Thursday, August 3, 2017

राष्ट्रिय याेजना अायाेगका स्वर्णिम अपेक्षाहरू

अाजभन्दा करीब २७ वर्ष अघि २०४७ सालकाे साउन महिनाकै जस्ताे लाग्छ कुनै दिनकाे गाेरखापत्रकाे पहिलाे पृष्ठमा छापिएकाे १५ पुगेर १६ लाग्दै गरेकाे किशाेरकाे चित्र हाे याे । त्याे दिन फलामे ढाेका मानिने एसएलसी परीक्षाकाे परीक्षाफल प्रकाशित भएकाे थियाे । २०४६ माघमा सञ्चालित परीक्षाकाे परीक्षाफल प्रकाशित हुन त्याे साल २०४६ सालकाे परिवर्तनले गर्दा अतिरिक्त ढिला भएकाे  थियाे ।  म मुश्किलले अाठ वर्षकाे थिएँ, महिना र गते यकीन याद नभए पनि मलार्इ स्पष्ट सम्झना छ गाेरखापत्रकाे त्याे अंकमा नेपालभ्रमणमा रहेका भारतीय विदेशमन्त्री अाइके गुजरालले नेपाली प्रधानमन्त्री कृष्णप्रसाद भट्टरार्इसित भेटेकाे तस्वीर सँगैकाे मुख्य समाचार मुनि त्याे साल एसएलसी बाेर्डफर्स्ट भएका नृपेश प्रधानका चित्रकाे छेउमै त्याे साल दाेस्राे भएका स्वर्णिम वाग्लेकाे याे चित्र छापिएकाे थियाे । 

समय बित्दै गयाे कालान्तरमा नृपेश प्रधानले चिकित्साशास्त्र पढे भने स्वर्णिम वाग्लेले अर्थशास्त्र । बेलायतकाे लण्डन स्कूल अव् इकाेनाेमिक्स, अमेरिकाकाे हार्वर्ड विश्वविद्यालय र अष्ट्रेलियाकाे अष्ट्रेलियन न्याशनल विश्वविद्यालयमा पढेका वाग्लेले विश्व बैंकका साथै संयुक्त राष्ट्र संघ अन्तर्गतका निकायमा जागिर गरे ।  बेलायतमा रहँदा स्वर्णिम वाग्लेले बीबीसी नेपालीसेवामा समाचार पढ्ने समेत गर्दथे । गाेरखाकाे बुङ्काेट घर भएका नेपाली भाषाका शिक्षक पिता जीवन वाग्लेका छाेरा स्वर्णिमकाे नेपाली भाषाप्रति पनि लगाव रहेकाले उनले त्याे अवसर पाएका थिए । उनका समकालीन पश्चिमी मुलुकमा शिक्षादीक्षा पाएकाहरूकाे तुलनामा उनकाे नेपाली उच्चारण, शब्दभण्डार र शब्दचयनमा सजगता सह्रानीय छ । 

अहिले ४३ वर्ष पुगेका युवा स्वर्णिम वाग्लेकाे चर्चा पुनः एकपटक चलेकाे छ किनकी उनी हालै राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष नियुक्त भएका छन् । यस अघि पनि उक्त अायाेगका सदस्य रहीसकेका उनकाे चर्चा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सक्षम र अाशालाग्दा विशेषज्ञकाे रूपमा हुने गरेकाे छ । स्वर्णिम वाग्लेकाे अार्थिक याेगदान तथा कृतिहरूका अध्येता तथा अर्थशास्त्रमा गम्भीर रूचि राख्ने मलेशियामा अाैषधिविज्ञानकाे प्राध्यापक रहेका मेरा मित्र भुवन केसीकाे विचारमा स्वर्णिम वाग्ले नेपालकाे ग्रामीण अार्थिकविकासकाे संयन्त्रका कुशल संचालक हुन सक्छन् ।

विश्वविद्यालय अनुदान अायाेगका अनुसन्धान निर्देशक दीपक कुमार खड्का फेसबुकमा लेख्छन्-

"सरकार बदलिने बित्तिकै योजना आयोगको नेतृत्व बदल्ने नोक्सानको परम्परा त्यागी नेतृत्वलाई ‘आयोगको गठन तथा कार्यसञ्चालन आदेश २०६७’ को दफा १७ अनुसार नै ५ वर्षको कार्यकाल पुरा गर्न दिने हो भने डा. स्वर्णिम वाग्लेले योजना आयोगको भूमिका पुनर्परिभाषित गर्नेदेखि लिएर योग्य नेतृत्वले कसरी प्रतिकुलतामा पनि आश्चर्यजनक उपलब्धि हासिल गर्न सक्छ भनेर देखाउनुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।
सुयोग्यताले अवसर पाएको यो एक प्रेरक दृष्टान्त हो !"

तुलनात्मक रूपमा धेरै अार्थिक सुविधा भएकाे विदेशी जागिर छाडेर नेपाल अाएका स्वर्णिम वाग्लेले एउटा अन्तर्वार्तामा  भनेका छन् "जीवनमा एक बिन्दु यस्ताे अाउँदाे रहेछ, जब मान्छेलार्इ लाग्छ कि जीवनमा बढी बढी अार्थिक सुविधा मात्रै भन्दा पनि मध्यमस्तरकाे जीवनयापन गरेर पनि अाफ्नै देशमा अाफूले जानेकाे विषयमा र त्याे पनि नीतिगत तहमा काम गर्न पाउनु महत्त्वपूर्ण लाग्दाे रहेछ "। तर उनकै शब्दमा भन्दा नेपालमा याेजना अायाेगकाे भूमिका र प्रभाव नै सीमित छ । यसकाे भूमिका नीतिकाे कार्यान्वयन भन्दा पनि सल्लाहकार निकायमै सीमित छ । यस्ताेमा माथि उल्लिखित दीपक कुमार खड्काकाे फेसबुक स्टाटसमा पाका पत्रकार हरि अधिकारीले गरेकाे टिप्पणी पनि मननीय हुन जान्छ -
 

"योजना आयोगको भूमिका पुन:परिभाषित गर्ने भन्ने कुरा त्यसका अध्यक्ष प्रधानमन्त्रीको चाहना, सोच र योजना अनुसार मात्र हुने हो । हाम्रा स्वर्णिमले कुरो राख्नसम्म सक्लान् । 
वास्तवमा नीति निर्माणको प्रक्रिया तलबाट शुरू हुनु पर्दछ भन्ने विकेन्द्रीकृत योजना 
प्रणालीका दृष्टिले हेर्दा यो योजना आयोगको तामझाम नै बेकार देखिन्छ । नियंत्रित राजनीतिक व्यवस्थाका लागि मात्र सुहाउने हो यस्तो आयोग । नेपालका सन्दर्भमा त यसले मन्त्रालय विभागहरूसँग व्यवस्थापकीय द्वन्द्व बढाउने बाहेक खासै उपलब्धिमूलक काम गरेको छैन । "


नाम चलेकाे विद्यालयहरूमा पढेका, युवा र समकालीन भन्दा धेरै कुरामा पृथक् उनबाट अाशा लाग्नु स्वभाविकै छ । याेजना अायाेगकाे सदस्य रहँदा उनले कम खर्चमा याेजना अायाेगकाे बैठक कक्ष नेपाल सम्बन्धित तथ्याङ्कहरूकाे चित्र राखेर सजाएकाे लगायतका खबरहरू पनि संचारमाध्यममा प्रचारित भएका थिए । याे एक स्यानाे उदाहरण भएता पनि यसले उनकाे शैलीलार्इ प्रतिबिम्बित गर्दछ । यिनै कुराहरूले स्वर्णिम वाग्ले याेजना अायाेगकाे उपाध्यक्ष हुनुले अामजनमानसमा अाशाकाे सञ्चार गर्दछ । 

तर वर्तमान विश्व र हाम्राे मुलुककाे अवस्थितिलार्इ अाकलन गर्दा भने त्यति उत्साहित भैहाल्ने अवस्था रहेकाे छैन। नेपालकाे याेजनाबद्ध विकासकाे कुरा गर्दा २००७ साल पछिका नेपालका हरेक याेजनामा विदेशी शक्तिकै नीतिकाे हालीमुहाली रहेकाे तीताे यथार्थ अलिकति पनि विश्लेषण गर्न सक्ने समुदायले बुझेकै कुरा हाे । यस परिप्रेक्ष्यमा देशकाे अत्यन्त अस्थिर र तरल नेतृत्वकाे राजनैतिक नियुक्तिमा (अनिश्चित छाेटाे समयका लागि) राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष बनेका वाग्लेबाट  देशलार्इ अात्मगाैरव सहितकाे  स्थूल र दीर्घकालिक अार्थिक समृद्धि र अात्मनिर्भरतामा अग्रसर बनाउने किसिमकाे ठूलाे नीतिगत परिवर्तन पाउने अाशा गर्नुभने अलिक अनुचित नै लाग्दछ । 

नेपालकाे नीतिगत तहमा पश्चिमका नामी विश्वविद्यालयमा पढेका विदेशी जागिरकाे उच्च तहमा पसेका वा पस्न लायक व्यक्तिहरू यस अघि हुँदै नभएका भने हाेइनन् । तर प्रश्न 'के तिनले नेपालकाे बाह्यअार्थिकसमृद्धिकै लागि पनि के याेगदान गरे त?' भन्ने हाे । हाे वाग्लेसित डीग्री छन्, अनुभव छ, परिकल्पना पनि हाेलान् तर के ती नेपालका लागि कति उपयाेगी हाेलान् त? के स्वर्णिम वाग्ले अाँफूले तालीम गरेका व्यक्तिहरूद्वारा विपन्न देशलार्इ विपन्न राखीराख्ने र तिनका सामाजिक, राजनीतिक, सांस्कृतिक, अार्थिकलगायतका नीतिमा कब्जा गर्ने पश्चिमी नवउपनिवेशवादकाे दुश्चक्रमा अपवाद हाेलान् त? भियतनाममा बसेका, चीनकाे अार्थिकनीतिमा समेत याेगदान गरेका भनिएका वाग्ले साँच्चै नेपाललार्इ चाहिएजस्तै अर्थशास्त्री हुन् त? यदि हुन् भने पनि उनले नेपालमा उचित अवसर र प्राेत्साहन पाउलान् त ? यिनै प्रश्नहरूकाे उत्तर खाेज्न हामीले अागामी दिनलार्इ पर्खनै पर्ने हुन्छ । 

पश्चिमी शिक्षा र प्रणालीमा भिजेका वाग्लेले पक्कै पनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले नेपालकाे विकास र याेजनालार्इ कुन ढंगबाट अगाडी बढाउन चाहन्छन् भन्ने बुझेकै, अनुभव गरेकै हाेलान्, यस परिप्रेक्ष्यमा  उनका सामु शक्तिकेन्द्रकै गाेटी बन्ने वा गाेटी बने झैँ गरेर अलिकति भए पनि देशकाे वास्तविक समृद्धिकाे प्रयास गर्ने विकल्प रहेका छन् ।  यदि उनले दाेस्राे विकल्प राेजे भने पनि उनले चाहेजस्ताे काम गर्न पाउने कुरामा पनि प्रशस्त शंका छन्, तैपनि उनले अामजनताकाे बाह्यअार्थिकसमृद्धिका लागि थाेरै भए पनि केही प्रभाव पार्छन् कि भन्ने अाशा भने लागेकाे छ ।

भूकम्प पछि अपेक्षा गरिए जस्ताे हुन नसकेकाे देशकाे पुनर्निर्माण, वैदेशिक राेजगारीमा प्रतिदिन बढ्दाे अार्थिक निर्भरता, कृषिमा अाएकाे ह्रास, अव्यवस्थित शहरीकरण, यातायात र उद्याेगकाे क्षेत्रमा हुननसकेकाे अपेक्षागत प्रगति,  उत्पादनमूलक भन्दा उपभाेक्तामूलक हुँदै गएकाे संस्कृति, देशभित्रकाे शिक्षा र स्वास्थसेवाकाे हुन नसकेकाे गुणात्मक प्रगति, युवाहरूमा घटेकाे अात्मविश्वास र अात्मगाैरवकाे अभावजस्ता अनेक विषयहरूलार्इ नेपालले वर्तमानमा गम्भीर भएर मूल्याङ्कन गर्ने अावश्यकता छ । देशकाे याेजना अायाेगले यी सबै क्षेत्रमा समकालीन विश्वसँग कसरी नेपालले प्रतिस्पर्धा गर्न सक्छ त भन्ने विषयमा ठाेस मार्गचित्र प्रस्तुत गर्नुपर्ने देखिन्छ ।  स्वर्णिम वाग्लेका समक्ष रहेका मुख्य चुनाैती पनि यिनै हुन् । 

उच्च सुविधाकाे अन्तर्राष्ट्रिय जागिर छाडेर कम सुविधाकाे नेपाली जागिर खान अाएका वाग्लेकाे ज्ञान र शीपकाे सही उपयाेगिता तब हुनेछ जब उनी नेपालमा रहनुले धेरै नेपालीहरूकाे अार्थिक विपन्नतामा उल्लेख्य कमी अाउनेछ । 

(चित्रः फेसबुक)




No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह