Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Friday, May 3, 2019

छेस्को (कथा)

‘साहुजी एक कप कालो चिया दिनुहोस् त !’
मैले अर्डर गरेँ ।
‘हस् लेमन टी बनाइदिम् कि सादा ?’
साहुजीले सोधे ।
‘कागती छ भने लेमन टी नै बनाइ दिनुहोस् न त !’



मेरो जबाफ राम्ररी झर्न पाएको थिएन, साहुजीको ‘हस्’ हावामा तरङ्गित भयो । साह्रै फरासिला र मिजासिला स्वभावका थिए साहुजी । सानैमा गाउँकै लाहुरेहरूका साथ लागेर भारत पसेका साहुजीले आफ्नो जीवनको करीब बीस वर्ष भारतका इलाहाबाद, नयाँ दिल्ली, बम्बई आदि शहरहरूका होटलमा सानो तिनो काम गरेर बिताएका थिए । पछि भारतमा देखे सिकेको शीपका आधारमा स्वदेश फर्केर पोखरामा आफ्नै गाउँको नाममा ‘मर्स्याङ्दी खाजा पसल’ खोलेका थिए उनले । मसला चिया, बदाम हालेको समोसा र आलु पराठामा उनको विशेष दख्खल थियो ।

चिया अर्डर गरेपछि म ‘मर्स्याङ्दी खाजा पसल’ को आँगनको छेवैमा राखिएको बेन्चमा टुसुक्क बसेँ । जसरी त्यो बेन्चमा म मेरो चार बर्षे स्नातक तहको विद्यार्थी जीवन भरीमा करीब तीनहजार घण्टा जति बसेँ हुँलाँ । शायद यो मेरो जीवनकै सबैभन्दा धेरै क्रेडिट आवरको कक्षा थियो । सामाजिक शिक्षा विषयको । जीवनका अनेक आरोह, अवरोह र समाजको प्रवाह मैले त्यसै बेन्चमा बसेर सिकेँ । नियमित भेटिने करीब पचास साठी साथीभाइका अतिरिक्त पनि सयौँ मान्छेसित प्रत्यक्ष सम्बन्ध मैले त्यहीँ बनाएँ । झरी होस् या बादल म हरेक दिन एकपटक त्यहाँ पुगेकै हुन्थेँ । परीक्षाका व्यस्त दिनहरूमा समेत म कम्तीमा एक घण्टा त्यहाँ बसेकै हुन्थेँ, जतिबेला त्यहाँ विद्यार्थीहरू नगण्य मात्रामा भेटिन्थे । 

मैले नियमित चिया खाने पसल थियो त्यो । मैले गलत भनेँ । वास्तवमा भन्नु पर्दा सामान्यतः म चिया खान्नथेँ । म त्यसै बिना काम पनि साँझ बिहानको रमझम हेर्न वा साथीहरूसित गफिन त्यहाँ जान्थेँ  ।  यसै पनि त्यो पसल मेरा मित्रहरूको आकाश पाताल जोडेर गफ गर्ने अखडा थियो । कलेजको गेटको करीब बीस मीटरमै अवस्थित उक्त चियापसल मेरा मित्रहरूको चिया, खाजा खाने मुख्य थलो मात्रै नभएर ‘कुन विषय कति गाह्रो वा सजिलो छ?, कुन विषयको नोट कसले सबैभन्दा राम्रो बनाएको छ? कसको परीक्षा कति राम्रो वा झुर भयो’ भन्ने छलफल गर्ने थलो समेत थियो । त्यहाँ पढाइका अतिरिक्त ‘कलेजमा आन्दोलनका योजना गर्ने, आन्दोलनको शान्तिपूर्ण अवतरणको रोडम्याप तयार गर्ने, फलाना टीचरको कक्षा बहिष्कार गर्ने, फलाना केटीको त फलाना केटासित चक्कर चलीरहेको छ भन्दै कुरा काट्ने, फलानो किताब पढ्यौ?, अहिले कुन सिनेमा लागीरहेको छ ? फलाना राजनीतिक नेता यस्तो उस्तो’ भन्ने जस्ता गफ पनि बढाइ चढाइ हुन्थ्यो ।  त्यहीँ चिया खाजा खाएर धेरैका सम्बन्ध जोडिए । कतिका तोडिए पनि । नजिकै मालपोतको कार्यालय थियो । त्यसो हुँदा त्यहाँ मालपोतका कर्मचारी, किसिम किसिमका सेवाग्राही र चतुर बिचौलियाहरू समेत खाजा खान आउँथे । यसले गर्दा मेरो समाजिक शिक्षाको ज्ञानको दायरा अझै फराकिलो बनेको थियो ।

मैले चिया नखाए पनि यस्ता प्रकारका हरेक छलफलमा म सक्रिय भएर भाग लिन्थेेँ।  मेरा तर्क वितर्क र कुतर्क समेत सुन्न पनि त्यहाँ मेरा मित्रहरू अटूट रूपमा उपस्थित हुने र उनीहरूको बसाइले त्यहाँ चिया, खाजा, चुरोट र अन्य पदार्थसमेतको निरन्तर बिक्रि हुने हुनाले साहुजी म प्रति उति कडा थिएनन् अर्थात् उठेर जाऊ भन्थेनन् । साहुजीले मलाई मायै गरेका हुन् अन्यथा त्यहाँ त्यत्तिकै घोसेमुण्टो लगाएर बसेर वातावरण धमिलो बनाउने विद्यार्थीहरूलाई साहुजीले नमीठो गाली गरेर पठाएको सम्झना मलाई अझै ताजै छ ।

‘अमेरिकाको न्यूयोर्कमा भएको आक्रमणको पृष्ठभूमि, इराकमा भएको नेपालीहरूको हत्या, अफगानिस्तानको तोराबोराका पहाडका निवासीहरूको जीवनशैली, पाउलो कोहेलोको अल्केमिस्टको पात्रका मनका चलेको विचार, नेपालको आगामी राजनैतिक व्यवस्थाको हुनुपर्ने स्वरूप, रामगोपाल वर्माको आग किन चलेन ? ग्वान्तानामो बे र अबु घ्राएब जेलको अवस्था, नेपालका विश्वविद्यालयको शैक्षिक सुधार’ आदि विषयमा म र मेरा मित्रहरूले त्यही चियापसलका बेन्चमा बसेर प्रस्तुत गरेका कार्यपत्र र ती माथिका विवेचनात्मक टिप्पणीहरूकै भरमा मेरो आजसम्मको सामान्यज्ञान चलीरहेको छ ।

‘परिवारका सदस्य बीचको जग्गा विवाद कति भयानक हुन्छ ?, कीर्ते कागज बनाएर जग्गा कसरी लट्टीपट्टी पार्न खोजिन्छ?, बहुविवाह भएको परिवारको अंश विवाद कुन हदसम्म तन्किन्छ?  खेतलाई खोला र खोलालाई खेत कसरी बनाइन्छ ? जग्गा खरीद बिक्रि तथा अंशबण्डामा लाग्ने कर कसरी छल्न सकिन्छ? आदि अनेक विषयका लम्बेतान कथादेखि बढ्दो उमेरमा देखा पर्ने विभिन्न शारीरिक र मानसिक समस्या र तिनका घरेलु निराकरणका उपायहरू’ सम्मका बारे समेत मैले त्यहीँ बसेर जानेको हुँ । अब मलाई सानोतिनो जग्गा विवाद सल्टाउन र अधबैंशे हुँदै जाँदा आफूलाई हेरचाह गर्न पनि कुनै पीर छैन ।

तर म आज एक अलग्गै दिनको कथा भन्दैछु । जसको सम्बन्ध माथि उल्लेख गरिएका ज्ञान र सूचनाभन्दा बिलकुलै भिन्न छ । जुन दिन घटित बोधले मेरो बाँकी जीवनलाई नै नयाँ दिशा दिन सफल भयो । त्यो दिन घटेको घटना मेरो जीवनमा एक विशिष्ट अनुभवको  रूपमा आजसम्म पनि रहेको छ । मेरो जीवनमा त्यस्तो दिन यस अघि र यस पछि पनि कहिल्यै आएन ।

हो त्यो दिन जुन दिन मेरो ऊसित अलौकिक रूपमा भेट भयो ।

त्यो भेटले मेरो त्यसपछिको जीवनको दिशा  नै मोड्न सफल भयो ।  त्यो बेला हाम्रो कलेजमा परीक्षा चलीरहेको थियो । निःसन्देह परीक्षाका दिनहरूमा त्यो चियापसलको बेन्चमा बस्ने हामीहरू नगण्य हुन्थ्यौँ । त्यो दिन म एक्लै थिएँ । चिया अर्डर गर्ने कोही थिएनन् । त्यसैले साहुजीलाई ठिक्क पार्न मैले नै कालो चियाका अर्डर गरेको थिएँ । हो त्यही दिन जुन दिन मेरो ऊसित भेट भयो ।

‘ल लिनुहोस् चिया, कागती लागेको छैन भने भन्नुहोस है !’ साहुजीको आवाज सुनियो ।

मैले चिया समाएँ  र हल्का चुस्की लिन लागेँ । चिया च्वास्स पोल्दो थियो । सामान्यतया चिया नखाने हुँदा मलाई चिया तात्तातै सुर्काउने अभ्यास छैन । म चिया खानै पर्दा चियालाई आरामसित सेलाउन दिन्छु । अनि घुटुघुटु पिउँछु । तर त्यो दिन भने किन हो म तात्तातो चिया चुस्की लिई लिई पिउन लागेको थिएँ ।

अचानक मेरा आँखा टेबलमुनि उत्तानो परेर पल्टिएको ऊमाथि परे ।

मानौँ लामो परिश्रम पछि थाकेर पल्टेजस्तै थियो ऊ । व्यस्त चौबाटोको सडक किनारको चमेनाघर अगाडी राखिएको  टेबलमुनि  ऊ  कताबाट आएर पल्टन पुग्यो अचम्मको कुरा थियो । म भने आँपूm सँधै बस्ने बेन्चमा बसेर चिया खाँदै थिएँ ।  चोकमा भैरहेको गतिविधिमा नजर दिँदादिँदै मेरो ध्यान अचानक ऊमाथि परेको थियो । निःशब्द, असहाय र धूलोले ढाकिएको थियो ऊ ।  एकमन त लाग्यो गएर उठाउँ तर अर्को मनले भन्यो ऊ लडेको हैन सुतेको हो, उसलाई विश्राम गर्न देऊ । दोस्रो मनले जित्यो । अतः न मैले उसलाई सुमसुम्याउन नै सकेँ न त आँफू त्यहाँबाट उठेर अन्यत्र जान नै सकेँ ।

म चियाको चुस्की लिईरहेँ ।

बेलाबेलामा मेरो ध्यान सडकमा गुडीरहेका गाडीहरूमा जान्थ्यो भने बेलाबेलामा मेरो ध्यान त्यहाँ ओहोर दोहर गरीरहेका मानिसहरूमा जान्थ्यो । तर एकैछिनमा मेरो ध्यान फर्केर उसैप्रति आउँथ्यो। यसरी नै केही मिनेट बित्यो । मैले चिया पिएर सकेँ । तर न त ऊ उठ्यो न त म नै उठेर जान सकेँ । मलाई उसको उपस्थितिले तानीरह्यो । गजबको आकर्षण थियो उसमा । शायद उसमा आकर्षण भन्दा पनि म नै ऊ प्रति ज्यादा तानिएको थिएँ । निःशब्द, अचल लडीरहेको उसलाई अपलक हेरीरँहदा मलाइ एकप्रकारको अलौकिक आनन्दको अनुभूति भइरहेको थियो । मलाई मेरो मस्तिष्क नै शून्य शून्य हुँदै आएजस्तो लाग्यो । म कहाँ थिएँ? वा को थिएँ? मलाई खासै होश हुन छाड्यो । उसो त अरुबेला वरपरका मान्छेहरू नबोल्दा पनि  ‘यिनीहरू मनमा पक्कै यही सोचेर बसेका होलान्' भनेर कल्पना गर्ने मान्छे म त्यस घडी मेरो वरीपरी को थिए वा तिनीहरूले के भने भन्ने समेत सोचीरहेको थिइन । म त केवल उसैलाई अपलक हेरीरहेको थिएँ ।

अचानक त्यो टेबलको छेउमा दुइजना मानिसहरू आए । शायद मालपोत कार्यालयमा आएका सेवाग्राही थिए । उनीहरू आरामले छेवैको कुर्सीमा बसे । तिनीहरूले ऊ त्यसरी टेबलमुनि लडेको पत्तै पाएनन्, मानौँ ऊ त्यसरी त्यहाँ लड्नुले उनीहरूलाई कुनै फरक परेको थिएन । अझ ती मध्ये एकले त उसलाई लात्तो पनि लगायो । आँफूमाथि लात्तो लाग्दा पनि उसलाई मेसो भएन । प्रतिक्रिया विहीन थियो ऊ । न त लात्तो हान्नेलाई नै त्यहाँ कुनै अपराधबोध भयो । ‘हरे कति संवेदनाहीन छन् मान्छेहरू !’ मेरो एक मनले भन्यो । तर उत्तिखेरै अर्को मनले जबाफ दियो ‘तैँले पो के गरिस् र खै ? खाली तमाशा हेरेर बसेको त छस् ।’ हुन पनि मैले पनि केही गरेको त थिइन नि ? म निश्चल भएर उसैलाई हेरी मात्रै रहेको थिएँ । ती मानिसहरू कुरा गर्दै थिए । मेरा कानले तिनको वार्तालाप सुने पनि आँखा भने उसैमाथि गाडीएका थिए ।

ती मानिसमध्ये एकजनाले भन्दै थियो ‘जीवन कति सस्तो भएको छ  हिजोआज कसैको जीवन प्रति कसैलाई कुनै मतलब नै छैन। सबैलाई आफ्नैमात्र ध्याउन्न छ । अरुको बारेमा सोच्ने फुर्सद यहाँ कसलाई छ र ?’

‘हो त मान्छे अति स्वार्थी छ सर्वश्रेष्ठ प्राणी भनेर के गर्नु ? प्रकृति जीववन्तुको त परै जाओस् उसलाई मान्छेकै समेत पनि माया छैन’ अर्कोले थप्यो ।

यस्ता यस्ता कुराकानीमा मस्त रहेका ती व्यक्तिहरूको पनि ऊ प्रति कुनै संवेदना भने देखिएन । जाँदा जाँदै तीमध्ये एक महाशयले पुनः उसलाई लात्तो लगायो । अर्कोले यो सबै देखेर पनि नदेखे जस्तै गर्‍यो । ती दुबै साहुलाई चियाको पैसा तिरेर आफ्नो बाटो लागे ।

म भने उसैलाई हेरीरहेको थिएँ । ती मानिसहरूको लात्ती खाएर पनि ऊ अविचलित थियो । मानौँ ऊ अचेत थियो । कहाँबाट आयो होला ऊ? अब कता जान्छ होला ? किन त्यसरी टेबुलमुनि लडीरहेको होला? मेरो मनमा यस्तै भावहरू खेल्दै थिए । हेर्दै जाँदा अचानक मेरो मनको भित्री अन्तर कुन्तरबाट ऊ प्रति गम्भीर सम्मोहन पैदा भएर आयो । शायद मभित्र ऊ प्रति प्रेम अङ्कुरित भैरहे जस्तो लाग्यो । मलाई लाग्यो शिरदेखि पाउसम्म धूलोले पुरिएको ऊ पक्कै पनि कर्मठ हुनुपर्छ । उसको शरीर कठोर थियो । धेरैको नजरमा कुरूप समेत । तर मलाई उसको त्यै कुरूप शरीर पनि अलौकिक आकर्षणयुक्त लागीरहेको थियो । यसरी उसैलाई अपलक हेरीरँहदा कतिबेला मिनेटहरू घण्टामा बदलिए थाहै भएन ।

साँझ ढलीरहेको थियो । वरपर केही सुनसान हुन लाग्दै थियो । अब मेरो धैर्यको बाँध फुट्न लाग्यो । मैले आँँफूलाई रोकीराख्न सकिन । मैले बिस्तारै गएर उसलाई उठाएँ । ऊ पनि उठेर बस्यो । म ऊ नजिकै गएर बसेँ । मैले उसका आँखाहरूमा हेरेँ । उसले पनि मेरा आँखाहरूमा हेर्‍यो । यो हेराहेर एकक्षण चल्यो ।  उसका आँखा मादक थिए । उसको नकोरिएको खजमजिएको र धुलोले पुरिएको कपालले पनि उसको तेजिलो अनुहारमा चमक थपिदिएको हो कि भनेजस्तो लाग्यो । अब भने मैले आँँफूलाई सम्हाल्नै सकिन । मलाई वरपर रहेका मानिसहरूको कुनै वास्ता भएन । मैले उसको टाउकोलाई मेरा मायालु हातहरूले सुम्सुम्याएँ । उसको कपालबाट धुलो झारिदिएँ । अब मेरो टाउको उसको छातीमा थियो । उसले पनि आफ्ना मायालु हातहरूले मेरो टाउको सुमसुम्यायो । मैले उसलाई अङ्गालो हालेँ ।  मेरो अङ्गालो पनि हुनसक्नेसम्मको कसिलो थियो । हामी दुईलाई कसैको परवाह थिएन । मानौँ यो संसारभर ऊ र म दुईजना मात्रै थियौँ । क्षमा गर्नु होला त्यहाँ हामी दुई जना थिएनौँ ।  हामी एकाकार भैसकेका थियौँ । हामी एकाकार पनि थिएनौँ संसारभरी फैलेका थियौँ । त्यहाँ अरु कोही थिएन ।  त्यहाँ अरु केही थिएन ।  मैले उसलाई धित मर्ने गरेर म्वाईँ खाएँ ।

‘के गर्दै हुनुहुन्छ टेबलमुनि ? खै उठ्नुस् !
पसल बन्द गर्ने बेला भयो  टेबल भित्र हुल्नुपर्‍यो’
अचानक ‘मर्स्याङ्दी खाजा पसल’का साहुजीको आवाज कानमा पर्नाले म झसङ्ग भएँ । उनी अगाडी भन्दै थिए

‘यो फोहोर छेस्को किन मुखमा हाल्दै हुनुहुन्छ ?’



Wednesday, February 14, 2018

वैज्ञानिक (२०७४ फागुनको मधुपर्कमा प्रकाशित कथा)


वैज्ञानिक (कथा)
~शिव सङ्कल्प


    

‘देशको विकास विज्ञानबाटमात्र सम्भव छ ।’

सानैदेखि सुनेको थियो उसले । विद्यालयमा विज्ञान भन्ने विषयका शिक्षकले सुनाएका थिए यो कुरा उसलाई ।  त्यतिबेलासम्म साइन्स भन्ने उसले सुनेको थिएन । उतिबेला उसको गाउँमा अंग्रेजी विद्यालयहरू थिएनन् । 

‘आजका हामी कोपिला
भोलि फूल बन्नेछौँ
पढी गुनी ठूलो भै
देशको विकास गर्नेछौँ...’

यस्तै यस्तै शब्द भएका कविता लेखेर पाँच कक्षामा हुँदा सान्त्वना पुरस्कार पनि जितेको थियो उसले । जोशका साथ यो कविता पाठ गरीरहँदा उसको मनमा ठूलो मान्छे भन्नाले वैज्ञानिक भन्ने छाप थियो । उसका विज्ञान शिक्षक बडा प्रगतिशील विचारका थिए । पाठकहरूमा भ्रम नपरोस्, कुनै राजनैतिक संगठनका सदस्य भने होइनन् ।  काठमाण्डौँबाट प्रथम श्रेणीमा आईएस्सी गरेर पनि गाउँमा शिक्षक हुन रोजेका थिए उनले ।  उनैको प्रभाव परेको थियो उसलाई । तिनले केटाकेटीमा ठूलो मान्छे भन्नाले डाक्टर वा इञ्जिनयिर मात्र भन्ने अवधारणामा वैज्ञानिक भन्ने पनि जोडिदिएका थिए । वैज्ञानिक भन्नाले सेतो कोट र मोटो चश्मा लगाएको सूक्ष्मदर्शक यन्त्र हेरिरहेको मान्छे थियो उसको मनमा । जसले नयाँ नयाँ चीज आविष्कार गर्थ्यो ।
उसले अति परिश्रमका साथ पढ्यो । ब्याट्री र नीलो तुथोको मद्दतले स्टीलको चम्चामा तामाको जलप लगाएको प्रयोगले उसको मनमा राम्रै जलप लगाएको थियो भने  कीलामा तार बेरेर चुम्बक बनाएको प्रयोगले उसलाई चुम्बकले झैँ आकर्षित गर्थ्यो ।

० ० ०

उसले प्रथम श्रेणीमा एसएलसी पास गर्‍यो । एकासी प्रतिशत त्यसताक ठूलो प्रतिशत थियो । युवा पाठकहरू नझुक्किनुहोस् । त्यो ताक विशिष्ट श्रेणीको व्यवस्था थिएन । प्यूठान जिल्लाभरीमा सर्वप्रथम भएको थियो ऊ । 

‘योगबहादुर घर्ती मगरले आज जिल्लाकै नाम राखेका छन् । प्यूठान जिल्लाले आज शिक्षाको क्षेत्रमा फड्को मारेको छ ।’

जिल्ला शिक्षा अधिकारीले भाषण गरे ।

‘अब राम्रो शिक्षाको लागि दाङ नेपालगंज राखेर पढाउनुपर्ने अवस्था छैन । अलिकति परिश्रम गराउन सकेको भए हाम्रो योगबहादुर बोर्डमा आउने थियो । सकिएन ।’

हेडसरले नरमाइलो माने । 

तैपनि स्कूलको नाम उँचो भयो । उसको अबीर जात्रा भयो । आमाले इन्द्रबेली चामलको खीर पकाएर खुवाइन् । फूलमालाले ऊ पुरियो । रिन काढियो । सुन बेचियो । ऊ काठमाण्डौँ पुग्यो । 

० ० ०

भौतिक शास्त्रका प्राध्यापक कडा थिए । अर्थात् फिजिक्सको प्रोफेसर स्ट्रिक्ट थिए । गाउँतिरबाट आएका विद्यार्थीलाई उनी छेड हानी रहन्थे । अप्टिक्सको क्लासमा प्रश्न सोध्दा प्रोफेसरले योगबहादुरलाई झपारे । 

‘ग्लास स्लाब भनेको के रे ? के हो यस्तो ? भोलि रुलर भनेको के हो ? मैले त देखेकै छैन भनेर पनि सोध्छौ तिमीहरू... बकवास ...तिमीहरूको क्वेइशन इण्टरटेन गरेर सकिएला ?’

योगबहादुरलाई घोच्यो । अब पढाईको माध्यम अंग्रेजी भइसकेको थियो । योगबहादुरलाई धेरै मुश्किल पर्‍यो । ठमेलको क्याम्पस नजिक पर्छ भनेर सामाखुसीमा डेरा लिएको उसले नियमित कक्षा लिए पनि क्याम्पसमा पढाएको बुझ्न सकेन । अझ अलि दिनपछि त कक्षा पनि कम कम हुन थाल्यो । सय डेढसयजना भरी हुने कक्षामा मुस्किलले दश पन्ध्रजना आउन थाले । अरुहरू प्राक्टिकलमा मात्रै आउँथे । पछि सोध्दा उसले थाहा पायो पढाई त बागबजारतिर हुँदो रहेछ । ऊ पनि बागबजार धाउन लाग्यो ।

‘योगबहादुर, भोलिबाट क्लास नआउनु , आउन मन भए फी लिएर आउनु’
बागबजारका कोचिङ मास्टरले थर्काए ।

 उसलाई धेरै नरमाइलो लाग्यो । शहर उसले सोचे जस्तो थिएन । न त विज्ञानको पढाई नै । काला अक्षर नै घोक्नुपर्थ्यो यहाँ पनि । उसले प्रयोग गरेर सिक्न बहुत कम पायो । तर योगबहादुरका आँखामा सपना थिए । उसलाई जसरी पनि वैज्ञानिक बन्नु थियो । देशको विकास गर्नु थियो । आमाका सुनले योगबहादुरलाई पुगेन । योगबहादुरका बाले पाखो बारी बेचे । 

० ० ०

धेरै थरी मान्छे भेट्यो योगबहादुरले कलेजमा । शहरको स्कूलमा पढेकाहरू फरर्र अंग्रेजी बोल्थे । उसलाई बुझ्न हम्मे हम्मे पथ्र्यो । तिनीहरू अंग्रेजी गीतका गायकको कुरा गर्थे, बास्केटबलका कुरा गर्थे, क्रिकेटका कुरा गर्थे, जनरल नलेजका कुरा गर्थे आईएस्सी सकेपछि डाक्टर र इञ्जिनियर पढ्न पाइने स्कलरशीपको कुरा गर्थे । उसले बुझ्थेन । 

अर्काथरी मान्छे उसलाई ‘फलानो रङ्गको झण्डा बोक’ भन्थे । ‘आज यो दाई आउँदै हुनुहुन्छ भोलि त्यो दिदीको भाषण छ’ भन्थे उनीहरू । उसले त्यो पनि बुझ्थेन । 

कहिले काहिँ गोरो सोझो केटो देखेर राम्री केटीहरू आएर ‘आज बालाजु तिर जाने ?’ भन्थे । त्यो कुरा चाहिँ उसले बुझे पनि उसको खल्तीले बुझ्थेन । 
तर ती कसैले पनि वैज्ञानिक हुने  अथवा देशको विकास गर्ने  कुरा गरेनन् । 

‘आईएस्सी सकेपछि के गर्ने ?’ भनेर सोध्थे उनीहरू । 

‘म वैज्ञानिक बन्छु’ योगबहादुरले भन्थ्यो । गलल्ल हाँस्थे उनीहरू ।

कुनै कुनै शिक्षकले भने उसलाई माया गर्थे । 

‘किताबको ज्ञानले मात्र पुग्दैन र क्याम्पसको पढाईले मात्र पुग्दैन योगबहादुर, बाठो बन, अंग्रेजी सुधार । पहिले पहिले म पनि तिमीजस्तै थिएँ ।’ 

बोटनीका प्रोफेसर ज्ञवालीले योगबहादुरलाई ज्ञान दिए । तिनले योगबहादुरको सपनालाई हाँसोमा उडाएनन् । तिनले योगबहादुरलाई आईएस्सी सकेपछि  बायोटेक्नोलोजि पढ्न सुझाव दिए । 

लामखुट्टेको टोकाइ सह्यो उसले । झूल किन्न भनेर छुट्याएको पैसाले दश ब्याण्डको रेडियो किन्यो ।  मट्टितेलको स्टोभमा दम दिँदै शर्टवेभमा बीबीसी विश्वसेवा सुन्यो । अंग्रेजी पत्रिकाको ग्राहक बन्यो । काठमाण्डौँका विभिन्न पुस्तकालयको सदस्य बन्यो । ज्ञानगुनका धेरै कुरा सिक्यो । जसोतसो टुप्लुक्क आइएस्सीमा प्रथम श्रेणी टेक्यो उसले । उसलाई डाक्टर बन्नु थिएन । उसलाई वैज्ञानिक बन्नु थियो । योगबहादुर अटल थियो । 

० ० ०

शहरकै एक नीजि कलेजबाट बायोटेक्नोलोजि गरी सक्दा नसक्दै योगबहादुरले साइन्स र रिसर्च कम बुझेपनि देश र समाज धेरै बुझिसकेको थियो । उच्च अध्ययनका लागि छात्रवृत्तिका लागि अनेक प्रयास गर्दा पनि केहि नलागे पछि उसले गाउँ फर्कने बिचार गर्यो । तर सात सात वर्ष काठमाण्डौँ बसेर उसले सिध्याएको घरको सम्पत्ति सम्झ्यो । बाउको उदास अनुहार सम्झ्यो । आमाका बुच्चा नाक र कान सम्झ्यो । ऊ गाउँ फर्कन सकेन । बोर्डिङ स्कूलमा र ट्युसन पढाएर उसले पेट पाल्यो । काठमाण्डौँ छाडेन ।  धेरै प्रयासपछि जापानमा एग्रिकल्चरल बायोटेक्नोलोजि पढ्न छात्रवृत्ति पायो योगबहादुरले । उसले अनेक परिश्रम गरेर सिकेको अंग्रेजीले उसको विश्वविद्यालयमा काम गरेन । एक वर्ष अतिरिक्त नष्ट गरेर जापानी भाषा सिक्यो उसले । एक वर्षमै भाषामा राम्रो दख्खल बनाए पछि योगबहादुरले बुझ्यो भाषा केवल माध्यम रहेछ । जति धेरै भाषा जान्यो उति राम्रो तर गौरव भने आफ्नै भाषामा हुँदो रहेछ । देश समृद्ध हुनु महत्त्वपूर्ण रहेछ ।

० ० ०

चिल्ला सडक र अग्ला घरहरू अब विपना थिए । संसारकै सबैभन्दा ठूलो र महंगो मध्येको शहरमा थियो ऊ । बिजुलीका कहिल्यै कल्पना नगरेका यन्त्रहरूको प्रयोग उसका लागि सामान्य बने । विश्वकै तीव्रतम गतिका रेलको यात्रा, उच्च सुविधासम्पन्न प्रयोगशालामा नित्य नया परीक्षण उसका दैनिकी बने । भौतिक समृद्धिको चरम देख्यो उसले । मान्छेहरू अति परिश्रमी थिए । कतिपय अवस्थामा यन्त्रवत् लाग्थे । ‘तिनीहरू खुसी चाहि कति थिए ?’ भन्ने योगबहादुरले भेउ पाउन सकेन । 

उसको प्रयोगशालामा अधिकांश वस्तु स्वचालित थिए । तर पनि कतिपय मुख्य कुराहरू हातैले गर्नुपर्थ्यो । नेपालकै परम्परागत धान इन्द्रबेलीको नयाँ प्रजातिको विकासको लागि डीएन्एमा गर्न सकिने संभावित परिवर्तनको विषयमा उसको अनुसन्धान थियो । युरोपका अन्य दुई तथा अमेरिकाको एक विश्वविद्यालयको सहकार्य थियो उसको काममा । वैज्ञानिक जर्नलमा प्रकाशित भएका नवीनतम शोधहरू उसको कम्प्युटरमा उपलब्ध थिए । योगबहादुरले प्रशस्त पढ्यो । पढ्नु अनुसन्धानको पूर्वकार्यमात्र रहेछ । तिनमा आधारित रहेर नयाँ काम गर्नुपर्ने रहेछ । नैतिकवान् हुनु अनुसन्धानका मुख्य पूर्वशर्त रहेछ ।  विश्वविद्यालयको काम दक्ष जनशक्ति उत्पादन गर्ने भनेर बुभेको योगबहादुरले विश्वविद्यालयको मुख्य काम ज्ञानको अभिवृद्धि रहेछ भन्ने बल्ल बुझ्यो ।  उसैका अनुसन्धानपत्रहरू नाम चलेका जर्नलमा निस्के । उसले मास्टर्स गर्‍यो । पीएच्‌डी गर्‍यो ।  योगबहादुरलाई यो सबै मन लगाएर सिक्नुथियो । आफ्नो देशमा प्रयोग गर्नु थियो । 

‘तिमी जबसम्म आफ्नो संस्कृतिमा गर्व गर्दैनौ तबसम्म तिम्रो देश विकसित हुन सक्दैन ।’

‘जबसम्म युवाहरूले आफ्नो भाषामा प्राविधिक शिक्षा पाउँदैनन् व्यक्तिहरू अगाडी बढ्लान् तर देश अगाडी बढ्न सक्दैन ।’

प्रोफेसर नाकामुराले जापानी भाषामा भने । योगबहादुरलाई चसक्क घोच्यो । ‘एक पुस्ताले कठिन परिश्रम गर्नै पर्छ ।’ उसलाई दिव्यज्ञान खुल्यो । ‘एकपुस्ताले मात्र किन? पुस्तौँ पुस्ताले परिश्रम गर्नुपर्छ ।’ उसले दिव्यज्ञानलाई अझ परिष्कृत बनायो । 

पोष्ट डक्टरेटको अवसरलाई मात्र होइन ल्याबोरेटोरिमा सँगै काम गर्ने डा. मासायोको सँगै जिउने बाँच्ने प्रस्तावलाई पनि चटक्कै छोडेर योगबहादुरले स्वदेश फर्कने निर्णय गर्यो । हुन पनि उसले आठ आठ वर्ष विदेशमा बिताइसकेको थियो ।

० ० ०

योगबहादुरले विश्वविद्यालय चहार्‍यो अनुसन्धान केन्द्र चाहार्‍यो । निजी कम्पनीहरू पनि चाहार्‍यो ।  काम पाउन सकेन । दुई वर्ष वितेपछि उसले विश्वविद्यालयमा आंशिक पढाउने जागिर पायो । त्यहाँ उसको लागि अनुसन्धानको वातावरण थिएन । ऊ सरकारी र नीजि दुबै खाले अनुसन्धान केन्द्रमा पालै पालो सर्‍यो । त्यहाँ पनि उसको मन रमाएन । त्यहाँ प्रयोगशाला त थियो यन्त्र थिएनन् । जहाँ यन्त्र  थिए ती बषौँ देखि नचलेका थिए । जहाँ नयाँ यन्त्र थिए तिनका लागि आवश्यक रसायन थिएनन् । जहाँ सबै थिए  त्यसलाई चलाउन अनुमति लिने प्रक्रिया पूरा गर्न छ महिना लाग्थ्यो । जहाँ सबै सरल थियो त्यहाँ उसले गरेको कामको नाम पाउँथेन । जहाँ नाम पाउँथ्यो त्यहाँ जति तलब बुझेँ भनेर उसले सही गथ्र्यो त्यसको आधामात्र पाउँथ्यो ।  आँफैले लगानी गरेर अनुसन्धान केन्द्र पनि खोल्यो उसले  तर सरकारी अनुमति, कर आदिको जञ्जाल चिर्न सकेन । उसका पैसा मात्रै सकिए । 

० ० ०

उसले आफ्ना क्षेत्रका अग्रजहरूलाई भेट्यो । आफ्ना क्षेत्रका राजनैतिक नेतालाई भेट्यो । एक जनाले उसलाई कृषि मन्त्रीको वैज्ञानिक सल्लाहकार बनाइदिए । उसले ‘रैथाने प्रजातिको धानको विकास र संरक्षण सम्बन्धि योजना’ देशभर लागूगर्ने योजना बनायो । तर छ महिना पछि उसको जागिर खुस्कियो । जागिर खुस्किए पनि आँफूले थालेको काम नरोकियोस् भनेर उसले नयाँ मन्त्रीलाई अनुनय विनय गर्‍यो ।

‘डाक्टर साहेब जापानमा पढेको भन्दा जर्मनीमा पढेका वैज्ञानिक राख्ने हाम्रो सरकारको नीति छ । नयाँ सल्लाहकारका अनुसार तपाईँको योजना प्रतिगामी रहेकाले तत्काललाई लागु गर्न नसकिने भयो । माइण्ड नगनुहोला ।’
नयाँ कृषिमन्त्रीले धानदिवसको भाषण पछि उसलाई खुसुक्क भने । 

उसलाई आफू वैज्ञानिक भएको कुरामा पत्यार परेन । तीन वर्ष  यसरी यता उता हल्लिए पछि उसले गाउँ फर्कने निर्णय गर्‍यो ।

० ० ०

योगबहादुरले गाउँ फर्केर बिहे गर्‍यो । बाख्रा पाल्यो । भैँसी पाल्यो । अर्काको बारीमा मकै र कोदो छर्‍यो । साहुको बिग्रेको खेत सजेर उसले इन्द्रबेली धान लगायो । तरकारी खेती गर्‍यो । जडीबुटी लगायो । निरन्तरको परिश्रमले पाँच वर्षमा आफ्नै पाखो बारी पुनः किन्यो आमालाई फेरी गहना किनिदियो । आँफै पढेको स्कूलमा पढाउन लाग्यो योगबहादुर । जहाँबाट शुरु भएको थियो त्यहीँ आइपुगेको थियो उसको जीवन ।


एक दिन उसले पत्रिकामा खबर देख्यो नेपाली धान इन्द्रबेलीको नयाँ प्रजातिको विकासमा नेपाली मूलका जापानी वैज्ञानिक डा.भोगेन्द्र तथा उनकी जापानी पत्नी डा. मासोयाका सफलताको खबर थियो त्यो । डा. मासोयाले उसैको जुनियर अर्को नेपाली भोगेन्द्रसँग बिहे गरिछ । उनीहरूले त्यसको पेटेण्ट समेत लिएका थिए । योगबहादुरलाई एकचरण झनक्क रिस उठ्यो । ऊ पुनः काठमाण्डौ आयो । आफ्नो गाउँको धानको पेटेण्टको लाभ स्थानीयले पाउनुपर्छ भनी उसले पैरवी गर्‍यो । यसपालिका मन्त्रीले उसलाई सहयोग गरे । कृषि मन्त्रालय, विज्ञान मन्त्रालय र परराष्ट्र मन्त्रालयका विशेष पहलमा यो पेटेण्टको लाभ स्थानीयलाई दिलाउन पहल भयो । विश्वका परस्परमा प्रतिस्पर्धी सञ्चारमाध्यमले यो विषयलाई उराले ।  विश्वभरी यो विषयमा हंगामा भयो । योगबहादुर नायक भयो । पेटेण्टमा उसको नाम पनि जोडियो । उसको गाउँलाई नमुना गाउँ मान्दै इन्द्रबेली धानको स्थानीय प्रजातिको संरक्षणको लागि नेपालभरी योजना बन्यो । 


० ० ०

आज योगबहादुरले  आफ्नै गाउँको आफ्नै निर्देशक भएको अनुसन्धानकेन्द्रको परिसरबाट पर पर सम्म लटरम्म झुलेको इन्द्रबेली धान हेर्‍यो । उसलाई आज पहिलो पटक वैज्ञानिक भएको अनभूति भयो । 󠄊

Thursday, May 11, 2017

सन्तबहादुरले दुई भोट पायो (कथा)

~शिव सङ्कल्प

(चुनाव शीर्षकमा सेतोपाटीमा प्रकाशित कथा)

सन्तबहादुर तामाङले ट्याक्सीचालक संघ पोखरा शाखाको चुनावमा ‘आफैं लड्ने’ अठोट गर्यो। 

‘आँफै लड्ने’ भनेर किन भनेको? पाठकहरू सोध्नुहोला, यहाँको सोधार्इ जायज छ! 

चुनाव घोषणा भएलगत्तै जताततै चुनावी सरगर्मी बढेको थियो। नयाँ सदस्यता वितरण गर्ने, को उम्मेदवार हुने, को को मिलेर प्यानल बनाउने, कसलाई अगाडी बढाउने, कसलाई पछाडी पार्ने आदि आदि। यस्तै सरगर्मीमा सन्तबहादुरलाई पनि धेरै पक्षबाट दिउसो र साँझको चियापानमा आउन निमन्त्रणा आएको थियो। चुनावमा सघाउन अनुरोध आएको थियो। एक दुईवटा कार्यक्रममा ऊ नगएको पनि होइन तर जहाँ पनि व्यवसायको कुरा भन्दा को को आफ्ना हुन् रु तिनलाई कसरी अगाडी पार्ने र को कोलाई छिर्के हान्ने भन्ने मात्रै कुरा भए पछि उसलाई मोहभङ्ग भएको थियो। एउटा भेलामा गएपछि एकथरी साथी नबोल्ने अर्को भेलामा गएपछि अर्काथरीले गर्दन घुमाउने गरेको पनि उसलाई चित्त बुझेको थिएन। यस्तै तानातानमा परेर नै उसले चुनावमा ‘आफैं लड्ने’ निश्चय गरेको थियो।

Monday, March 27, 2017

मेयर हर्कचोक (कथा) सेताेपाटीमा प्रकाशित

मेयर हर्कचोक।
कुन चोक हो यो? कहाँ पर्छ यो?
सायद धेरैको प्रश्न यही हुनेछ। पोखराका धेरै चोकहरू जस्तै पृथ्वीचोक वा लखनचोक, सभागृहचोक, सिर्जनाचोक, रत्नचोक, राष्ट्रबैंकचोक, मुस्ताङचोक आदि चोकहरूमध्येको एक चोक हो मेयर हर्कचोक। तर धेरै पोखरेलीलाई पनि मेयर हर्कचोक भन्यो भने झट्ट बुझ्न गाह्रो हुन्छ। एयरपोर्टबाट जनप्रिय क्याम्पसतर्फ लाग्ने चोक हो त्यो। एयरपोर्टचोक भन्यो भने बल्ल सबैलाई बुझ्न सजिलो हुन्छ। त्यहाँ, चोकको नाम लेखेको बोर्ड छ। मेयर हर्कको सालिक पनि छ। दुई तीनवटा ट्याक्सीहरू त्यहाँ ग्राहक पर्खी रहेका हुन्छन्।। मेयर हर्कबहादुर गुरुङ पोखराका पूर्व मेयर थिए। उनैको सम्झनामा यो चोकको नाम राखिएको हो।
ए कथा भन्ने मान्छे! के चोकको कथा भन्न लाग्यौ नि आज? यस्ता चोक सडकका कथा त के सुन्नु र?’
तपाईंलाई पनि यस्तै लाग्दैछ भने नआत्तिनुहोस्। यो कथा मेयर हर्कचोकको मात्रै होइन। उनको नाममा यो चोकको नाम किन राखियो? कहिले राखियो? उनको योगदान के के छ? भनेर चर्चा गर्नु यो कथाको उद्देश्य होइन। यो कथाको नायक मेयर हर्क होइनन्। यो कथाकी नायिका त त्यो चोकमा एकदिन देखा परेकी अपरिचित युवती हुन्।

Monday, May 18, 2015

देशद्रोहीकी आमा

गाेर्कीकाे अामा भन्ने उपन्यासमा अाधारित चलचित्रकाे पाेष्टर
आमाले छोरालाई खूब माया गरिन् । हुर्काइन् । तर छोरो ठूलो भएर देशद्रोही भयो । आफ्नै शहरलाई, आफ्नै आमा भएको शहरलाई उसले परचक्रीहरूसँग मिलेर बन्धक बनायो । उसले आफ्नी आमालाई त बाहिर आउन भन्यो । तर आमा आइनन् । उसले खाद्यान्न रोक्य‍ो । अन्त्यमा पानी पनि रोक्यो । एक रात आमा शहरबाट बाहिर निस्केर ऊसँग भेट्न आइन् । ऊ खुसी भयो । 'आमा, मैले तपाईँलाई पहिल्यै बाहिर निस्किन भनेको थिएँ, किन यति दिनपछि आउनुभयो? ' आमाको काखमा घुस्रिँदै उसले भन्यो । 

आमाले जबाफ दिइनन् । आमाले आँफ्नो आँचलमा लुकाएर ल्याएको छुराले उसको छातीमा प्रहार गरिन् । उनको निशाना अचूक थियो किनभने उनलाई आफ्नो मुटु कहाँ धड्किन्छ राम्रोसँग थाहा थियो । त्यसपछि उनले छुराले आफ्नै छातीमा प्रहार गरिन्, यसपटक पनि उनको निशाना अचूक थियो किनभने आफ्नो मुटु कहाँ दुखिरहेको छ त्यो पनि उनलाई राम्रोसँग थाहा थियो ।

(म्याक्सिम गोर्कीको कथा 'देशद्रोहीकी आमा'बाट खिँचिएको सार )

चित्रहरू ः अाइएमबिडीडटकमविकिमिडिया

Tuesday, December 2, 2014

प्रथमप्रीति ( रेडियाे सारङ्गी ९३.८ पाेखराबाट प्रसारित गीतिकथा)

त्याे सांझ जब मैले तिमीलाई देखेँ , त्यो मेरो जीवनकै एक महत्वपूर्ण क्षण बन्न पुगेको थियो । दिन ढलेर साँझ, पर्दै गर्दाको गोधूली बेलामा, फेवातालको किनारमा आफ्ना संगिनीहरु संग डुलीरहेकी तिमी, अनायासै मेरो नजरमा परेकी थियौ । तिम्रो ठूलो चौडा निधार, हँसिलो अनुहार, अनारदाना झैँ मिलेका दाँतका लहर, लहराई रहेको लामो कपाल र तिम्रो  हस्तिनीको जस्तो चाल जो कोहिलाई पनि घायल पार्न पर्याप्त थियोे । सन्ध्याकालीन भ्रमणमा व्यस्त रहेका मानिसहरुको त्यो भीडमा अचानक तिम्रा आँखा मेरा आँखासँग जुधेका थिए । त्यसपछि तिमी मन्द मुस्कुराएकी थियौ । यौटा शब्दातीत अनभूति थियो त्यो ।  तिम्रो  मुस्कानको  र तिम्रो नजरको बयान गर्नु  मेरो क्षमता भन्दा धेरै धेरै परको कुरा थियो ।

त्यो नजरको बयान===

त्यो साँझ, तिम्रो नजरको सरोवरमा एकपटक गहिरो गोता लगाई सके पछि मलाई सर्वांग रोमाञ्च भएको थियो । त्यसमाथि पनि त्यो अवर्णनीय मुस्कानको विनिमयले निश्चय पनि मेरो मनमा भयंकर आँधी चलाउन सफल भएको थियो । मेरो मन यति पुलकित थियो कि त्यसको कुनै सीमा नै थिएन । अर्को सांझ पनि म आफ्नो संध्याकालीन भ्रमणको सिलसिलामा पुनः उही फेवातालको किनारमा पुगेको थिएँ । मेरो मनमा यौटा प्रबल आशा थियो कि तिम्रा आँखाको सागरमा पुनः डुब्ने अवसर प्राप्त हुनेछ । मेरो प्रतीक्षाको फल मीठो थियो । त्यो दिन पनि पुनः तिमी आएकी थियौ र हाम्रा आँखा पुनः उसै गरी जुधेका थिए । आजको मुस्कान हिजोको भन्दा अभैm आत्मीय बनेको थियो । त्यतिबेला पहिलो पटक मलाई लागेको थियो कि तिम्रा भावनाहरु पनि मेरा भन्दा पृथक् थिएनन् ।
      
तिम्रो आँखाको सागरमा===

यो क्रमले अब निरन्तरता पाउन लाग्यो । तिम्रो एक झलक पाउनका लागि भने पनि साँझको एक पटक म फेवा किनारमा पुगेकै हुन्थेँ । मलाई लाग्छ तिम्रो मनमा पनि शुरुका दिन केहि कौतुहल भावले अवश्य वास गरेको हुँदो हो तर समयसँगै यो भाव स्पष्ट हुँदै आयो कि हामीबीच केहि न केहि अभौतिक सम्बन्ध अवश्य रहेको छ । हामीमा वार्तालाप हुँदैनथ्यो अझ साँचो अर्थमा भन्नु पर्दा यसको आवश्यकता पनि हामीलाई कहिल्यै अनुभव भएन । हाम्रो शब्दातीत सम्बन्ध यति स्पष्ट र परिभाषित लाग्दथ्यो कि यसमा जन्मजन्मान्तरको गहीरो नाता रहेको छ । केवल एक अर्काको सामिप्यले नै दुबैलाई एक अवर्णनीय सुख दिन सक्षम हुन्थ्यो । साँच्चै भन्नु पर्दा हाम्रो बीच यौटा अविभाज्य आत्मिक सम्बन्ध स्थापित भैसकेको थियो ।  यो यौटा अलौकिक अनुभव थियो । 

तिमी देउ या नदेऊ===

दिनहरु बित्दै गए । तर हाम्रा भावहरु झन् झन् प्रगाढ बन्दै गईरहेका थिए  । वर्षा वित्यो, हिउँद लाग्यो । हिउँद पनि बित्यो पुनः वर्षा लाग्यो । समयचक्र चलीरहेको थियो । यस्तो लाग्थ्यो वर्षा, हिउँद, दिन, रात, झरी, बादल, फूल पात यी सबैले हाम्रै अभिनन्दन गरीरहेका छन् । हामी  हामी भने सारा संसारबाट अनभिज्ञ एक अर्काको छाँयामा गहीरो गरी डुब्न पुगेका थियौँ । सारा स्थावर जंगम चराचर जगत्कै केन्द्रमा हामी आत्मिक रुपमै एकाकार भैसकेका थियौँ । अब हामी बीच एक अर्काको सहारा भनेकै यही आत्मीय भाव हुन लागीसकेको थियो । अब हाम्रा बीच सुन्नु र भन्नु समेत यही आँखाकै भावद्वारा हुन लाग्यो ।

सुन भन===


मलाई अझै पनि हिजै जस्तो लाग्छ । एक दिन ममा यौटा विनोदी भाव पैदा भएको थियो । फेवा किनारमा संधै झै तिमी बसीरहेकी थियौ । तिम्रा संगिनीहरु छुटीसकेका थिए । त्यो दिन म केही ढीला पुगेको थिएँ । मलाई तिमीलाई मेरो प्रतीक्षामा व्यग्र भएको हेर्नु थियो । तिमी झुकेकी थियौ । तिम्रा आँखा झुकेका थिए । यौटा तीव्र छटपटीको मनोदशा तिमीमा छरपष्ट भएको थियो । अचानक म तिम्रो पछाडी उभिन पुगेको थिएँ । तिमीले एकोहोरो गरी ताल हेरीरहेकी थियौ । अचानक कोही व्यक्ति आफ्नो पछाडी उभिन पुग्दा तिमी झसंग परेकी थियौ । तर तालरुपी ऐनाको प्रतिबिम्बमा देखेर नै तिमीले मलाई चिनेर छक्क परेकी थियौ । यौटा अलौकिक लज्जाको भाव तिमीमा सर्वांग पोखिएको थियो ।

ऐना भनेर हेर्छु ===


यसरी प्रीतिका गम्भीर भावहरुमा निमग्न हुँदा यस्तो लाग्थ्यो कि समय विलुप्त भै सकेको थियो । हामीहरु पूर्णतया एक अर्कामा ओतप्रोत भैसकेका थियौँ । बसन्त ऋतुको फूल र भ्रमर जस्तै । एकअर्कामा पूर्ण समर्पित । शाश्वत प्रीतिको यौटा अनन्य उदाहरण बनेका थियौँ हामी । भौतिक सम्बन्धभन्दा पनि धेरै पर आध्यात्मिक तहमा मग्न हुन थालिसकेका थियौँ हामी । तर प्रकृतिको नियम, हरेक भौतिक तत्वको क्षणभंगुरताको प्रतीक, राग र वासनाको अविभाज्य मोहपाशमा पनि हामी बिस्तारै परीसकेका थियौँ । यस्तैमा, अचानक हाम्रो भौतिक सान्निध्यको क्रम रोकिने अवस्था पनि सृष्टि भयो तर जति नै टाढा भए पनि पीरतिको मीठो तिर्सना त्यसै चट्ट बिर्सन कसरी नै सकिन्थ्यो र === 
      
पिरतीको मीठो तिर्सना===

जति नै भौतिक दूरी भए पनि मनका आत्मिक भावहरु कहाँ नष्ट हुन्छन् र == ती त अजर र अमर बनेर सदा सदाकालसम्म भावनाकाशमा रहीरहन्छन् नै । हामी बीच एक अर्का प्रतिका प्रेम र समर्पण भावहरु झन् झन् बढ्दै झ्यांगिँदै थिए । तिम्रा भावनाका लहरहरु मनकै बाटो गरी मेरो मनसम्म आईपुग्थे । कति निश्छल, निष्कपट र पवित्र थिए ती भावहरु । शायद मनकै बाटो गरेर मेरा भावहरु पनि तिम्रो हृदयको अन्तःकरण सम्म पुगेका थिए । वर्तमान जीवनलाई उत्कृष्ट बनाउने, सँगै बाँच्ने, सँगै मर्ने सम्मका भावले भरिएका भए तापनि जन्मजन्मान्तरसम्मको मिलनको आसक्तिले भरीपूर्ण थिए  ती भावहरु ।

सयौँ जुनी पाउन===


समयको गति अनवरत थियो । मिलन पछि विछोड र विछोड पछि मिलनको शाश्वत चक्रमा हामी पनि घुमीरहेका थियौँ । जब भावनाहरु सुदृढ हुन्छन् बाधाहरु स्वतः परास्त हुन्छन् । तिम्रा गहिरो प्रेमभावको प्रभावले गर्दा नै हाम्रो जीवनमा आई परेका सारा बाधाहरु एक एक गर्दै परास्त भएर गए । जीवन यौटा सुखद दिनको अपराह्न झैँ गमक्क गम्किरहेको थियो  जसमा उत्साह र उमंगरुपी मन्द मन्द बतास चलीरहेको थियो । सिरि सिरि चलीरहेको यो बतासलेले प्रीतिरुपी बाबरी फूलको मगमग सुगन्धलाई बोकेर ल्यायो 

सिरीमा सिरी नि बतासै चल्यो===


संघर्ष नै जीवनको पर्याय हो । सारा बाधालाई चिर्दै , जीवनका हरेक अप्ठ्यारालाई पन्छाउँदै हामी अगाडी बढीरहेका थियौँ । हरेक उकाली र अप्ठ्याराहरुमा तिमीले मेरो पूरा साथ दिएकी थियौ । तिम्रो सहनशीलता, विनम्रता र दृढसंकल्प र अपूर्व समर्पणभाव प्रति म पनि हृदयदेखि नै  नतमस्तक थिएँ । विभोर थिएँ । हर्षित थिएँ । आनन्दित थिएँ । मानौँ म एउटा यौटा फूल थिएँ , लालीगुराँस फूल जो वनैभरी र तिम्रो मनै भरी ढकमक्क फूलेको थिएँ ।

म त लाली गुराँस भएछु ====


धेरै पढिएकाे

पृष्ठ संग्रह