Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Thursday, November 23, 2017

बीबीसी, रवीन्द्र मिश्र र चुनाव



~शिव सङ्कल्प

धेरै नेपालीहरूले झैँ मैले पनि सानै देखि बीबीसी नेपाली सेवा सुन्थेँ । प्रचण्डमान सिंह, खगेन्द्र नेपाली, मणि राणा, स्वर्णिम वाग्ले सुमन खरेलहरूलार्इ सुनेकाे याद छ । म कुरा बुझ्ने हुँदै जानु रवीन्द्र मिश्र बीबीसीमा अाउनु सँगै जस्ताे भयाे । हाल तिनै रवीन्द्र मिश्र चुनावमा उठेकाे प्रसङ्गमा यी अनुच्छेदहरू लेखिँदै छन् ।

ठूलाे संख्यामा नेपालीहरू बेलुका पाैने नाै बजेपछि बीबीसी नेपाली सेवा सुन्छन् । हाम्राे घरमा पनि याे कार्यक्रम सुनिन्थ्याे । तर हाम्राे घरमा यस बाहेक अल इण्डिया रेडियाे,  चिनियाँ अन्तराष्ट्रिय रेडियाेकाे नेपाली सेवा,
भ्वाइस अफ अमेरिका, डचे बेले, अावाज प्रष्ट अाएसम्म रेडियाे पाकिस्तान, फिलिपिन्स, अष्ट्रेलियाका रेडियाे समेत सुन्ने चलन  थियाे । तर कुरा बुझ्ने हुँदै जाँदा मैले बीबीसी सुन्न छाडेँ । संचारकाे नयाँ युग सँगै अन्य रेडियाेहरूका स्थान पनि तिनै समाचार संस्थाका वेबपेजहरूले लिँदै गए ।

मैले बीबीसी सुन्न छाड्नुका धेरै कारण छन् । इराक, लिबिया, अफगानिस्तान, सिरिया, उत्तर काेरिया, साउदी अरेबिया, पाकिस्तान अादिका समाचारमा बीबीसीकाे निष्पक्षताकाे स्तर जर्मनीकाे डचे बेलेकै तुलनामा पनि निम्न काेटीकाे सुनिनु, रवीन्द्र मिश्रकाे प्रश्न गर्ने शैली मलार्इ व्यक्तिगत रूपमा असम्मानजनक र एउटा भद्र पत्रकारकाे लागि अशाेभनीय लाग्नु, भाषिक रूपमा असंगत प्रयाेग निरन्तर गरिनु (जस्तैः फलानाले 'पठाएका' याे रिपाेर्ट) अादि तीमध्ये प्रमुख हुन् ।अहिले त मैले याे सुन्न चटक्कै छाडेकाे पनि दश बाह्र वर्ष पुगिसकेकाे छ । 


अब चर्चा गराैँ रवीन्द्र मिश्रकाे जाे हालकाे चुनावमा  उम्मेद्वारकाे रूपमा खडा छन् । अहिलेकाे परिप्रेक्ष्यमा भाेट हाल्न बडा कठिन छ । हामीसँग उठेकामध्ये कसैलार्इ पनि चुन्दिन भन्ने विकल्प उपलब्ध छैन । बदर गर्दा अज्ञानी ठहरिने अवस्था रहेकाे छ ।  पुराना दलले अाफ्नाे स्वरूप बारबार देखाइसकेकाे अवस्था छ । त अब भाेट हाल्ने पक्षमा रवीन्द्र मिश्र र उनकाे दलमात्रै विकल्पकाे रूपमा देखा परेका छन् । ती पनि सबै ठाउँमा छैनन् । भएका  पनि धेरै ठाउँमा तिनकाे चर्चा छैन ।  यस्ताेमा जनताले नाम सुनेका विकल्प रवीन्द्र मिश्र नै हुन् । तिनकाे क्षेत्रका विकल्प खाेज्ने धेरैले उनलार्इ भाेट हाल्नेछन् । तर रवीन्द्र मिश्र भयङ्कर पराेपकारी हुन्, उनले देशलार्इ स्वाट्टै बदल्छन्,  ठूलाे जागिर छाडेर अाएका छन् अादि विषयलार्इ लिएर पुराना दलका तलुवाचटुवाकै शैलीमा उनकाे स्तुतिगान गरिन्छ भने त्याे परिवर्तनकाे  संकेत हाेइन । निःसन्देह एकपटक उनलार्इ भाेट दिन सकिन्छ तर उनलार्इ निरन्तर खबरदारी गर्न र अावश्यक परेमा पाँच वर्ष पछि फेरी कहिल्यै नउठ्ने गरेर बहिष्कार गर्न तयार रहनु पर्छ । जनताकाे यस्तै विचेत शैलीले चुनिएकाहरूले हामीलार्इ धाेका दिने हुन् । विगतका हाम्रा गल्ती तिनै हुन् जब हामीले निरन्तरै एकै शैलीका मान्छेलार्इ चुनिरह्याैँ, कसैलार्इ पनि कहिल्यै उठ्न नसक्ने गरेर बहिष्कार गर्न सकेनाैँ र तिनले हामीलार्इ वारंवार धाेका दिए । रवीन्द्रले हामीलार्इ धाेका देलान् कि नदेलान् त ? त्याे समयकाे गर्भमा छ । तर विगतकाे अाधारमा केही विश्लेषण भने गर्न सकिन्छ ।

रवीन्द्र मिश्रले लामाे समयसम्म विदेशी संचार माध्यममा जागिर खाए । जति नै स्वतन्त्र भने पनि त्यहाँ रहँदा उनले जानेर नजानेर  मालिककाे नीतिगत विचारकै पक्षपोषण गर्नुपर्याे ।  त्यहाँ रहँदा उनलार्इ याे सबैकाे चेत खुलेर राजीनामा दिएका हुन् कि ? उनलार्इ साँच्चै देशकाे मायाले पिराेलेकाे हाे कि? कि उनी कुनै अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइनका पात्र बनेका हुन् ? यसकाे उत्तर खाेज्न रवीन्द्रकाे अागामी राजनैतिक क्रियाकलाप हेर्नै पर्छ । तर पुरातन शैलीका याेगदानशून्य मानिसहरूलार्इ पटक पटक चुनेका हामीले एकपटक उनलार्इ चुन्दैमा केही बित्दैन । उनलार्इ चुनेर उनलार्इ काम गर्न अवसर दिन सकिन्छ । अाशा गर्न सकिन्छ कि बीबीसीमा पश्चिमा हैकमवादकाे छायाँले गाँजिएर केहि त अाफ्नै देशमा गराैँ भन्ने भाव जागेर नै पाे उनी राजनीतिमा छिरेका हुन् कि ? कल्याणकारी काेषकाे कल्याणकारी नै प्रयाेग गर्ने मन रहँदा रहँदै पनि सबै भन्दा अावश्यक ठाउँहरूमा प्रयाेग हुन नसकेकाे हाे कि? जनताका दबाबले उनलार्इ साँच्चै भित्रबाट राम्राे गर्न प्रेरणा दिन्छ कि?

यदि याे सबै भएमा पनि रवीन्द्र मिश्रकाे अागामी मार्ग कठाेर छ । हाम्राे शासकीय स्वरूप खर्चिलाे बनाइएकाे छ । मिश्रित चुनाव प्रणालीले सरकारकाे समर्थन सीमित बनाएकाे छ । शासनतन्त्रकाे खर्च ठूलाे छ । शासक र शासित बीच खाडल बढ्दाे छ । अार्थिक अात्मनिर्भरताकाे तर्फ दूरदूरसम्म पनि अाशालाग्दा किरणहरू छैनन् । वैकल्पिक मानिएका शक्तिहरूले अाफूलार्इ विश्वास गर्ने गतिला अाधारहरू दिन सकेका छैनन् । जनतामा चरम निराशा र अात्मविश्वासकाे अभाव छ । टाढाबाढाहरू कुनै शक्तिकेन्द्रकाे संरक्षणमा पर्न पाए हुन्थ्याे भन्ने दाउमा छन् । बुद्धिजीवि 
भनिएकाहरू कुबुद्धिजीवि छन् । समाजमा भय, लाेभ र पाप व्याप्त छ, पापी र बिकेकाहरूकाे ठूलाे जमात छ र त्याे भन्दा ठूलाे जमात अवसर पाए पाप गर्न र बिक्न पालाे पर्खेकाहरूकाे छ । यस्ताे प्रतिकूल परिस्थितिमा पनि एकजना दुर्इ जना भए पनि हिम्मत हार्न भने हुँदैन । परिवर्तनका लागि प्रयास गरी नै रहनुपर्छ ।


अबका परिवर्तनकामीहरूले व्यापक रूपमा जनचेतनाकाे अभिवृद्धिमा लाग्नुपर्छ । अाफ्नाे अार्थिक चरित्र स्वच्छ राख्नसक्नु पर्छ  । जनतामा अात्मविश्वास जगाउन सक्नुपर्छ । क्षमतावान् हरूलार्इ अवसर दिइनुपर्छ । सबै तिर भएका नकारात्मक प्रवृत्ति कम गराउँदै लान प्रयास गर्नु पर्छ । यसाे भएका हरेक दल राम्रा हुनेछन् , विवेकशील हुनेछन् र सबैका साझा हुनेछन् । चुनावमा स्वस्थ प्रतिस्पर्धा हुनेछ, जसले  जिते पनि राम्रै गर्नेछन् ।  चुनावमा अाफूले जिते देश स्वर्ग र अर्काले देश नरक भनेर प्रचार गर्दा पनि पत्याएर सुन्ने जनता रहनेछैनन् । सबैकाे लक्ष्य सुशासन र विकास हुनेछ, लाेकतन्त्र रवीन्द्र मिश्रले भन्ने गरे जस्तो साँच्चैकाे लाेककल्याणकारी तन्त्र बन्नेछ । 



Thursday, August 3, 2017

राष्ट्रिय याेजना अायाेगका स्वर्णिम अपेक्षाहरू

जभन्दा करीब २७ वर्ष अघि २०४७ सालकाे साउन महिनाकै जस्ताे लाग्छ कुनै दिनकाे गाेरखापत्रकाे पहिलाे पृष्ठमा छापिएकाे १५ पुगेर १६ लाग्दै गरेकाे किशाेरकाे चित्र हाे याे । त्याे दिन फलामे ढाेका मानिने एसएलसी परीक्षाकाे परीक्षाफल प्रकाशित भएकाे थियाे । २०४६ माघमा सञ्चालित परीक्षाकाे परीक्षाफल प्रकाशित हुन त्याे साल २०४६ सालकाे परिवर्तनले गर्दा अतिरिक्त ढिला भएकाे  थियाे ।  म मुश्किलले अाठ वर्षकाे थिएँ, महिना र गते यकीन याद नभए पनि मलार्इ स्पष्ट सम्झना छ गाेरखापत्रकाे त्याे अंकमा नेपालभ्रमणमा रहेका भारतीय विदेशमन्त्री अाइके गुजरालले नेपाली प्रधानमन्त्री कृष्णप्रसाद भट्टरार्इसित भेटेकाे तस्वीर सँगैकाे मुख्य समाचार मुनि त्याे साल एसएलसी बाेर्डफर्स्ट भएका नृपेश प्रधानका चित्रकाे छेउमै त्याे साल दाेस्राे भएका स्वर्णिम वाग्लेकाे याे चित्र छापिएकाे थियाे । 

समय बित्दै गयाे कालान्तरमा नृपेश प्रधानले चिकित्साशास्त्र पढे भने स्वर्णिम वाग्लेले अर्थशास्त्र । बेलायतकाे लण्डन स्कूल अव् इकाेनाेमिक्स, अमेरिकाकाे हार्वर्ड विश्वविद्यालय र अष्ट्रेलियाकाे अष्ट्रेलियन न्याशनल विश्वविद्यालयमा पढेका वाग्लेले विश्व बैंकका साथै संयुक्त राष्ट्र संघ अन्तर्गतका निकायमा जागिर गरे ।  बेलायतमा रहँदा स्वर्णिम वाग्लेले बीबीसी नेपालीसेवामा समाचार पढ्ने समेत गर्दथे । गाेरखाकाे बुङ्काेट घर भएका नेपाली भाषाका शिक्षक पिता जीवन वाग्लेका छाेरा स्वर्णिमकाे नेपाली भाषाप्रति पनि लगाव रहेकाले उनले त्याे अवसर पाएका थिए । उनका समकालीन पश्चिमी मुलुकमा शिक्षादीक्षा पाएकाहरूकाे तुलनामा उनकाे नेपाली उच्चारण, शब्दभण्डार र शब्दचयनमा सजगता सह्रानीय छ । 

अहिले ४३ वर्ष पुगेका युवा स्वर्णिम वाग्लेकाे चर्चा पुनः एकपटक चलेकाे छ किनकी उनी हालै राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष नियुक्त भएका छन् । यस अघि पनि उक्त अायाेगका सदस्य रहीसकेका उनकाे चर्चा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सक्षम र अाशालाग्दा विशेषज्ञकाे रूपमा हुने गरेकाे छ । स्वर्णिम वाग्लेकाे अार्थिक याेगदान तथा कृतिहरूका अध्येता तथा अर्थशास्त्रमा गम्भीर रूचि राख्ने मलेशियामा अाैषधिविज्ञानकाे प्राध्यापक रहेका मेरा मित्र भुवन केसीकाे विचारमा स्वर्णिम वाग्ले नेपालकाे ग्रामीण अार्थिकविकासकाे संयन्त्रका कुशल संचालक हुन सक्छन् ।

विश्वविद्यालय अनुदान अायाेगका अनुसन्धान निर्देशक दीपक कुमार खड्का फेसबुकमा लेख्छन्-

"सरकार बदलिने बित्तिकै योजना आयोगको नेतृत्व बदल्ने नोक्सानको परम्परा त्यागी नेतृत्वलाई ‘आयोगको गठन तथा कार्यसञ्चालन आदेश २०६७’ को दफा १७ अनुसार नै ५ वर्षको कार्यकाल पुरा गर्न दिने हो भने डा. स्वर्णिम वाग्लेले योजना आयोगको भूमिका पुनर्परिभाषित गर्नेदेखि लिएर योग्य नेतृत्वले कसरी प्रतिकुलतामा पनि आश्चर्यजनक उपलब्धि हासिल गर्न सक्छ भनेर देखाउनुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।
सुयोग्यताले अवसर पाएको यो एक प्रेरक दृष्टान्त हो !"

तुलनात्मक रूपमा धेरै अार्थिक सुविधा भएकाे विदेशी जागिर छाडेर नेपाल अाएका स्वर्णिम वाग्लेले एउटा अन्तर्वार्तामा  भनेका छन् "जीवनमा एक बिन्दु यस्ताे अाउँदाे रहेछ, जब मान्छेलार्इ लाग्छ कि जीवनमा बढी बढी अार्थिक सुविधा मात्रै भन्दा पनि मध्यमस्तरकाे जीवनयापन गरेर पनि अाफ्नै देशमा अाफूले जानेकाे विषयमा र त्याे पनि नीतिगत तहमा काम गर्न पाउनु महत्त्वपूर्ण लाग्दाे रहेछ "। तर उनकै शब्दमा भन्दा नेपालमा याेजना अायाेगकाे भूमिका र प्रभाव नै सीमित छ । यसकाे भूमिका नीतिकाे कार्यान्वयन भन्दा पनि सल्लाहकार निकायमै सीमित छ । यस्ताेमा माथि उल्लिखित दीपक कुमार खड्काकाे फेसबुक स्टाटसमा पाका पत्रकार हरि अधिकारीले गरेकाे टिप्पणी पनि मननीय हुन जान्छ -
 

"योजना आयोगको भूमिका पुन:परिभाषित गर्ने भन्ने कुरा त्यसका अध्यक्ष प्रधानमन्त्रीको चाहना, सोच र योजना अनुसार मात्र हुने हो । हाम्रा स्वर्णिमले कुरो राख्नसम्म सक्लान् । 
वास्तवमा नीति निर्माणको प्रक्रिया तलबाट शुरू हुनु पर्दछ भन्ने विकेन्द्रीकृत योजना 
प्रणालीका दृष्टिले हेर्दा यो योजना आयोगको तामझाम नै बेकार देखिन्छ । नियंत्रित राजनीतिक व्यवस्थाका लागि मात्र सुहाउने हो यस्तो आयोग । नेपालका सन्दर्भमा त यसले मन्त्रालय विभागहरूसँग व्यवस्थापकीय द्वन्द्व बढाउने बाहेक खासै उपलब्धिमूलक काम गरेको छैन । "


नाम चलेकाे विद्यालयहरूमा पढेका, युवा र समकालीन भन्दा धेरै कुरामा पृथक् उनबाट अाशा लाग्नु स्वभाविकै छ । याेजना अायाेगकाे सदस्य रहँदा उनले कम खर्चमा याेजना अायाेगकाे बैठक कक्ष नेपाल सम्बन्धित तथ्याङ्कहरूकाे चित्र राखेर सजाएकाे लगायतका खबरहरू पनि संचारमाध्यममा प्रचारित भएका थिए । याे एक स्यानाे उदाहरण भएता पनि यसले उनकाे शैलीलार्इ प्रतिबिम्बित गर्दछ । यिनै कुराहरूले स्वर्णिम वाग्ले याेजना अायाेगकाे उपाध्यक्ष हुनुले अामजनमानसमा अाशाकाे सञ्चार गर्दछ । 

तर वर्तमान विश्व र हाम्राे मुलुककाे अवस्थितिलार्इ अाकलन गर्दा भने त्यति उत्साहित भैहाल्ने अवस्था रहेकाे छैन। नेपालकाे याेजनाबद्ध विकासकाे कुरा गर्दा २००७ साल पछिका नेपालका हरेक याेजना र कार्यान्वयन अपेक्षाकृत हुन नसकेको तीताे यथार्थ अलिकति पनि विश्लेषण गर्न सक्ने समुदायले बुझेकै कुरा हाे । यस परिप्रेक्ष्यमा देशकाे अत्यन्त अस्थिर र तरल नेतृत्वकाे राजनैतिक नियुक्तिमा (अनिश्चित छाेटाे समयका लागि) राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष बनेका वाग्लेबाट  देशलार्इ अात्मगाैरव सहितकाे  स्थूल र दीर्घकालिक अार्थिक समृद्धि र अात्मनिर्भरतामा अग्रसर बनाउने किसिमकाे ठूलाे नीतिगत परिवर्तन पाउने अाशा गर्नुभने अलिक अनुचित नै लाग्दछ । 

नेपालकाे नीतिगत तहमा पश्चिमका नामी विश्वविद्यालयमा पढेका विदेशी जागिरकाे उच्च तहमा पसेका वा पस्न लायक व्यक्तिहरू यस अघि हुँदै नभएका भने हाेइनन् । तर प्रश्न 'के तिनले नेपालकाे बाह्यअार्थिकसमृद्धिकै लागि पनि के याेगदान गरे त?' भन्ने हाे । हाे वाग्लेसित डीग्री छन्, अनुभव छ, परिकल्पना पनि हाेलान् तर के ती नेपालका लागि कति उपयाेगी हाेलान् त? कि स्वर्णिम वाग्ले पनि नोम चोम्स्की इत्यादिले भन्ने गरे जस्तो 'अाँफूले तालीम गरेका व्यक्तिहरूद्वारा विपन्न देशलार्इ विपन्न राखीराख्ने र तिनका सामाजिक, राजनीतिक, सांस्कृतिक, अार्थिकलगायतका नीतिमा कब्जा गर्ने' पश्चिमी नवउपनिवेशवादकाे दुश्चक्रकै अङ्ग साबित होलान् ? भियतनाममा बसेका, चीनकाे अार्थिकनीतिमा समेत याेगदान गरेका भनिएका वाग्ले साँच्चै नेपाललार्इ चाहिएजस्तै अर्थशास्त्री हुन् त? यदि हुन् भने पनि उनले नेपालमा उचित अवसर र प्राेत्साहन पाउलान् त ? यिनै प्रश्नहरूकाे उत्तर खाेज्न हामीले अागामी दिनलार्इ पर्खनै पर्ने हुन्छ । 

पश्चिमी शिक्षा र प्रणालीमा भिजेका वाग्लेले पक्कै पनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले नेपालकाे विकास र याेजनालार्इ कुन ढंगबाट अगाडी बढाउन चाहन्छन् भन्ने बुझेकै, अनुभव गरेकै हाेलान्, यस परिप्रेक्ष्यमा  उनका सामु शक्तिकेन्द्रकै गाेटी बन्ने वा गाेटी बने झैँ गरेर अलिकति भए पनि देशकाे वास्तविक समृद्धिकाे प्रयास गर्ने विकल्प रहेका छन् ।  यदि उनले दाेस्राे विकल्प राेजे भने पनि उनले चाहेजस्ताे काम गर्न पाउने कुरामा पनि प्रशस्त शंका छन्, तैपनि उनले अामजनताकाे बाह्यअार्थिकसमृद्धिका लागि थाेरै भए पनि केही प्रभाव पार्छन् कि भन्ने अाशा भने लागेकाे छ ।

भूकम्प पछि अपेक्षा गरिए जस्ताे हुन नसकेकाे देशकाे पुनर्निर्माण, वैदेशिक राेजगारीमा प्रतिदिन बढ्दाे अार्थिक निर्भरता, कृषिमा अाएकाे ह्रास, अव्यवस्थित शहरीकरण, यातायात र उद्याेगकाे क्षेत्रमा हुननसकेकाे अपेक्षागत प्रगति,  उत्पादनमूलक भन्दा उपभाेक्तामूलक हुँदै गएकाे संस्कृति, देशभित्रकाे शिक्षा र स्वास्थसेवाकाे हुन नसकेकाे गुणात्मक प्रगति, युवाहरूमा घटेकाे अात्मविश्वास र अात्मगाैरवकाे अभावजस्ता अनेक विषयहरूलार्इ नेपालले वर्तमानमा गम्भीर भएर मूल्याङ्कन गर्ने अावश्यकता छ । देशकाे याेजना अायाेगले यी सबै क्षेत्रमा समकालीन विश्वसँग कसरी नेपालले प्रतिस्पर्धा गर्न सक्छ त भन्ने विषयमा ठाेस मार्गचित्र प्रस्तुत गर्नुपर्ने देखिन्छ ।  स्वर्णिम वाग्लेका समक्ष रहेका मुख्य चुनाैती पनि यिनै हुन् । 

उच्च सुविधाकाे अन्तर्राष्ट्रिय जागिर छाडेर कम सुविधाकाे नेपाली जागिर खान अाएका वाग्लेकाे ज्ञान र शीपकाे सही उपयाेगिता तब हुनेछ जब उनी नेपालमा रहनुले धेरै नेपालीहरूकाे अार्थिक विपन्नतामा उल्लेख्य कमी अाउनेछ । 

(चित्रः फेसबुक)




Tuesday, August 1, 2017

चिकित्सा शास्त्र कसले र किन पढ्ने ?

~ डा. सम्मोद आचार्य

म सानो छदाँको कुरा झल्झली सम्झन्छु काठमाण्डुमा नै पनि जताततै डाक्टर वा वैद्यकविराजहरू सुलभ थिएनन्, कम्पाउण्डर भनेर चिनिने स्वास्थ्य सहायकहरू अलि सजिलै उपलब्ध थिए तर ती सबैको विश्वसनीयतामा कुनै प्रश्न थिएन। कसैले यो डाक्टर कस्तो होला जान्ने छ कि छैन होला अथवा चाहिँदै नचाहिँने अपरेशन गर्ने भनेर भनेको हो कि हैन होला बनेर सोधपुछ गरेको सुनिन्नथ्याे।
अहिलेको वातावरणमा सबैजसो सचेत बिरामी र बिरामीका परिबारका सदस्यलेले सोध्ने नियमित प्रश्न हुन् यी। यी प्रश्न स्वाभाविक मात्र हैन अत्यावश्यक लाग्छन् किनभने आजभोलि बिरामीको गलत निदान र उपचार भएको, शल्यक्रिया गर्न नपर्ने बिरामीको शल्यक्रिया गरेर बिरामीमाथि कल्पनै गर्न नसकिने विश्वासघात गरिएको वा गर्न खोजिएको जस्ता कुरा धेरै अविश्वसनीय लाग्दैनन्। यी कुरा चिकित्साशास्त्रको शिक्षाको गुणस्तरसित र नियमनकारीको उत्तरदायित्वसित प्रत्यक्ष सम्बन्ध भएका कुरा हुन् ।
चिकित्साशास्त्रको शिक्षामा अरु क्षेत्रमा जस्तै गुणस्तरको समस्या विकराल बन्दै गएको कुरा
प्रा. डा. गोविन्द केसीका पटक–पटकका सत्याग्रहका कारण सर्वसाधारणले पनि बुझ्दै गएका छन् । चिकित्सा र चिकित्सा शिक्षा क्षेत्रमा कार्य गर्ने समुदायले यो कुरा नीजि भनिएका मेडिकल कलेजको सञ्चालन नेपालमा पनि भई ती कलेजबाट चिकित्सक उत्पादन हुन थालेदेखि नै अनुभव गरेको थियो। विदेशमा पढेर आउने चिकित्सकमध्ये कतिपयको योग्यता अत्यन्त कमजोर भएको पहिले पनि अनुभव भएकै थियो जस्मा धेरैजसो नीजि मेडिकल कलेजकै उत्पादन थिए। तर पनि देशको शासनले सरकारी रूपमा गरिरहेको गुणस्तरयुक्त हेल्थ असिस्टेण्टको पढाइ बन्द गराउँदैआफ्नो न्यूनतम उत्तरदायित्व शिक्षा र स्वास्थ्यसेवालाई पनि व्यापारको क्षेत्र बन्न प्रोत्साहित गर्दै गयो।
यसरी सरकारले जनताको कर उठाउनुको सार्थकता पनि प्रमाणित गर्न नसकेकाले चिकित्साशास्त्रको शिक्षा पनि अनैतिक व्यापारको क्षेत्रका रूपमा मौलाउन थाल्यो। वास्तवमा वर्तमान परिस्थितिमा ठुलो परिवर्तन गर्न नसकिएमा कमजोरचिकित्साशिक्षाका कारण ठुलो सङ्ख्यामा कमजोर चिकित्सक उत्पादन भैरहने तथा सक्षम चिकित्सक देशबाट पलायन भैरहने कारणबाटअहिले नै धेरै समस्याग्रस्त भैसकेको चिकित्सासेवाको गुणस्तर र विश्वसनीयता अबको दुइ तीन दशकमा कल्पना नै गर्न नसकिने किसिमले गिर्ने र अहिले प्रतिवर्ष देशका जनताकोकरोडौं रुपैयाँ विदेशमा गरिने उपचारमा खर्च भएकोमा अरबौं पुग्नसक्ने र यसै पनि देशको औद्योगिक उत्पादन कम भएर खराब भएको आर्थिक अवस्था झन् कमजोर हुँदै जाने कुरा टड्कारो रूपमा देखिन्छ।
व्यापारको मुख्य उद्देश्यबाट चिकित्साशास्त्रको शिक्षा चल्ने वातावरण बनाउनमा शासनको प्रमुख हात भएको कुरामा विवाद नभए पनि यहि एक मात्र कारण भने हैन। चिकित्साशास्त्र पढ्ने कस्ले र किन भन्ने कुरामा शिक्षाविद्, अभिभावक र विद्यार्थीको विचार नै नपुग्नु र आपसमा खुला छलफल नहुनु, अनि माध्यमिक तथा उच्च माध्यमिक शिक्षाको तीव्र व्यापारीकरणले शिक्षाको वास्तविक स्तर दिनानुदिन कमजोर हुदै जानु पनि यसका सहायक कारण हुन्।
पुर्वीय चिकित्साशास्त्रका पिता चरकले हजारौ वर्ष पहिले चरकसंहितामा चिकित्सा शास्त्रको ज्ञान पैसा कमाउने उद्देश्यले उपदेश गरिएको हैन, वास्तवमा दुस्खीको दु:ख हरण गर्ने ‍एकमात्र उद्देश्य राखेर जो पनि राम्रोसित चिकित्साशास्त्रमा दक्षता प्राप्त गरको  चिकित्सक उपचारमा लागिरहन्छ उसले अत्यन्तै विशिष्ट मानसिक सुख प्राप्त गर्छूभन्दैचिकित्साशास्त्रको दुरुपयोग हुन नपाओस्, लोककल्याणमा रुचि हुनेले नै चिकित्साशास्त्र पढुन् भन्ने स्पष्ट मार्गनिर्देशन गरेको पाइन्छ।
 
चिकित्साको व्यापारीकरण गर्नाले यसबाट प्राप्त हुने असीम आनन्द र पुण्यबाट वञ्छित हुन पर्ने हुन्छ भनेर त्यस्तो काम गर्नबाट बच्न प्रेरणा पनि त्यहाँ दिइएको छ। वास्तवमा रोगीहरूलाई  रोगमुक्त गर्दा प्राप्त हुने आनन्दका बारेमा औपचारिकरूपमा आधुनिक चिकित्साशास्त्रको शिक्षामा पढाइँदैन न त अरु वादहरूभन्दा व्यापक रूपमा आफ्नो प्रभाव देखाएको उपभोक्तावादबाटप्रभावित अधिकांश अभिभावक यो आत्मसन्तुष्टिका कारणले आफ्ना सन्तानलाई चिकित्साशास्त्र पढाउने तर्फ आकृष्ट भएको भान हुन्छ।
पढाइमा कमजोर आफ्ना सन्तानलाई पनि धेरै पैसा तिरेर चिकित्साशास्त्र पढाउन थाल्दा मात्रै पनि इज्जत र उपलब्धि ठान्ने र त्यसमाथि ‌एमबबिबिएस उपाधि समेत दिलाउन सक्नु त स्वयम् ठुलो उपलब्धि हो भन्ने भ्रम धेरै अभिभावकमा देखिएको र ‌एमबबिबिएस उपाधि भए पनि ज्ञान र सीपमा कमजोर भएपछि जीवनभर सामाजिक र मानसिक रूपमा हीनताले ग्रस्त भएर बाँच्नुपर्ने सम्भावनाको कुनै आकलन गर्न नसक्ने अभिभावक र भर्ना हुन तत्पर विद्यार्थीका कारण व्यापारिक शिक्षा मौलाउन सकेको छ। फेरि पनि नियमनकारी निकायको पूर्ण हेलचेक्र्याइँ नै यस अवस्थाको कारक भएको कुरो भने बिर्सन मिल्दैन।
वास्तवमा विश्वविद्यालय जस्ता उत्तरदायित्वपूर्ण कार्य गर्नुपर्ने प्राज्ञिक निकाय पनि ज्ञानकै मात्र मापन गर्नमा पनि अत्यन्त कमजोर, जानी नजानी पनि दिइएका मध्ये ५०५ प्रश्नमा दिइएका चार उत्तरमा एउटा सही छान्ने जतिलाई सक्षम मान्ने, प्रवृत्ति र अभिरुचिको परीक्षण नै नगर्ने किसिमका नाममात्रका प्रवेश परीक्षा लिएर चिकित्साशिक्षामा अभिरुचि र अभिमुखीकरण नै नभएका अनिपढ्ने क्षमता र प्रवृत्ति नै भएका कारणकुनै किसिमको प्राज्ञिक शिक्षामा पनि अनुपयुक्त ठहरिनेविद्यार्थी समेत छान्ने काम गरेर यो बेथितिको र व्यापारीकरणकोवाहक तथा परिपोषक हुन पुगेका छन् ।
चिकित्सा शिक्षा जीव विज्ञानमा अभिरुचि र प्रवृत्ति भएका तथा रोगी वा पीडित व्यक्तिसप्रति मानसिक रूपमा संवेदना तथा सहानुभूति राख्नसक्ने, धैर्य, परिश्रम, सहनशीलता, जिज्ञासा जस्ता गुण भएका विद्यार्थीका लागि मात्र उपयुक्त विषय हो। वास्तवमा यी मानवीयगुण त जुनसुकै क्षेत्रमा काम गर्ने जोसुकैका लागि पनि वाञ्छनीय सद्गुण नै हुन्। त्यसमाथि चिकित्साशास्त्रजस्तो मानिसको जीवन र स्वास्थ्यसित सोझै जोडिएको अत्यन्त संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीका लागि त ‍यी अनिवार्य नै छन्। यसै कुरामा जोड दिन चिकित्सीय मानविकी शिक्षा भनेर आजभोलि विश्वभरि नै चिकित्साशिक्षा अन्तर्गत यी गुणको विकास गर्न उपयुक्त क्रियाकलाप पाठ्यक्रममा समावेश गर्न पनि थालिएको छ। तर हाम्रो कुरा गर्ने हो भने व्यापारीकरणको मारमा परेका सबैजसो शैक्षिक निकायले कुरा बुझेर पनि नबुझेको जस्तो गरीरहेकै छन् जसले गर्दा जनसाधारणमा यो जसले पैसा तिर्नसक्छ उसले पढ्ने वा भर्ना हुने क्षेत्र हो भनेजस्तो भ्रम झनै बढीरहेको छ।
अर्कातिर साच्चै रुचि र संवेदना भएका अनि भविष्यमा दुर्गम क्षेत्रका जिल्ला वा गाँउमा गएर काम गर्ने संभावना धेरै भएका तर आर्थिक रूपले कमजोर विद्यार्थीहरू चिकित्साशास्त्र पढ्नबाट वञ्चित हुनपर्ने जस्तो देशका लागि अत्यन्त निराशाजनक वातावरण बनेको छ। सानो सङ्ख्यामा नि:शुल्क सीटमा पढ्न पाएका विपन्न र जेहन्दार मध्येका तथा रुचि र सेवाभावका कारण पैसा तिरेरै भर्ना भएकाकतिपय विद्यार्थी पनि उनीहरूसँगै पढ्ने रुचि कम भएका र सेवाभाव नभएका पैसाका भरमा भर्ना भएका विद्यार्थीले सिर्जना गर्ने वातावरणको प्रभावमा आउनसक्ने भएकाले उनीहरूबाट पनि जे जति उत्कृष्ट सीप, संवेदनशीलता र सेवाको भावनाको आशा गर्न सकिन्थ्यो त्यति गर्न नसकिने चिन्ताजनक परिस्थितिले देशको समग्र भविष्य र स्वास्थ्यसेवाको भविष्य प्रति चिन्तनशील सबैको ध्यान आकृष्ट गर्छ।
उपयुक्त विद्यार्थी मात्रै चिकित्साशास्त्र पढ्न छानिने र आर्थिक अवस्थाकै कारण पढ्न नपाउने वातावरणमा आमूल परिवर्तन गर्न ढीलो गर्न नहुने कुरा सबै सम्बन्धित निकायले बुझ्नै पर्छ।  -
(लेखक चिकित्सा शास्त्र प्राध्यापन गर्छन्)

व्यंगचित्रः राजेश केसी

Thursday, May 11, 2017

रञ्जु दर्शना र नेपाली राजनीति


~शिव सङ्कल्प

हुन त यो लेख शुरू गर्नुभन्दा पहिला नेपालमा जेलाई ‘राजनीति’ भनिन्छ त्यसलाई ‘राजनीति भन्न मिल्छ वा मिल्दैन ?’ भन्ने प्रश्नलाई विस्तृत विवेचन गर्नु आवश्यक थियो, तर आज अर्कै प्रसङ्ग परेकाले त्यो विस्तृत विवेचनलाई थाति राख्दै लेख शुरू गरिन्छ । तैपनि छोटकरीमा यति चाहिँ भन्नै पर्छ कि दुर्भाग्यवश हाम्रो देशमा धेरै आन्दोलन भए, क्रान्ति भए, व्यवस्था परिवर्तन भए, विभिन्न कालखण्डमा विभिन्न प्रकारका युद्ध समेत भए, तर जेलाई राजनीति भन्नु पर्ने हो कम से कम निकट भूतकालमा यहाँ हुन सकेन । आजको मुख्य चुनौती भनेकै नामको राजनीतिलाई कामको राजनीतिमा पुर्याउनु हो ।



आजको प्रसङ्ग हो, यस्तै लक्ष्य बोकेकी रञ्जु दर्शनाको । रञ्जु दर्शनालाई मैले सर्वप्रथम चिनेको डा. गोविन्द केसीको आन्दोलनको समर्थन गर्ने व्यक्तिहरूको समूहमा हो । जम्मा अठार बीस वर्षकी मुडुलो कपाल भएकी कलिली युवतीको त्यो तहको जोश र जाँगर देखेर प्रभावित भएर मैले उनलाई सामाजिक सञ्जालमा पछ्याउन थालेको अझै दुई वर्ष पनि पुगेको छैन ।

Thursday, August 20, 2015

ट्विटर, डाक्टर र पेटिकोट


शीर्षक देख्दा लाग्न सक्छ लेखका लेखक अभि सुवेदी हुन् । निःसन्देह शीर्षक प्रभावित छ जापानी हाइकुबाट प्रभावित अभि सुवेदीका कुनै समय प्रकाशित हुने लेखहरूका शीर्षकबाट । जहाँ तीन असम्बद्ध जस्ता लाग्ने शब्दहरू लहरै आउँछन् । तर पढ्दै जाँदा ती शब्दबीचको सूक्ष्म सम्बन्ध प्रष्ट हुन्छ ।
सर्वप्रथम प्रसंग सामाजिक सञ्जालको छ । नेपालमा फेसबुकले लोकप्रियताको फड्को मारीरहँदा केवल १४० मात्रामा आफ्ना अभिव्यक्ति राख्नुपर्ने ट्विटर पनि धेरै पछाडी छैन । विशेष गरी लेखक, पत्रकार र राजनीतिकर्मीहरू माझ वा अझ व्यंगात्मक रूपमा भन्नुपर्दा फुर्सदिलाहरूमाझ ट्विटर लोकप्रिय छ । अन्तराष्ट्रिय रूपमै पनि अलिकति पनि सामाजिक परिचय बनाएको व्यक्तिको ट्विटरमा उपस्थिति हुनु अनिवार्य जस्तै भैसकेको छ । नेपालमा पनि ट्विटर चलाउनेहरूको राम्रो संख्या भैसकेको छ । यदा कदा चलाउनेदेखि लगभग चौबीसै घण्टाजस्तो ट्विटर चलाउनेहरू ट्विटरमा छन् । आफ्नो व्यस्त कार्यतालिकाका बावजुद प्रस्तुत पंक्तिकार पनि बेला मौकामा ट्विटर चलाउन छाड्दैन । धेरैले ट्विटरलाई हल्काफुल्का टिप्पणी गर्ने थलो मानेको देखिन्छ । त्यसो त नामी राजनीतिकर्मीहरू पनि ट्विटरमा जुहारी खेलीरहेका देखिन्छन् भने ट्विटरकै माध्यमले सामाजिक नाम कमाएकाहरू धर्म, संविधान या त्यस्तै चल्तीको प्रसंगको समर्थन वा विरोधमा लेखिरहेका हुन्छन् । खेलप्रेमीहरू खेलको प्रत्यक्ष प्रसारण गरीरहेका हुन्छन् भने प्रेमीहरू प्रेम प्रसंगकै चर्चा गरीरहेका हुन्छन् । तुच्छ र कुत्सित गालीगलौजदेखि अश्लील टिका टिप्पणीबाट पनि ट्विटर मुक्त छैन । साँचो अर्थमा अभिव्यक्तिको यौटा “स्वतन्त्र” माध्यम बनेको छ ट्विटर । 
ट्विटरसंसारका आफ्नै शब्दावली छन् । ह्याण्डल (प्रयोगकर्ताको इमेलको जस्तै आफ्नो विशिष्ट ठेगाना), ट्विट (आफ्नो भनाइ सञ्जालमा राख्नु) , रिट्विट् (अरु प्रयोगकर्ताका शब्दलाई पुनः प्रसारित गर्नु) फेब (कुनै ट्विटलाई मनपराएको चिह्न दिनु) , मेन्सन (अरु प्रयोगकर्तालाई आफ्नो ट्विटमा उल्लेख गर्नु), फलो (कुनै प्रयोगकर्तालाई पच्छ्याउनु), फलोब्याक (आफूलाई पच्छ्याउनेलाई फिर्ता पच्छ्याउनु ),फेक (कुनै सुपरिचित वा अन्य व्यक्ति वा नक्कली वा अमूर्त नाममा ट्विट गर्ने व्यक्ति), टाइमलाइन (आफूले पच्छ्याएकाहरूले लेखेको देखिने चलायमान पत्र, हिजोआज पच्छ्याएपनि आफ्नो टाइमलाइनमा नदेखिन मौन वा म्यूट  गर्ने विकल्प उपलब्ध छ), डीएम् (डाइरेक्ट म्यासेज) आदि ट्विटरसंसारका प्रमुख शब्द हुन् । त्यसो त बरिष्ठ, बतासे, हावा छेकुवा वा यस्तै अरू नेपाली शब्दहरूका पनि ट्विटरमा अलग्गै अर्थ छन् जो बाहिरकालाई नौलो लाग्न सक्छ । 
हालैको प्रसंग हो मेरो टाइमलाइनमा अचानक यौटा सचित्र ट्विट देखापर्यो । मैले फलो नगरेका एकजना ह्याण्डलमै डाक्टर झुण्डिएका व्यक्तित्वको ट्विट थियो त्यो । मैले फलो गरेका अर्का ट्विटेले रिट्विट् गर्नाले त्यो मेरो टाइमलाइनमा देखा परेको थियो । काठमाण्डौँ टुँडिखेल छेउको माहांकाल अगाडीको सडक पेटिको दुरवस्थाको बारेमा सचित्र गरिएको उक्त ट्विटमा उक्त सडकको दुरवस्थाका जिम्मेवार ठानिएका महानगरपालिका र सडक विभागका हाकिमलाई पेटिकोट लगाइदिन माग गरिएको थियो । महिलाका परिधानको माध्यमले अप्रत्यक्ष रूपमा महिलालाई नै निकृष्ट र तुच्छ रूपमा परिभाषित गर्न खोज्ने पुरूषवादी संस्कार नेपालमा पहिले देखि नै रहेको छ । कुनै पनि असक्षमलाई फरिया लगाइदिने, पेटिकोट लगाइदिने, चुरा लागाईदिने वा यसभन्दा पनि तुच्छ र अश्लील तरिकाले महिलालाई जोडेर टिप्पणी गर्ने कुत्सित परम्परा नेपाली समाजमा अझै विद्यमान छ । शायद यसै कारणले पनि होला स्वयं आधुनिक महिलाहरूमा ती परिधान र अलंकारहरू प्रति रूचि कम हुँदै गएको जस्तो देखिन्छ । 
शिक्षित र नयाँ पुस्ता यसबाट बिस्तारै मुक्त हुँदै गए पनि यसको धङधङी अझै बाँकि रहेको प्रमाणको रूपमा उक्त ट्विट देखा परेको थियो । पुरुष र महिला एकै रथका दुई पांग्रा हुन् , दुबै बराबर हुन्, यी दुबैले काँधमा काँध वा हातमा हात मिलाएर अघि बढेमात्र समाज विकास हुन्छ जस्ता शब्दावलीहरू हिजोआज प्रशस्त सुन्न पाइन्छ । तर व्यवहारमा भने यस्ता शब्दावली प्रयोग गर्नेहरू नै महिलाको सम्मान प्रति असंवेदनशील  देखिन्छन्। व्यक्तिगत रूपमा पंक्तिकार महिला र पुरुषलाई बराबर भन्दा पनि आफैमा विशिष्ट मान्नुपर्छ र महिलालाई विशेष सम्मान र सुविधा हुनुपर्छ भन्ने धारणा राख्दछ । पंक्तिकारलाई उक्त ट्विटले चसक्क घोँच्यो । ट्विटकर्ताको बारेमा सामान्य जानकारी (फोटो, नाम र वेबलिंकको आधारमा) प्राप्त गर्दा ट्विटकर्ता राजधानीका एकजना नामी कलेजो विशेषज्ञ रहेको जस्तो देखियो । नेपालका ट्विट अकाउण्ट सितिमिति भेरिफाइ नहुने हुँदा ठोकुवै गरेर भन्न नसके पनि एकजना सुशिक्षित जस्ता देखिने (उनको वेबलिंक हेर्दा तिनले चिकित्साशास्त्रमा स्नातकोत्तर मात्र नभई विद्यावारिधि गरेको देखिन्छ) व्यक्तित्वले त्यस्तो ट्विट गरेको देख्दा पंक्तिकारले सभ्य शब्दमा ध्यानाकर्षण गराउन उचित ठान्यो । उत्तरमा उक्त सज्जन अझ हल्काफुल्का रूपमा आफ्नो ट्विटको बचाउमा उत्रे । हुँदा हुँदा अलिकति अश्लीलता तर्फ ढल्केका शब्द समेत तिनले प्रयोग गरे । कुरा वार्तालापको हदबाट अगाडी बढ्यो । यो यौटा उदाहरणमात्र हो जसले हाम्रो समाजमा रहेका सुशिक्षित व्यक्तिहरूकै पनि महिलाबारेको अवधारणालाई प्रतिविम्बित गर्छ । हुन त उनको पहिलो ट्विट संस्कारजन्य असावधानीको उपज पनि हुन सक्छ तर आफ्नो असावधानीलाई औँल्याइदिने प्रतिको व्यवहारले भने उनको अहंकारी व्यक्तित्वलाई राम्रै प्रतिबिम्बित गर्छ । तर प्रस्तुत पंक्तिकार भेरिफाइको शंकाको लाभ डाक्टर साहेबलाई दिन चाहन्छ । ती ट्विटकर्ता ती नामी डाक्टर साहेब हैनन् अर्कै फेक व्यक्तिले उनको उपाधि नाम र चित्र प्रयोग गरी असंवेदनशील ट्विट तथा वार्तालाप  गरेको हो भन्ने प्रस्तुत पंक्तिकारको मत छ । आफ्नो परिचयको  प्रयोगद्वारा सामाजिक सञ्जालमा भैरहेको संप्रेषणप्रति वास्तविक डाक्टरसाहेब पनि सचेत हुनुहोस् भन्ने पनि प्रस्तुत पंक्तिकारको आशय हो ।
हाम्रो समाजमा अझै पनि डाक्टर र इञ्जिनियर भन्ना साथ मेधावी र उच्च मानसिक क्षमता भएका व्यक्ति भनेर बुझ्ने चलन छ । धेरै अर्थमा यो गलत पनि होइन । आफ्नो नाम अगाडी डा. शब्द जोड्दा नामले धेरै गरिमा बोकेको मानिन्छ । चिकित्सकको योग्यता प्राप्त गरेका वा विद्यावारिधि उपाधि प्राप्त गरेकाहरूले नाम अगाडी डा. लेख्ने चलन छ । हाल धेरै डाक्टरहरूले अप्रासंगिक रूपमा आफ्नो नाम अघि डा. लेख्न बन्द गरे पनि फेसबुक वा ट्विटरमा र अझ हस्ताक्षरमै समेत डा. लेख्ने व्यक्तित्वहरू पनि हाम्रो समाजमा देख्न सकिन्छ ।  कुरा जे भए पनि समाजको आदर्शका रूपमा रहेका सुशिक्षित व्यक्तिहरूले महिलासँग सम्बन्धित टिकाटिप्पणीमा सावधान हुनु अति आवश्यक छ भने यसबारे ध्यानाकर्षण गर्नु पनि हरेक सचेत नागरिकको कर्तव्य हुन आउँछ ।
उक्त वार्तालापको पुछारमा यसको बारेमा त यौटा लेख नै लेख्नु पर्छ की ? भनेर समेत पंक्तिकारले ट्विट्दा उक्त सज्जनले पनि “हो लेख्नै पर्छ” भनी प्रेरणा दिएका थिए । लेखनमा धेरै विराम लिएको अबस्थाको यो पंक्तिकारलाई यी शब्द लेखाउन प्रेरणा बनेका  “डाक्टरसाहेब”, रिट्विट गर्ने मित्र र उक्त वार्तालापकी साक्षी रहेकी मेरी एक सुपरिचित पत्रकार बहिनीको समेत उत्प्रेरणामा यो लेख लेखिएको हो ।

अन्त्यमा, काठमाण्डौँ टुँडिखेल छेउको माहांकाल अगाडीको सडक पेटिको दुरवस्थाको यथाशीघ सुधार होस् र महिलाप्रति हल्काफुल्का टिप्पणी गर्ने ती सज्जनको मानसिकतामा पनि अझै छिटो सुधार होस् भन्दै मेरा शब्दहरूलाई यहीँ विराम दिन्छु ।


धेरै पढिएकाे

पृष्ठ संग्रह