लेख्दा, बिहानका चराहरूको चिरबिर
आफ्नै अक्षरहरूबाट सुनिए जस्तो
हुँदैन भने नलेख
लेख्दा, कस्तूरी अनि गुलाबको सुगन्ध
आफ्नै शब्दहरूबाट फैलिए जस्तो
लेख्दा, तिर्खा लागेको बेला
मूलको पानी कलकल पिए जस्तो
हुँदैन भने नलेख
लेख्दा, भोक लागेर आन्द्राले झुत्ती खेल्दा
सपसप मीठो गास निले जस्तो
हुँदैन भने नलेख
लेख्दा, माघको सिरेटोले चीसो बनाउँदा
गम्लङ्ग ऊनको पाखी ओढे जस्तो
हुँदैन भने नलेख
लेख्दा, उखरमाउलो गर्मीले खलखल बनाउँदा
झ्वाम्म खोलामा फाल हाले जस्तो
हुँदैन भने नलेख
लेख्दा, अज्ञान, डर, त्रास अनि कुशिक्षाको
बन्धन च्वाट्ट चुँडेजस्तो
हुँदैन भने नलेख
लेख्दा, अधर्म, अन्याय, लोभ अनि पापका
जर्जर दुर्ग प्वाट्ट फुटेजस्तो
हुँदैन भने नलेख
लेख्दा, दिनभरीको परिश्रम पछि
घुप्लुक्क बिस्तरामा घुस्रेको जस्तो
हुँदैन भने नलेख
लेख्दा, रातभरको गहिरो निद्रापछि
बिहान तरो ताजा भएर ब्युँझेको जस्तो
हुँदैन भने नलेख
लेख्दा, अस्ताउँदो सूर्य अनि उदाउँदो चन्द्रमाको
शान्ति एकैपटक छरिए जस्तो
हुँदैन भने नलेख
लेख्दा, अनादिकालदेखि रित्तो रहेको
मनको भकारी एकैपटक भरिए जस्तो
हुँदैन भने नलेख
लेख्दा, आफ्नै प्रियतमको शीत्कारसँगै
रतिरागमा उन्मत्त भए जस्तो
हुँदैन भने नलेख
लेख्दा, चञ्चल चित्त अचानक शान्त भएर
समाधिमा प्रवृत्त भए जस्तो
हुँदैन भने नलेख
२०७७ माघ १३