Monday, April 8, 2019

छुदेन काविमोको फातसुङ (कृति समीक्षा)

~शिव सङ्कल्प 

कृति: फातसुङ (उपन्यास)

लेखक: छुदेन काविमो
प्रकाशक: फाइनप्रिन्ट बुक्स
पृष्ठ: १५०
मूल्य: रू. ३००
गुणवत्ता:


लेप्चा भाषामा फातसुङको अर्थ हुन्छ माटोको कथा । भारतको उत्तरी पश्चिम बङ्गालको सुदूर गाउँ मलबुङबाट आएका लेखक छुदेन काविमोले १९८६-८८ तिर त्यहाँ चलेको गोर्खाल्याण्डको आन्दोलनको पृष्ठभूमिमा लेखेको कथा हो फातसुङ ।

लेप्चाहरू पूर्वी नेपालमा छन् । अनि पश्चिमी भूटानमा पनि । अनि भारतको  सिक्किममा र उत्तरी पश्चिम बङ्गालमा पनि लेप्चाहरूको बस्ती छ । लेप्चा भाषा लोपोन्मुख भाषामा पर्छ । युवा लेप्चाहरूले यो भाषा विर्सँदै छन् । तर यसै भाषाको एक शब्द फातसुङ विर्सन भने अब गैरलेप्चाभाषीलाई पनि सजिलो छैन । किनभने यही नाममा गोर्खाल्याण्डको माटोको महत्वपूर्ण कालखण्डको कथा लेखिएको छ ।

यो आजभन्दा करीब ३२-३३ वर्ष अगाडीको कथा हो, जुनबेला भारतको उत्तरी पश्चिम बङ्गालको दार्जिलिङ, कालिम्पोङ (कालेबुङ) र डुवर्सका क्षेत्रहरू समेटेर गोर्खाल्याण्ड राज्य निर्माण गर्न त्यहाँका जनताहरू सुभाष घिसिङको नेतृत्वमा गोरखा न्याशनल लिबरेशन फण्ट/गोरखा राष्ट्रिय मुक्ति मोर्चा (जिएनएलएफ/गोरामुमो)को झण्डामुनि एक बृहत् आन्दोलनमा जुटेका थिए । तर उक्त आन्दोलन हजारभन्दा धेरैको हताहतिपछि अन्ततोगत्वा अलग राज्यको सट्टा एक अर्ध स्वायत्त दार्जिलिङ-गोर्खा पार्वत्य परिषद्‌को गठनको सम्झौतामा गएर टुङ्गिएको थियो ।

दार्जिलङ गोरखा पार्वत्य परिषद्को कामकाज करीब २३ वर्षसम्म चल्यो । सुभाष घिसिङ यसको अधिकांश समय हर्ताकर्ता रहे । पछि विमल गुरूङ लगायतका नेताहरूको उदय भएपछि यो क्षेत्रको प्रशासकीय ढाँचा पनि परिवर्तन भयो । तर अझै पनि उत्तरी पश्चिम बङ्गालमा गोर्खाल्याण्डको कुरा अझै पनि एउटा सशक्त मुद्दाको रूपमा भने रही नै रहेको छ ।

तीन दशक पुरानो उक्त आन्दोलनको कथालाई छुदेन काविमोले मिहीन ढङ्गले लेखेका छन् । आकारमा सानो भए पनि यसमा आएका घटनाक्रमले समेटेकाे चित्र विशाल छ ।

'रिङ्केबुङको राँगोलाई ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर..' भन्ने गीतले पूर्वी नेपाल र त्यो क्षेत्रको पुरातन सम्बन्ध बोल्छ । बिभिन्न समुदायबाट आएर पनि यो क्षेत्रमा बसोवास गर्नेहरूले नेपाली भाषालाई आफ्नो एकताको सूत्रको रूपमा ग्रहण गरेका छन् । नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा यस क्षेत्रका व्यक्तित्वहरूले दिएको योगदान अतुलनीय छ । भलै हिजोआज यो क्षेत्रको परिचय छुट्टीमा घुम्न जाने वा संभ्रान्तहरूले आफ्ना नानीहरू(केटाकेटीहरू)लाई बोर्डिंङ स्कूल पठाउने ठाउँका रूपमा सीमित हुँदै जान थालेजस्तो देखिन्छ ।

व्यक्तिगत रूपमा मेरो यो क्षेत्र सितको परिचय चाहिँ अल इण्डिया रेडियोको खर्साङ प्रशारण केन्द्र मार्फत्  बालक कालमै भएको थियो । अंग्रेजी सिकाउने 'कर्सियाङ कलिङ' होस् वा 'भैंसी लड्यो है' जस्ता स्थानीय गीतहरू हुन् रेडियो खर्साङबाट बज्थे । त्यहाँबाट बज्ने नेपाली समाचारमा 'दार्जिलिङ गोरखा पार्वत्य परिषद्' र सुभाष घिसिङको नाम पटक पटक सुनेको अझै मनमा ताजै छ । त्यहीँबाट प्रशारणहुने नाटक तथा गोलीखेल (फुटबल)को प्रत्यक्ष प्रशारण समेतबाट म त्यो क्षेत्रको लबजबाट परिचित भएको थिएँ । आज धेरै पछि त्यही माटोको त्यही लबजको कथा 'फातसुङ' हात परे पछि मैले स्वभावैले एकपटक पनि यसलाई भुइँमा नझारी करीब अढाइ घण्टामा सिनित्त पारेँ । र्‍याण्डम रिडर्स पोखराले आयोजना गरेको लेखकसँगको वार्ताको साक्षी हुन पाउनुले पनि यसलाई तुरुन्तै सकीहाल्न प्रेरणा दियो ।

लेखकले प्रथम परिच्छेदमा 'ठूलो र चम्किलो कालेबुङभित्र लुकेको सुविधाविहीन स्यानो कालेबुङमा जन्मेको एउटा भारतीय लेखकले कसरी नेपाली प्रकाशनगृहसम्मको यात्रा गर्‍यो?'भन्ने कुरा रूचिपूर्ण तरिकाले बताएका छन् । पैसा नहुँदा पैतालामा ठेला उठाउँदै हिँडेका आपालाई र जाँड बेचेर पनि सन्तानका लागि सपना देख्ने आमालाई सम्झेका छन् ।

घिसखोलाको माथि उभिएको मलबुङ, पारीको पोख्रेबुङ अनि देब्रेतिर ठडिएको पुबुङ स्याना कालेबुङहरू हुन् । जहाँ रिपदेनहरूले धेरै साथीहरूलाई पढ्नभन्दा धेर जिउन सिकाएका थिए । अनि स्वतन्त्र मान्छे बन्न सिकाएका थिए । आफ्नै निधार एकसयआठ पल्ट घोटेर बुद्ध बन्न सिकाएका थिए । जहाँ लाप्चेहरू अनि छेत्री बाहुनहरू कहिले तल्लो गह्रो अनि माथिल्लो गह्रो गरे पनि आखिर जातभन्दा ठूलो साथ हो भनेर मिलेर बसेका थिए । सँगै 'क' चिनेका थिए  अनि गाउँको सपना देखेका थिए । जहाँ किसानहरूले गोरुको रिन तिर्न अदुवा फलाएको फलायै गरेका थिए । नोर्देन र नासिमहरू घनिष्ठ भएका थिए अनि माटाेको लँडाईमा होमिएका थिए ।

फातसुङको भित्री कथा १९८६को मात्रै होइन । यो कथा त धेरै पहिले देखिको र शायद दुर्भाग्यवश भविष्यको समेत कथा हो । लाप्चेहरूको लिखित इतिहास मारियो ।  लाप्चेहरूका राजा मारिए । लाप्चेहरूको भाषा मारियो । आदिमकालदेखि चलेको रातो र हरियो अनि यस्तै अरू रङहरूको लडाईँमा अझै अरू कति इतिहास र भाषाहरू मर्नेछन् ।  आदिमकालदेखि चल्दै आएको यो क्रम न जाने अझै कतिकालसम्म चली नै रहने छ । हरेक युगका शासकहरूले १४४ वटा धाराबाट रगत बगाएरै छोड्नेछन् । अनेक नासिमहरूले रचेलाको बदला लिन खोज्नेछन् भने अनेक नोर्देनहरूले रिपपन्दीहरूसितको विछोड सहनुपर्नेछ । अनि अनेक सूर्य दाहरूले पुनमहरूसँग कुरा खोल्न धक मानीरहनेछन् । अनि खोलाले बगाएकी बुढाथोकीकी छोरीले भोलि बिहान पनि एकपटक फेरी सोध्नेछ 'सहिद रामप्रसाद फर्क्यो?' भनेर । दुस्मनसँगको युद्ध पो सकिन्थ्यो, आफन्तसँगको युद्ध के सकिन्थ्यो र? 'तुम लोग नीचे भागो । हाम उपर जाएङ्गे । सम्झा करो यार! ' यति भन्न पनि ढङ्ग पुग्दैन यहाँ धेरैको!

जब अक्षरबाट गोली बनाइन्छ, जान्नु सबैभन्दा खराब समय चल्दैछ । जनता जति शक्तिशाली छन् उति नै निरीह पनि छन् । हामी नुनियाँ चामल र स्विमिङ पुलको सपना त टड्कारो देख्छौँ  तर विपनामा तेह्र कक्षामा पुग्दा पनि हामी आफ्नै नामधरि लेख्न जान्दैनौँ । हामी जसको घर जलाउँछौ पछि उसैको काखमा आश्रय खोज्नुपर्ने चाल पाउँदैनौँ । हामी आज एउटाको नारा घन्काएर घर जलाउन हिँड्छौँ भने भोलि अर्कैलाई अङ्गालो हालेर सिद्धान्तका गफ हाँक्छौ । पर्सीपल्ट तेस्रोको इशारामा डन्ठा घुमाउँछौ भने निकपर्सी चौथोको पोस्टर टाँस्दै हिँड्छौँ ।स्थानविशेषको समयविशेषको कथा भैकन पनि शाश्वत कथा छ फातसुङ । न जाने संसारमा कति नोर्देन र रिपदेनहरू हराएरै अमर भएका होलान् । हामी अझै तिनीहरूलाई पर्खीरहेका छौँ ।

फातसुङको दार्जिलिङे लबजले मोहोनी लगाउँछ । तँहरूलाई थाहा छ कि छैन, सुवास घिसिङको नक्सा भनेको गोर्खाल्याण्डको मानचित्र हैन, त्यो त घिसिङको व्यक्तिचित्र हो । आजु बिहान मिसले तानेको तिम्रो खाता कुनै बैंकको खाता हैन, तिम्रो अभ्यासपुस्तिका हो । तिम्रो बडाले बोलेको माचिस र खिडकी हिन्दी हैन नेपाली हो । लु अझ बेसी सिक्नु मन भए एकपटक उतै जुङ!

अन्त्यमा, मुलुकबाहिर लेखिएका कथामा फातसुङ मुलुकबाहिर जत्तिकै मुटु छुने छ । छुदेन काविमो लेखकको रूपमा ठूलो रूख हुनेछन् । किनभने उनको जरा मजबूत छन् । तपाईँ पनि उनको जरा हुनुहुन्छ ।  म पनि उनको जरा हुँ ।

मलाई गर्व छ, उनले भूमिकामा नलेखेको एउटा प्रिय नाम मेरो हो ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह