Wednesday, May 31, 2017

पैतालामुनि के छ ?


~शिव सङ्कल्प (कृति समीक्षा)

कृति: पैताला (उपन्यास)

लेखक: गनेस पौडेल
प्रकाशक: बुक हिल
पृष्ठ: ३६३
मूल्य: रू. ४००

गुणवत्ता: ✘✔✔✔✔



अनन्य मित्रहरू ‘भाषिक’ र ‘प्रेमिक’ गनेस पौडेलको ‘पैताला’को गृह लाेकार्पणमा पसे । भाषिकले कुनामा बस्ने आसन भेट्टायो । प्रेमिकले उभिएरै हेर्यो । तामझाम सकिए पछि भाषिकले रू. ३३० तिर्यो । प्रेमिकले पुस्तक झोलामा हाल्यो । यस अघि नै पुस्तकको प्रचारात्मक लघुचलचित्रबाट प्रभावित भएका दुवैले खोसाखोस गर्दै तीन दिनका तीन तीन घण्टे तीन बसाइमा पुस्तक धुल्याए ।
 

‘‘गनेस पौडेल त तँ जस्तै रहेछ, नाम देखि नै अशुद्ध (प्रेमिक हुँदैन प्रेमी मात्र हुनुपर्ने हो तेरो नाम भनेर भाषिकले सँधै भन्थ्यो प्रेमिकले भने भाषिककै प्रेममा उसैको नामसँग अनुप्रास मिलाउन आफ्नो नाम प्रेमिक बनाएको थियो ) अनि उसका पात्रका नामहरू पनि असंगत र अशुद्ध छन् । त्रुपक, स्त्रीका, जोस्मणि, व्रणतुका, लोथिरा, उत्किलन आदि आदि... अझ मलाई त कथा-कानुनको नु ह्रस्व लेखेको पनि मन पर्दैन । अनि यो परिच्छेदै पिच्छे न्यारेटर अनि आख्यानकारको पर्दा किन? फेरी एक ठाउँमा त पोखराका चल्तापूर्जा युवा गनेस पौडेल अरे... कथालाई बढी जेलेर पाठकलाई कुइराको काग बनाउन हो?’’ भाषिकले प्रश्न गर्यो ।

‘‘रहस्यात्मक सत्यलाई संकेत गर्ने साहित्य लेख्न सजिलो छैन । यसका लागि स्थापित विधिहरूमा नूतन प्रयोग गर्नै पर्छ , फेरी सूत्रधारको अवधारणा र समयातीत पात्रहरूको प्रयोग सर्वथा नयाँ पनि हैन । वैदिक काल देखि नै यसको परम्परा छ । योगवाशिष्ठ यसको उत्कृष्ट उदाहरण हो । जहाँसम्म नामको प्रश्न छ, पाठकसँग पात्रको विशिष्ट पहिचान जोड्न यस्तो प्रयोग गरिन्छ । नेपालीको भाषिक शुद्धताको कुरा गर्ने हो भने पनि त्यसको मानक पनि उति प्रष्ट छैन । प्रेमी शब्दमा त्यति मजा छैन, जति प्रेमिकमा छ । व्याकरणको नियम अनुसार लेख्ने शिष्ट हैनन्, बरु शिष्टले लेख्ने भाषा यस्तो हुन्छ है भनेर बताउने काम चाहिँ व्याकरणको हो र यो कुरा साक्षात् भगवान् पाणिनिले बताएका हुन् । यो रहस्य तैँले   कैले बुझ्लास् खै ?  फेरी गनेस भनेको शिव पार्वतीको पुत्र हैन मलाई पनि मान्छेमा गनेस भनेर भनेको हो भन्ने तैँले सुनिनस् ?’’ प्रेमिकले सम्झायो ।

‘‘त्यसो भए उसले गनेस् लेख्ने हिम्मत गरोस् ... जे होस् पोखराको धर्तीमा बग्ने दैविककाल(उसो त मलाई दैविककाल भनेकै मन परेको छैन...)का नदीको नाम सैहान दरिया अनि फुरत अरे,  अनि चितवनका अमु दरिया र नाइल नदी अरे ! अनि कच (पुस्तकमा लेखेजस्तो कछ चाहिँ  हैन है! ) र देवयानीलाई बाइबलका सामसोन र डेलिलाह अरे...कल्पनै गरे पछि नयाँ गर्नु, किन पुरानालाई छ्यासमिस पार्नु ?’’ भाषिकले सोध्यो ।

‘‘धेरै ल्याङल्याङ नगर् त’’ प्रेमिकले मोबाइलमा चिनियाँ पियानोवादक ल्याङल्याङको धून सुन्दै जवाफ दियो ‘‘कुनै पनि कुरा व्याख्या गर्दा ज्ञातबाट नै अज्ञाततर्फ लगिन्छ, तसर्थ ज्ञात कथाहरूकै सहारा लिइएको हुनुपर्छ ।’’ 

एकछिन दुवै जना पियानोमा भुले पनि एकछिन पछि भाषिकले पुनः सोध्यो ‘‘यो ‘इग्नोरेन्स इज ब्लिस’ हैन र यहाँ त ‘इनोसेन्स इज ब्लिस’ लेखेको छ त ?’’

