खाेजी गर्नुहाेस्
Monday, July 29, 2024
पोखरामा साउनको एक दिन
पोखरामा वसन्तै झैं निस्के श्रावणका दिन ।। १ ।।
पूर्वाह्नमा घाम चढ्यो, चर्को झर्को बढी भयो
पसिनाका बगे धारा, लाग्यो यो मध्य-ग्रीष्म हो ।। २ ।।
अपराह्न भयो फेरी ग्ड्याङ्ग बादल गर्जियो
वर्षा भयो ठुलो भेल चल्यो चट्याङ बज्रियो ।। ३ ।।
साँझमा मेघ त्यो फाट्यो, खुला आकाश देखियो
पूर्णिमा श्रावणी हेर, शरद्को पूर्णिमा बन्यो ।। ४ ।।
शनै: शनै: रात ढल्यो, वायुमा आर्द्रता बढ्यो
हेमन्तको सिरेटोको झझल्को यसले दियो ।। ५ ।।
प्रात:काल चल्यो हावा, काँप्यो अधर थर्थरी
प्यारो सिरक लाग्दैछ रातको शिशिरै सरी ।। ६ ।।
२०८१ श्रावण ५
Friday, June 21, 2024
स्व-विचरण (कृति समीक्षा)
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि ।
लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।।
(वज्रभन्दा कठोर र फूलभन्दा पनि
कोमल ती महान् व्यक्तिहरूको हृदयलाई कसले
जान्न सक्छ र ?)
~उत्तररामचरितम्
।
सात वर्ष अघि गनेस पौडेलको पैतालामुनि के छ ? भनेर
खोस्रने र तीन वर्षअघि दीपक पराजुलीको कृतिमा सत्य र मिथ्या खोज्ने भाषिक र प्रेमिकले सरस्वती प्रतीक्षाको स्व भेट्टाए । पोखरा निवासी अक्षरव्यसनी
शिव सङ्कल्पकी एघार महिनाकी कान्छी छोरी अपालाले यसको स्वगृह विमोचन गरिन् । विमोचन गर्दै गर्दा उनका कोमल हातहरूले
उपन्यासको पृष्ठ १५० को छेउमा अनायासै च्यात्न पुगे । पछि
पुस्तक पढ्दा प्रेमिकले थाहा पायो त्यहाँ त उनै अपालाको नाम रहेछ ।
‘सरस्वती
प्रतीक्षाको कलम प्रवाहमय छ ।’
यसपटक भाषिकले शुरु गर्यो ।
‘सप्तमले एसएलसीमा उच्च अङ्क ल्याएको कुरा अनेक
स्थावर जङ्गमहरूलाई सुनाएको अनुच्छेद (पृ.३९) अनि सप्तम र काव्यालाई दिइएका
उपमाहरू (पृ.१२९) प्रवाहमय बनेका छन् । हर्पन खोला (पृ.४७), पोखरा वरिपरिका
डाँडाहरू (पृ.५८), खपौदी, सेदी (पृ.६१), बाटुलेचौरका बिम्ब र प्रसङ्गले
पोखरेली सुगन्ध बोकेका छन् । उपन्यासमा
प्रयुक्त मादिकिनार, खसीलाल, अँधेरी जस्ता नामहरू उदेकलाग्दा लागे पनि सप्तम,
काव्या, अपाला, वैदेही जस्ता नामहरू भने अति सुन्दर सुनिएका छन् । उनले गरेका
उज्जर (पृ.५), रनाहा (पृ.२०), मखलेल (पृ.२८), पोयो (पृ.१२३), लहरी (पृ.१७०)
जस्ता शब्दहरूको प्रयोग सुन्दर लागेको छ । संवादमा प्रयोग गरिएका गरम् , दिम् ,
जाम्, बसम्, हिँडम् जस्ता शब्दहरूले तथाकथित मानक गरौँ, दिउँ, इत्यादिभन्दा धेरै
सुललितता थपेका छन् । पुस्तकको कथानक र दर्शनको बारेमा त तिमीलाई नै बढी थाहा
होला तर मलाई त सप्तम बोधिनगरबाट फेरी
होसमा आउँदा होसका पात्र र बोधिनगरका पात्रको साम्य भेटेको पढ्दा विक्टर फ्लेमिङको
पुरानो प्रसिद्ध चलचित्र ‘विजर्ड अव अज’ को पो सम्झना
भयो ।’
‘अरे के
अचम्म हो यो ? तिमी त छिद्रान्वेषी मान्छे । तिमीले त यो
पुस्तकमा पनि पहिलेका पुस्तकमा जस्तै अनेक छुद्र शाब्दिक त्रुटिहरू गनेर गनगन गरौला
भन्ने लागेको थियो । तिमी त यसको प्रशंसा पो गर्दैछौ आज घाम कताबाट उदाए होलान् कि तिमीले अक्षरका छिपछिपे
बान्की केलाउन छाडिदिएर त्यस भित्रका मर्महरूमा प्रवेश गर्न सिकेका हौ ?’
प्रेमिकले
व्यङ्यात्मक पारामा सोध्यो ।
‘हैन, साँच्चै नै यो पुस्तकमा समकालीन अन्य पुस्तकका तुलनामा त्यस्ता त्रुटिहरू कम छन् । शायद यसपटक भाषा सम्पादकले ठिकठाक काम गरेका छन् अर्थात् प्रकाशकले भाषा सम्पादनमा ठिकठाक लगानी गरेजस्तो छ ।’
भाषिकले हाँस्दै भन्यो ।
‘अरे के भन्दैछौ ? तिमीजस्तो छिद्रान्वेषीबाट यस्ता कुरा ? पत्यार लागेन भो, केही त भन । के यो पुस्तकमा भाषिक त्रुटि नै छैनन् त ?’
प्रेमिकले अचम्म मानेर सोध्यो ।
‘त्रुटिरहित त संसारमा के हुन्छ र ? यो पुस्तकमा शाब्दिक त्रुटिहरू हुँदै नभएका भने होइनन् । तिमी जिद्दी नै गर्छौ भने म केही उदाहरण भन्छु सुन । ‘विशद्’ (पृ. ई), ‘भेषभुषा’ (पृ.१७२), यथेष्ठ (पृ.२७०) जस्ता हिज्जेहरूका त्रुटिमा तथा ‘तुस’ हुनुपर्नेमा ‘तुष’ (पृ.२७), कुँजिएकी नभनेर कुञ्जिएकी भएको (पृ.३३), एकाकीपन हुनुपर्नेमा एकाङ्कीपन भएको (पृ.१३३) इत्यादिमा भने सम्पादक सुलुत्तै चिप्लिएको देखिन्छ भने ‘असमयमै’ हुनुपर्नेमा ‘असमयकै’ (पृ. आ), ‘चौधौँ’ हुनु पर्नेमा ‘चौध’ भएको (पृ.१), एकै पङ्क्तिमा मित्रवत र मित्रवत् (पृ.१६५) लगायतका सामान्य प्रुफ अशुद्धिहरूमा भने हल्का चिप्लिएको मान्न सकिन्छ ।’
‘अनि अङ्ग्रेजीमा तालव्य श उच्चारण हुने शब्दहरूलाई पनि नेपालीमा लेख्दा दन्त्य स लेख्ने हिजो आजका नेपाली महावैयाकरणहरूले बाँधेको नियमलाई पछ्याउँदा बनेका सेयरिङ (पृ. ऐ), प्रोफेसन (पृ.१८), जोन न्यास (पृ.१४६) सप (पृ.१४७), सर्ट (पृ.१४८) जस्ता शब्दहरू उच्चारणमा सावधान हुन चाहने पाठकहरूका लागि विभ्रमजनक हुँदा रहेछन् भन्ने मलाई लागेको छ ।’
‘सरस्वतीको लेखनमा अङ्रगेजी शब्दहरू प्रशस्त छन् । मिस, ब्रेकअप, ह्याङ, प्यासन, एक्सपायरी डेट, प्रोफेसन, मास्क, फिल, स्पेस, करिअर, पेन्डुलम, वानपिस, थेरापी, थेरापिस्ट, टर्चर, रिजर्भ, बेसिक, क्लिन्जिङ, डिप क्लिन, सोलो ट्रेक, सेन्स अफ ह्युमर, सेलिब्रेट, टिजर, ट्रेलर, इन्टेररियर डिजाइन, प्याकेजिङ, प्याकेटिङ, मेटाफिजिकल, स्पेसक्राफ्ट, फ्यान, इमेज, प्याटर्न, रुट, मर्निङ वाक जस्ता शब्दहरूको प्रयोग अधिकांश स्थलमा स्वाभाविक बनेर आएको छ । शायद हाम्रा कानहरू यी शब्दहरूमा धेरै नै अभ्यस्त भैसकेर होला । बरु यतिका अङ्ग्रेजी शब्दहरू सहज तरिकाले लेख्ने लेखकले बच्चा जन्मेपछिको एक मिनेटलाई पारिभाषिक रूपमा नै भनिने गोल्डन मिनेट चाहिँ नभनेर सुनौलो मिनेट भनेको पो मलाई नौलो लागेको छ त ।’
‘अनि फेरी डब्ल्यु एच प्रश्नहरू भन्ने परिच्छेद नै राखिनु भने कता कता कस्तो कस्तो लागेको छ । ह्वुज (पृ.८८), पल्पिटेसन (पृ.१०५, ११९), लेफ्टिज (पृ.१३१) अस्वाभाविक छन् । प्याल्पिटेसन नभने पनि कम्तिमा पाल्पिटेसनसम्म भने बिसेक हुन्थ्यो । पटक पटक आएको मिनिमालिजमलाई मिनिमलिजम नै लेखेको भए जाती हुन्थ्यो । इन्टरमिटेन्ट फास्टिङलाई इन्टरमिटेड भन्दा (पृ.१४७) घक्रक्कै गडबड सुनिएको छ ।’
‘ओम् ध्वनिको विच्छेद गर्दा अ उ म नभनेर ए उ म भनेको (पृ. १०६) चसक्कै बिझाउँछ । शायद यसको सन्दर्भ अङ्ग्रेजीमा पढिएकाले हो कि ? जस्तो लाग्छ । अभिधम्मपिटकलाई अधिधम्मापिटक (पृ.२६१) लेखिएको देख्दा पनि त्यस्तै लाग्छ । गीताको अत्यन्त प्रसिद्ध श्लोकको उद्धरण गर्दा पनि साधूनाम, चः दुष्कृताम्, सम्भवामी (पृ.१३६) जस्ता अशुद्धि हुनु पनि पच्दैन । अनेक पटक स्वयंसेवक जस्ता शब्दहरूको पूर्वभागमा आएको स्वयंलाई स्वयम् लेखिनु खट्कन्छ । दुःखातिरेक नभनेर अतिरेक दुःख भन्नु असङ्गत सुनिन्छ । पालि भाषाको रहेको शायद पुस्तकमा सबैभन्दा महत्त्व दिइएर अनगिन्ती पटक लेखिएको ‘अप्प दीपो भवः’ मा रहेको अन्त्यको विसर्ग पनि प्रत्येक पटक बिझाउँछ ।’
भाषिकले लामो भाषण गरेर विराम लिए पछि प्रेमिकले शुरु गर्यो ।
‘तिमी सुध्रियौ भन्ने ठानेको त के को हुन्थ्यो ? यी काला अक्षरका अवयव केलाउँदा बोक्राले तिमी बुज्रुक जस्तो देखियौ तर गुदीले चाहिँ तिमी के भयौ ? कहिल्यै यस बारेमा सोचेका छौ ? हो यो यस्तै काला अक्षरहरूद्वारा बिझाइएर बस अब तिमी । शब्दातीत भएर साँच्चै स्वयंप्रकाश भएर हेर्ने गति तिम्रो यो जुनिमा पुग्ला जस्तो लाग्दैन । तिमी सहस्रारमा त पुगेको पुग्यै हो, अनाहतमा पनि गतिलो गरी अडिन नसकेर मणिपुर तिरै खस्किएर तिम्रो जीवन बित्ने देखिन्छ । ठिक छ, भाषिक ठिक छ । तिमी आफ्नै कुवामा रमाएर बस । दिल्लगी (पृ. ३) सुकून (पृ. ५६), काश (पृ.१२९), झपकी (पृ. १५६), नजरिया (पृ. १८४) जस्ता शब्दहरूलाई सुन्दर ढङ्गले नेपालीमा भित्र्याएको स्वीकार गर्ने हिम्मत तिमीमा छ ? तिमीले त कतै काव्या हुनु पर्नेमा काव्य भएर मात्रा छुटेको (पृ.६५), ल्यापटप ल्यापट भएको (पृ.१०८), एकरसता हुनुपर्नेमा एकसरता भएको (पृ.११५), अड्रेनलिन हुनु पर्नेमा एड्रोनालाइन भएको (पृ.१३६) पनि भन्छौ कि जस्तो लागेको थियो कस्सो छुटायौ । अनि छक्कभन्दा पनि बढी विस्मित (पृ.२५६) भनेको अनि बुद्ध महान् मनोचिकित्सक हुन् भने लगत्तैको वाक्यमा बुद्ध थेरापिस्ट हुन् (पृ.२६२) भनेको चाहिँ कस्तो हो भनेर सोध्दैनौ ? अनि पहिले उनले रक्सी खाए पछि रक्सीले उनलाई खायो (पृ.३७), ऊ साँझ काटिरहेको छैन । साँझले बरु उसलाई अचानोमा राखेर काटिरहेको छ । (पृ.७९) जस्ता सुललित तर पहिल्यै सुनिसकेका जस्ता लाग्ने वाक्यले भने लेखनमा बासीपन दिएको छ भनेर भन्दैनौ ?’
‘भैगो तिमीले भनेका कुरा म दोहोर्याउन चाहन्न । थप कुरा गर्दा फैजको कवितालाई देवनागरी लिपिमा लेख्दा विभक्ति नछुट्याएर नेपालीपन दिइएकोलाई सुन्दर नै माने पनि र नुक्तालाई बेवास्ता गरे पनि ‘मसरूफ’ हुनु पर्नेमा ‘मशरूफ’ हुँदा र दोनों को दोनोंका हुँदा चाहिँ विझाएको छ (पृ.५०) । तर परमहंस योगानन्दका गुरु युक्तेश्वरलाई युक्तानन्द भनिँदा (पृ. १११) बरू नमिल्दो सुनिएको छैन, लाहिडी महाशयलाई लाहिरी भनिनु (पृ.८७) चाहिँ नुक्ताको अभाव वा भारतमा अङ्ग्रेज शासनको कारण हामीलाई पचिसकेकै छ । जलकुम्भीको द्विपद नाम आइकोर्निया क्र्यासिपिसलाई हाँसो उठ्दो पारामा इचोर्निया क्रैसिप (पृ. ६१) लेख्नुभन्दा बरु नयाँ द्विपद नाम पोन्टेडेरिया क्र्यासिपिस नै लेखेको भए ठिक हुन्थ्यो भन्ने चाहिँ लाग्छ । डम्पिङ साइट (पृ.४९) भन्न जान्नेले ल्यान्डफिल साइड (पृ. २७७) भनिदिँदा दाँतमा ढुङ्गा लागेजस्तो हुँदो रहेछ ।’
‘हे भाषिक, तिमीले फेरी पुरानै लय समातेका छौ तिम्रो हृदय त छ ? कि त्यो पनि अदालत जस्तै भैसकेको छ ? तिमी किन कण कणमा भुलेका छौ ? बृहत् किन तिम्रो दृष्टिपथमा पर्दैन ? किन तिमी सधैँ क्षुद्रमा नै अलमलिएका छौ ? के तिमीले आफ्नो नश्वरता विचार गरेका छौ ? सुदूर ब्रह्माण्डका आकाशगङ्गाका मृत्युहरूबारे तिमीले कहिल्यै सोचेका छौ ? के तिमीले म्याथ्यु रिकालाई पढेका छौ ? जीवनलाई रसपूर्ण रूपमा बाँच्ने तिम्रो कुनै संभावना छ ? के तिमी डेड पोएट सोसाइटीको जोन किटिङ बन्न सक्छौ? के तिमी हारुकी मुराकामीका शब्दका तलाउमा जलविहार गर्न सक्छौ ? तिम्रा बँगैचामा कत्तिको हरियाली छ ? तिम्रा जीवनमा यस्तै बाहेक कुनै सम्झनयोग्य सम्झनाहरू छैनन् ? के तिमी दुख्दा पनि सचेत भएर दुख्ने अभ्यास गर्न सक्छौ? तिमी जीवनवादी हौ कि मृत्युवादी हौ ? तिमी भौतिक र पराभौतिकमा समन्वय गर्न सक्छौ? आदर्शको प्रथम आसनमा बस्ने नै आडम्बरको अन्तिम आसनमा पनि बसेको हुन्छ भन्ने कुरालाई ख्याल राख । अतिवादी नबन । मध्यम मार्ग अबलम्बन गर । चेतन र अवचेतन रूपी जाँताका दुई ढुङ्गाहरूमा राम्रोसँग पिसिए पछि बल्ल तिमी मसिनो र मृदु हुनेछौ । साधारणभन्दा साधारण सबाल्टर्न मानिसको जीवनमा पनि असाधारण जीवन दर्शन लुकेको हुन्छ । क्वान्टम इन्ट्याङ्गलमेन्ट र नन लोकल कोरिलेशनको रहस्य बुझ्न प्रयास गर । पुस्तकमा इन्ट्यान्गल्डमेन्ट किन छ भनेर किचकिच नगर । कथालाई फ्रेटागको सूत्र प्रयोग गरेर पाँच भागमा भाँचेर बुझ । अनगिन्ती टुक्रामा टुक्र्याएर कुहिराको काग नबन । स्वयंको नगिच जाऊ र चुपचाप बस ।’
यसपटक प्रेमिकले पनि धाराप्रवाह प्रवचन दियो ।
केहि समयको मौनता पछि भाषिकले शुरू गर्यो । कुराको विषयान्तर गर्नमा इच्छुक देखियो ऊ ।
‘के गर्नु ? म मूलतः मेरो जीवनका सम्पादक र प्रकाशक प्रति उदार हुनमा प्रयासरत छु । मेरो जीवनकी सरस्वतीको नगिच त म पुगैकै छैन । बरु तिमी कतै छेउछाउमा पुग्यौ कि ? अलि अलि योग, तन्त्र र ध्यान साधनाका बारेमा त मैले पनि सुनेको छु । अनि यो कर्मदेशना भनेको के रहेछ ? तिमीलाई कस्तो लाग्यो यो ? मलाई त धर्मदेशनाको विकल्पमा आएको कर्मदेशना धेरै कडा लाग्यो । हात काटिदिने, खसी काट्दा काट्दै मान्छे काट्न मन बहकिने जस्तो हिंस्रक र घाउ कोट्याइरहने जस्ता बीभत्स कथाहरू यसमा छन् । हेय, हेयहेतु, हान र हानोपायका चार आर्यसत्यमा हान र हानोपाय धेरै सङ्कुचित भएजस्ता लाग्छन् । अँधेरी नेपाली साहित्यका स्त्री चरित्रहरूमा बाँच्दै बाँच्दै गएको कथा रोचक लाग्यो मलाई । कामेसुमिच्छाचारा वेरमनि सिक्खापदं समादियामीको नवीन व्याख्या छ यसमा । सुशीला तथाकथित सुशीला छैन । स्त्रीद्वेषी उखानको लघुसङ्ग्रह (पृ. २१७, २१८) प्रस्तुत गर्छे ऊ ।’
‘बरु पुस्तकमा एक स्थानमा आएजस्तो दाहिने मस्तिष्क र देब्रे मस्तिष्कको कार्यविभाजन भने उति सरल छैन । यो विज्ञानको अत्यन्त सरलीकृत व्याख्या हो । विज्ञान उति सरल पनि छैन । अन्नपूर्ण आधार शिविर र सगरमाथा आधार शिविरभन्दा पनि थोराङ्ला उच्च र ठाडो उकालो भएको हेक्का मादिकिनारलाई नभएको जस्तो देखिन्छ (पृ. १७९) र यो स्वाभाविक पनि हो । मादिकिनारको कथा सुन्दा बुद्धकालीन पात्र पटाचाराको स्मरण हुन्छ । यो कथा किन हो किन मलाई अस्वाभाविक लागेर पनि स्वाभाविक लाग्छ । रुखहरूको संवादको जालको वैज्ञानिक व्याख्याको उद्धरण यथास्थानमा समुचित लाग्छ । बरु अन्त्यमा काव्याले तात्तातो चिया लिएर आउँछु भनेर भान्सातिर लागेको अनि अलि पछि सप्तमको खोजको मूल्य मैले चुकाउनु परिरहेको छ भनेको चाहिँ मलाई मन परेन । अब दुबै मिलेर एक एक गिलास चीसो पानी खाऊँ भनेको भए अनि तिम्रो खोजको तिमीलाई शुभकामना म पनि अब मेरै खोजमा लाग्छु भनेको भए हुन्थेन ?’
भाषिकले बोलिरहँदा पनि प्रेमिकको ध्यान अन्तै थियो । ऊ पुस्तकको आवरणमा रहेको उसको प्रिय कलाकार सचिन योगलको चित्र हेरेर टोलाइरहेको थियो । चित्रमा उसले पृष्ठभूमिमा उदाँउदो सूर्य र स्तूप देख्यो भने अग्रभूमिमा दुई हातहरूका बीचमा सुन्दर जलकुम्भीको फूल देख्यो । एक छिन पछि उसले त्यहाँ फेवातालमा तैरिरहेको डुङ्गामा एक ध्यानस्थ माझी पनि देख्यो र गुनगुनायो ।
(संसारमा राग भएकाहरूका लागि वनमा पनि दोष हुन्छन् भने राग निवृत्त भैसकेकाहरूका लागि घरमा नै पाँचै इन्द्रिय वशमा राख्ने तपस्या सम्भव हुन्छ । कुत्सित कर्म नगरीकन जो चल्दछ उसका लागि घर नै तपोवन हो ।)
‘भैगो यो वादविवादलाई बाँकी राखेर बरु भास्कर हजारियाको चलचित्र हेर्ने त आज ?’
भाषिकले सोध्यो ।
‘भयो त्यो नहेरौँ । त्यसको वर्णनले नै मलाई पुग्यो । अब जाऔँ ।’
प्रेमिकले भन्यो र त्यसपछि मैत्रेय्युपनिषद्को श्लोक गुनगुनाउँदै ऊ निस्कियो । भाषिक पनि उसैको पछि लाग्यो ।
अनुभूतिं विना मूढो वृथा
ब्रह्मणि मोदते ।
प्रतिबिम्बितशाखाग्रफलास्वादनमोदवत् ॥
(जसरी कुनै पनि मानिसले प्रतिबिम्बमा
देखिएको हाँगाको टुप्पामा लागेको फल देखेर त्यसको स्वाद लिएको कल्पना गर्दछ, त्यसरी नै
वास्तविक अनुभव बिना अज्ञानी मानिसले ब्रह्मको आनन्द प्राप्त गर्ने व्यर्थ कल्पना
गर्छ।)
कृति: स्व (उपन्यास)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
वज्रादपि कठोराणि मृदूनि कुसुमादपि । लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।। (वज्रभन्दा कठोर र फूलभन्दा पनि कोमल ती महान् व्यक्तिहरू...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
~शिव सङ्कल्प (कृति समीक्षा ) कृति: पैताला (उपन्यास) लेखक: गनेस पौडेल प्रकाशक: बुक हिल पृष्ठ: ३६३ मूल्य: रू. ४०० गुणवत्ता: ✘✔✔✔✔...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...