Saturday, January 19, 2019

मनमा बसिन् पाेखराकी निरमाया (नाटक समीक्षा)

~ शिव संकल्प

कृति:  निरमाया (नाटक )
लेखक: सरुभक्त/निर्देशक: परिवर्तन
मञ्चनस्थलः गन्धर्व
नाटकघर (पाेखरा थिएटर ) नक्शा 
मितिः २०७५ पुस २७ देखि माघ १२सम्म
समयः अपराह्ण ४ः४५ (शनिबार  अतिरिक्त शो)
अवधिः १ घण्टा ४० मिनेट
टिकटदर. रू. ३००/५०० (विद्यार्थीका लागि छुट)

गुणवत्ता: 


"पाेखरामा उहिले उहिले नाटकहरू मञ्चन हुन्थे अरे । अचेल बन्द भए अरे । अब फेरी शुरू गर्न भनेर युवाहरू जुर्मुराइरहेका छन् अरे ।" करीब दुई वर्ष अघि पोखरामा यस्ताे सुनिन्थ्यो। यसै प्रसङ्गमा पोखराका युवा नाट्यकर्मी परिवर्तनसित मेरो एकपटक संवाद पनि भएको थियो । अहिले दुई वर्ष पछि त पोखरामा नाटक शुरु भएको पनि केही समय भैसक्यो । धेरै नाटकहरू मञ्चन पनि भैसके तर मलाई भने आज मात्रै नाटक हेर्ने मौका मिल्यो ।  उनैले निर्देशन गरेको सरुभक्तको 'निरमाया' । 

गुगल-नक्शाको सहायताले मैले गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्वनाटकघर फेला पारेँ ।
साँधुरो बाटोमा ब्लकको गाह्रोको पर्खाल भित्र बाहिरबाट हेर्दा दु:खजिलो गरी बनाए जस्तो भवन । केही गाडी र मोटरसाइकलहरू चौरमा पार्किङ गरिएका भेटिए । मेरो मनमा यसै पनि अपेक्षा कम थियो त्यसमाथि पनि बाटोको भित्तामा "पोखरा थिएटर" लेखे पनि नाटकघरको भित्तामा "पोखरा थियटर" लेखेको देख्ता झनै आँखा बिझाएका थिए । 

बिस्तारै दर्शकहरू जम्मा हुन लागे । पाका दर्शकहरू जमानामा कल्पना सिनेमा हलबाट बज्ने 'रेकर्ड'को सम्झना गर्दै थिए भने युवा दर्शक र स्कूले नानी बाबुहरू पनि उत्तिकै उत्साहले पर्खिँदै थिए । अलिकति ढीला गरेर नाटक शुरु भयो । हामी भित्र पस्यौँ । नाटकका निर्देशक आँफैले हामीलाई बस्ने आसन देखाउँदै थिए । शायद अँध्यारोमा तिनले मलाई चिन्न भने चिनेनन् । भित्रको दृश्य र ध्वनि आकर्षक थियो । धमिलो प्रकाशमा पनि मञ्चको सज्जा आकर्षक लाग्यो । समग्रमा नाटकको मञ्चसज्जा, वेशभूषा, प्रकाश र ध्वनिव्यवस्थापन मलाई उत्कृष्ट लाग्यो । कलात्मक तरिकाले नाटक प्रारम्भ भयो । 

'निरमाया' नाटक मैले नपढेको हुँदा मेरालागि कथानक भने नौलो थियो । 

परापूर्वकालको गाउँको एक बिहान । पाँच पाँचवटा घरहरू लहरै हुँदा मञ्च साँघुरो अवश्य लागेको थियो तर अस्वाभाविक लागेको थिएन । घरको अग्लो र होँचोपन अनि जुटको बोरामा र प्लाईवुडमा गेरुलगाएर बनाइएका जस्ता मञ्चका सामग्री मलाई जीवन्त लागे । मञ्चको कुनामा बनाइएको सानो चौतारो र त्यसमाथि बनाइएको 'आँसी उद्याउनि ढुङ्गो' समेत चिटिक्क मिलेका थिए । गाउँको माथि डाँडामा हिँडेको जस्तो देखिने गरी मञ्चको पृष्ठभागमा बनाइएको मचान उत्कृष्ट लाग्यो । (यो के हो बुझ्न तपाईँलाई नाटक नहेरी सुख छैन।) 

नाटकमा अभिनय गर्ने पाका र युवा सबै कलाकारले आफ्नो भूमिकालाई न्याय गरेका थिए । डम्बरे बनेका प्रकाश घिमिरे त चिनिएका सशक्त अनुहार भैहाले, बाटुली बनेकी प्रमिला तुलाचनको भावभङ्गी र संवाद पनि धेरै सशक्त लाग्यो । एउटा नि:सन्तान  सौताने आमाले आफ्नो सौताको छोराप्रति गर्ने कठोरता र स्नेह आफ्नो अभिनयमा सङसङै एकैपटक जीवन्त रूपमा पोख्न सक्नु उनको ठूलो खुबी हो । नाटकको नायक गोरे बनेका रेवान राईको भूमिका अधिकांश समय 'विचरापात्र' जस्तो भए पनि अन्तिममा क्रान्तिकारी चरित्रमा पनि उत्तिकै सुहाएको थियो । मनीषा थापाको बालसुलभ चञ्चलता, अञ्जु दाहालको निर्दोषपन अनि बबिता मल्ल ठकुरीको नवयौवनाका कटाक्ष र हाउभाउहरू मन हर्ने बनेका थिए । लाठे, बन्दुके र तमसुके बनेका कलाकारहरू कथाले मागे जत्तिकै छुचा र दुच्छर देखिएका थिए । जन्तीमा बाजा बजाउन आएका कलाकारहरूले समेत आफ्नो छोटो भूमिका बलियो गरी निभाएका थिए । 

नाटक हेर्नेका आँखा अत्यन्त चनाखा हुनुपर्दछ । किनभने यहाँ 'पज' र 'रिप्ले'को सुविधा हुँदैन । मञ्चको बीचमा रहेका पाका मान्छेहरूले सुन्तलीको बिहे छिन्दै गर्दा मञ्चको दायाँ र वायाँ आ-आफ्ना घरका पिँडीका खम्बामा अडेस लागेर लाज मानीरहेका सुन्तली र उसको हुनेवाला दुलाहाको उत्कृष्ट भावभङ्गी एकै पटक हेर्न उत्तिकै उत्कृष्ट कौशल चाहिन्छ । अझ सुन्तलीलाई पाउन नसकेको केटाको अर्को कुनाको भावभङ्गी समेत हेर्न त तपाईँ अझै चनाखो हुनु पर्दछ । प्रारम्भको दृश्य, गोरे र पातली अनि सुन्तली बीचका प्रेम र कलहका दृश्य, शुरवीरेलाई जबरजस्ती ल्याप्चे लगाउन लगाएको दृश्य अनि अन्तिम दृश्यले उत्कृष्टताको  उच्चतम बिन्दु छोएका थिए । 

आञ्चलिक भाषा र शैलीको स्वाभाविक प्रयोगले पनि नाटकलाई धेरै सशक्त बनाएको थियो । यद्यपि कतिपय स्थानमा प्रयोग गरिएका मध्ययुगीन शैलीका गालीहरू सुन्दा भने कलिला दर्शकहरूको संवेदना सम्झेर एक छिन मेरो मन चसक्क भने नभएको हैन । छिटो छिटो चलीरहेको कथानकका बीचमा मञ्चको अग्रभागबाट नै नाटकका विशेष मोडहरूमा प्रत्यक्ष रूपमा बजाइएको सारङ्गीको धुन उत्कृष्ट थियो । तर परिस्थितिको भावनाको अनुकूल कतिपय स्थानमा यो अझै लामो समय बज्नु पर्थ्यो जस्तो भने लागीरह्यो । 

नेपथ्यमा रहेको 'सेतो घर' निवासी 'मालिकले 'अनारभन्दा सुन्तला स्वादिलो' भन्ने ठानेको सन्देश सुनेपछि नै मैले नाटकको मर्म पहिल्याएको थिएँ । तरपनि करीब एकसय मिनेटको समय एकछिन पनि पट्यारलाग्दो भएन । नाटकले क्षणिक रूपमा खुसी र हास्य पस्किएको भए पनि मुख्यत: यसले दर्शकहरूलाई पीडामा र करूणरसमा नै डुबाउन सफल भयो । मध्ययुगीन समयका शोषक र सामन्तले गरेका निर्धन र असहायहरू प्रतिको अत्याचार र त्यस विरूद्धको प्रतिकारको जीवन्त कथाका रूपमा रह्यो 'निरमाया' । 

बालक कालमै प्रज्ञाका प्रचण्ड मल्ल, सर्वनामका अशेष मल्ल र सुनील पोखरेल, मिथिलाका महेन्द्र मलङ्गिया अनि भारतको राष्ट्रीय नाट्य विद्यालयका नाटकहरू हेर्ने मौका पाएको मलाई, यो नाटक ती नाटकहरूभन्दा कुनै पनि दृष्टिकोणले कमजोर लागेन । बरू धेरै ठाउँमा अझै सशक्त नै लाग्यो । यो नाटक एक पटक हैन पटक पटक हेरे हुन्छ ।  मलाई यो नाटक हेरी सक्दा यसमा परिश्रम गर्ने सबैलाई र विशेषगरी प्रकाश परिकल्पना र व्यवस्थापन गर्ने  दिलप्रसाद गुरूङलाई सलाम गर्न मन लाग्यो । 


नाटक सकिए पछि बत्ति बल्यो । कलाकारहरूले आ-आफ्नो परिचय दिए । पालै पालो सबै दर्शकहरू बाहिर जान लागे । मैले भने एकछिन पर्खेँ अनि निर्देशक परिवर्तनलाई अङ्गालो हालेँ । 



Friday, January 11, 2019

घन भिन्दै चक्कर भिन्दै (कृति समीक्षा)



~शिव सङ्कल्प 

कृति: घनचक्कर (उपन्यास)

लेखक: सञ्जीव उप्रेती
प्रकाशक: अक्षर क्रिएसन्स
पृष्ठ: ३०८
मूल्य: रू. ३२०

गुणवत्ता: ✘✔✔✔✔



घनचक्करको पहिलो संस्करण छापिएको कहिले हो नयाँ संस्करणमा उल्लेख छैन । नयाँ सस्करणको पहिलो मुद्रण भएकै ६ वर्षभन्दा बढी भएछ । नाम सुनेको र पढ्न मन लागेको कृति भए पनि पढ्ने मौका जुर्दासम्ममा उज्यालो कागजमा छापिएको संस्करण अप्राप्य भैसकेछ । पहेँलो कागजको संस्करणमा नै चित्त बुझाउनु पर्‍यो ।  पुस्तकका लेखक सञ्जीव उप्रेती भोलि (पुस २८ गते)  र्‍याण्डम संवाद गर्न पोखरा आउने कार्यक्रमको निम्ता आयो । जान इच्छा भयो । उनका कुनै पुस्तकै नपढी त के कार्यक्रममा जानु भनेर पोखराको नयाँसडक स्थित हिमालयन रिडर्स कर्नरबाट अस्ति पुस्तक ल्याएँ ।अहिले बेलुका आठ बजे शुरू गरी पौने एघारबजे पुस्तक एक आवृत्ति पढेर भ्याएँ । निद्रा नलागेका सुरमा यसबारे टिप्पणी पनि लेखेरै सुतौँ भनेर यो टिप्पणी लेख्दैछु । भोलि चर्चामा त जानु त छँदैछ । 

घनचक्कर चल्तीकै शब्द हो । पागल वा घामट अर्थमा । कथामा सुललितता खोज्नेलाई यो पुस्तक हैन । यो पुस्तक पढ्न आँफैमा अलिकति घनचक्कर नभै सुख छैन । उपन्यास लेखकको आत्मकथा जस्तो प्रारम्भ हुन्छ ।  लेखक त्रिविका प्राध्यापक हुन्, उपन्यासको मुख्य पात्र 'म' पनि । तर त्रिविमा न त पुस्तकको शुरूमा भनिएको जस्तो नेपाली सांस्कृतिक अध्ययन विभाग छ न त अन्त्यतिर भनिए जस्तो अंग्रेजी सांस्कृतिक अध्ययन विभाग नै । तर आत्मकथा आफूले भोगेका तथ्य मात्रै हैनन् आफूले कल्पना गरेका तथ्य पनि हुन् र वास्तवमा भोगेको भन्नु र कल्पना गरेको भन्नु खासै फरक छैन । तसर्थ यो उपन्यास कम्तिमा मेरा लागि आत्मकथाकै कोटीको छ । 

'पागलपनका प्रथम लक्षणहरू' ममा पनि धेरै पहिले देखा परेका हुन् । हाल सार्वजनिक जीवन यापनमा प्रत्यक्ष बाधा नभए पनि जब जब यस्ता कृति पढ्छु  मेरा लागि सर्पले सर्पले खुट्टा देख्छ भनेजस्तो भाव आउँदो रहेछ । मैले 'पूर्वेली मिथकहरूमा अवतार' पढाउनु पर्दैन न त ' विश्वव्यापीकरण र अन्तहिन खोज' नै तर पनि मैले पढाउने औषध विज्ञानमा पनि यी दुबै कुरा कता कता गाँसिएर आउँदा रहेछन् । हाम्रो विश्वविद्यालयमा उत्तरपुस्तिका पुनर्परीक्षणको पनि व्यवस्था छ तसर्थ यहाँँ 'रङ्नाथ पुडासैनी'हरू पुनर्परीक्षणको हैन अवलोकनको माग गर्छन् ।

खोज, थाहा र बुझ । यी महावाक्यहरू नै हुन् । 'बोरा आतङ्क'ले पीडित मजस्ताले यी महावाक्यका आदेश पनि तिनै बोरामा खोज्नुपर्छ न कि 'रूखका पारी पट्टी भएका शीतका थोपामा'। शायद राममान दाईको 'हिमाली मलम'ले पनि त्यसै भएर सम्पूर्ण रोगको 'निदान' त गर्छ तर निवारण गर्न सक्दैन ।  पाठकका आखाँ 'पिलिकपिलिक बल्ने पेनटर्च' झैँ तीव्र छन् । धेरै ठाउँमा आँखा चिम्ले पनि  'फ्' हुनु पर्ने ठाउँमा 'मुद्रा राक्षस' ले  पटक पटक 'रू' हुँदा भने ती आँखा बिझाउँछन् जसरी एकै पंक्तिमा 'वितण्डा'को ण र 'भागबन्डा'को न देख्दा पुराना र नयाँ व्याकरणसित निरपेक्ष रहँदा पनि आँखा धमिलाे र जिब्रो अमिलो हुन्छ ।