‘‘कुरा एकै हो, अज्ञान र अबोधपन फरक जस्तो देखिए पनि एकै कुरा हुन् । शायद टुथलेसले पनि इग्नोरेण्ट भन्दा पनि इनोसेण्ट भएर नै गीत गाएका हुन् । फेरी इग्नोरेन्स इज ब्लिस भन्ने मान्ने हो भने पनि, वास्तविक टुक्का के हो भनेर नजान्नु पनि त ब्लिसै हो नि ।’’ प्रेमिकले टुथलेसले गाएको ‘‘इनोसेन्स इज ब्लिस’’ बजाउँदै भन्यो । 

एकछिन दुवै ‘‘इनोसेन्स इज ब्लिस’’मा भुले । 

गीत सकिएपछि भाषिकले अर्को प्रसङ्ग झिक्यो ‘‘यौनलाई शृंगारिक रूपमा प्रस्तुत गर्नु आख्यानकारको सफलता मानिन्छ तर ‘शिवजीले जाँघेभित्रबाट दर्शन दिइसकेका थिए’ ‘मेरो छुर्पी फुट्यो’ ‘लिपिस्डिक’ जस्ता शब्दावलीले आख्यानलाई निम्नकोटीको व्यक्तिगत संस्मरण जस्तो बनाइदिएको छैन र ? अनि ‘अग्निहोत्रमा मुते’को र त्यसअघिको वर्णनले आख्यानलाई धेरै झर्रो बनाएको र  शिष्ट शब्दावलीको प्रयोग गर्न खोज्दा पनि त्यो ‘सकल चिम्पाञ्जीकी सादर अवतार’,‘पिपालु पदार्थ सरीसृप’ जस्तो असंगत र अस्वाभाविक  बनेको छैन र ? फेरी यस्ता प्रसङ्ग अस्वाभाविक रूपमा पुनः पुनः आउनु उत्तम साहित्यमा हुने गुण हो त ?’’ 

‘‘हो प्रासङ्गिक र कलात्मक रूपमा यौनचर्चा हुनु साहित्यको पुरातन मान्यता नै हो तर यसको उत्कृष्ट प्रयोगमा आख्यानकार सावधान हुनै पर्छ । यहाँ पनि आख्यानकारले राम्रा शब्द र बिम्ब प्रयोग गर्दै नगरेका भने होइनन् । जस्तै ‘प्राग्ऐतिहासिक सभानातिर हुर्किएको कुनै पिँडालुको गानाजस्तो’ ‘रतिरागले उन्मत्त’ ‘पुरानो खाट ढुङ्गाले हानेको कुकुरले जस्तै कुईँकुईँ गर्दै’,‘कल्पकुण्ड’ जस्ता शब्द र वाक्यांश तत्तत् स्थानमा कलात्मक रूपमै प्रयोग भएका छन्’’ प्रेमिकले आख्यानकारको बचाउ गर्यो ।

भाषिक फेरी शुरु भयो ‘‘जोस्मणिले १९९३ फेब्रुअरिमा बोकेका औषधिमा एमजिट र जीवनजल त ठिकै छ तर निम्स र साइनेक्स जस्ता भविष्यका औषधि समेत बोकेको त उदेकै हो । हुनत टाइम स्लीपमा भूतकालमा पुगेर अर्चनासँग संसर्ग गर्ने उसले भविष्यका औषधि बोकेकोलाई त खासै के नौलो मान्नु र ? अनि यो पटनादेखि बिक्रमगञ्ज हुँदै जाने मणिपुर कुन हो ? पूर्वोत्तरको त पक्कै हैन होला? कि यो पनि चितवनको नाइल नदी जस्तै हो ?’’ भाषिकको प्रश्नमा व्यङ्ग्य थियो । 

‘‘हैन यो मणिपुर बिहारकै रोहतास जिल्लामा पर्ने अर्कै मणिपुर हो’’ प्रेमिकलाई भूगोलको राम्रो ज्ञान रहेछ । भाषिकको जिज्ञासा पनि मेटाइदियो । तर उसले भूत र भविष्यको प्रश्नलाई भने उपेक्षा गर्यो । समयातीत भयो ऊ ।

‘‘अनि यस्तो पुङ न पुच्छरको रङ्ग न रूपको पुस्तक पढेर के लाभ छ त ?’’ भाषिकले पुनः सोध्यो ।

‘‘के तिमीलाई मिथिलाको ठकवक तन्त्रको बारेमा थाहा थियो ? जनकपुरका सरोवरहरू, गुल्मी र मुस्ताङ र डोल्पाका विकट गाउँहरू अनि नेपालगञ्जका मस्जिदहरूका नाम के के हुन् ? याद गरेका थियौ ? लोमान्थाङ गाउँमा गएर झोपाको दुध र साम्पा खाएका थियौ ? रुमीका कविता र सूफी दर्शनबारे खोजेका थियौ ? निर्गुण भजन गाउने सिद्ध शशिधरका चेलाहरूका बारेमा सुनेका थियौ ?  के मुन्धुमभित्र के छ कहिल्यै घोरिएका थियौ तिमी ? मुजिङ्ना खेयङ्ना को हुन् ? चिनेका थियौ? विज्ञान भैरव तन्त्र के हो र षट्चक्र भेदनको रहस्य के हो त्यो जान्न कहिल्यै प्रेरित भएका थियौ ? ‘मान्छेको उमेर ढल्किन  (परिपक्व हुन) मात्रै यौटा संसर्ग काफी हुन्छ मित्र’ र यो ‘पैताला’को संसर्ग पनि त्यस्तै हो । यो पुस्तक पढ्यौ र यसका प्रसङ्गलाई पुनः अनुसन्धान गर्यौ भने जीवन र जगत्को बारेमा धेरै बुझ्नेछौ ।’’ प्रेमिकले यसपटक सम्मानजनक रूपमा तर एक सासमा भन्यो ।  

‘‘कल्पनाशीलता, आख्यानकारको विशेषाधिकार, सरलता त सबै ठीकै छ तर भाषिक शुद्धता पनि त महत्त्वपूर्ण कुरा हो ‘सर्वं मम’ लाई सर्वमम (पृ. १४३) लेख्नु अघि मूल पाठ खोजेर हेरेको भए के हुन्थ्यो ?  ‘लामखुट्टे निरूपण गर्न ... धूप बालिएका’ (पृ. १४८) लेख्दा वाक्यमा निरूपणको अर्थ के भयो ? घोत्लिएको भए के हुन्थ्यो ? राहुल द्रविडलाई  द्रबिड लेखे पनि एकै पंक्तिको फरकमा द्रबिण (पृ. १७५) नलेखेको भए कति सुहाउँथ्यो ? ‘यौनिक’(पृ. ३१३)  को सट्टा यौन मात्रै लेखेको भए के हुन्थ्यो ? ‘दुःख झेलना होगी’ (पृ. ९०) लाई डाइलेक्ट र धम्मपदको ‘विपाकं पटिसेवति’(पृ. ३५५)लाई पाठभेद माने पनि गीतालाई उद्धृत गर्दा ‘सर्वभूतेषु’लाई ‘सवैभूतेषु’ लेख्नु (पृ. ३५४) अघि अल्लि घोरिएर रुजु गरेको भए के हुन्थ्यो ? ‘स्वान्तसुखाय’(पृ. ३५९)को साटो स्वान्तःसुखाय लेखेको भए कति जाति हुन्थ्यो?’’ भाषिक अझै भुत्भुताउँदै थियो....

‘‘हो भाषिक रूपमा शुद्ध हुन प्रयास गर्नु उत्तम हो । भाषिक शुद्धताले वाक्यका अलङ्कारहरूलाई अझ निखार्छ । तर पनि कथावस्तुको गुरूत्त्वमा यो गौण नै हो । पाठकको कथानकसँग बस्ने प्रेम नै महत्त्वपूर्ण हो । आख्यानकारको क्रिस गेल (पृ. ११) र अलेक्जेण्डर वालेट (पृ. ६२)लाई कुम्भकर्णसँग तुलना गरेको प्रयोग, ‘आधुनिक खेतीले उत्तर आधुनिक ऋणको भारी बोकायो’ (पृ. १४), ‘शौचालय फोहर हुँदैमा मान्छेलाई पिसाबले च्याप्न कहाँ छोड्छ ? भोक त विखर्ची बटुवालाई पनि लागिहाल्छ’ (पृ. २७), ‘निर्लुक्क हरियो’ (पृ. १६१), ‘निर्लुक्क सेतो’ (पृ. २६१),  ‘हर्लिक्सको शीशीमा राखेको तामाको अचार जस्तै चाँच्चाडो गरेर छिप्पिँदै थियो रात’ (पृ. २७४) जस्ता प्रयोगहरू उत्कृष्ट छन् । हुन त तिमी सुकाराम (पृ.२५८) हो कि सुकराम (पृ. २७०) भनेर टाउको दुखाउन पनि सक्छौ तर यसको पनि अर्थ छैन किनभने ऊ त उजिर पो हो ।’’ प्रेमिकले भन्यो ।

