामा फार्मासिस्टहरू को महत्वपूर्ण भूमिका रहेतापनि अत्यन्त न्यून दरबन्दीका कारण गुणस्तरीय फार्मेसी सेवा प्रदान हुन सकेको अवस्था छैन ।

सरकारी स्वास्थ्य सेवामा फर्मासिस्टको भूमिका र चुनौती
औषधि व्यवस्था विभाग

नेपालमा औषधि ऐन २०३५ लागू भएपछि उक्त ऐनलाई कार्यान्वयनमा ल्याउनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागको स्थापना भएको हो। औषधि वा औषधिका साधक पदार्थहरूको अनुचित प्रयोग वा दुरुपयोग हुन नदिन त्यसको उपयोगिता एवं प्रयोग सम्बन्धी झुटा वा भ्रमात्मक प्रचार हुन नदिन र जनसुरक्षित, असरयुक्त तथा गुणयुक्त नहुने औषधि उत्पादन, बिक्री, वितरण, निकासी पैठारी, सञ्चय र सेवनको नियन्त्रण गर्ने औषधि ऐनका प्रमुख उद्देश्यहरू हुन्। औषधि व्यवथा विभागमा फर्मासिस्टहरू निम्नअनुसारका कार्यमा संलग्न रहनुपर्ने हुन्छ।
– औषधि पसल दर्ता, नवीकरण, अनुगमन
– औषधि तथा औषधि उद्योग दर्ता, नवीकरण, अनुगमन
– औषधि आयात निर्यात व्यवस्थापन
– अन्य औषधि सम्बधी काम
आजको दिनसम्म आइपुग्दा औषधि व्यवस्था विभागको क्षेत्राधिकार बृहत् भएको अवस्था छ तर सीमित संगठनात्मक संरचना तथा जनशक्तिको कारण औषधि व्यवस्था विभागकोे नियन्त्रण र नियमनकारी भूमिकाहरू प्रभावकारी ढंगले हुन सकेको छैन।

विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभरि औषधि पसलको संख्या २१ ह्जारको हाराहारी पुगेको छ भने ५२ वटा औषधि उद्योगहरू सञ्चालनमा रहेका र थप २६ वटा दर्ता भई सञ्चालनको प्रक्रियामा रहेका छन्। यी सम्पूर्ण औषधि पसल तथा उद्योगहरूको नियमन र नियन्त्रणको कार्यहरू काठमाडौंस्थित विभाग र ३ वटा शाखा कार्यालयबाट हुने गर्दछन्। नेपालगञ्जमा रहेको कार्यालयले २६ जिल्ला, वीरगञ्जले ११ जिल्ला र विराटनगरले १४ जिल्ला हेर्ने व्यवस्था छ।

विभागका सीमित जनशक्तिलाई ठूलो कार्यभार भएकाले पसल अनुगमनका कार्यहरू प्रभावकारी ढंगले हुनसकेको छैन। औषधि पसलहरू अनधिकृत व्यक्तिहरूबाट सञ्चालित भएको पाइएको छ भने चिकित्सकको पूर्जा बिना बिक्रीवितरण गर्न नहुने भनी सूचिकृत औषधिहरू समेत सहजै ढंगले किन्न सकिने अवस्था रहेको पछिल्लो समयमा सञ्चार माध्यममा आएका समाचारहरूबाट प्रष्ट अनुमान लगाउन सकिन्छ।

यस्तो किसिमको अभ्यासले नागरिक औषधिको नकारात्मक असरको सिकार हुन पुगेका छन् भने कतिपय विभिन्न स्वास्थ्य समस्याहरूबाट ग्रसित छन्। तसर्थ नागरिकलाई गुणस्तरीय फार्मेसी सेवा प्रदान गरी औषधि ऐन २०३५ ले लिएका उद्देश्य प्राप्ति गर्नका निम्ति अहिलेको औषधि व्यवस्था विभागको संगठनात्मक संरचना विस्तार गरी पर्याप्त जनशक्तिहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।

राज्य पुनर्संरचना हुँदा समेत यो आवश्यकतालाई महसुस नगरी औषधि व्यवस्था विभागको संरचना विस्तार हुन नसक्नु भनेको दुःखद परिस्थिति हो। यसको जिम्मेवारी राजनीतिक र प्रशासनिक नेतृत्व, सम्बन्धित पेसाकर्मी र सचेत नागरिक सबैले लिनुपर्छ। औषधि व्यवस्था विभागको अधिकारसम्पन्न कार्यालय हरेक जिल्ला वा कम्तीमा हरेक प्रदेशमा विस्तार हुन नसकेसम्म यसले गर्ने कार्यको प्रभावकारिता रहन सक्दैन।

राष्ट्रिय औषधि प्रयोगशाला
औषधि तथा औषधिजन्य सामग्रीको गुणस्तर परीक्षण तथा विश्लेषणको कार्य गर्ने नेपाल सरकारको प्रमुख अङ्गको रूपमा राष्ट्रिय औषधि प्रयोगशाला रहेको छ। औषधि व्यवस्था विभागको मातहतमा सञ्चालित प्रयोगशालाले नेपालमा सञ्चालनमा रहेका ५२ औषधि उद्योग र करिब ३०० को हाराहारीमा रहेका बाह्य औषधि कम्पनीद्वारा उत्पादित औषधिहरूको गुणस्तर परीक्षण एवं विश्लेषणको कार्य गर्नुपर्ने हुन्छ र यस कार्यहरूमा फर्मासिस्ट जनशक्तिको भूमिका रहन्छ।

साथै अहिले एक पटक गुणस्तर परीक्षण भई बजारीकरण गर्न योग्य भनी विभागबाट स्वीकृति दिइएका औषधि समेत अर्को पटकको परीक्षण गुणस्तरहीन सावित भई बजारबाट फिर्ता (रिकल) गर्न विभागले पछिल्लो समयमा पटकपटक सूचना प्रकाशित गरेको देखिन्छ। यसबाहेक गुणस्तरका विभिन्न मापदन्ड पूरा गरी आधिकारिक निकायकाट पास भई बजारीकृत औषधिहरू समेत गलत तरिकाले गरिएका आपूर्ति र भण्डारणका कारण गुणस्तरमा ह्रास आई उपयोगका लागि अयोग्य हुने हुँदा समयसमयमा बजारबाट नमुना संकलन गरी परीक्षण गर्नुपर्ने देखिन्छ। त्यसमा पनि विभागको प्रभावकारी अनुगमन नहुँदा अनाधिकृत व्यक्तिहरूबाट फार्मेसी सञ्चालन भएको अवस्थामा गलत आपूर्ति र भण्डारणको अवस्था रहने अवस्था झन् बढी रहन्छ।

त्यसैले बजारमा पुगिसकेका औषधिको समेत तीव्र अनुगमनको आवश्यकता बढेकोे वर्तमान सन्दर्भमा केवल ४० को हाराहारीमा रहेका फार्मेसी जनशक्तिबाट नियमित कार्यहरू समेत प्रभावकारी ढङ्गबाट  गर्न नसकेको वर्तमानको राष्ट्रिय प्रयोगशालाको संरचनाबाट यस्ता अनुगमनको अपेक्षा राख्नु उचित देखिँदैन।

राष्ट्रिय स्वास्थ्य नीति २०७१, औषधि ऐन २०३५, औषधि नीति २०५१ समेतमा राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि गरी सांगठनिक संरचनालाई विस्तार गरी नागरिकलाई गुणस्तरीय औषधि उपलब्धताको सुनिश्चितता गर्नुपर्ने विषयलाई जोड दिइएको सन्दर्भमा समेत प्रयोगशालाको संरचना पनि वर्तमान परिप्रेक्ष्यमा यथाशीघ्र विस्तार हुनुपर्ने देखिन्छ। कम्तीमा पनि प्रादेशिक रूपमा यसको विस्तार गर्न धेरै ढिला भइसकेको छ।

सरकारी अस्पताल एवंं अन्य स्वास्थ्य संस्था
अस्पतालको फार्मेसीबाट बिरामीहरूलाई चिकित्सकको पूर्जा बमोजिम आवश्यक परामर्श दिई औषधि वितरण गर्ने जिम्मेवारी फर्मासिस्टको रहन्छ। बिरामीले औषधि सेवन सम्बन्धी सम्पूर्ण ज्ञान पाएको सुनिश्चित गर्ने कार्य अत्यन्त महत्वपूर्ण हुन्छ। सही निदानात्मक सेवा प्राप्त गरी सही औषधि सिफारिस भए पनि बिरामीले सही ढङ्गले औषधि सेवन नगरेमा रोग निको नहुनुको साथै औषधिको नकारात्मक असरको सिकार हुनुपर्ने हुन्छ। 

