
मेरो आफ्नै स्वभावत: पनि म लेनिनलाई यौटा खासेखुसे ट्विटे र टापटिपे पत्रकार भन्दा खासै गन्दिनथेँ । यो लेख पढेपछि भने लेनिनलाई तीखो कलमेमा जोडेँ । उसको कथाको पात्र भन्दा पनि मलाई कथाको विषयवस्तु र जनजीवनको जोड मनपर्यो । भाषाको तोड मन पर्यो । हुन त एक मन लेनिन पनि कुन्साङपथमा लाग्यो कि झैँ नलागेको हैन । तर कुन्साङ काका भन्दा लेनिन युवा छ । मेरै उमेरको । लेख्नुलाई उसले अल्लि भिन्नै ढंगले लिनेछ भन्ने आशा छ ।
उसले यहाँ भनेका कुरा नौला हैनन् । यी कुरा धेरै पटक भनिए । मैले पनि भनेँ । धेरैले अझै तीखो भने । र यसलाई लेनिनले पनि बडो तीखो भन्यो । ठामठामै नवराज पराजुलीको कविताको वास्ना हालेर भन्यो । उसले भविष्यका शासकलाई पनि यत्तिकै तीखो भन्न सकोस् । स्थायी प्रतिपक्ष हुनुको दायित्व निभाओस् । गासको र बासको अनि बुढी र छोराको मुख हेरेर सम्झौता गर्न नपरोस् उसलाई...
मेरा लागि लेखको प्रधानमन्त्री अमुकमात्र हैन । निकटभूतकालका सबै हुन् । अझ इतिहासका सबै शासक हुन् । जनताप्रति जवाफदेही हुनु बाहेक शासकको विकल्प छैन । लेखकको धर्म शासकलाई सचेत गर्नु हो । लेनिनलाई धर्मनिरपेक्ष हुन नपरोस् सँधै यसै गरी धार्मिक भएर लेख्न सकोस् ।
No comments:
Post a Comment