Sunday, January 28, 2018

पाेखरामा जडीबुटीको वैज्ञानिक प्रयोग सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन हुदै (भिडियाे सहित)




नेपाल व्यापक जैविक विविधता र जडीबुटीको प्रशस्त उपलब्धता भएकाे मुलुक हाे । जैविक विविधताकाे लाेककल्याणकारी उपयाेगकाे प्रचूर संभावना भएका मुलुकमा नेपालकाे  विश्वमै अग्रणी  स्थान छ ।  तर पनि नेपालमा उपलब्ध जैविक स्राेत साधनकाे वैज्ञानिक उपयाेगकाे क्षेत्रमा भने उल्लेख्य प्रगति हुन सकेकाे छैन । यसै परिप्रेक्ष्यमा नेपालमै अाैषधि विज्ञानकाे अाधारभूत अध्ययन गरी विश्वका विभिन्न मुलुकहरूबाट उच्च अध्ययन पूरा गरेका युवाहरूकाे अग्रसरतामा यही फागुन २ र ३ गते पर्यटकीय नगरी पाेखरामा त्रिभुवन विश्वविद्यालय,कृषि तथा वन विश्वविद्यालय लगायत सम्वन्धित सरोकारवाला संस्थाहरुको सहकार्यमा हिमालयक्षेत्रकाे जैविक विविधता र जैविक स्राेत सम्बिन्ध विषयमा दुर्इ दिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएकाे छ ।  सम्मेलनमा नेपाल, भारत, जापान, जर्मनी, नर्वे, दक्षिण काेरिया, बंगलादेश लगायतका मुलुकका  विश्वविद्यालय तथा अनुसन्धान संस्थाका वैज्ञानिकहरूले  विशेष गरी अाैषधीय वनस्पतिलगायतका प्राकृतिक स्राेतकाे वैज्ञानिक अध्ययनका विषयमा कार्यपत्र प्रस्तुत गर्ने याेजना रहेकाे छ । सम्मेलनमा नेपाल लगायतका विभिन्न मुलुकका करीब चालीस युवा वैज्ञानिकहरूले वैज्ञानिक पाेष्टर प्रदर्शन गर्ने कार्यक्रम पनि रहेकाे छ ।

सम्मेलनका बारे थप सूचनाका लागि यहाँ क्लिक गर्नुहाेस् 


 


बिटकाेइन किन्नुभयाे ? (इन्टरनेटको संसारको टाइमलाइन!)



१९९९ हटमेल छ?
२००० याहुमा मेल गर!
२००१ एमएसनमा अनलाइन आऊ त! 
२००२ एओएलमा आऊ!
२००३ ब्लगिङ गर्छौ? 
२००४ माइस्पेसमा छौ? 
२००५ लिङ्क्डिनमा हेर प्रोफाइल!
२००६ अर्कुटमा भेटम्ला!
२००७ हाइ फाइव्‌मा खोज!
२००८ फेसबुकमा लाइक गर!
२००९ युट्युबमा हेर न! 
२०१० फ्लिकरमा हाल त! 
२०११ स्काइप्‌मा कुरा गरम्ला! 
२०१२ ट्विटरमा फलो गरन!
२०१३ गुगलमा ह्याङआउट गरम् त!
२०१४ इन्स्टामा फोटो हाल त! 
२०१५ स्न्यापच्याट गर त! 
२०१६ ह्वाट्स्यापमा फर्वार्ड गर त! 
२०१७ पिन्टरेस्टमा इन्टरेष्ट जाग्दैछ!
२०१८ बिटकोइन किन्यौ?

Sunday, January 14, 2018

माघ महात्म्य (आधुनिक)



अथ आधुनिक माघ महात्म्य ।

हे भक्तजनहरू! आजका दिन हरेक भक्तले बिहान सबरै आठ बजे उठेर मनतातो पानीको शावर लिई, धोइ पखाली प्रेस गरी शुद्ध गराइएका वार्मर, स्वेटशर्ट, जीन्स, ज्याकेट आदि वस्त्र पहिरी जानी नजानी खिचडी पकाइ, सुपरमार्केटबाट ल्याइएका सेल, तिलको लड्डु आदि सेवन गरोस् । सेवनपूर्व तिनक‍ो चित्र खिचि फेसबुक ट्विटर आदिमा टाङ्न नछुटाउनु । छुटाएमा फल मिल्दैन । आलु तरूल चाकु अादि उति हाइजेनिक नहुने हुँदा नखाए पनि दोष लाग्दैन । चित्र भने अरूक‍‍ै प्रोफाइल वा मैले झैँ गुगलकै पेटारोबाट झिकेर भए पनि हाल्दिनु अलिअलि दोष लागे पनि मेटिनेछ ।

