Thursday, August 20, 2015

ट्विटर, डाक्टर र पेटिकोट


शीर्षक देख्दा लाग्न सक्छ लेखका लेखक अभि सुवेदी हुन् । निःसन्देह शीर्षक प्रभावित छ जापानी हाइकुबाट प्रभावित अभि सुवेदीका कुनै समय प्रकाशित हुने लेखहरूका शीर्षकबाट । जहाँ तीन असम्बद्ध जस्ता लाग्ने शब्दहरू लहरै आउँछन् । तर पढ्दै जाँदा ती शब्दबीचको सूक्ष्म सम्बन्ध प्रष्ट हुन्छ ।
सर्वप्रथम प्रसंग सामाजिक सञ्जालको छ । नेपालमा फेसबुकले लोकप्रियताको फड्को मारीरहँदा केवल १४० मात्रामा आफ्ना अभिव्यक्ति राख्नुपर्ने ट्विटर पनि धेरै पछाडी छैन । विशेष गरी लेखक, पत्रकार र राजनीतिकर्मीहरू माझ वा अझ व्यंगात्मक रूपमा भन्नुपर्दा फुर्सदिलाहरूमाझ ट्विटर लोकप्रिय छ । अन्तराष्ट्रिय रूपमै पनि अलिकति पनि सामाजिक परिचय बनाएको व्यक्तिको ट्विटरमा उपस्थिति हुनु अनिवार्य जस्तै भैसकेको छ । नेपालमा पनि ट्विटर चलाउनेहरूको राम्रो संख्या भैसकेको छ । यदा कदा चलाउनेदेखि लगभग चौबीसै घण्टाजस्तो ट्विटर चलाउनेहरू ट्विटरमा छन् । आफ्नो व्यस्त कार्यतालिकाका बावजुद प्रस्तुत पंक्तिकार पनि बेला मौकामा ट्विटर चलाउन छाड्दैन । धेरैले ट्विटरलाई हल्काफुल्का टिप्पणी गर्ने थलो मानेको देखिन्छ । त्यसो त नामी राजनीतिकर्मीहरू पनि ट्विटरमा जुहारी खेलीरहेका देखिन्छन् भने ट्विटरकै माध्यमले सामाजिक नाम कमाएकाहरू धर्म, संविधान या त्यस्तै चल्तीको प्रसंगको समर्थन वा विरोधमा लेखिरहेका हुन्छन् । खेलप्रेमीहरू खेलको प्रत्यक्ष प्रसारण गरीरहेका हुन्छन् भने प्रेमीहरू प्रेम प्रसंगकै चर्चा गरीरहेका हुन्छन् । तुच्छ र कुत्सित गालीगलौजदेखि अश्लील टिका टिप्पणीबाट पनि ट्विटर मुक्त छैन । साँचो अर्थमा अभिव्यक्तिको यौटा “स्वतन्त्र” माध्यम बनेको छ ट्विटर । 
ट्विटरसंसारका आफ्नै शब्दावली छन् । ह्याण्डल (प्रयोगकर्ताको इमेलको जस्तै आफ्नो विशिष्ट ठेगाना), ट्विट (आफ्नो भनाइ सञ्जालमा राख्नु) , रिट्विट् (अरु प्रयोगकर्ताका शब्दलाई पुनः प्रसारित गर्नु) फेब (कुनै ट्विटलाई मनपराएको चिह्न दिनु) , मेन्सन (अरु प्रयोगकर्तालाई आफ्नो ट्विटमा उल्लेख गर्नु), फलो (कुनै प्रयोगकर्तालाई पच्छ्याउनु), फलोब्याक (आफूलाई पच्छ्याउनेलाई फिर्ता पच्छ्याउनु ),फेक (कुनै सुपरिचित वा अन्य व्यक्ति वा नक्कली वा अमूर्त नाममा ट्विट गर्ने व्यक्ति), टाइमलाइन (आफूले पच्छ्याएकाहरूले लेखेको देखिने चलायमान पत्र, हिजोआज पच्छ्याएपनि आफ्नो टाइमलाइनमा नदेखिन मौन वा म्यूट  गर्ने विकल्प उपलब्ध छ), डीएम् (डाइरेक्ट म्यासेज) आदि ट्विटरसंसारका प्रमुख शब्द हुन् । त्यसो त बरिष्ठ, बतासे, हावा छेकुवा वा यस्तै अरू नेपाली शब्दहरूका पनि ट्विटरमा अलग्गै अर्थ छन् जो बाहिरकालाई नौलो लाग्न सक्छ । 
हालैको प्रसंग हो मेरो टाइमलाइनमा अचानक यौटा सचित्र ट्विट देखापर्यो । मैले फलो नगरेका एकजना ह्याण्डलमै डाक्टर झुण्डिएका व्यक्तित्वको ट्विट थियो त्यो । मैले फलो गरेका अर्का ट्विटेले रिट्विट् गर्नाले त्यो मेरो टाइमलाइनमा देखा परेको थियो । काठमाण्डौँ टुँडिखेल छेउको माहांकाल अगाडीको सडक पेटिको दुरवस्थाको बारेमा सचित्र गरिएको उक्त ट्विटमा उक्त सडकको दुरवस्थाका जिम्मेवार ठानिएका महानगरपालिका र सडक विभागका हाकिमलाई पेटिकोट लगाइदिन माग गरिएको थियो । महिलाका परिधानको माध्यमले अप्रत्यक्ष रूपमा महिलालाई नै निकृष्ट र तुच्छ रूपमा परिभाषित गर्न खोज्ने पुरूषवादी संस्कार नेपालमा पहिले देखि नै रहेको छ । कुनै पनि असक्षमलाई फरिया लगाइदिने, पेटिकोट लगाइदिने, चुरा लागाईदिने वा यसभन्दा पनि तुच्छ र अश्लील तरिकाले महिलालाई जोडेर टिप्पणी गर्ने कुत्सित परम्परा नेपाली समाजमा अझै विद्यमान छ । शायद यसै कारणले पनि होला स्वयं आधुनिक महिलाहरूमा ती परिधान र अलंकारहरू प्रति रूचि कम हुँदै गएको जस्तो देखिन्छ । 
शिक्षित र नयाँ पुस्ता यसबाट बिस्तारै मुक्त हुँदै गए पनि यसको धङधङी अझै बाँकि रहेको प्रमाणको रूपमा उक्त ट्विट देखा परेको थियो । पुरुष र महिला एकै रथका दुई पांग्रा हुन् , दुबै बराबर हुन्, यी दुबैले काँधमा काँध वा हातमा हात मिलाएर अघि बढेमात्र समाज विकास हुन्छ जस्ता शब्दावलीहरू हिजोआज प्रशस्त सुन्न पाइन्छ । तर व्यवहारमा भने यस्ता शब्दावली प्रयोग गर्नेहरू नै महिलाको सम्मान प्रति असंवेदनशील  देखिन्छन्। व्यक्तिगत रूपमा पंक्तिकार महिला र पुरुषलाई बराबर भन्दा पनि आफैमा विशिष्ट मान्नुपर्छ र महिलालाई विशेष सम्मान र सुविधा हुनुपर्छ भन्ने धारणा राख्दछ । पंक्तिकारलाई उक्त ट्विटले चसक्क घोँच्यो । ट्विटकर्ताको बारेमा सामान्य जानकारी (फोटो, नाम र वेबलिंकको आधारमा) प्राप्त गर्दा ट्विटकर्ता राजधानीका एकजना नामी कलेजो विशेषज्ञ रहेको जस्तो देखियो । नेपालका ट्विट अकाउण्ट सितिमिति भेरिफाइ नहुने हुँदा ठोकुवै गरेर भन्न नसके पनि एकजना सुशिक्षित जस्ता देखिने (उनको वेबलिंक हेर्दा तिनले चिकित्साशास्त्रमा स्नातकोत्तर मात्र नभई विद्यावारिधि गरेको देखिन्छ) व्यक्तित्वले त्यस्तो ट्विट गरेको देख्दा पंक्तिकारले सभ्य शब्दमा ध्यानाकर्षण गराउन उचित ठान्यो । उत्तरमा उक्त सज्जन अझ हल्काफुल्का रूपमा आफ्नो ट्विटको बचाउमा उत्रे । हुँदा हुँदा अलिकति अश्लीलता तर्फ ढल्केका शब्द समेत तिनले प्रयोग गरे । कुरा वार्तालापको हदबाट अगाडी बढ्यो । यो यौटा उदाहरणमात्र हो जसले हाम्रो समाजमा रहेका सुशिक्षित व्यक्तिहरूकै पनि महिलाबारेको अवधारणालाई प्रतिविम्बित गर्छ । हुन त उनको पहिलो ट्विट संस्कारजन्य असावधानीको उपज पनि हुन सक्छ तर आफ्नो असावधानीलाई औँल्याइदिने प्रतिको व्यवहारले भने उनको अहंकारी व्यक्तित्वलाई राम्रै प्रतिबिम्बित गर्छ । तर प्रस्तुत पंक्तिकार भेरिफाइको शंकाको लाभ डाक्टर साहेबलाई दिन चाहन्छ । ती ट्विटकर्ता ती नामी डाक्टर साहेब हैनन् अर्कै फेक व्यक्तिले उनको उपाधि नाम र चित्र प्रयोग गरी असंवेदनशील ट्विट तथा वार्तालाप  गरेको हो भन्ने प्रस्तुत पंक्तिकारको मत छ । आफ्नो परिचयको  प्रयोगद्वारा सामाजिक सञ्जालमा भैरहेको संप्रेषणप्रति वास्तविक डाक्टरसाहेब पनि सचेत हुनुहोस् भन्ने पनि प्रस्तुत पंक्तिकारको आशय हो ।
हाम्रो समाजमा अझै पनि डाक्टर र इञ्जिनियर भन्ना साथ मेधावी र उच्च मानसिक क्षमता भएका व्यक्ति भनेर बुझ्ने चलन छ । धेरै अर्थमा यो गलत पनि होइन । आफ्नो नाम अगाडी डा. शब्द जोड्दा नामले धेरै गरिमा बोकेको मानिन्छ । चिकित्सकको योग्यता प्राप्त गरेका वा विद्यावारिधि उपाधि प्राप्त गरेकाहरूले नाम अगाडी डा. लेख्ने चलन छ । हाल धेरै डाक्टरहरूले अप्रासंगिक रूपमा आफ्नो नाम अघि डा. लेख्न बन्द गरे पनि फेसबुक वा ट्विटरमा र अझ हस्ताक्षरमै समेत डा. लेख्ने व्यक्तित्वहरू पनि हाम्रो समाजमा देख्न सकिन्छ ।  कुरा जे भए पनि समाजको आदर्शका रूपमा रहेका सुशिक्षित व्यक्तिहरूले महिलासँग सम्बन्धित टिकाटिप्पणीमा सावधान हुनु अति आवश्यक छ भने यसबारे ध्यानाकर्षण गर्नु पनि हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ ।
उक्त वार्तालापको पुछारमा यसको बारेमा त यौटा लेख नै लेख्नु पर्छ की ? भनेर समेत पंक्तिकारले ट्विट्दा उक्त सज्जनले पनि “हो लेख्नै पर्छ” भनी प्रेरणा दिएका थिए । लेखनमा धेरै विराम लिएको अबस्थाको यो पंक्तिकारलाई यी शब्द लेखाउन प्रेरणा बनेका  “डाक्टरसाहेब”, रिट्विट गर्ने मित्र र उक्त वार्तालापकी साक्षी रहेकी मेरी एक सुपरिचित पत्रकार बहिनीको समेत उत्प्रेरणामा यो लेख लेखिएको हो ।

अन्त्यमा, काठमाण्डौँ टुँडिखेल छेउको माहांकाल अगाडीको सडक पेटिको दुरवस्थाको यथाशीघ सुधार होस् र महिलाप्रति हल्काफुल्का टिप्पणी गर्ने ती सज्जनको मानसिकतामा पनि अझै छिटो सुधार होस् भन्दै मेरा शब्दहरूलाई यहीँ विराम दिन्छु ।


धेरै पढिएकाे

पृष्ठ संग्रह