यसै सन्दर्भमा हाल दक्ष फार्मेसी जनशक्तिहरूबाट अस्पतालका आफ्नो स्वामित्वको फार्मेसी मार्फत औषधि सम्बन्धी आवश्यक परामर्शका साथ बिक्रीवितरणको व्यवस्था गर्नुपर्ने विषयलाई स्वास्थ्य नीति २०७१ मा समेत जोड दिइएको पाइन्छ। उक्त नीतिको मर्म अनुरूप सरकारले अस्पताल फार्मेसी निर्देशिका २०७२ जारी गरी सो निर्देशिकामा समेत अस्पतालहरूले आफ्नै स्वामित्वको फार्मेसी  सञ्चालन गरी दक्ष फार्मेसी जनशक्ति मार्फत अस्पताल फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने विषयलाई महत्व दिएको छ।

यस्ता किसिमका नीतिगत र कानुनी आधारहरू रहँदा समेत देशभरिका सबैजस्तो सरकारी अस्पतालहरूमा निजी स्वामित्वका फार्मेसीहरू मार्फत दक्ष फार्मेसी जनशक्ति बिना नै लामो समयसम्म फार्मेसी सञ्चालनमा रहेको थियो। यस्तो अवस्थाले बिरामीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न गएको भनी केही सचेत व्यक्तिहरूद्वारा सर्वोच्च अदालतसम्मको ढोका घच्घच्याउने काम भयो। त्यसपछि सर्वोच्च अदालतले सरकारी अस्पतालहरूलाई भाडामा रहेका फार्मेसीहरू हटाई आफ्नै स्वामित्वको फार्मेसी सञ्चालन गर्न भनी अन्तरिम आदेश जारी ग¥यो। 

त्यसपश्चात वीर अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका केही ठूला अस्पतालहरूले अस्पताल फार्मेसी सेवा व्यवस्थित गरी सञ्चालन गरे तापनि अधिकांश अस्पतालमा लामो समयसम्म निजी स्वामित्वकै फार्मेसी सञ्चालनमा रहेका थिए। जसमध्ये हाल धेरै सरकारी अस्पतालमा अस्पतालको स्वामित्वका अस्पताल फार्मेसीहरु सञ्चालन गर्न प्रयास गरिएको छ। तर जनशक्तिको अभावमा ती फार्मेसीहरूको प्रभावकारितामा भने पटकपटक प्रश्न उठिरहेको छ। सरकारी अस्पतालहरूमा फार्मेसी जनशक्तिहरूकोे पर्याप्त दरबन्दी नहुँदा अस्पताल फार्मेसी सुरु गर्न तथा सञ्चालन गर्न कठिन भएको छ। 

अस्पताल फार्मेसी सञ्चालनमा नहुँदा स्वास्थ्य बिमा कार्यक्रम पनि उत्तिकै प्रभावित भएको छ।  स्वास्थ्य चौकीदेखि २५ शय्यासम्मका अस्पतालहरूमा फार्मेसी जनशक्तिको दरबन्दी नै नरहेको तथा ५० शय्या र सोभन्दा माथिका केही अस्पतालहरूमा भने एक जना फार्मेसी सहायकको दरबन्दी छ। त्यस्तै अधिकृत स्तरका फार्मेसी जनशक्तिको दरबन्दी भने देशैभरिमा केवल ३ वटा सरकारी अस्पतालमा मात्र रहेको छ।

सीमित फार्मेसी जनशक्तिका कारण अस्पताल लगायतका सरकारी स्वास्थ्य संस्थाहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्रीवितरणका कार्यहरू हुने गरेका छन् । यसका कारण नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्दैनन्। 

स्वास्थ्य सेवा विभाग
विभिन्न नीतिगत तहमा कार्य गर्नुपर्ने संरचनाको रूपमा रहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागमा विगतमा रहिआएका फार्मासिस्टका दरबन्दी समेत अहिले हटाइएको अवस्था छ। यसले गर्दा औषधि सम्बन्धी नीति कार्यान्वयनको तहमा समस्या पैदा भएको देखिन्छ। यो पद यथासम्भव पुनस्र्थापित गरिनुपर्ने देखिन्छ । 

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय
देश संघीयतामा प्रवेश गरेपछि गठित प्रदेश सरकारको संरचनामा सामाजिक विकास मन्त्रालयको गठन गरिएको छ। जस अन्तर्गत एक फर्मासिस्टको समेत दरबन्दी कायम गरिएको अवस्था छ। यसो हुनु स्वागतयोग्य छ तर यस मन्त्रालयले औषधि नियमनको क्षेत्रमा गर्ने कार्याधिकारको बारेमा भने उचित वैधानिक प्रावधानका साथ क्रमशः स्पष्टता ल्याइनुपर्ने आवश्यकता छ। 

प्रदेश स्वास्थ्य निर्देशनालय
आफ्नो क्षेत्र मातहतका स्वास्थ्य संस्थाहरूको अभिभावकत्व लिने संरचनाको रुपमा रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय हाल प्रदेश स्वास्थ्य निर्देशनालयको रुपमा रूपान्तरण भएको छ। सम्पूर्ण सेवा समूहका पदका दरबन्दी रहेको यस संरचनामा फार्मेसिस्ट संख्या शून्य रहको छ। यसो हुँदा प्रदेश मातहतका स्वास्थ्य संस्थाहरू मा फार्मेसीसँग सम्बन्धित विषयवस्तुको निर्देशन, निरीक्षण तथा अनुगमनको कार्य कसरी हुनसक्छ भन्ने विषय टड्कारो रूपमा उठेको छ। 

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र
आफ्नो क्षेत्रको स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने औषधिहरूको वैज्ञानिक अनुमान, खरिद, भण्डारण, तथा वितरणको कार्य गर्ने क्षेत्रीय मेडिकल स्टोरको संरचना हाल आएर प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रको रुपमा पुनसंरचना भएको छ। औषधिको अनुमान, खरिद तथा वितरणको व्यवस्थालाई थप प्रभावकारी बनाउन दक्ष फार्मेसी जनशक्तिको संलग्नता गराउने भन्ने व्यवस्था राष्ट्रिय स्वास्थ्य नीतिमा उल्लेख गरिएको छ। माथि उल्लिखित सबै कार्यमा विज्ञ जनशक्ति भनेका फर्मासिस्ट हुन् भन्ने तथ्य वैधानिक रूपमा स्थापित रहेको यिनै कार्य गर्ने प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रको नेतृत्वदायी भूमिकामा भने फर्मासिस्टलाई नभई अन्य सेवा समूहलाई तोकिनु अत्यन्तै त्रुटिपूर्ण देखिन्छ।

स्थानीय तह
वर्तमान व्यवस्था अनुसार स्थानीय सरकारलाई औषधि पसल दर्ता, अनुगमन र नियमनको अधिकार आएको सन्दर्भमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका लगायतका संरचनाहरूमा फर्मासिस्टहरूको दरबन्दी नभएको हालको परिप्रेक्ष्यमा यो अधिकार स्थापित हुनसक्ने अवस्था छैन। जसले गर्दा संघीयताको मर्म विपरीत फेरि पनि सामान्य औषधि पसल दर्ता, नवीकरण लगायतका आधारभूत कामको लागि जनतालाई केन्द्रसम्म पुग्न बाध्य हुनुपर्ने छ।

अन्य
माथि उल्लिखित क्षेत्रहरूका अतिरिक्त औषधि सम्बन्धित अनुसन्धान र उत्पादनको क्षेत्रमा फर्मासिस्टको भूमिकालाई विभिन्न सरकारी निकायमा व्यवस्थित गरिनुपर्ने अवस्था छ। वनस्पति विभागका रहेको फर्मासिस्टको भूमिका अझै उजागर हुनु जरुरी छ भने नेपाल औषधि लिमिटेड जस्तो संस्थालाई अझै व्यवस्थित र विस्तारित गरिनुपर्ने आवश्यकता छ।

सम्पूर्ण जनतामा आधारभूत औषधिको पहुँच पु¥याउन नेपाल औषधि लिमिटेडलाई देशकै जेनेरिक औषधि कम्पनीको रूपमा विकास गर्नुपर्ने आवश्यकता छ। कम्तीमा नेपाल सरकारबाट निःशुल्क वितरण हुने औषधिको ठूलो अंश यो कम्पनीले उत्पादन गर्न सके देशकै स्वास्थ्य व्यवस्थामा ठूलो बल मिल्नेछ। यसका लागि दक्ष र अनुभवी फर्मासिस्टको नेतृत्वमा यस कम्पनीलाई एक पटक फेरि पुनर्जीवन दिनुपर्ने देखिन्छ।

निष्कर्ष
यसरी देशको प्राशासनिक संयन्त्रलाई नयाँ संविधानको मर्म अनुसार पुनर्गठित गरिँदै गरिएको वर्तमान अवस्थामा जनताको स्वास्थ्यजस्तो अति संवेदनशील औषधि व्यवस्थापनको क्षेत्रलाई भने प्राथमिकतामा नपारिएको जस्तो देखिन्छ। यसमा नेतृत्व तहमा रहेका तथा सबै सरोकारवालाले यथाशीघ्र विशेष ध्यान दिनुपर्ने देखिन्छ।

(शर्मा वरिष्ठ फार्मेसी अधिकृत हुन्)

(
भदौ १८, २०७६मा स्वास्थ्यखबर पत्रिकामा प्रकाशित)

Sunday, August 25, 2019







घेराबन्दी (मुहासरा)

~अहमद फ़राज
अनुवाद: शिव संकल्प

मेरा शत्रूले आज सन्देश पठाएका छन्
कि तिनका सिपाहीले मलाई घेरीसकेका छन्

सहरका पर्खालका हर मचान र बुर्जाहरूमा

धनु तानेर तिनका सिपाहीहरू बसीसकेका छन्

त्यो बिजुलीको लहर निभिसक्यो, जसको तातोले

माटोको धूलोमा पनि ज्वालामुखी जगाउँथ्यो

त्यो पानीमा उनीहरूले बारुद बिच्छ्याइसके

जुन खोला बगेर मेरो घर छेउमा आउँथ्यो

सबै छुचा र बोल्नेहरू क्षत विक्षत बनाइएकाछन्

अनि टाउको ठाडो पार्नेहरू शूलीमा चढाइएका छन्

जोगी हुन् या भोगी, अगुवाहरू हुन् या पण्डितहरू

भाग पाइने आशामा दरबारमा झुम्मिएका छन्

ठूला ठूला विज्ञ नै किन नहुन्, पदका लागि

मानौँ मगन्तेहरू हुन्,पंक्तिबद्ध भई उभिएका छन्

तिमी जुन कविहरूका लेखनीका प्रशंसक थियौ

आज तिनै तिम्रा नायकहरू सामुन्ने छन्

सत्ताधारीको एक स्यानो इशारामा झुम्मिएका

साहित्यिक मगन्तेहरूका झुण्ड सामुन्ने छन्

तिम्रो प्रेम अनि विश्वासका जगहरू हेर

एकपटक तिम्रो साथमा को को छन् हेर

यो शर्त हो यदि ज्यानको सुरक्षा चाहन्छौ भने

तिम्रा कलम र कागजहरू बधशालामा थन्काइदिनु

हैन भने, ती धनुर्धारीहरूको एकमात्र निशानामा

तिमी पर्नेछौ, त्यसैले आत्मसम्मान बिसाइदिनु

शत्रूका यी शर्तहरू देखेपछि मैले दूतलाई भनेँ

तिमीलाई थाहा छैन इतिहासले के सिकाउँछ

हरेक रातले तातो सूर्यलाई शहीद बनाए पनि

हरेक बिहानले एक नयाँ न्यानो सूर्य जन्माउँछ

मेरो यो जबाफ लगिदिनु मेरो दुश्मनलाई

म न कुनै आशमा छु न कुनै डरमा नै

उसलाई तरबारकाे घमण्ड त खूब रहेछ

तर थाहा रहेनछ जित्छ आखिरमा कलमले नै

मेरो कलम तिम्रो इशारामा नाच्ने पात्र हैन

जो आफ्नै सभ्यतालाई खिल्ली उडाएर गर्व गरोस्

मेरो कलम कुनै भ्रष्टको भ्रष्टाचार छोप्ने कवच हैन

जो परचक्रीहरूको गुणगान गाएर गर्व गरोस्

मेरो कलम कुनै डाँकूको हतियार हैन

जो आफ्नै घरको छत उधिन्न लागिपरोस्

मेरो कलम कुनै चोरको साथी हैन

जो रातमा अँध्यारा घरहरूको भित्तो फोरोस्

मेरो कलम कुनै धर्मगुरुको जपमाला हैन

जो प्रार्थनाको पनि गणित जोडेर राखोस्

मेरो कलम कुनै न्यायाधीशको तराजु हैन

जो आफ्नो अनुहारमा सँधै दुई मुकुण्डो भिरोस्

मेरो कलम त नासो हो मेरा आत्मीयहरूको

मेरो कलम त न्यायालय हो मेरो विवेकको

त्यसै भएर त जे लेखियो प्रेम अनि जोशमा लेखियो

धनु जत्तिकै लचकदार अनि वाण जत्तिकै तीखो लेखियो

म बाँचुला वा मरेर जाउँला, तर मलाई विश्वास छ

कसै न कसैले त यो दमनको पर्खाल भत्काउने छ

जीवनभर भोगेका ती यातनाहरूको कसम

मेरो कलमको यात्रा अवश्य सफल हुनेछ

मेरो प्रेमको चरित्रलाई तिमी, न त ध्वस्त पार्न नै सक्छौ

रूखको टुप्पोमा छौ, न देख्छौ न त छायाँ नै नाप्न सक्छौ




Wednesday, May 8, 2019

अनिद्राको धङधङी र आँधीको मनोरम नृत्य


 ‘बाथटब’को ह्याङओभर सकिएको छैन ।

हो, ‘बाथटब’को पुनर्जन्म पटक–पटक भइरहन्छ । अर्थात् नाटकको पुनर्जन्म । किनकि प्रत्येक नाटकहरू अघिल्ला नाटकका पुनर्जन्म हुन् । प्रथम हुन् अनि अन्तिम पनि । यो नै चक्र हो । चक्र अर्थात् अनन्तता । अनन्तता अर्थात् पुनरावृत्ति । यो पुनरावृत्ति यसपटक ‘आँधीको मनोरम नृत्य’का रूपमा भयो ।

‘बाथटब’ हेर्न मैले कसैका आँखा सापट लिनु परेको थियो भने ‘आँधीको मनोरम नृत्य’ हेर्दा मसितै बसेका अनिद्रा र निःशब्द शमशेरका गरेर तीनजोर आँखा भए । अनि शिल्पी रंगमञ्चको गोठाले नाटकघरमा उपस्थित अनेक आँखाहरू मेरै आँखा भए । सिरियल किलर र नगरकोटीले भने सुटुक्क अघिल्लै दिन नाटक हेरेछन् । त्यो दिन तिनका आँखा अन्तै छुटिगए ।

त्यो दिन अनिद्रासित मेरो अपोइन्टमेन्ट थियो । नाटक हेर्ने योजना थिएन । शायद अनिद्रालाई भेटेर म फर्किन्थें होला किनकि मलाई टाढा पुग्नु थियो । तर, त्यो दिन मलाई शिल्पी जानु रहेछ । अनिद्राको योजनामा मलाई पनि समाविष्ट हुनु रहेछ । तर, नाटक हेर्नुअघि हामी भेट्यौं । छोटो भेटमा पनि अनेक कुरा गर्न भ्यायौं । त्यही दिन पहिले अनिद्राको स्कुटर बिग्रिएको थियो । अनि त्यसपछि उनको ट्याक्सी भीमसेनगोलाको अनन्त जाममा फसेको थियो । तर, अन्ततः उनी आएकी थिइन् ।

कुरा छन्दको चल्यो अनि जीवनको । प्रेमको अनि पीडाको । कतिपय अति भौतिक लाग्ने र कतिपय अति आध्यात्मिक सुनिने बातसमेत भएछन् ।

“हामी एउटा कम्बाइन एन्थलजी गरम् न !”

“तर, लेट्स् टेक टाइम ।”

“हो जीवनका डेडलाइनहरू हास्यास्पद हुन् ।”

“नो एक्सलरेसन, नो रिटार्डेसन ।”

“जबसम्म कर्म ध्यान हुन्छ, तबसम्म ठीक छ । जब ढकोसला हुन खोज्छ, बेकार !”

“बालककालका अनुभवहरू शक्तिशाली हुन्छन् । हाम्रो आत्मालाई भित्रैसम्म बेरेर राख्न सफल हुन्छन् ती अनुभव !”

हामी बात गर्दै गयौं । मैले उनको छन्द गायनको प्रत्यक्षदर्शी मेरा मित्रहरूले गरेको प्रशंसा पनि सुनाउन भ्याएँ । उनले पनि छन्द गायनमा आफूलाई अलौकिक आनन्द मिल्ने बताइन् ।

“विचरति मृड इह नीरसग्रीष्मे
कलहान्तरितानामतिभीष्मे…”

(कलहान्तरिता अर्थात् बिनाकारण प्रेमीसित रिसाएर बिछोडिएकी नायिकाहरूका लागि अत्यन्त भयानक यस निरस ग्रीष्म ऋतुमा भगवान् शंकर कैलाश शिखरको वारिपारि यसै घुमिरहेका छन् ।)

म गुनगुनाउँदै थिएँ । म मुस्कुराउँदै थिएँ । तर, शायद यसका रचनाकार स्वर्गवासी कविरत्न कृष्णप्रसाद घिमिरेलाई मैले गुनगुनाएको मन परेन । उहाँले महाकवि जयदेवको ‘गीतगोविन्द’को शैलीमा लेख्नुभएको गीतिमहाकाव्य ‘गौरीगिरीशम्’बाट थियो त्यो गीत । ‘गीतगोविन्द’जत्तिकै अद्वितीय । उत्तिकै अद्भूत ।

“यसलाई न्याय गर्न भूषिता वशिष्ठले गाउनुपर्छ,” मैले भनें । शायद मनोयोगपूर्वक उनले यो गाएको दिन म पुनः मुस्कुराउनेछु ।

प्रसंग बदलियो । शास्त्रीय नृत्यमा रस छ । अनि उर्दू कवितामा पनि । उनलाई फैज पढ्नु छ । मलाई अहमद फराजको मुहाशरा अनुवाद गर्नु छ । करिब दुई वर्षदेखि म प्रयासरत छु तर चार पंक्ति पनि चित्त रमाउने गरी बनेको छैन ।

मैले उनलाई अहमद फराजको मुहाशराको शुरुवाती अल्फाज सुनाएँ—

“मेरे गनीम ने मुझ को पयाम भेजा है
कि हल्काजन है मेरे गिर्द लश्करी उस के
फसील ए शहर के हर बुर्ज हर मिनारे पे
कमाँ ब–दश्त सितादा है अश्करी उस के”

(मेरा शत्रुले मलाई सन्देश पठाएका छन् कि मलाई चारैतिरबाट उनका सैनिकले घेरिसकेका छन् । शहरबाहिरको पर्खालका हरेक बुर्जा र मचानमा उनका सैनिकहरू धनु तानेर बसेका छन् ।)

“कडा उर्दू छ यसमा,” म भन्दै थिएँ । यस्तैमा भूषिता अर्थात् अनिद्राको फोन बज्यो । पल्लोपट्टि शायद निःशब्द शमशेर थिए । हामी उठ्यौं ।

नाटक शुरु हुन केही समय बाँकी थियो । हामी शिल्पी छि¥यौं । अनिद्रालाई निःशब्द शमशेरले स्वागत गरे । छेवैमा घिमिरे युवराज थिए । मैले सुस्तरी ‘नमस्ते, म फलानो’ भनें । घिमिरे युवराजले विस्फारित नेत्रले मलाई हेरे ।

“गज्जब, नाटक हेर्न आइदिनुभएकोमा धन्यवाद,” मलाई अँगालो मारेर यसो भन्दै गर्दा उनी औपचारिकभन्दा पनि वास्तविक सुनिएका थिए । कम्तीमा मलाई त्यस्तो लाग्यो । शब्द र चित्रबाट मात्र सम्बन्धित हुनुभन्दा सशरीर भेटिनुको उमंग छुट्टै हुँदो रहेछ ।

हामी नाटकघरभित्र छि¥यौं । केही क्षणमै नाटक शुरु भयो । मञ्चमा शिशुकक्षाका विद्यार्थीहरू चढ्ने बसको दृश्य तयार भयो । युवा कलाकारहरूले गजब प्रभाव पारे । छिनमै ती हुर्के, अल्लि ठूला भए । नाटकको दृश्य बस अनि कक्षाकोठा अनि फेरि कक्षाकोठा अनि बस गर्दै अघि बढ्यो । अल्लि पछि सरकारी कार्यालय र जागिरेको घरसम्म दृश्य स¥यो ।

सीमित साधनहरूमा तयार गरिएको भए पनि सेट प्रभावकारी लाग्यो । बस र कक्षाकोठामा बस्ने आसनका रूपमा, घरको टेबलका रूपमा, स्कुल ब्याग वा शिक्षणपद्धतिको भारको प्रतीकका रूपमा तथा अफिसका फाइलको रूपमा समेत फोल्डिङ स्टुलको प्रयोग गजब थियो । चल्तीका अंग्रेजी गीतमा विद्यार्थीहरूका नाच जमे । प्रिन्सिपलले शिक्षकहरूलाई परिश्रम गराएको प्रतीकात्मक दृश्य पृथक् देखियो ।

सौभाग्य सिंहको प्रिन्सिपलसुलभ कठोरता, सौरभ कट्टेलको विदूषक चरित्रको शिक्षकको भूमिका, आमा र हजुरआमाको स्वरूपकी पवित्रा खड्का र मञ्जु श्रेष्ठको भावभंगिमा उल्लेखनीय थिए । कर्मचारी बनेका कलाकारको परिपक्वता र विद्यार्थी बनेका कलाकारको परिश्रम स्पष्ट झल्किएको थियो भने संगीता उराँव र निस्सिम श्रेष्ठले आ–आफ्नो चरित्रद्वारा विशेष मन जिते ।

बीच–बीचमा छुटेको अनिद्राको उन्मुक्त हाँसोले नाटक हेरेको मजालाई दुगुना गरिरहेका थिए । धन्न नाटक शुरु गर्दा नियम बताउन आएका घिमिरे युवराजले ‘कुरा गर्न पाइँदैन’ भने पनि हाँस्न पाइँदैन भनेका थिएनन् ।

शिशुकक्षाका विद्यार्थीदेखि किशोरावस्थाका विद्यार्थीसम्मका र तिनका शिक्षक तथा अभिभावकका समेत अनुभव र मनोविज्ञानलाई नाटकमा खोतलिए । समाजका पेशाकर्मीमध्ये सरकारी कर्मचारी, शिक्षक तथा प्रिन्सिपल; घरभित्रका परिवारका सदस्यहरूमा आमा, हजुरआमा, बाबु, छोरी तथा छोरा; किशोरावस्थाका तथा वयस्क मित्रलगायतका भिन्न–भिन्न चरित्रहरू नाटकमा मिहिन तरिकाले देखाइए । विद्यालयका शिक्षक र प्रिन्सिपल तथा शिक्षक र विद्यार्थीबीचको सम्बन्ध, किशोरावस्थाको कुलत तथा विपरीतलिंगीप्रतिको आकर्षण, सरकारी कार्यालयको कार्यसंस्कृति, घरपरिवारका विभिन्न पुस्ताका व्यक्तिहरूको रूचिको भिन्नता, घरमा मदिरा सेवन गर्ने÷गराउने प्रचलन, घरकी छोरीप्रति पाहुनाको दुव्र्यवहार, कलिलो उमेरको प्रेम सम्बन्धले ल्याउने परिणामलगायतका समाजका अनेक पक्षका घटनाक्रम र यसले सम्बन्धित पात्रहरूमा पार्ने भौतिक तथा मानसिक प्रभावलगायतका विषयवस्तुसमेत नाटकमा छरितो रूपमा उजागर गरिए ।

१ घण्टा २० मिनेट एक झमटमा बित्यो । नाटक समाप्त भयो । निःशब्द शमशेरले बिस्तारै अघि बढेर मञ्चमा रहेको ‘बाथटब’ निस्कने तहखानालाई नमन गरे, सुमसुम्याए । अनि हामी सबै गएर नाटकमा प्रत्यक्ष संगीत तथा गायन प्रस्तुत गर्ने कलाकारहरूलाई भेट्यौं । मैले स्मारिका फुयाँललाई नमस्कार गरेँ अनि भनें, “यहाँको स्वर साह्रै सुमधुर छ !”

अनि बिस्तारै हामी निस्क्यौँ । दिन रमाइलो बित्यो !

हो, हामी कसैलाई भेट्छौं अनि भेटेपछि ताजा अनुभव गर्छौं, प्रेरित हुन्छौं वा अनन्तमा उडे–उडे जस्तो अनुभव गर्छौं भने यस्तो भेटको गजब आनन्द हुन्छ । अनिद्रासितका हरेक भेट यस्तै हुन्छन् ।

शायद यही नै ‘आँधीसितको मनोरम नृत्य’ हो !

धेरै पढिएकाे

पृष्ठ संग्रह