दिलवरनाथ जोगीका असम्बन्धित लाग्ने भविष्यवाणीको रहस्य र फ्रेन्ज राइनरले गरेका उपत्यकाभित्रका शक्तिको नापतौल पत्ता लाग्दा नलाग्दै म युवाबाट अधबैंसे हुन्छु । क्षमा गर्नुहोला किशोरबाट युवा हुन्छु ।म मोटरसाइकल चढ्दिन । म पैदल हिँड्छु । मेरी वेदिका कार हैन स्कूटर चढ्छिन् ।  शायद बटुका लिएर गल्ली गल्ली हिँड्न पर्ने छैन उनलाई ।  मेरी नानू अहिले १६ महिनाकी भइन् विस्तारमा कथा हाल्न त सक्दिनन् तर उनकाे कथामा पनि 'दुष्ट राजा' छ, उनलाई मन नपर्ने 'गुडिया' हो त्यो ।  उनले माया गर्ने जीवहरूको नाम 'याहु' र 'गुगल' हुनेछैन । शायद 'फेसबुक' र 'ट्विटर' पनि नहोला तर 'टिकटक' र 'इन्स्टा' या यस्तै अरू केही हुन भने बेर छैन ।  उनका बाका पुस्ताकाहरू 'प्याजका धरहरा'का प्रशिक्षणमा 'गुच्चा खेल्नमै' व्यस्त छन् । तैपनि पूर्णिमाको कुनै रात किरातेश्वरमा 'सुशील गर्तौला' सुनाउन लानेछु म उसलाई । चाहे शिवको भजन होस् या चाहे अरू कसैकै, आशा छ उनले पनि अनहद्नादको झल्को पाउने छिन् ।

फिरन्ते जोगीको जीवन रमाइलो हुन्छ । हरेक दिनको आहारा दैवले जुटाउँछ । र परिश्रमीको जीवन पनि, जसरी कालु रिक्सावाल परिश्रमसित पेट पाल्छ । तर जोगीले उत्तरतिर जाने सपना देख्छ, कालु रिक्सावालले देख्दैन, ऊ पाटीमै लठेब्रीसित सुत्छ । अघिल्लो खालेे जीवन मैले पनि जीवनको करीब छ महिना बिताएँ । स्वर्णीम समय थियो त्यो । नारायणदत्त श्रीमालीको सम्मोहनशास्त्रको ठूलो प्रभाव थियो म फिरन्ते साधक हुनमा ।  तर पछिल्लो खाले जीवन भने त्यसपछि करीब १६ वर्ष विताउन प्रयास गरेँ तर खै के ? खै के? भनेजस्तै छ जीवन ।

गैरीधाराको सरस्वतीथान वरिपरि खेलेर म पनि हुर्केको हुँ जहा उतिबेला खेतै खेत हुन्थे अहिले चम्किलो विज्ञापनका बोर्ड राखिएका अग्ला घर होलान् । अग्ला टावर होलान् । जो कालान्तरमा ढल्लान् पनि । र, टावरहरू ढल्नलाई वा ढालिनलाई नै बनाइन्छन् होला पनि । तर हरेक पटक हामी नयाँ टावर बनाउन जुट्छौँ, चाहे त्यो ढल्दा त्यसले हामीलाई पनि किन नकिचोस् । अनि हरेक पटक त्यो अलौकिक ऐना पनि झर्‍यामझुरूम हुन्छ,  आफ्नो स्वरूप जान्नै नपाउँदै । दुर्भाग्य!  बिग्रेका काङ्ग्रेस र बिग्रेका कम्युनिष्टले यो कुरा कहिल्यै बुझ्ने छैनन् । 

अन्त्यमा, सक्कली दिलवरनाथको कान चिरेको होला नक्कलीको कान चिरेको नहोला । यसले फरक पर्दैन । यसका 'राजनैतिक', 'मनोवैज्ञानिक', 'अस्तित्वपरक' र भौतिक' कारणहरू खोतलेेेर बुझेे प्रष्ट भैहाल्छ । किनभने 'इलायची' हैन 'अलैँची' हालेको चिया खाएको र 'मर्फी रेडियो' नसुने पनि त्यसको अवशेष देखेको मान्छे हुँ म ।

'घनचक्कर' पढ्नुपर्ने पुस्तक हो । यो कुरा तपाईँले 'पाइलेट पेनको कालो मसी'ले 'नीलो नोटबुकका सफा पाना'मा लेखेर राखे हुन्छ । 




धेरै पढिएकाे

पृष्ठ संग्रह