Showing posts with label बोधकथा. Show all posts
Showing posts with label बोधकथा. Show all posts

Saturday, August 25, 2018

कारखानामा आगलागी



कुनै समयमा एक जना अत्यन्तै परिश्रमी सेठ थिए । उनले बर्षौँसम्म परिश्रम गरेर कपडाको एउटा ठूलो कारखाना बनाएका थिए । आफ्नो व्यवसायमा व्यस्त रहँदा उनले आफ्नै परिवारलाई पनि राम्ररी समय दिन पाएका थिएनन् । एक दिन उनलाई यो कुराको बोध भयो र कारखानाको दशौँ वार्षिकोत्सव आफ्नै घरमा आफ्नै परिवारका साथ मनाउने निर्णय गरे ।

कार्यक्रमको भव्य तयारी भयो । स्वादिष्ट व्यञ्जनहरू तयार गरी भोजको तयारी गरियो । सबै प्रसन्न र उत्साहित थिए । सेठ आफ्ना सबै परिवारका सदस्यहरूलाई वरिपरी राखेर खान बसे । तरह तरहका परिकारहरूबाट अलग अलग किसिमका वास्नाहरू आईरहेका थिए । उत्कृष्ट खाद्य परिकार र परिवारको भेलाले परिस्थिति अत्यन्त उत्साहप्रद बनाएको थियो ।

सेठले खान शुरू गर्नै लागेका थिए, उनको फोन बज्यो । कसैले सूचना गर्‍यो 'सेठको कारखानामा आगलागी भयो' । सेठ नीला भए । उनको ओठ तालु सुक्यो । उनको वाक्य बन्द भयो । उनको दश वर्षको परिश्रम खरानी भएको थियो । उनले बीमा त गरेका थिए तर बीमा प्रक्रिया सम्झँदैैैैमा उनका नौनारी गले । अब सम्पूर्ण व्यञ्जनहरू उनका लागि माटो समान भैसकेका थिए । सबैको अनुहारको रङ्ग उड्यो । उत्सवको परिवेश एकाएक भयङ्कर शोकको वातावरणमा डुब्यो ।

यत्तिकैमा उनको फोन फेरी बज्यो । यसपटक, सूचना दिनेले भन्यो 'आगलागी भएको कारखाना उनको कारखाना हैन रहेछ, त्यो त अलि परको अर्कै कारखाना रहेछ' ।
'धत्तेरिका झण्डै मुटु रोकिएको !' उनले गहिरो सास फेरे । उनको ज्यान फर्किएर आयो । परिवेश पुन: बदलियो । उत्साहका साथ भोज भयो । सबैले स्वाद मानी मानी खाए । सेठले मन खोलेर परिवार र सेवकहरूलाई उपहार बाँडे । अब नाचगाना शुरू भयो । परिवेश पुन: हर्ष र उल्लासमा डुब्यो ।

यत्तिकैमा एकपटक पुन: उनको फोन बज्यो । यसपटक पक्का सूचना आयो । उनको आफ्नै कारखानाको गार्डको फोन थियो । उसले रूँदै खबर सुनायो । आगलागी भएको कारखाना उनकै रहेछ ।

Monday, May 21, 2018

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । 
अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् । 
नेपालकाे राष्ट्रिय चिह्नमा अङ्कित वाक्य (श्लाेकार्ध) हाे याे । 

धेरैलार्इ श्लाेकार्धकाे पूरा श्लाेक पनि कण्ठ छ । 

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते |
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ||
(हे लक्ष्मण, जतिनै सुनैसुनकाे भए पनि मलार्इ लङ्का मन पर्दैन, किनभने अामा र जन्मभूमि नै स्वर्गभन्दा पनि ठूला हुन् ।)

धेरैलार्इ याे श्लाेक वाल्मीकि रामायणकाे हाे भन्ने लाग्छ, यद्यपि हाल उपलब्ध वाल्मीकि रामायणमा याे  श्लाेक पाइँदैन । संभवतः याे श्लाेक हनुमान्‌‌‌द्वारा रचित रामायणकाे हुन सक्ने मानिन्छ । जुन रामायण हाल पूर्ण रूपमा उपलब्ध छैन ।
यसबारे पढ्न यता जानुहाेस् ।

तर सन् १९३०मा  हिन्दी प्रचार प्रेस मद्रासले प्रकाशित गरेकाे  
वाल्मीकि रामायणकाे संस्करणकाे युद्धकाण्डमा (सर्ग १२४ श्लाे. १७) मा भने पहिलाे पंक्ति भिन्दै रहेकाे याे श्लाेक पाइन्छ अरे । यहाँ याे श्लाेक रामका मुखबाट नभै भारद्वाजका मुखबाट रामलार्इ उपदेश दिँदाकाे  प्रसङ्गमा अाएकाे छ । जुन यस्ताे छ ः

मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव |
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ||
( मित्रहरू, धन र  अन्नकाे संसारमा ठूलाे मान छ तर अामा र जन्मभूमि चाहिँ स्वर्गभन्दा पनि ठूला हुन् ।)

भक्तराज अाचार्यले गाएकाे प्रसिद्ध राष्ट्रिय गीत 'जहाँ छन् बुद्धका अाँखा'मा  (२ः२९) पनि याे पंक्तिकाे प्रयाेग गरिएकाे छ ।





Friday, May 18, 2018

सहस्रानन वध (वाल्मीकि रामायणमा छुटेकाे कथा )

रामले रावणलार्इ जितेर सीतासहित अयाेध्या फर्के पछि धूमधामसँग रामकाे राज्याभिषेक भयाे । ऋषिमुनि सबै मिलेर रामकाे वीरता र शौर्यकाे गान गर्न लागे । तर याे देखेर सीतामाता भने कुटिल हाँसाे हासिन् ।  याे देखेर रामले सीतासित हाँस्नुकाे कारण साेधे । सीताले भनिन् ~
"हजुरले केवल दशानन रावणकाे बध गर्नुभएकाे हाे तर उसकाे भार्इ सहस्रानन अझै जिउँदै छ । उसलार्इ जित्नुभयाे भने बल्ल हजुरकाे वीरता र याे शाैर्यगान सार्थक हुनेछ ।"

सीताजीका वचन सुनेर श्रीरामले तुरुन्त चतुरङ्गिणी सेना तयार गरी विभीषण, लक्ष्मण, भरत, शत्रुध्न, हनुमान् अादि वीरहरूलार्इ साथमा लिएर समुद्रपार गरी सहस्राननमाथि चढार्इ गरे । साथमा सीता माता पनि थिइन् । तर चढार्इ गर्नु के थियाे सहस्राननले मात्र एक बाण प्रहार गरी श्रीरामका सम्पूर्णसेना र वीरहरूलार्इ एकैपटक उचालेर अयाेध्यामा पछारिदियाे ।   रणभूमिमा केवल राम र सीता मात्रै रहे । त्यसमा पनि सहस्राननकाे बाण लागेर राम पनि मूर्च्छित भए ।
त्यसपछि माता सीता भयङ्कर क्राेधित भर्इ असीता अर्थात् महाकाली स्वरूप लिर्इ  सहस्राननकाे बध गरीन् । सहस्राननकाे वध गरीसकेपछि पनि महाकालीकाे  रिस शान्त भएन । उनी जिब्राे लपलपाउँदै उन्मत्त नृत्य गर्न लागिन् । पछि महादेव शिव स्वयं महाकालीकाे पाउमुनि अाएर लडे पछि बल्ल महाकालीकाे  रिस शान्त भयाे र उनी पुनः सीताजीकाे स्वरूपमा अार्इ रामलार्इ विउँझाएर अयाेध्या फर्किइन् ।


कथाः अद्भुत रामायण
चित्रः काली (राजा रवि वर्मा)

Sunday, May 13, 2018

ढपाेर शङ्खकाे कथा

कुनै बखतमा एकजना गरीब ब्राह्मणकाे अत्यधिक गरीबी देखेर एकजना ऋषिले उनलार्इ समुद्रकाे अाराधाना गर्ने सल्लाह दिए । ब्राह्मणले पनि  समुद्रकाे किनारमा पुगेर दत्तचित्त भएर समुद्रकाे अाराधना गर्न लागे । ब्राह्मणकाे एकचित्तको आराधनाबाट प्रसन्न भएका समुद्रले ब्राह्मणलार्इ एक विशिष्ट शङ्खी दिए जसले हरेक साँझकाे सन्ध्यावन्दन पछि एकपटक पाँच चाँदीका असर्फी दिन्थ्याे । ब्राह्मण प्रसन्न भएर घर फर्कँदै थिए । फर्कँदा बाटामा एक मित्रकाे घरमा वास पर्‍‍‍यो।  मित्रकाे घर सन्ध्यावन्दन गरे पछि ब्राह्मणले शङ्खीसित पाँच रूपैँया मागे ।  शङ्खीले पनि चाँदीका पाँच असर्फी दियाे । याे देखेर मित्रलार्इ लाेभ लाग्याे र भाेलिपल्ट बिहानै सुटुक्क उनले ब्राह्मणकाे शङ्खीसित अाफ्नाे शङ्खी साटे । उता ब्राह्मणले भाेलिपल्ट साँझ सन्ध्यावन्दन गरेर पाँच रूपैँया माग्छन् त शङ्खीले केहि पनि दिएन । 

यसबाट दुःखी भएका उनी पुनः समुद्रकाे अाराधना गर्न लागे । सबै घटना बुझेर यसपटक समुद्रले ब्राह्मणलार्इ अझ ठूलाे शङ्ख दिए ।  फर्कँदा यसपटक  पनि ब्राह्मणकाे वास तिनै मित्रका घर पर्‍‍‍यो । मित्रले पनि यसपटक 'ब्राह्मणले के ल्याएछन् त!' भनि हेर्दा अझ ठूलाे शङ्ख देखे । तिनकाे मनमा फेरी लाेभ जाग्याे उनले 'याे शङ्खले त पक्कै पनि सुनकै असर्फि दिन्छ हाेला' भन्ने विचार गरी चाँदीका रूपैँया दिने शङ्खसित याे शङ्ख साटे  । मख्ख परेर मित्रले भाेलिपल्ट शङ्खसित पाँच सुनका असर्फी मागे । शङ्खले "पाँच किन ? दस माग" भन्याे । उनले दस मागे ।शङ्खले "दस किन ? बीस माग" भन्याे । उनले बीस मागे । शङ्खले "बीस किन ? चालीस माग" भन्याे । उनले चालीस मागे । तर याे क्रम राेकिएन शङ्खले "चालीस किन ? असी माग" भन्याे । उनले जति मागे पनि शङ्खले दाेब्बर माग भन्थ्याे तर दिन्थेन । अनि अाजित भएर उनले "मलार्इ दाेब्बर चाहिएन पाँच नै देऊ" भने ।
त्यसपछि शङ्खले भन्याे ~
परहस्ते गता शङ्खी पञ्चरूप्यकदायिनी
अहं ढपाेरशङ्खाेऽस्मि वदामि न ददामि च ।।
(पाँच रूपैँया दिने शङ्खी त अरुकै हात पुगीसकिन् । म त ढपाेर शङ्ख हुँ । बाेल्छु मात्रै दिन्न । )

चित्रः  विकिमिडिया कमन्स

Monday, December 4, 2017

भेडागोठालो र अर्थशास्त्री (बाेधकथा)

कुनै समयमा एउटा गाेठालाे अाफ्ना भेडाहरूकाे विशाल बथानका साथ चरन तर्फ गैरहेकाे  थियाे । यस्तैमा विपरीत दिशाबाट एउटा मान्छे अाएर गाेठालाेलार्इ भन्याे -
"हेर गाेठाला! तिम्राे याे विशाल बथानमा कति भेडा छन् भनेर म नगनीकन ठ्याक्कै भन्नसक्छु नि!"
"हाे र ?" गाेठालाले अचम्म मान्दै साेध्याे, "तिमीले ठ्याक्कै मिलायाै भने म तिमीलार्इ एउटा भेडा उपहारमै दिन्छु!"
"लाै भन त! तिम्राे बथानमा ८८४ भेडा छन् हाे कि हाेइन ?" त्याे मान्छेले भन्याे ।"अाेहाे तिमीले त ठ्याक्कै पार्‍यौ!, एउटा भेडा राेजेर लैजाऊ" गोठालाले चकित पर्दै भन्यो ।
त्यो मानिसले रोजेर एउटा जन्तु काँधमा हालेर लैजान खोज्दै थियो, गोठालाले भन्यो, "सुन त! म पनि तिम्रो पेशा नसोधिकन नै भन्नसक्छु नि!, तिमी पक्कै पनि अर्थशास्त्री हुनुपर्छ, होइन त? "
अब छक्क पर्ने पालो त्यो मान्छेको थियो, उसले उदेक मान्दै सोध्यो-"हो, म अर्थशास्त्री नै हुँ, तर तिमीले कसरी ठ्याक्कै पार्‍यौ? मैले भेडाको संख्या ठ्याक्कै मिलाएकाले होला हैन?"
"हो शङ्का त मलाई त्यतिबेलै लागेको हो तर जब तिमीले मेरो कुकुर रोजेर काँधमा हाल्यौ, त्यसपछि मलाई पक्का भयो।" गोठालाले जबाफ दियो ।

(चित्रः विकिमिडिया कमन्स)

Tuesday, October 31, 2017

बकुल्लाकाे अात्मघाती जुक्ति

कुनै समयमा एउटा अाँपकाे रूखमा एकजाेडी बकुल्ला अानन्दसित बस्ने गर्थे । तर त्यही रूखकाे फेदकाे टाेँड्काेमा एउटा सर्प पनि बस्थ्याे । बकुल्लाले जति पटक अण्डा पारे पनि बकुल्ला चाराे खाेज्न गएकाे बेला सर्पले रूख चढेर अण्डा खाइदिन्थ्याे ।  पटक पटक याे घटना दाेहरिए पछि माउ बकुल्लालार्इ धेरै पीर पर्याे । उसलार्इ पीर परेकाे देखेर नर बकुल्लाले जुक्ति लगायाे । उसले यताउता खाेजेर एउटा न्याउरी मुसाकाे दुलाे भेट्टायाे र स-साना माछाहरू मारेर न्याउरीकाे दुलाेबाट अाँफू बस्ने रूखकाे फेदसम्म लहर मिलाएर राख्याे । नभन्दै न्याउरी मुसाे ती माछाहरू खाँदै उनीहरू बस्ने रूखकाे फेदसम्म अाइपुग्याे । बकुल्लाले चाहे जस्तै सर्प पनि अाफ्नाे दुलाेबाट निस्केकाे अवस्था पर्याे । हेर्दाहेर्दै न्याउरीले त्याे सर्प मारिदियाे । बकुल्लाका जाेडी खुसी भए । तर तिनकाे त्याे खुसी धेरैबेर टिकेन । बकुल्लाकाे अावाज सुनेकाे न्याउरीले रूख चढेर बकुल्लाका अण्डा र चल्ला पनि खाइदियाे ।



कथाः हिताेपदेश


Monday, August 7, 2017

याज्ञवल्क्य र मैत्रेयी


याज्ञवल्क्यले गृहस्थाश्रम त्याग्ने बेलामा अाफ्ना दुर्इ पत्नीहरू कात्यायनी र मैत्रेयीमा अाफ्नाे सम्पत्ति बाँडिदिने विचार गरेर मैत्रेयीलार्इ साेधे ।

मैत्रेयीले साेधिन्  "के संसारभरकाे धन पाएर पनि म अमर हुन सक्छु ?"

याज्ञवल्क्यले भने "सक्दिनाै,  तिम्राे जीवन धेरै धनी मान्छे जस्तै सुखी त हाेला तर धनले अमर भइँदैन ।"

"त्यसाे भए कसरी अमर भइन्छ त ? मलार्इ त्याे बताउनुहाेस् " मैत्रेयीले अाग्रह गरिन् ।

"बडाे उत्तम प्रश्न गर्याै बस, सुन"  याज्ञवल्क्यले  शुरु गरे...

"पतिकाे प्रेमले गर्दा पति प्रिय भएकाे हैन, अाफ्नै कारणले पति प्रिय भएकाे हाे । पत्नीकाे प्रेमले गर्दा पत्नी प्रिय भएकी हैनन्, अाफ्नै कारणले पत्नी प्रिय भएकी हुन् । छाेराछाेरीकाे प्रेमले गर्दा छाेराछाेरी प्रिय भएका हैनन्, अाफ्नै कारणले छाेराछाेरी प्रिय भएका हुन् । धनसम्पत्तिकाे प्रेमले गर्दा धनसम्पत्ति प्रिय भएका हैनन्, अाफ्नै कारणले धनसम्पत्ति प्रिय भएका हुन् । ब्रह्मप्रतिकाे प्रेमले गर्दा ब्रह्म प्रिय भएकाे हैन, अाफ्नै कारणले ब्रह्म प्रिय भएकाे हाे । क्षत्रप्रतिकाे प्रेमले गर्दा क्षत्र प्रिय भएकाे हैन, अाफ्नै कारणले क्षत्र प्रिय भएकाे हाे । संसारप्रतिकाे  प्रेमले गर्दा संसार प्रिय भएकाे हैन अाफ्नै कारणले संसार प्रिय भएकाे हाे । देवताप्रतिकाे प्रेमले गर्दा  देवता प्रिय भएका हैनन्, अाफ्नै कारणले  देवता प्रिय भएका हुन् । जीवजन्तुप्रतिकाे प्रेमले गर्दा जीवजन्तु प्रिय भएका हैनन्, अाफ्नै कारणले जीवजन्तु प्रिय भएका हुन् । यसरी सबैकुरा प्रतिकाे प्रेमले गर्दा सबैकुरा प्रिय भएका हैनन्, अाफ्नै कारणले सबैकुरा प्रिय भएका हुन् । तसर्थ हे मैत्रेयी अाँफूलार्इ नै देख्न, सुन्न, जान्न, मनन गर्न प्रयास गर्नुपर्छ । अाँफैलार्इ देखे, सुने, गुने, जाने पछि नै सबै जानिन्छ ।  "

यस्तै धेरै अात्मचर्चा पछि सबै सम्पत्ति कात्यायनीलार्इ छाडेर याज्ञवल्क्य र मैत्रेयी तपस्या गर्न वन पसे ।

(कथा बृहदारण्यक उपनिषद् बाट, चित्र किड्स् डट वाप्स डट अाेअारजीबाट )

Tuesday, June 13, 2017

सिंह र मान्छे

चित्रः पेक्सेल्सडटकम

धेरै समय अगाडीकाे कुरा हाे ।  दुर्इ जना शिकारीहरू शिकार गर्न भनी पूरा तयारीका साथ बन्दूक, दूरबीन अादि सामान लिएर जंगल सफारी गर्ने माेटरमा सवार भएर जंगल तर्फ लागे । जंगल यसाे प्रवेश गरेका मात्र के थिए , एकजनालार्इ पिसाबले च्याप्याे र ऊ पिसाब फेर्न भनी माेटरबाट अाेर्लेर झाडी तर्फ लाग्याे । झाडी नगीचै पुगेकाे मात्र के  थियाे त्यहाँ त एउटा सिंह बसीरहेकाे रहेछ । मान्छे अाँफूतर्फ अाएकाे देखेर सिंह झटपट उठेर गर्जँदै ऊतर्फ अगाडी बढ्याे । 
शिकारीले बन्दूक त माेटरमै छाडेर अाएकाे  थियाे तर उसले बुद्धि लगायाे र झटपट खल्तीबाट बन्दूककाे लाइसेन्स निकालेर सिंहलार्इ देखाउँदै भन्याे
'हे सिंह हेर् त मसँग बन्दूककाे लाइसेन्स छ, तैँले मलार्इ खान सक्दैनस्' ।


पाठकहरूले साेचीसक्नुभयाे हाेला, त्याे  शिकारीकाे के अवस्था भयाे हाेला? हामीसँग रहेका धेरै नीति,  नियम, कानून पनि त्यस्तै कागज नै हुन् जबसम्म ती लागू हुँदैनन् ।

Friday, June 9, 2017

धन र खुसी

फाेटाे ः विकिमिडिया कमन्स
कुनै समयकाे कुरा हाे , बगदादका खलीफा हारून अल-रशीदकाे महल बाहिर एउटा माेचीकाे दाेकान  थियाे ।माेची सँधै काम गर्दा प्रशन्न भएर अल्लाहकाे इबादतका गीतहरू गाउने गर्दथ्याे । अाफ्नाे महलकाे झ्यालमा बसेर खलीफा मस्त भएर  माेचीकाे गाना सुन्ने गर्दथे ।  सँधै गाना सुनेर प्रसन्न भएका खलीफालार्इ सँधै माेचीकाे गीत निःशुल्क सुन्र मन लागेन र एकदिन उनले माेचीलार्इ  र्इनाम दिने  विचार गरे । उनले  माेचीलार्इ बाेलाए र एक सय दीनार   र्इनाम दिए । शुरुमा माेचीले लिन मानेन तर खलीफाले कर गरे पछि माेचीले र्इनाम लियाे । र्इनाम लिएकाे केहि दिन सम्म त  ठिकै थियाे तर दुर्इ तीन दिन पछि माेचीकाे स्वरमा पहिले जस्ताे मस्ती रहेन । तीन चार दिन पछि त माेचीकाे गाना ठ्याम्मै बन्द भयाे । 

खलीफाले माेची बिरामी भएकाे शंका गरी हेर्न पठाए तर माेची त झाेक्राएर  घाेसेमुण्टाे लगाएर जुत्ता  सिउँदै रहेछ । खबर पाए पछि खलीफा अाँफै माेचीकाे खबर लिन अाए र माेचीलार्इ गीत नगाउनुकाे कारण साेधे । माेचीले जबाफ दियाे -सरकार मैले हजूरले दिनुभएकाे सय दीनार घर राख्ने ठाउँ नै देखिन, बीबीलार्इ राख्न दिए पनि, सँगै लिएर हिँडे पनि कतै चाेरिने लुटिने हाे कि भन्ने डर लाग्याे, यसले केही खरीद गर्ने कुरा पनि देखिन, अल्लाहकाे कृपाले अाफ्नाे शीपले दैनिकी चलेकै  थियाे याे पैसा मलार्इ काम रहेनछ याे पैसा हजूरले नै फिर्ता  लिर्इदिनुपर्याे । माेचीकाे कुरा सुनेर खलीफा अवाक् भए । उनले पैसाकाे पाेकाे  फिर्ता लिए । भाेलिपल्टदेखि माेचीकाे उही मस्तीका साथ गाना गार्इरहेकाे  थियाे । खलीफा अल्लाहकाे कुदरत देखेर राेमांचित भए । 

Thursday, May 18, 2017

मरूभूमिका ऊँट

एउटा चिडियाघरमा ऊँट र उसको बच्चा थिए । बच्चा ऊँट धेरै चकचके र चलाख थियो । एकदिन बच्चा ऊँटले आमा ऊँटलाई सोध्यो 'हाम्रो ढाडमा किन जुरो हुन्छ?' आमा ऊँटले भनिन् 'हामीलाई मरूभूमिमा धेरै दिन हिँड्दा खाना र पानीको अभाव नहोस् भनि भण्डारको रूपमा हाम्रो जुरो हुन्छ।'
'अनि हाम्रो खुट्टा किन लामा र बलिया?' बच्चाले फेरी सोध्यो। 'मरूभूमिमा हिँड्न' आमाले जबाफ दिइन् ।
'अनि हाम्रो आँखिभौँ किन यति लामो र बाक्लो? कहिलेकाहिँ त हेर्न पनि गाह्रो हुन्छ।' बच्चाले फेरि सोध्यो । 'मरूभूमिमा हावा चल्दा उड्ने वालुवाबाट बचाउन ।' आमाले जवाफ दिइन्।
... ...
'हाम्रो जुरो, खुट्टा अनि आँखिभौँ सबै मरूभूमिमा काम लाग्ने रहेछ त हामी किन चिडियाखानामा?' बच्चाले एकछिन पछि पुन: सोध्यो । यसपटक आमासँग जबाफ थिएन ।
(Photo credit: www.manonthelam.com)

Thursday, February 9, 2017

नेता र किसान


दक्षिण भारतको कुनै गाउँमा नेताको भाषण सुन्न एक जनामात्र किसान आएको देखेर नेताले आफ्नो सचिवलाई कार्यक्रम रद्द गर्न भने । यो सुनेर किसानले भन्यो 'मैले जंगलमा चर्न छाडेका गाईमध्ये एउटा पनि फर्केर गोठमा आयो भने उसलाई घाँस हाल्छु भोकै राख्दिन' । यो सुनेर नेता उत्साहित भएर एक घण्टा भाषण गरे ।
'तर मैले एउटा गाईलाई पुग्ने मात्र घाँस दिन्छु, तपाईँले जसरी हजारौँलाई भन्ने कुरा एकैजनालाई सुनाए जस्तो गर्दिन' किसानले भन्यो ।
नेता निरूत्तर भए ।
(फोटो सौजन्य: सासांग लामा)

Sunday, December 18, 2016

विशिष्ट बैंक खाता

यदि तपार्इँसित एउटा यस्ताे विशिष्ट बैँक खाता हुँदाे हाे जसमा हरेक दिन अाफै रू. ८६,४०० जम्मा हुने तर भाेलिपल्ट त्याे सबै रकम अाँफै घट्ने तर पुनः अर्काे रू८६,४०० जम्मा हुने अर्थात् हरेक दिनकाे रकम त्यसै दिन निकालेर सदुपयाेग गरेमात्र काम लाग्ने तर सञ्चित नहुने हुँदाे हाेस् त तपार्इँ के गर्नुहुन्थ्याे?
हरेक दिनकाे रकम त्यसैदिन निकालेर सदुपयाेग गर्नुहुन्थ्याे हैन र?
पक्का पनि! तर के तपार्इँलार्इ थाहा छ ? हामी सबैसित साँच्चै नै त्यस्ताे बैंक खाता छ, त्यसकाे नाम हाे समय । समयले हामीलार्इ हरेक दिन ८६,४०० सेकेण्ड दिएकाे हुन्छ, हामीले त्यसलार्इ बचाएर राख्न सक्दैनाैँ, त्यसलार्इ त्यसै दिन सदुपयाेग गरेकाे हुनु पर्दछ । के हामी त्यसाे गर्छाैँ त ?

Sunday, October 2, 2016

निराशावादी

कुनै समयमा शिव संकल्पको सेतो कमिजमा नीलो मसीको दाग लाग्यो । उनले त्यो दाग हटाउन अनेक प्रयास गरे । विविध प्रकारका साबुन तथा रसायनहरू प्रयोग गर्दा पनि त्यो दाग गएन । उनले साबुन तथा रसायन निर्माता प्रति निराशा प्रकट गर्दै भने "हरे! ऐले सम्म एउटा गतिलो दागनाशक पनि बन्न सकेक‍ो छैन! "
एक दिन शिव संकल्पकी पत्नीले नौलो रसायन लिएर आइन् । त्यो रसायनले त्यो मसीको दाग एक पटकमा नै हटाइदियो। अब शिव संकल्पले खुइय्य गर्दै भने "हरे ऐलेसम्म पनि यौटा गतिल‍ो मसी बन्न सकेको छैन! "

Wednesday, August 17, 2016

अशोकवाटिकाका फूलहरू कस्ता थिए?

चित्रः राजा रवि वर्मा
लंका विजय गरी अयोध्या फर्कीसके पछि श्रीरामले हनुमानजीलाई सोध्नुभयो, "अशोकवाटिकाका फूलहरू कस्ता थिए? " । 
"राता थिए प्रभु! " हनुमानजीले उत्तर दिनुभयो । यही प्रश्नमा सीताजीले भन्नुभयो "हैन भगवन्, अशोकवाटिकाका फूलहरू सेता थिए ।" 

यहाँ माता
 सीता र भक्त हनुमान् दुवै गलत थिएनन् । हाम्रा निष्कर्षहरूमा बाहिरी दृष्टिभन्दा पनि आन्तरिक मानसिक अवस्था महत्त्वपूर्ण हुन्छ ।

Friday, June 10, 2016

ज्ञान र धर्म (न्याय र क्षमा )

 कुनै बखतमा एउटा राजकुमार र ऋषिकुमारका बीचमा 'को ठूलो?' भन्ने विवाद भएछ । विवादले ठूलो स्वरूप लिँदै जाँदा कुरा बाजीसम्म पुगेछ । कति बाजी थाप्ने भन्दा राजकुमारले दश करोड स्वर्णमुद्रा वा अझ बीस करोड स्वर्णमुद्राको बाजी थाप्ने कुरा गरे । ऋषिकुमारसँग त त्यत्रो सम्पत्ति नभएकाले उनले भने, "यो दश करोड वा बीस करोड स्वर्णमुद्रा त मसँग छैन यो त असमान बाजी भयो, अाऊ बरु दुवैसँग भएको प्राणकै बाजी थापौँ" । राजकुमार पनि सहमत भए, बरु निर्णय 'कोसँग लिने?' भन्दा ऋषिकुमारले निर्णय राजासँगै लिने कुरा बताए र दुवै राजा समक्ष पुगे । राजाले निर्णय सुनाउँदै राजकुमारलाई भने, "बाबु तिमीबाट बाजी थापेर ठूलो गल्ती भएछ, यी ऋषिकुमारकी आमा तिम्री आमा रानी भन्दा धेरै महान् हुन्, यिनका पिता ऋषि पनि मभन्दा धेरै महान् हुन् र यी ऋषिकुमार पनि तिमीभन्दा धेरै महान् हुन् , अब बाजी अनुसार तिमीले प्राण दिनुपर्ने भयो "। तर ऋषिकुमारले राजकुमारलाई क्षमा दिए । राजकुमारको पनि दम्भ हट्यो । उनले ज्ञान र क्षमाशीलता तथा शासकधर्म र न्यायको सम्बन्ध एवं महत्त्व बुझे ।

सुख दुःख

फाेटाेः  फ्लिकर
कुनै बखतमा चिनीको पहाडमा बस्ने कमिलाले नूनको पहाडमा बस्ने आफ्नो परममित्र कमिलालाई आफ्नो पहाडमा आउने निमन्त्रणा दियो । चिनीको पहाडमा घुम्दै गर्दा नूनको पहाडवाला कमिलाले भन्यो "खै त तेरो पहाडमा सुने जस्तो मीठो त केही छैन त? " । यस्तो सुनेर चिनीको पहाडवाला कमिलाले यसो आफ्नो मित्रको मुखमा हेरेको त उसले आफ्नो मुखमा नूनको ढिक्का लिएर आएको रहेछ । त्यसपछि चिनीवालाले भन्यो "हेर् मित्र, जबसम्म तैँले आफ्नो मुखको नून फ्याक्दैनस् तबसम्म तँलाई चिनीको स्वाद आउने छैन! " ।
हामी पनि दु:ख, पीर, चिन्ता अादिको यति अभ्यस्त भैसकेका छौँ कि जति नै सुखद परिस्थितिमा पनि हामी यी चीजलाई छोड्न सक्दैनौँ । सुखको पहिलो सूत्र हो : पीर, चिन्ता आदि नकारात्मक कुराको त्याग । तब नै हामी प्राप्त सुखलाई अँगाल्न सक्छौँ । अस्तु ।।

Wednesday, May 18, 2016

युयुत्सु

युयुत्सु धृतराष्ट्रका पुत्र थिए, कौरवका आफ्नै भाई । तर सदाचारी र सत्य, धर्मका पक्षपाती । जब कुरुक्षेत्रमा दुवै सेना अामने सामने थिए तब युद्ध शुरू हुनु अघि युधिष्ठिरले कौरव सेना सामुन्ने गएर उद्घोष गरे- यदि कोहि अझै पनि सत्य, न्याय र धर्मको साथ दिन चाहन्छ भने म अन्तिम पटक आमन्त्रण गर्दछु । न भीष्म आउन सके न त द्रोण नै तर युयुत्सु पाण्डव पक्षतर्फ आए । युधिष्ठिरले ससम्मान उनको स्वागत गरेर आफ्नो सेनामा मिलाए। युयुत्सु युद्ध पछिसम्म पनि बाँच्ने धृतराष्ट्रका एकमात्र पुत्र रहे । पछि पाण्डवहरू महाप्रस्थानमा जाँदा परीक्षितलाई युयुत्सुकै संरक्षणमा छोडेर गए ।

Tuesday, May 10, 2016

घटघटवासी

महाभारतको युद्ध समाप्त भैसकेपछि एक दिन कृष्णाले कृष्णसँग सोधिन् "हे कृष्ण! जब भरी सभामा दु:शासनले मेरो वस्त्र खिँच्दै थियो तब मेरो दीन पुकारका बावजुत हजुरले मेरो लज्जा रक्षणार्थ आउन किन विलम्ब गर्नुभयो? "
कृष्णले भने "हे द्रौपदि! तिमीले मलाई पुकारा गर्दा 'हे द्वारकावासी कह्नैया, मेरो लज्जाको रक्षा गर्नुहोस्' भनेर पुकारा गरेकीले मलाई एकपटक द्वारका पुगेर आउनुपर्‍यो, त्यसै हुनाले विलम्ब भएको हो ।"
सज्जनहरूले तात्पर्यार्थ बुझ्नु नै भयो होला!
'हामीले आँफैसँग भएको कुरा पनि अज्ञानले गर्दा अन्तै छ भन्ने ठानेर सजिलै पाउन सक्दैनौँ र बाहिर खोज्छौँ र पाउन गाह्रो विधि अपनाउँछौँ' l

Monday, May 18, 2015

बिरामी साथी


             
एउटा अस्पतालको एउटा कोठामा दुई बिरामी थिए । एउटा उठ्न सक्दैनथ्यो भने एउटा मुस्किलले उठेर बस्न सक्थ्यो । उठेर बस्न सक्नेको खाट झ्यालमा थियो भने उठ्न नसक्नेको खाट भित्तापट्टी थियो । तिनीहरू आआफ्ना जीवनको बारेमा कुरा गर्थे । जवानीको बारेमा कुरा गर्थे । भएर पनि आफ्ना हुन नसकेका परिवारका बारेमा कुरा गर्थे...
उठेर झ्याल बाहिर हेर्नसक्नेले साथी बिरामीलाई झ्याल बाहिरको दृश्य बयान गरेर सुनाउँथ्यो । 
बाहिर भएको सुन्दर बँगैचा र पोखरी अनि पोखरीको निर्मल पानी र त्यहाँ खेल्ने हाँस र राजहाँसको बयान गरेर सुनाउँथ्यो । बँगैचाको हरियो दुवो, अनि रंगी बिरंगी फूल अनि त्यहाँ उफ्री उफ्री खेलेका केटाकेटी र सिमसिम पानीमा भिज्दै हातमा हात समातेर छिल्लिँदै गरेका बैँसालु युवक र युवतीको बारेमा सुनाउँथ्यो । पर शहरका घरहरूबाट आएको प्रकाश अनि नीलो आकाशमा कावा खाँदै उडेका चराहरूको बारेमा सुनाउँथ्यो ...
उसको वर्णन सुनेर आनन्द मान्दै साथी बिरामीले आँखा चिम्लन्थ्यो ।
एकदिन राति, उठेर बस्ने बिरामी सुतेको सुत्यै भयो । शान्तिपूर्वक उसको प्राण गएछ । भोलिपल्ट, उठ्न नसक्ने बिरामीले नर्सलाई आफूलाई झ्यालतिर सारिदिन अनुरोध गर्‍यो । नर्सले उसलाई झ्यालतिर सारिदिइन् । उसले सकीनसकी कुहिनाले बल लगाएर झ्याल बाहिर हेर्यो .. त्यहाँबाट त पल्लो घरको भित्तामात्रै देखिने रहेछ ।

Sunday, May 18, 2014

आँखा नहुने जीव

तिनी जीव वैज्ञानिक थिइन् । एकदिन तिनले सोधिन् 'शिव! भन त, आँखा नहुने जीव कुन हो? '
मैले उत्तर दिएँ 'मान्छे'।
तिनी एकछिन सोचमा परिन् । तर होइन भन्न सकिनन् । शायद तिनी पनि मात्र जीववैज्ञानिकबाट माथि उठीसकेकी थिइन् ।

धेरै पढिएकाे

पृष्ठ संग्रह