त्यस पछि एकचरण ह्याप्पी माघे संक्रान्ति, ह्याप्पी माघी, ह्याप्पी मकर संक्रान्ति आदि लेखिएका रङ्ग र ठङ्गका फर्वार्डेड चित्रहरूलाई अरू पचास जानालाई ठेली गिदी गरोस् । त्यस पछि अल्लि दिउसो भए पछि " यो चाड सामन्ती शोषकहरूले परिश्रमी गरीब जनतालाई रमाइलोमा भुलाइ शोषण जारी राख्न चलाएको मध्ययुगीन चाड हो, बहिष्कार गरौँ" भनेर फेसबुक अादि संचारमा एकचरण वमन गरोस् । तर्क वितर्क र कुतर्क गर्न जान्ने भएमा च्याउ पत्रिका/अनलाइन आदिमा लेख/ब्लग लेखेर छपाए पनि हुन्छ ।

बेलुका भए पछि विदा त सेलेब्रेट गर्नै पर्‍यो भन्दै काम न काजका पत्रुहरू बटुलि कुत्सित रसपान गर्न जुटोस् । माहोल जमे पछि मदमत्त आंग्लभाषामा एकचरण ट्रम्प देखि देउवासम्म, किमदेखि ओली-प्रचण्डसम्म र मोदीदेखि रवीन्द्र मिश्रसम्मलाई सरापोस् । रात छिप्पिएर नशाले छोडेपछि "लुटतन्त्र ढाल्नैपर्छ, भ्रष्टलाई कीरा परोस्,  #आइएमविथ डाकेसी #ह्याप्पीमाघेसक्राति" लेखेर एउटा ट्विट ठेलेपछि सारा पापको प्रायश्चित्त भै व्रतपूर्ण हुन्छ  अथवा अाफ्ना आफ्ना स्मार्टयन्त्रबाट यो पोष्टलाई बुढी उम्लो उचालेको संकेत गरी  शेयर भन्ने ठाममा अँठ्याए पनि व्रत पूर्ण हुनेछ, यो पोष्ट लाइक गर्नि तर शेयर नगर्निले आधामात्र फल पाउँनेछ भने यो पोष्ट मुसुमुसु हाँस्दै पढेर  पनि लाइक शेयर केहि पनि नगर्निलाई भने ब्रह्महत्याको पातक लाग्नेछ।

इति श्री स्कन्दपुराणे नेपालखण्डे आधुनिक माघमहात्म्यं नाम दशमोऽध्याय: समाप्त: ।।

Tuesday, January 2, 2018

किन हार्यो कांग्रेस ?

किन हार्यो कांग्रेस ?

~ शिव संकल्प

मेरो डीएनएमा नै लोकतन्त्र कुँदिएको छ । यसबाट म कहिल्यै पनि अलग हुन सक्दिन । म एक प्रजातन्त्रवादी व्यक्ति हुँ । यसो भनीरहँदा धेरैले बुझ्ने अर्थ भनेको नेपाली कांग्रेससँग आबद्ध वा नेपाली कांग्रेसको कुनै भातृसंगठनमा आबद्ध भन्ने हुँदो रहेछ । तर यसो नबुझ्नु होला, जीवनको कुनै पनि कालखण्डमा कुनै पनि भातृसंगठनको कुनै पनि तहको सदस्यता नलिएको व्यक्ति हुँ म । आफ्नो विश्वविद्यालयको प्राध्यापक संघमा स्वतन्त्र प्रत्याशी भएर दुई मत पाएर पराजित भएको अनुभव छ मसँग । मेराे लाेकतन्त्र भनेकाे लाेककल्याणकारी राज्यव्यवस्था हाे । लाेकतन्त्रकाे अाधार जनताले चुनेकाे सरकार मात्रै हैन, जनकल्याणकारी सरकार पनि हाे । जनताले चुनेकै भए पनि जनकल्याणकारी हुन सकेन भने त्यसकाे अर्थ छैन । 

म यो कुरा प्रारम्भमा नै लेख्दैछु किनभने यहाँहरूमध्ये धेरैको नजरमा म अव्यावहारिक सुनिन सक्छु कतिले त यसको मानसिक स्थिति त ठीक छ ? पनि सोच्न सक्नुहुन्छ । यदि तपाईँ पनि यस्तै सोच्नुहुन्छ भने कृपया यो लेख यो भन्दा तल नपढ्नुहोला, अरू नै कुनै रमाइलो ट्रोलहरू भएतिर स्क्रोल गर्नुभए जाति हुन्छ । जो यो सुनेर पनि मेरा विचार जान्न चाहनुहुन्छ वहाँहरू समक्ष आज हालैको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसको पराजयका कारणहरूबारे चर्चा गर्न चाहन्छु । निश्चय पनि यो शीर्षक वर्तमान परिपाटी अनुसार अलकति पाठक तान्ने उद्देश्यका साथ बनाइएको हो ।  समग्रमा यो वर्तमान निर्वाचनको समीक्षा हुनेछ । 

हालको निर्वाचनमा मुख्य प्रतिस्पर्धीहरूलाई बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भनिन्थ्यो । बाम गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र थिए भने लोकतान्त्रिक गठबन्धनको मुख्य पार्टी नेपाली कांग्रेस थियो । म याे बुझ्दिन कि, आफ्नो मुख्य आदर्शमा समाजवाद बोकेको नेपाली कांग्रेस किन बाम भएन र लोकतान्त्रिक प्रक्रियामा सामेल भएर प्रतिस्पर्धामा उत्रेका कम्युनिष्ट पार्टीहरू किन लोकतान्त्रिक भएनन्? 

शायद नाम फरक राख्नुपर्ने भएकाले होला । मेरो बुझाइमा यी तीनै दलहरू एकै खाले हुन् । विशाल संविधानसभा बनाएर पनि देशको ठूला ठूला निर्णयहरू सीमित मान्छेहरू बसेर सहमति गरेरै टुङ्याएका दलहरू!  देशको राजनैतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक पक्षको भविष्य कुन दिशामा लैजाने भन्ने सोचमा यी सबैको एकै खाले सहमति हो । देशका जनताले बार बार  भोट हालेर जिताएका, आलो पालो सबैसँग मिलेर सरकार चलाएका पनि यिनै हुन् । आरोप प्रत्यारोपका बेला एकआपसमा निकालिने तुच्छ शब्दहरूको बारेमा पनि यी सबै 'को भन्दा को कम' नै छन् । यी सबै कारणहरूले पनि यी दलहरू मलाई खासै फरक लाग्दैनन् । कुनै व्यावसायिक खेल प्रतियोगितामा भाग लिने फ्रेन्चाइज टोली जस्तै हुन् । राष्ट्रको बृहत्तर हितमा यी सबै मिलेर राष्ट्रिय सरकार बनाए पनि फरक पर्दैन । कुन शक्तिले यो कुरा रोक्छ, रहस्यमय लाग्छ मलाई । तर यति हुँदा हुँदै पनि यिनमा केही बाह्य अन्तर छ , जसले एक अर्कालाई पृथक् बनाउँछ । शायद यसैले पनि होला यदि लोकतन्त्रको शोभाको रूपमा कुनै दल प्रतिपक्षमा बस्छ भने पनि उत्तम नै हुनेछ । तर प्रतिपक्ष रचनात्मक हुनु पर्छ । 

अब चर्चा गरौँ नेपाली कांग्रेस अहिलेको निर्वाचनमा किन पराजित भयो त? भन्ने बारे । यसबारेमा बुँदागत रूपमा तल विश्लेषण गरिएको छ ।

१. एमाले र माओवादी एकता

निःसन्देह यो सबै भन्दा प्रमुख कारण हो । नेपालमा पञ्चायत कालदेखि नै कम्युनिष्टमत बलियो रूपमा प्रचारित हुने तर दलहरू छिन्नभिन्न हुने प्रचलन थियो । बहुदलको पुनस्र्थापना पछि नेकपा एमालेले कम्युनिष्ट दलहरूमा सबैभन्दा राम्रो संगठन गर्न सफल भयो । तैपनि २०४८ सालको निर्वाचनमा यो प्रमुख प्रतिपक्ष मात्रै बन्न सफल भयो । सांगठनिक रूपमा सशक्त हुँदै गए पनि दलमा आएको विखण्डनले सोचे जति सफलता भने पाउन सकेन।  २०५१ साल पछि शुरूमा विद्रोही र पछि २०६४ को संविधानसभा पछि राजनैतिक शक्तिको रूपमा उदाएको माओवादी पनि दोस्रो संविधानसभासम्म आइपुग्दा निरीह लाग्न थालीसकेको थियो । तैपनि दुवै संविधानसभाका निर्वाचनमा अलग अलग लड्दा पनि यी दुई दलको स्थान जोड्दा नेपाली कांग्रेस भन्दा राम्रो थियो ।  यसै क्रममा बाम एकताका नाममा अचानक यी दुई दल एक ठाउँमा आउँदा कार्यकर्तामा धेरै उत्साहको संचार पैदा भयो र उनीहरू यसलाई जनस्तरमा लैजान पनि सफल भए । पूर्ण बहुमतको पहिलो बाम सरकार आकर्षक नारा बन्न पुग्यो भने २०४८ साल र २०५६ सालमा बहुमत पाएर पनि स्थिर सरकार दिन नसकेको इतिहास कांग्रेसको विपक्षमा गयो । यिनै कारणले  मतसंख्यामा अझै पनि उल्लेख्य कमी  नआए तापनि प्रत्यक्षमा भने नेपाली कांग्रेस धेरै ठाउँबाट पराजित भयो । 

२. भागबण्डे सिण्डिकेटको प्रभाव

नेपाली कांग्रेसकै नेतृत्वमा शुरू भएको लाभको, शैक्षिक तथा प्राशासनिक  पदहरूमा गरिने घृणित भागबण्डे सिण्डिकेटमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई धेरै ठाउँमा सहमतिमै १ः१ः१ अनुपातमा भागबण्डा छुट्याइयो । यो अनुपात ओगट्न पछिल्ला दलमा हुँदै नभएका अवसरवादीहरू समेत ती दलमा सामेल भए ।  जसले गर्दा महत्वपूर्ण पदमा हालको समीकरणमा १ः२ अनुपात बन्न पुग्यो । महत्वपूर्ण पदमा पुगेका यी व्यक्तिहरुले जनमतलाई विभिन्न रूपले प्रभावित गर्न सफल भए । तत्कालमा यो लाभदायक देखिए पनि गठबन्धनले पार्टी एकीकरण गर्दा यी अवसरवादीहरूलाई छिमल्न आवश्यक छ अन्यथा भविष्यमा बाम गठबन्धनको पतनको कारण पनि यिनै हुनेछन् ।
भागवण्डा गर्दा पनि नेपाली कांग्रेसले आफ्नो भागमा परेका स्थानमा स्वतन्त्र, निष्पक्ष, वस्तुपरक आलोचना गर्ने र योग्य व्यक्तिहरूलाई अनुरोधपूर्वक लाने भन्दा पनि अन्यदलले झैँ अयोग्य र दलका चाटुकारलाई प्रश्रय दियो, जसले गर्दा परम्परागत रूपमा नेपाली कांग्रेसको समर्थन गर्दै आएका कार्यकर्तादेखि भिन्न जनताहरूको पनि नेपाली कांग्रेस प्रति मोह भङ्ग भयो । नेपाली कांग्रेसले आफूलाई सुशासनको पक्षधर भनेर कुनै पनि रूपमा सिद्ध गर्न सकेन । 

३. कथित राष्ट्रवाद

संविधान जारी भैसके पछिको मधेश आन्दोलन र त्यसपछिको नाकाबन्दीका बेला प्रधानमन्त्री रहेका केपीओलीको भाषणहरूलाई राष्ट्रवादीको रूपमा महिमामण्डन गर्न उनको दल सफल भयो । धेरै अबोध जनताहरूको विश्वास पाउन उनी सफल भए । नेपाली कांग्रेसले यो बेला जनविश्वास जगाउने सम्मोहक कुरा गर्न सकेन । बरू दलका धेरै व्यक्तिहरू आफ्ना टिप्पणीहरूका कारण आलोचित भए । (शायद यो बुँदाको शीर्षक कथित राष्ट्रवादका कारण म अहिले पनि “लम्पसारवादी” आरोपित हुनेछु, भलै ठूला ठूला “लम्पसारवादी”सँग “राष्ट्रवादी”हरू लपक्कै भएका किन नहुन् ।) अबोध जनताहरूसँग कुटनैतिक सुझबुझका कुरा गरेर हुँदैन सम्मोहक कुरा गर्न पर्छ भनेर नेपाली कांग्रेसले जानेन ।

४. असक्षम नेतृत्व र अस्पष्ट विचार

नेपाली कांग्रेसमा विषम परिस्थितिमा सुझबुझ देखाउने नेतृत्व देखिएन । चिन्तक, विचारकहरूले भरीभराउ भनिएको दलमा राम्रो चुनावी रणनीतिकार पनि देखिएन । बाम गठबन्धन भन्दा के के कारणले फरक र आवश्यक भनेर नेतृत्वले बुझाउन सकेन । आफ्ना योजना बताउनुभन्दा अधिनायकवाद र रुन समेत नपाइने भन्ने जस्ता प्रचार गर्नुले पनि उसकाे तयारी प्नष्ट भयाे । भर्खरैको स्थानीय चुनावमा माओवादीसँग मेलमिलाप गर्नु पनि दलका लागि प्रत्युत्पादक भयो ।  घोषणापत्रमा पनि बाम गठबन्धनकै झझल्को दिने असंभाव्य योजना र शब्दजाल राखियो तर आफ्नो स्पष्ट विचार आउन सकेन । उम्मेदवार चयनमा नयाँ दृष्टिकोण एकदमै बिरलै मात्र प्रकट हुन सक्यो ।  दलले गगनथापा, विश्वप्रकाश वा धनराज गुरुङ जस्ता राम्रो छवि प्रक्षेपित गर्न सफल व्यक्तिहरूको पनि  समुचित प्रयोग गर्न सकेन । 

५. अन्तर्घात

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको स्वभाव अन्य दलको तुलनामा भिन्न रहेको बताइन्छ । नेतृत्वमा बडप्पन, असौहार्दता, अन्य व्यक्तिप्रति सम्मानको अभाव जस्ता गुणहरू तुलनात्मक रूपमा ज्यादा रहेको कुरा कार्यकर्ताले अनुभव गरेको बताउँछन् भने कार्यकर्ताहरू धेरै गुटबन्दीले प्रभावित रहेको नेताहरूको अनुभव छ । यसका कारण एक आपसमा नसघाउने प्रवृत्ति अन्य दलको तुलनामा नेपाली कांग्रेसमा यो टड्कारो देखिन्छ । यही कारणबाट पनि नेपाली कांग्रेसले साेचे जति पनि सफलता पाउन सकेन ।

माथिका कारणहरूलाई अबका सत्तापक्ष र विपक्ष दुबैले मनन गर्नुपर्दछ । सत्तापक्षले धेरै विजयोन्मादी नभैकन लोककल्याणकारी कार्यमा आफूलाई प्रवृत्त गर्नुपर्छ । छरितो र स्वच्छ छविका व्यक्तिहरूको मन्त्रीमण्डल बनाउने, शीर्ष नेतृत्वले लोभ नगरीकन वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई अर्को कार्यकालको लागि चुन्ने, राज्यकोषको अनावश्यक दोहन न्यूनतम गर्ने, प्रदेशका संसद् तथा सरकारहरूका गठन र संचालनमा मितव्ययिताको सन्देश दिने, आर्थिक समृद्धकिा लागि उत्पादकत्व बढाउन बल दिने, छिमेकी राष्ट्रसितको सम्बन्धलाई सूझबुझका साथ विस्तार गर्ने, देश भित्रका शैक्षिक, प्राशासनिक पदहरूमा नियुक्ति गर्दा सक्षमतालाई विशेष विचार गर्ने आदि गरेर लोकको मन जित्न सक्नुपर्छ । अन्यथा याे निर्वाचित सरकार त हुनेछ तर लाेककल्याणकारी सरकार हुन भने विगतका सरकार झैँ असफल हुनेछ । 

विपक्षले पनि आत्मसमीक्षा गरी नयाँ नेतृत्व र कार्ययोजनाका साथ आगामी निर्वाचनसम्ममा सत्तापक्षका कमजाेरीका बलमा भन्दा पनि अाफ्ना गुणका बलमा आफूलाई विकल्पको रूपमा स्थापित गर्नसक्नुपर्छ ।

 २०७४ मंसिर २८ मा बाह्रखरीमा प्रकाशित
http://www.baahrakhari.com/news-details/43644/thought

धेरै पढिएकाे

पृष्ठ संग्रह