Tuesday, December 2, 2014

प्रथमप्रीति ( रेडियाे सारङ्गी ९३.८ पाेखराबाट प्रसारित गीतिकथा)

त्याे सांझ जब मैले तिमीलाई देखेँ , त्यो मेरो जीवनकै एक महत्वपूर्ण क्षण बन्न पुगेको थियो । दिन ढलेर साँझ, पर्दै गर्दाको गोधूली बेलामा, फेवातालको किनारमा आफ्ना संगिनीहरु संग डुलीरहेकी तिमी, अनायासै मेरो नजरमा परेकी थियौ । तिम्रो ठूलो चौडा निधार, हँसिलो अनुहार, अनारदाना झैँ मिलेका दाँतका लहर, लहराई रहेको लामो कपाल र तिम्रो  हस्तिनीको जस्तो चाल जो कोहिलाई पनि घायल पार्न पर्याप्त थियोे । सन्ध्याकालीन भ्रमणमा व्यस्त रहेका मानिसहरुको त्यो भीडमा अचानक तिम्रा आँखा मेरा आँखासँग जुधेका थिए । त्यसपछि तिमी मन्द मुस्कुराएकी थियौ । यौटा शब्दातीत अनभूति थियो त्यो ।  तिम्रो  मुस्कानको  र तिम्रो नजरको बयान गर्नु  मेरो क्षमता भन्दा धेरै धेरै परको कुरा थियो ।

त्यो नजरको बयान===

त्यो साँझ, तिम्रो नजरको सरोवरमा एकपटक गहिरो गोता लगाई सके पछि मलाई सर्वांग रोमाञ्च भएको थियो । त्यसमाथि पनि त्यो अवर्णनीय मुस्कानको विनिमयले निश्चय पनि मेरो मनमा भयंकर आँधी चलाउन सफल भएको थियो । मेरो मन यति पुलकित थियो कि त्यसको कुनै सीमा नै थिएन । अर्को सांझ पनि म आफ्नो संध्याकालीन भ्रमणको सिलसिलामा पुनः उही फेवातालको किनारमा पुगेको थिएँ । मेरो मनमा यौटा प्रबल आशा थियो कि तिम्रा आँखाको सागरमा पुनः डुब्ने अवसर प्राप्त हुनेछ । मेरो प्रतीक्षाको फल मीठो थियो । त्यो दिन पनि पुनः तिमी आएकी थियौ र हाम्रा आँखा पुनः उसै गरी जुधेका थिए । आजको मुस्कान हिजोको भन्दा अभैm आत्मीय बनेको थियो । त्यतिबेला पहिलो पटक मलाई लागेको थियो कि तिम्रा भावनाहरु पनि मेरा भन्दा पृथक् थिएनन् ।
      
तिम्रो आँखाको सागरमा===

यो क्रमले अब निरन्तरता पाउन लाग्यो । तिम्रो एक झलक पाउनका लागि भने पनि साँझको एक पटक म फेवा किनारमा पुगेकै हुन्थेँ । मलाई लाग्छ तिम्रो मनमा पनि शुरुका दिन केहि कौतुहल भावले अवश्य वास गरेको हुँदो हो तर समयसँगै यो भाव स्पष्ट हुँदै आयो कि हामीबीच केहि न केहि अभौतिक सम्बन्ध अवश्य रहेको छ । हामीमा वार्तालाप हुँदैनथ्यो अझ साँचो अर्थमा भन्नु पर्दा यसको आवश्यकता पनि हामीलाई कहिल्यै अनुभव भएन । हाम्रो शब्दातीत सम्बन्ध यति स्पष्ट र परिभाषित लाग्दथ्यो कि यसमा जन्मजन्मान्तरको गहीरो नाता रहेको छ । केवल एक अर्काको सामिप्यले नै दुबैलाई एक अवर्णनीय सुख दिन सक्षम हुन्थ्यो । साँच्चै भन्नु पर्दा हाम्रो बीच यौटा अविभाज्य आत्मिक सम्बन्ध स्थापित भैसकेको थियो ।  यो यौटा अलौकिक अनुभव थियो । 

तिमी देउ या नदेऊ===

दिनहरु बित्दै गए । तर हाम्रा भावहरु झन् झन् प्रगाढ बन्दै गईरहेका थिए  । वर्षा वित्यो, हिउँद लाग्यो । हिउँद पनि बित्यो पुनः वर्षा लाग्यो । समयचक्र चलीरहेको थियो । यस्तो लाग्थ्यो वर्षा, हिउँद, दिन, रात, झरी, बादल, फूल पात यी सबैले हाम्रै अभिनन्दन गरीरहेका छन् । हामी  हामी भने सारा संसारबाट अनभिज्ञ एक अर्काको छाँयामा गहीरो गरी डुब्न पुगेका थियौँ । सारा स्थावर जंगम चराचर जगत्कै केन्द्रमा हामी आत्मिक रुपमै एकाकार भैसकेका थियौँ । अब हामी बीच एक अर्काको सहारा भनेकै यही आत्मीय भाव हुन लागीसकेको थियो । अब हाम्रा बीच सुन्नु र भन्नु समेत यही आँखाकै भावद्वारा हुन लाग्यो ।

सुन भन===


मलाई अझै पनि हिजै जस्तो लाग्छ । एक दिन ममा यौटा विनोदी भाव पैदा भएको थियो । फेवा किनारमा संधै झै तिमी बसीरहेकी थियौ । तिम्रा संगिनीहरु छुटीसकेका थिए । त्यो दिन म केही ढीला पुगेको थिएँ । मलाई तिमीलाई मेरो प्रतीक्षामा व्यग्र भएको हेर्नु थियो । तिमी झुकेकी थियौ । तिम्रा आँखा झुकेका थिए । यौटा तीव्र छटपटीको मनोदशा तिमीमा छरपष्ट भएको थियो । अचानक म तिम्रो पछाडी उभिन पुगेको थिएँ । तिमीले एकोहोरो गरी ताल हेरीरहेकी थियौ । अचानक कोही व्यक्ति आफ्नो पछाडी उभिन पुग्दा तिमी झसंग परेकी थियौ । तर तालरुपी ऐनाको प्रतिबिम्बमा देखेर नै तिमीले मलाई चिनेर छक्क परेकी थियौ । यौटा अलौकिक लज्जाको भाव तिमीमा सर्वांग पोखिएको थियो ।

ऐना भनेर हेर्छु ===


यसरी प्रीतिका गम्भीर भावहरुमा निमग्न हुँदा यस्तो लाग्थ्यो कि समय विलुप्त भै सकेको थियो । हामीहरु पूर्णतया एक अर्कामा ओतप्रोत भैसकेका थियौँ । बसन्त ऋतुको फूल र भ्रमर जस्तै । एकअर्कामा पूर्ण समर्पित । शाश्वत प्रीतिको यौटा अनन्य उदाहरण बनेका थियौँ हामी । भौतिक सम्बन्धभन्दा पनि धेरै पर आध्यात्मिक तहमा मग्न हुन थालिसकेका थियौँ हामी । तर प्रकृतिको नियम, हरेक भौतिक तत्वको क्षणभंगुरताको प्रतीक, राग र वासनाको अविभाज्य मोहपाशमा पनि हामी बिस्तारै परीसकेका थियौँ । यस्तैमा, अचानक हाम्रो भौतिक सान्निध्यको क्रम रोकिने अवस्था पनि सृष्टि भयो तर जति नै टाढा भए पनि पीरतिको मीठो तिर्सना त्यसै चट्ट बिर्सन कसरी नै सकिन्थ्यो र === 
      
पिरतीको मीठो तिर्सना===

जति नै भौतिक दूरी भए पनि मनका आत्मिक भावहरु कहाँ नष्ट हुन्छन् र == ती त अजर र अमर बनेर सदा सदाकालसम्म भावनाकाशमा रहीरहन्छन् नै । हामी बीच एक अर्का प्रतिका प्रेम र समर्पण भावहरु झन् झन् बढ्दै झ्यांगिँदै थिए । तिम्रा भावनाका लहरहरु मनकै बाटो गरी मेरो मनसम्म आईपुग्थे । कति निश्छल, निष्कपट र पवित्र थिए ती भावहरु । शायद मनकै बाटो गरेर मेरा भावहरु पनि तिम्रो हृदयको अन्तःकरण सम्म पुगेका थिए । वर्तमान जीवनलाई उत्कृष्ट बनाउने, सँगै बाँच्ने, सँगै मर्ने सम्मका भावले भरिएका भए तापनि जन्मजन्मान्तरसम्मको मिलनको आसक्तिले भरीपूर्ण थिए  ती भावहरु ।

सयौँ जुनी पाउन===


समयको गति अनवरत थियो । मिलन पछि विछोड र विछोड पछि मिलनको शाश्वत चक्रमा हामी पनि घुमीरहेका थियौँ । जब भावनाहरु सुदृढ हुन्छन् बाधाहरु स्वतः परास्त हुन्छन् । तिम्रा गहिरो प्रेमभावको प्रभावले गर्दा नै हाम्रो जीवनमा आई परेका सारा बाधाहरु एक एक गर्दै परास्त भएर गए । जीवन यौटा सुखद दिनको अपराह्न झैँ गमक्क गम्किरहेको थियो  जसमा उत्साह र उमंगरुपी मन्द मन्द बतास चलीरहेको थियो । सिरि सिरि चलीरहेको यो बतासलेले प्रीतिरुपी बाबरी फूलको मगमग सुगन्धलाई बोकेर ल्यायो 

सिरीमा सिरी नि बतासै चल्यो===


संघर्ष नै जीवनको पर्याय हो । सारा बाधालाई चिर्दै , जीवनका हरेक अप्ठ्यारालाई पन्छाउँदै हामी अगाडी बढीरहेका थियौँ । हरेक उकाली र अप्ठ्याराहरुमा तिमीले मेरो पूरा साथ दिएकी थियौ । तिम्रो सहनशीलता, विनम्रता र दृढसंकल्प र अपूर्व समर्पणभाव प्रति म पनि हृदयदेखि नै  नतमस्तक थिएँ । विभोर थिएँ । हर्षित थिएँ । आनन्दित थिएँ । मानौँ म एउटा यौटा फूल थिएँ , लालीगुराँस फूल जो वनैभरी र तिम्रो मनै भरी ढकमक्क फूलेको थिएँ ।

म त लाली गुराँस भएछु ====


धेरै पढिएकाे

पृष्ठ संग्रह