चरणदास चोरको कथा राजस्थान भारतको लोककथा हो । यसलाई राजस्थानकै लोककथाकार विजयदान देथाले लिपिबद्ध गरेका हुन् । यसलाई भारतीय नाट्यक्षेत्रमा प्रसिद्धि कमाएका छत्तीसगढका हबीव तनवीरले नाटकीय रूप दिए पछि यो कथाको प्रसिद्धि बढेको हो । हबीवकै नाटकमा आधरित रहेर सन् १९७५मा श्याम बेनेगलले यही नामको चलचित्र बनाएका थिए । नाटकको रूपमा यो कथा धेरै लोकप्रिय भयो । यसको अनेक भाषामा अनुवाद भयो र मञ्चन भयो । यसलाई नवलपरासीका रङ्गकर्मी आशान्त शर्माले नेपाली पश्चिम नेपालको परिवेश र लबजमा ढालेर अनुवाद गरे पछि यो नाटक नेपालमा पनि मञ्चन हुन थाल्यो । यसै क्रममा यो कथालाई पोखराका युवा रङ्गकर्मी निश्चल विमलले पोखरामा पुनर्जीवन दिएका छन् । कोरोना महामारी पछि सुषुप्त रहेको रङ्गकर्मलाई पुनर्जीवन दिने उद्देश्यले स्थापित नाट्यसमूह रेनेसँन्स थिएटरको प्रथम प्रस्तुतिको रूपमा रहेको यो नाटक अहिले पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भैरहेको छ ।
लोक नाटकको रूपमा रहेको यो नाटकको कथानकमा समाजमा घटित हुने अनेक चरित्रको चित्रण गरिएको छ । कथालाई शास्त्रीय आदर्शवादी दृष्टिकोण, मनोवैज्ञानिक दृष्टिकोण तथा मार्क्सवादी वर्गसङ्घर्षको दृष्टिकोणबाट समेत हेर्न सकिन्छ । कथा अनुसार चरणदास चोर एक इमानदार चोर हो , जो सत्यवादी छ । उसले आफ्ना गुरु समक्ष उसले पाँच कार्य नगर्ने प्रतिज्ञा गरेको छ । शुरुमा ती परिस्थिति कल्पनातीत लागे पनि समयक्रमले उसलाई तिनै काम गर्न पर्ने परिस्थितिमा ल्याउँछ । उसले अनेक कष्ट सहेर आफ्ना प्रतिज्ञा पालन गर्छ । कथाको अधिकांश समयलाई हास्यरसले भरिपूर्ण बनाउन खोजिएको छ भने कथाको अन्तरमा सामाजिक विसङ्गतिप्रतिको कटाक्ष पनि प्रशस्त रहेको छ ।
करीब २ घण्टा लामो नाटक प्रारम्भमा केही सुस्त लागे पनि अलिकति अघि बढे पछि भने अन्त्यसम्म नै दर्शकलाई निरन्तर बाँध्न सफल छ । नाटकको मेरुदण्डकै रूपमा रहेको मुख्य भूमिका निर्वाह गरेका शरदको चपलता तथा भावभङ्गी उत्कृष्ट छन् । हवल्दारको भूमिकामा रहेका ध्रुव पौडेल जमेका छन् । मुखियाको भूमिकामा रहेका मनोजको अभिनय जीवन्त छ । गुरु बनेका रमेश तिमिल्सिना र मन्त्री बनेका एमडी काफ्लेको अभिनयमा परिपक्वता र परिश्रम झल्किएको छ । रानी बनेकी एलिसाले आफू उत्कृष्ट कलाकार रहेको छाप छोडेकी छन् । पनि अन्य भूमिकामा रहेका कलाकारले पनि आ आफ्ना स्थानमा प्रभाव छोडेका छन् । मञ्चसज्जा धेरै सिर्जनात्मक छ । यो नाटकको सबल पक्ष भनेको यसको साङ्गीतिक पक्ष पनि हो । नाटकका मध्य मध्यमा बज्ने गीतहरूका अतिरिक्त पार्श्वध्वनिका रूपमा प्रयोग भएको शास्त्रीय आलापमा समेत रोम तामाङ श्रोताका रोम रोममा बस्न सफल छन् ।
स्थान र समयको अनुकूलता मिल्ने सबै नाट्यप्रेमीहरूले यो नाटक हेर्न पर्ने र अन्यलाई पनि हेर्न प्रेरणा दिनुपर्ने देखिन्छ । आशा छ दर्शकको मागले यसको मञ्चन अवधि लम्बिनेछ ।
स्थान: गन्धर्व नाटकघर, गैरापाटन, पोखरा, लिचीबोट पार्टि
प्यालेस नजिकै ।
मिति २०७८ मङ्सिर १ देखि १४ गतेसम्म ।
समय: बेलुका ५ बजे (शनिबार दिउसो १ बजे अतिरिक्त मञ्चन)
टिकट: रू. ५००, र रू. ३०० तथा
विद्यार्थीहरूका लागि रू.२००
चित्रहरूः रेनेसन्स थिएटरको फेसबुक
No comments:
Post a Comment