‘‘यो कल्पनै गरे पछि, ओढार बाहिर ढुङ्गाको पर्खाल लगाउँदा सोच्नासाथ पर्खालै तयार गर्दिएको भए के जान्थ्यो र ढुङ्गा उचालेकै ठाउँमा अर्को ढुङ्गा राख्दिएको होला ? (पृ. २७८)’’ यसपटक भाषिक पनि अलिकति विनोदप्रिय सुनियो । 

‘‘त्यसरि खेद्दै जाने हो भने त यो सृष्टि के र  किन? भन्ने महा प्रश्नमै पुगिन्छ । कल्पनामै पनि सीमितता हुन्छ नत्र सुन्दरता हुँदैन ।’’ प्रेमिकको जवाफमा आध्यात्मिक चेत सुनियो । 

एकछिन दुवै निःशब्द रहे । एकछिन पछि मोबाइलमा सन्देश आएको टोन बज्यो । 

‘‘कतै ९८१६६८७७१३ बाट त हैन? जेसुकै होस् तैँले बाट त्यो नम्बरबाट आउने सन्देश पछिका पंंक्तिहरू हरेक पटक पढिस् ? मैले त दुई तीन पटक पछि पढ्न छाडिदिएँ । यसले मेरो समय बचत गर्यो । बरु मैले एक पटक त्यो नम्बरमा कल चाहिँ गरेँ । दुई तीन घण्टी गएपछि भने डराएर फोन काटिदिएँ ।’’ भाषिकले  हाँस्दै भन्यो ।

‘‘हाहा...... मलाई पुस्तक भरी सबैभन्दा मन परेका पंक्ति थिए ती । मैले तिनलाई हरेक पटक पढेँ । ती पंक्तिहरू मलाई कण्ठस्थ छन् ...... ‘म्यासेज पठाउनेलाई कलब्याक गरेँ । तीन घण्टी गयो अनि ट्वाँट्वाँ गर्यो । अर्को पटक पनि गरेँ , दुई घण्टी गयो अनि काटियो । व्यस्त छ भनेर डिजिटल सुन्दरी कराई । त्यसपछि मोबाइल स्विच् अफ् भएको खबर आयो’ यै होइन? ’’ प्रेमिकले सोध्यो ।

‘‘हाे ... ... तर त्यसरी मोबाइलमा बोल्नेहरू वास्तविक जीवनमा सुन्दरी हुँदैनन्’’ भाषिकले निराशापूर्वक भन्यो ।

‘‘गलत!,  वास्तविक जीवनमा असुन्दरीहरू कोहि हुँदैनन् ।’’ प्रेमिकले उत्तिखेरै कुरा काट्यो ।

‘‘जसरी सबै कलाकारहरू पिकासो, दा भिन्सी वा दुर्गा बराल हुँदैनन्, त्यसै गरी सबै पाठकहरू प्रेमिक हुँदैनन्’ कुनैदिन होटलमा बस्नुपरेको खण्डमा म सकेसम्म कोठा नं २०७ मा नै बस्न प्रयास गर्नेछु । के थाहा ? कसैले सञ्जीवनी विद्या र शक्तिशाली रसायनको रहस्य खोल्ने चिठी छोड्छ कि ?’’ प्रेमिकले मुसुक्क हाँस्दै भन्यो । 

‘‘हो तर अन्त्यमा भेटिएको पात्रलाई प्रचण्ड बनाएर आफ्नो उपन्यासलाई ‘बुन्यो...बुन्यो... बुन्यो... बुन्यो... ध्वार्र’ पारेको कस्तो हो नि?’’ भाषिकले सोध्न छाडेको थिएन ।

अब भने प्रेमिकलाई भाषिकको कुरा सुनेर बस्ने ‘तडी’ थिएन, उसका बकबकले ऊ ‘हुर्रा’ भैसकेको थियो ।  अब ऊ कार्ल मार्क्सकाे उद्धरण मुनिको क्यूआरकोडमा मोबाइल किलिक्क पार्दै जेन संगीतमा डुब्यो । संगीत चलिरह्यो । भाषिकलाई पट्यार लाग्याे । उसले सहन सकेन । ऊ उठेर गयो । तर प्रेमिकलाई दुई घण्टाभन्दा लामो संगीत पनि पट्यारलाग्दो थिएन । उसले आनन्द मान्दै सुन्यो । ‘सबैको समय समान गतिमा चल्दैन । शायद भाषिकको भन्दा चाँडै चलिरहेको थियो प्रेमिकको समय ।’  

मानौँ संगीतले भनीरहेको थियो ...

‘जे छ ठिकै छ, साहसी छ, राम्रो छ...’




No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह