Tuesday, April 30, 2019

बाकसभित्रको आशा (नाटक समीक्षा)

कृतिः बाकस (नाटक)
लेखक: सरुभक्त
निर्देशक: सरुभक्त/परिवर्तन
मञ्चनस्थल: गन्दर्भ नाटकघर, पोखरा थिएटर

अवधिः १ घण्टा १० मिनेट
मिति: २०७६ वैशाख ६ देखि २१ सम्म
समय: अपराह्ण ५ बजे
(शनिबार 
अपराह्ण१ बजे अतिरिक्त शो)

गुणवत्ता: 

हरेक दिन विमानस्थलमा बाकसहरू आउँछन्। अनि बाकसभित्र आउँछन् आम जनताका सदाका लागि मुर्च्छित आशाहरू । आमाका सन्तानहरू निःशब्द बनेर बाकसभित्र बन्द भएर आउँछन् । जाे बाकस बाहिर आउँछन्  ती पनि धेरै बिरामी हुन्छन् । तर पनि तिनकाे जीवनमा आशा जीवित छ आमालाई सुसार गर्ने । 
 


पाेखरा थिएटरकाे गन्दर्भ  नाटकघरमा अहिले नाटक बाकस मञ्चन भैरहेकाे छ । पच्चीस वर्ष पछि नाटक  निर्देशनमा फर्केका सरुभक्तकाे ताजा नाटक हाे बाकस । उनला निर्देशनमा सघाएका परिवर्तन आँफैले पनि याे नाटकमा अभिनय गरेका छन् । नाटकमा वैदेशिक राेजगारीमा  निर्भर अर्थतन्त्र, राजनैतिक नेतृत्वकाे अवसरवादिता र राज्यका स्राेतकाे दाेहन, आम जनताका अपेक्षाहरूमाथिकाे तुषारापात, राज्यकाे चाैथाे अङ्ग रहेकाे पत्रकारिताकाे द्वैध चरित्र आदिलाई समेटिएकाे छ । 

नेपालका पत्रकारहरू प्रतिभाशाली छन् । देश विदेश र ज्ञान  विज्ञानका क्षेत्रमा सुसूचित लाग्छन् उनीहरू । सुन तस्करी देखि ओजोन तहको दुलोसम्म र मौसम परिवर्तन देखि ब्ल्याकहोलसम्म गफ छाँट्नमा पत्रकारहरू पोख्त छन् । पत्रकार बनेका साेनिया कार्की, शरद भण्डारी,  ईश्वर कार्की र रमेशबाबु  तिमिल्सिनालाई सुन्दा यस्तै लाग्छ ।
'सरकारले जनताको शिक्षा र स्वास्थ्यको पूरा जिम्मा लिनुपर्छ'  देशकाे भावना अनुसारका समाजवादी सुनिन्छन् उनीहरू । तर जब चम्चे पत्रकार बनेका विष्णु  तिम्सिनाले नेताहरूका अगाडी गजबले हात मल्न थाल्छन् उनीहरूबीच पनि कित्ताकाट हुन्छ । 

अचानक खबर आँउछ आमाकाे स्वास्थ्यकाे बारेमा । काेही साँच्चै  चिन्तित छन् त काेहिलाई चिन्तित देखिनु पर्ने  चिन्ता छ । नेताहरू सल्लाह गर्छन्  आमाकाे स्वास्थ्यका लागि ठूलाे आन्दाेलन, ठूलाे क्रान्ति नगरी उपाय छैन । 

अगुवा नेता बनेका विष्णु खनाल जुरुक्कै उफ्रे पछि आन्दोलनले गति लिन्छ ।
'आमाको स्वास्थ्य जिन्दावाद! आमाको स्वास्थ्य जिन्दावाद!
महान् जनआन्दोलन जिन्दावाद! महान् क्रान्ति जिन्दावाद!'
पछुवा नेता बनेका परिवर्तन, दिलु गुरुङ र नवराज कार्की हाेमा हाे मिलाउँछन् । आन्दाेलन अनि क्रान्ति चर्किँदै जाँदा पक्ष अनि विपक्ष पैदा हुन्छन् । हत्या हिंसा र रक्तपातसम्म स्थिति पुग्छ । तर के आमाकाे स्वास्थ्यमा सुधार आउँछ त ?

आमाकाे स्वास्थ्य खस्कँदै जान्छ या राम्राे हुँदै जान्छ, याे थाहा पाउन नाटक हेर्नै पर्छ ।

नाटककाे प्रारम्भमा विदेश बाट फर्केकी तथा मध्यमा अपहेलित भएकी दुबै अवस्थामा आमा बनेकी प्रमिला तुलाचनकाे अभिनय जीवन्त छ ।पागल बनाइएका आम जनताकाे भूमिकामा  निश्चल  विमल सशक्त छन् । 


बीचमा दृश्यान्तर र भावान्तरका लागि प्रयाेग गरिएकाे  बाह्र भैरव नृत्यले नाटकलाई अझै कलात्मक बनाएकाे छ । मञ्चकाे सरल साजसज्जामा पनि ध्वनिकाे संयाेजनद्वारा एक क्षणमै दर्शकहरूला विमानस्थल र अस्पतालकाे परिवेशमा  लग्न गरिएकाे प्रयास प्रभावकारी छ । 

व्यङ्य,  
आक्राेश र संवेदना बाेकेका संवादहरू सशक्त छन् ।

 'यो देशमा जनताका बौद्धिक स्तर उकासिने कैले होला?'



'कहिले काँही त आमालाई डोकोमा राखेर मिल्काइदिउँ जस्तो लाग्छ!'

'बिरामीलाई रोगले भन्दा रोगका कारणले मारीरहेका हुन्छन् ।'

'हिमाल, पहाड र मधेश तराईका दु:खहरू उही छन् ।
उही कि अझ बढी?
'हाे बढी बढी बढी... आदि । 

हाे देशमा धेरै अव्यवस्था छ र सुधारका धेरै कामहरू गर्न बाँकी छ । वर्तमान अवस्था हेर्दा निराशा लाग्छ तर  ग्रीक मिथककी भानुमतीको पेटारोमा झैं  अन्तिममा आशा चाहिँ सबैकाे मनमा बाँकी छ । र याे महत्त्वपूर्ण हाे । नाटककाे सन्देश पनि यही हाे । 

नाटककाे अन्तिम दृश्य सुन्दर र कलात्मक छ । पऽर बाट जनार्दन सम गुनगुनाउँछन्
'हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला
दुई कोटी जन मिलेर सुसारु गर्दै रहौँला...'

'हो आमाहरू रुनु हुन्न । हामी छौँ हामी भएसम्म आमाहरू रुन हुन्न!'
'आशा राख्नोस्!'

(चित्रहरूः पाेखरा थिएटरकाे फेसबुकबाट)

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह