Monday, January 16, 2017

जुनेद जमशेद

साठीको दशकमा कराचीमा जन्मेका
जुनेद जमशेदको सानैदेखि गीतसंगीतमा रूचि थियो । एयरफोर्सका पाइलटका छोरा फेशन र गीतारका शौखिन जमशेदले इञ्जिनियरिङ पढे तापनि असीको दशकमा "भाइटल साइन" भन्ने ब्याण्डको सदस्य हुन रूचाए । भाइटल साइनको 'दिल दिल पाकिस्तान' भन्ने गीत बीबीसीको सर्वकालिन उत्कृष्ट १०मा पर्न सफल भएको थियो । नब्बेको दशकमा जमशेदका 'गोरे रंग का जमाना', 'तुम दूर थे' 'सावली सलोनी', 'नाराज तुम', 'उस राह पर' आदि गीतले तहल्का मच्चाए । युवाहरूका धड्कन बनेका जमशेदले धन र प्रसिद्धिको उचाइमा रहँदा २००४ ताक अचानक गीत संगीत छोडे, गीतार छोडे, जिन्स छोडे अनि इञ्जिनियरिङ पनि छोडे । उनले दाह्री बढाए, खद्दर लगाए, धार्मिक प्रवचन र धार्मिक संगीतमा मात्र संलग्न भए । खद्दरका कपडा बेचेर परिवार पाले । आफ्नो धर्मभित्रकै पनि अल्पसंख्यक समुदायका जमशेदलाई टीभीमा धार्मिक कार्यक्रम चलाउँदा बोलेको कुरालाई लिएर ईशनिन्दाको आरोप समेत लाग्यो । व्यापक बिरोध पछि उनले रूँदै माफी समेत माग्नु पर्‍यो । तैपनि उनी आफ्नो बाँकी जीवनभर धार्मिक समाजसेवामा संलग्न रहे । यस्ता जमशेदको हिजो (डिसेम्बर ७, २०१६ ) पीआईए ६६१ नं को हवाई उडान दुर्घटनामा निधन भयो । दुर्घटनामा परी निधन हुने सबैलाई सद्‌गति प्राप्त होस् ।

धेरै पढिएकाे

पृष्ठ संग्रह