Sunday, January 22, 2017

म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु (कविता)

पाँच-पाँच वर्षमा
अझ कति हो कति वर्षमा
मेरो नङमा कालो पालिस लगाइदिएको सट्टामा
मलाई मन नपरेको मान्छेको
मलाई मन नपरेको चिह्नमा
छाप लगाउन पाउनु मात्रै मेरो अधिकार हो भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

सयौं विधायकहरूलाई संसद्‌मै थुनेर
मुट्ठीभर मान्छेले-
विदेशीको इशारामा नियम थोपर्छन् भने
हरेक समुदायका टाठा र बाठाले
आफ्नाको कुरा छाडेर
अरूकै इशारामा बकिरहन्छन् भने
निर्धा र निमुखाको घोडा चढिरहन्छन् भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

जागिरमा होस् या पढाइमा
ठेक्कामा होस् या नियुक्तिमा
सरूवामा होस् या बढुवामा
अमुक दलको कोटामा नपरी
मालिकका पाउमा दक्षिणा नछरी
सफल हुनलाई मैले देशै छोड्नपर्छ भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

मेरो व्यवसायमा अनि कार्यालयमा
मेरो विद्यालयमा अनि विश्वविद्यालयमा
कुनै भातृसंगठनको सदस्य नभएकै कारणले
म अछुत बनाइन्छु भने
दल नमिलेकै भरमा, फोन नआएकै भरमा
निरन्तर पछारिइरहन्छु भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

मासु र भातमा
मदिरा र मातमा
अनि चिल्ला बातमा
भोकमा, लोभमा र पापमा अचेत अनि विचेत भएका 
मेरा दाजुभाइ र दिदीबहिनीहरू दिउँसै बिक्छन् भने
चार साधुलाई पाँच चोरले जित्छन् भने 
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।
( २०७३ माघ ८ काे बाह्रखरीमा प्रकाशित http://www.baahrakhari.com/news-details/15861/2017-01-21 )

धेरै पढिएकाे

पृष्ठ संग्रह