Sunday, January 14, 2018

माघ महात्म्य (आधुनिक)



अथ आधुनिक माघ महात्म्य ।

हे भक्तजनहरू! आजका दिन हरेक भक्तले बिहान सबरै आठ बजे उठेर मनतातो पानीको शावर लिई, धोइ पखाली प्रेस गरी शुद्ध गराइएका वार्मर, स्वेटशर्ट, जीन्स, ज्याकेट आदि वस्त्र पहिरी जानी नजानी खिचडी पकाइ, सुपरमार्केटबाट ल्याइएका सेल, तिलको लड्डु आदि सेवन गरोस् । सेवनपूर्व तिनक‍ो चित्र खिचि फेसबुक ट्विटर आदिमा टाङ्न नछुटाउनु । छुटाएमा फल मिल्दैन । आलु तरूल चाकु अादि उति हाइजेनिक नहुने हुँदा नखाए पनि दोष लाग्दैन । चित्र भने अरूक‍‍ै प्रोफाइल वा मैले झैँ गुगलकै पेटारोबाट झिकेर भए पनि हाल्दिनु अलिअलि दोष लागे पनि मेटिनेछ ।

त्यस पछि एकचरण ह्याप्पी माघे संक्रान्ति, ह्याप्पी माघी, ह्याप्पी मकर संक्रान्ति आदि लेखिएका रङ्ग र ठङ्गका फर्वार्डेड चित्रहरूलाई अरू पचास जानालाई ठेली गिदी गरोस् । त्यस पछि अल्लि दिउसो भए पछि " यो चाड सामन्ती शोषकहरूले परिश्रमी गरीब जनतालाई रमाइलोमा भुलाइ शोषण जारी राख्न चलाएको मध्ययुगीन चाड हो, बहिष्कार गरौँ" भनेर फेसबुक अादि संचारमा एकचरण वमन गरोस् । तर्क वितर्क र कुतर्क गर्न जान्ने भएमा च्याउ पत्रिका/अनलाइन आदिमा लेख/ब्लग लेखेर छपाए पनि हुन्छ ।

बेलुका भए पछि विदा त सेलेब्रेट गर्नै पर्‍यो भन्दै काम न काजका पत्रुहरू बटुलि कुत्सित रसपान गर्न जुटोस् । माहोल जमे पछि मदमत्त आंग्लभाषामा एकचरण ट्रम्प देखि देउवासम्म, किमदेखि ओली-प्रचण्डसम्म र मोदीदेखि रवीन्द्र मिश्रसम्मलाई सरापोस् । रात छिप्पिएर नशाले छोडेपछि "लुटतन्त्र ढाल्नैपर्छ, भ्रष्टलाई कीरा परोस्,  #आइएमविथ डाकेसी #ह्याप्पीमाघेसक्राति" लेखेर एउटा ट्विट ठेलेपछि सारा पापको प्रायश्चित्त भै व्रतपूर्ण हुन्छ  अथवा अाफ्ना आफ्ना स्मार्टयन्त्रबाट यो पोष्टलाई बुढी उम्लो उचालेको संकेत गरी  शेयर भन्ने ठाममा अँठ्याए पनि व्रत पूर्ण हुनेछ, यो पोष्ट लाइक गर्नि तर शेयर नगर्निले आधामात्र फल पाउँनेछ भने यो पोष्ट मुसुमुसु हाँस्दै पढेर  पनि लाइक शेयर केहि पनि नगर्निलाई भने ब्रह्महत्याको पातक लाग्नेछ।

इति श्री स्कन्दपुराणे नेपालखण्डे आधुनिक माघमहात्म्यं नाम दशमोऽध्याय: समाप्त: ।।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह