Monday, September 30, 2019

दशैँमा पढ्नुहोस् यी दश पुस्तक

परिचय नेटवर्कमा प्रकाशित

दशैँ पारिवारिक मिलन, खानपिन तथा अनेक किसिमका मनोरञ्जनात्मक कार्यहरू गरेर मनाउने प्रचलन छ । तर पठनमा रस पसेका व्यक्तिहरू भने यो चाड नयाँ नयाँ पुस्तक खोजी खोजी पढेर पनि मनाउने गर्दछन् ।
विशेष गरी शैक्षिक क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई तुलनात्मक रूपमा लामो विदा हुने हुँदा यो उनीहरूका लागि पाठ्यक्रम आधारित भन्दा भिन्न पुस्तक पठनको उत्तम समय हो । शरद् ऋतुको यस समयको बाह्य वातावरणले पनि पठनका लागि प्रेरक भूमिका खेलेको प्रस्तुत पङ्क्तिकारको अनुभव छ । यसै अवसरमा आज दशैँको समयमा पढ्न उपयुक्त दश पुस्तकहरूका बारेमा चर्चा गरिँदै छ ।
यहाँ छनौट गरिएका पुस्तकहरू नेपाली पाठकहरूबीच कम चर्चित तर पङ्क्तिकारलाई विशेष प्रभाव पारेका पुस्तकहरूमध्येबाट छानिएका हुन् । यी दश पुस्तकहरूको छनौट गर्दा भिन्न भिन्न विधाका पुस्तकहरूको छनौट गर्न प्रयास गरिएको छ । आशा छ यसले विविध रुचि भएका पाठकहरूको रुचिलाई अझै विस्तार गर्नेछ ।
१.माचु बाशोका हाइकुहरू
माचु बाशो सत्रौँ शताब्दीका एक जापानी जेन कवि हुन् । उनका हाइकुहरू अझै पनि जपानमा मात्र नभै संसारभर उत्तिकै चाखले पढिन्छन् । हाइकुको क्षेत्रका उत्कृष्टतम कवि मानिने बाशोका हाइकुहरू संसारका अनेक भाषामा अनुदित भएका छन् । उनका प्रतिनिधि कविताहरू “द न्यारो रोड टुद डीप नर्थ याण्ड अदर ट्राभल स्केचेज” नामक कृतिमा अंग्रेजीमा अनुवाद गरी संग्रहित गरिएकाछन् । माचुओ बाशोका केही हाइकुहरूको अनुवाद तल प्रस्तुत छन् ।
पुरानो कुवा
फुत्त भ्याकुतो
छप्ल्याङ्ग !
……………………….
क्योटोमा
कोइली गाउँछे
म क्योटो सम्झन्छु
………………………….
यात्रामा बिरामी हुँदा
मेरा सपनाहरू बरालिन्छन्
सुख्खा घाँसमाथि

२. स्याउको रुख ( एप्पल ट्री)
स्याउको रुख (एप्पल ट्री)सन् १९१७ मा प्रकाशित अंग्रेज उपन्यासकार तथा नाटककार जोन गल्सवर्थीको लघुउपन्यास हो । गल्सवर्थीले सन् १९३२मा साहित्य तर्फको नोबल पुरस्कार जितेका थिए । स्याउको रुखको कथानकमा कसरी एक शहरिया उच्च वर्गको सम्भ्रान्त युवक फ्य्राङ्क याशर्स्ट, मेगन डेविड नामक एक गरीब, अल्पशिक्षित गाउँले युवतीसित प्रेममा पर्छ अनि कसरी उनीहरूको विछोड हुन्छ भन्ने कुरालाई अत्यन्तै मिहीन एवं काव्यात्मक ढङ्गले वर्णन गरिएको छ । कथा सरल तर अत्यन्त भावनात्मक रहेको छ । कथाको अन्त्यमा उद्घाटित हुने अप्रिय सत्यले सबै पाठकको अन्तस्करणलाई स्पर्श गर्न सफल हुन्छ । उनको यसै उपन्यासमा आधारित रही सन् १९८८मा “अ समर स्टोरी” नामक चलचित्र पनि बनेको थियो । यो उपन्यासको लैनसिंह बाङदेलले गरेकोे नेपाली अनुवाद पनि उपलब्ध छ ।

३. भोलाराम का जीव
“भोलाराम का जीव” भारतका सिद्धहस्त व्यंग्यकार हरिशंकर परसाईको व्यंग्य कथा संग्रह हो । आफ्ना चोटिला कथाहरूद्वारा सामाजिक, राजनैतिक विसङ्गति, मध्यमवर्गीय पीडाहरूलाई अत्यन्त कुशलताका साथ पस्कने परसाईले हिन्दी व्यंग्य विधामा अतुलनीय योगदान दिएका छन् । कथा संग्रहको सबैभन्दा प्रसिद्ध रहेको शीर्षक कथा भोलाराम का जीवमा मरेर धर्मराजकोमा पुग्नु पर्ने भोलाराम बीचमै हराएको र कतै पनि नभेटिएको र अन्त्यमा आफ्नै पेन्सनको फाइलमा लुकेर बसेको भेटिएको कथा छ । नाटकका रूपमा पनि अनेक स्थानमा मञ्चित यो कथा माथि एनिमेशन विधिको लघुचलचित्र पनि बनेको छ ।

४. द कज्मिक सर्पेण्ट
“द कज्मिक सर्पेण्ट : डीएनए याण्ड द ओरिजिन अफ नलेज” क्यानडेली मानवशास्त्री जेरमी नार्बीको सन् १९९८ मा प्रकाशित गैर आख्यानकृति हो । यस पुस्तकमा आधुनिक रसायनिक यौगिकको तहको जीवविज्ञान (मोलिकुलर बायोलोजी) तथा पारलौकिक विद्या (शामनिज्म) का बीचको समानता खोज्ने प्रयास गरिएको छ । नार्बीका अनुसार पेरुका आदिवासीहरूको परम्परामाथि गरिएको अनुसन्धानका क्रममा उनलाई यसतर्फको ज्ञान खुलेको थियो ।
कतिपय समीक्षकहरूले यसलाई अमेरिकी भौतिकशास्त्री फ्रिट्जफ काप्राको ताओ अफ फिजिक्सकै कोटीको कृति मानेका छन् । नार्बीले यस पुस्तकमा हिन्दुहरूको शेषनाग तथा मिश्रवासीहरूको ओरोबोरस तथा त्यस्तै खाले नर्डिक आदिवासी, अष्ट्रेलियाली आदिवासीहरूका मिथकमा प्रयुक्त नागको स्वरूप तथा आधुनिक जीवविज्ञानको डीएनएको स्वरूपको रोचक ढङ्गले तुलना गरेका छन् । उनले गरेको यो खोजको बारेमा “नाइट अफ द लियाना” नामक वृत्तचित्रमा पनि वर्णन गरिएको छ ।

५. द सोल अफ मनि
“द सोल अफ मनि: ट्रान्सफर्मिङ योर रिलेसनसिप विथ मनि याण्ड लाइफ”सन् २००३ मा प्रकाशित लिन ट्विस्टको कृति हो । गरिबी उन्मूलन, भोकमरी उन्मूलन तथा समाजिक न्यायका क्षेत्रमा चालिएका विविध अभियानमा बिगत चार दशकदेखि सक्रिय लिनले यो पुस्तकमा कतिपय व्यावहारिक सिद्धान्तहरू तथा कथाहरूको उदाहरणद्वारा अभाव र समृद्धिको अवधारणालाई व्याख्या गर्न प्रयास गरेकी छिन् । हामीमा रहेको धन आर्जन गर्ने, खर्च गर्ने, लगानी गर्ने र दान गर्ने स्वभाव र प्रवृत्तिलाई केलाउँदै लिनले अभाव छ भन्ने अवधारणा, धेरै हुनु राम्रो हो भन्ने अवधारणा र यो यस्तै हो भन्ने अवधारणालाई विषालु अवधारणाको रूपमा व्याख्या गरेकी छन् । उनको सिद्धान्त अनुसार संसारमा प्रशस्त छ र सबैलाई पुग्नेगरी छ । यसै पुस्तकको नाममा उनको अभियानलाई कार्यरूप दिन“द सोल अफ मनि फाउण्डेशन” पनि सञ्चालनमा छ ।

६. अन द जुछे आइडिया
“अन द जुछे आइडिया” उत्तरकोरियाली नेता किम जोङ इलको नाममा प्रकाशित उत्तर कोरियाको“जुछे” भनिने राजनैतिक विचारधाराका सिद्धान्तहरूको सँगालो हो । सन् १९८२मा उत्तर कोरियाका तत्कालीन नेता तथा किम जोङ इलका पिता किम इल सङको ७० औँ जन्मदिनका अवसरमा प्रकाशित यस संग्रहमा जुछे विचारधाराका आधारभूत सिद्धान्तहरूकोे व्याख्या गरिएको छ । मार्क्सवादी भौतिकवादबाट अघि बढ्दै जुछे विचारधाराले नयाँ ढङ्गको दर्शन प्रस्तुत गरेको छ । मानवलाई केन्द्रमा राखेको यस सिद्धान्तले मानवलाई स्वतन्त्र, सिर्जनशील र चेतन सत्ताको रूपमा व्याख्या गरेको छ । यसै गरी यस सिद्धान्त अनुसार श्रमिक जनताको शोषक वर्गसित नभै मानवको प्रकृति र समाजसितको संघर्ष र तिनको रूपान्तरणको प्रयासलाई केन्द्रमा राखिएको छ । आर्थिक आत्मनिर्भरता र हरेक कुरामा सिर्जनशील चेत यस सिद्धान्तका अन्य पक्ष मानिएका छन् । देशप्रेम, राजनीतिमा सैनिकको प्रधानता आदि अन्य सिद्धान्तहरू जुछे विचारधाराका थप पाटा हुन् ।

७.खाना खानुभयो ?
“खाना खानुभयोे ? हाम्रो भान्साबारे बजारका भ्रम” नामक पुस्तकलाई अरूणा उप्रेती र लक्ष्मण अधिकारीले लेखेका हुन् । स्वास्थ्यकर जीवनशैली कसरी अपनाउने भन्नेबारेमा लामो समय देखि विभिन्न तवरले जागरण चलाउन सक्रिय लेखकहरूले यस पुस्तकमा स्वास्थ्यकर खानाको बारेमा तथा विभिन्न किसिमका तयारी खाना तथा स्वास्थ्यवर्धक भनी बजारमा प्रचारित खाद्य सामग्रीहरूका खराब प्रभावको बारेमा लेखेका छन् । विशेष गरी स—साना बालबालिकालाई लक्षित गरेर उत्पादन गरिएका तथा प्रचार गरिएका तयारी खाद्यवस्तुले उनीहरूको स्वास्थ्यमा कसरी नकारात्मक असर पारीरहेको छ र स्थानीय उत्पादनहरूको प्रयोग गरेर कसरी पौष्टिक खाद्यवस्तुहरू तयार गर्न सकिन्छ भन्ने बारे पुस्तकमा बताइएको छ ।

८. श्री३हरूको तथ्य वृत्तान्त
नेपालको इतिहासको एक महत्त्वपूर्ण कालखण्डको रूपमा रहेको राणाकालका शासनका बारेमा सविस्तार लेखिएको यस पुस्तकका लेखक इतिहासकार पुरुषोत्तमशमशेर जबरा हुन् । यो पुस्तकमा वर्णन गरिएका घटनाहरू इतिहास भन्दा पनि संस्मरणात्मक शैलीमा लेखिएका हुनाले आख्यानका पाठकहरूले पनि रस लिएर पढ्न सक्नेछन् । जङ्गबहादुर देखि मोहनशमशेरसम्मका ९ राणा प्रधानमन्त्रीका शासनकालका बारेमा लेखिएको यस पुस्तकका लेखकले जङ्गबहादुरको शासनकालका बारेको विस्तृत ऐतिहासिक लेखोट प्राप्त गरेको, आँफू वीरशमशेरको पनाति रहेको र अन्तिम ३ प्रधानमन्त्रीहरूको शासनकाल स्वयं भोगेको हुँदा समेत यसमा गरिएको वर्णन आधिकारिक बन्न गएको छ । परराष्ट्र मन्त्रालयको अभिलेखमा रहेका त्यो समयका विशेष गरी ब्रिटिश भारतका शासकहरूसितको पत्रहरूका पाठ समावेश हुनाले तथा यथास्थानमा ऐतिहासिक चित्रहरूको विशेष सङ्ग्रह पनि समावेश हुनाले पनि यो पुस्तक अझै सङ्ग्रहणीय बनेको छ ।

९. नेपाली संक्षिप्त भारत
संस्कृतमा लेखिएको ऐतिहासिक महाकाव्य महाभारतको संक्षिप्त नेपाली गद्यसारको रूपमा लेखिएको यस पुस्तकका रचयिता चक्रपाणि चालिसे हुन् । यसै ग्रन्थमा लेखनाथ पौड्यालले रचना गरेको संक्षिप्त भगवद्गीता पनि समाविष्ट छ । आजभन्दा करीब एकसय वर्ष अगाडी लेखिएको यो पुस्तकको भाषाशैली आधुनिक पाठकहरूका लागि केही कठिन लाग्न सके तापनि मूल महाभारत पढ्न समय दिन र बुझ्न विशेष परिश्रम गर्न नसक्ने पाठकहरूका लागि यो पुस्तक उत्तम विकल्पको रूपमा रहेको छ । तुलनात्मक रूपमा कम परिश्रमद्वारा धेरै पाठकहरूले नै हिन्दी सिरियलमा मात्रै निर्भर रहेको आफ्नो महाभारतको ज्ञानलाई परिष्कृत गर्न सक्छन् भने नयाँ पुस्ताको लागि पुरातन भाषा र शैलीसित परिचित हुने अवसर पनि यस पुस्तकको पठनले मिल्दछ । बीचबीचमा राखिएका प्रासङ्गिक नीतिश्लोकहरूलेपनि पठनको रसमा अभिवृद्धि गर्दछन्   उदाहरण शल्यलाई सेनापति बनाएपछि दुर्योधन भन्छन्—
“भीष्म द्रोण र कर्ण आदि बलवान् उस्ता महावीरको
पत्ता केही चलेन ती सब गए प्रत्यक्ष नै देखियो
जाबो शल्य गएर पाण्डुसुतको संहार गर्ला भनी
लागेकै छ मलाई हा! बलवती आशा अहो तैपनि ।।”

१०. अष्टावक्रगीता
भगवद्गीताको तुलनामा अष्टावक्र गीता अत्यन्त कम प्रसिद्ध छ तर यसमा रहेको अध्यात्मिक तथा दार्शनिक पाटो भने धेरै नै विशिष्ट छ । धेरैको मतमा अष्टावक्रगीता जीवनको रहस्यलाई अत्यन्त सरलताकासाथ उद्घाटित गर्ने ग्रन्थ हो । किंवदन्ती अनुसार शारीरिक रूपमा कुरूप रहेका र कलिलो उमेरका युवा अष्टावक्रले राजा जनकलाई गरेको आत्मज्ञानोपदेश यसमा छ । यसका विभिन्न भाषमा अनुवाद भएका छन् । ती मध्ये राधाकमल मुखर्जी र स्वामी चिन्मयानन्दका अंग्रेजी अनुवादहरू विशेष प्रसिद्ध छन् । अष्टावक्रगीता माथिको ओशो रजनीशको प्रवचन पनि विशेष चर्चित छ । नेपालीमा पनि अष्टावक्रगीताको अनुवाद उपलब्ध छ । यसका नेपाली अनुवादक देवीप्रसाद प्रसाईँले आफ्नो अनुवादको भूमिकामा मोक्षप्राप्तिको सबैभन्दा सजिलो सिँढीका रूपमा चित्रित गरेका छन् ।
अष्टावक्रगीताको प्रारम्भमै अष्टावक्र भन्छन् 
मुक्तिमिच्छसि चेत्तात विषयान् विषवत् त्यज
क्षमार्जवदयातोषसत्यं पीयूषवद् भज ।।

अर्थात् तिम्रो मुक्तिको कामना तबमात्र पूरा हुन्छ जब तिमी सांसारिक भोग विलासलाई विषलाई झैँ त्याग गरी क्षमा, उदारता, दया र सन्तोषलाई  सेवन गर्दछौ ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह