Sunday, May 13, 2018

ढपाेर शङ्खकाे कथा

कुनै बखतमा एकजना गरीब ब्राह्मणकाे अत्यधिक गरीबी देखेर एकजना ऋषिले उनलार्इ समुद्रकाे अाराधाना गर्ने सल्लाह दिए । ब्राह्मणले पनि  समुद्रकाे किनारमा पुगेर दत्तचित्त भएर समुद्रकाे अाराधना गर्न लागे । ब्राह्मणकाे एकचित्तको आराधनाबाट प्रसन्न भएका समुद्रले ब्राह्मणलार्इ एक विशिष्ट शङ्खी दिए जसले हरेक साँझकाे सन्ध्यावन्दन पछि एकपटक पाँच चाँदीका असर्फी दिन्थ्याे । ब्राह्मण प्रसन्न भएर घर फर्कँदै थिए । फर्कँदा बाटामा एक मित्रकाे घरमा वास पर्‍‍‍यो।  मित्रकाे घर सन्ध्यावन्दन गरे पछि ब्राह्मणले शङ्खीसित पाँच रूपैँया मागे ।  शङ्खीले पनि चाँदीका पाँच असर्फी दियाे । याे देखेर मित्रलार्इ लाेभ लाग्याे र भाेलिपल्ट बिहानै सुटुक्क उनले ब्राह्मणकाे शङ्खीसित अाफ्नाे शङ्खी साटे । उता ब्राह्मणले भाेलिपल्ट साँझ सन्ध्यावन्दन गरेर पाँच रूपैँया माग्छन् त शङ्खीले केहि पनि दिएन । 

यसबाट दुःखी भएका उनी पुनः समुद्रकाे अाराधना गर्न लागे । सबै घटना बुझेर यसपटक समुद्रले ब्राह्मणलार्इ अझ ठूलाे शङ्ख दिए ।  फर्कँदा यसपटक  पनि ब्राह्मणकाे वास तिनै मित्रका घर पर्‍‍‍यो । मित्रले पनि यसपटक 'ब्राह्मणले के ल्याएछन् त!' भनि हेर्दा अझ ठूलाे शङ्ख देखे । तिनकाे मनमा फेरी लाेभ जाग्याे उनले 'याे शङ्खले त पक्कै पनि सुनकै असर्फि दिन्छ हाेला' भन्ने विचार गरी चाँदीका रूपैँया दिने शङ्खसित याे शङ्ख साटे  । मख्ख परेर मित्रले भाेलिपल्ट शङ्खसित पाँच सुनका असर्फी मागे । शङ्खले "पाँच किन ? दस माग" भन्याे । उनले दस मागे ।शङ्खले "दस किन ? बीस माग" भन्याे । उनले बीस मागे । शङ्खले "बीस किन ? चालीस माग" भन्याे । उनले चालीस मागे । तर याे क्रम राेकिएन शङ्खले "चालीस किन ? असी माग" भन्याे । उनले जति मागे पनि शङ्खले दाेब्बर माग भन्थ्याे तर दिन्थेन । अनि अाजित भएर उनले "मलार्इ दाेब्बर चाहिएन पाँच नै देऊ" भने ।
त्यसपछि शङ्खले भन्याे ~
परहस्ते गता शङ्खी पञ्चरूप्यकदायिनी
अहं ढपाेरशङ्खाेऽस्मि वदामि न ददामि च ।।
(पाँच रूपैँया दिने शङ्खी त अरुकै हात पुगीसकिन् । म त ढपाेर शङ्ख हुँ । बाेल्छु मात्रै दिन्न । )

चित्रः  विकिमिडिया कमन्स

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह