कथाकार,
कवि, गजलकार र गीतकारको परिचय बनाएका क्षितिज समर्पणको पहिलो औपन्यासिक
कृति हो तोरकीन । तोरकीन उपल्लो मुस्ताङमा प्रचलित ल्होवा भाषाको
शब्द हो । ल्होवा भाषा भनेको भोट भाषाकै उपल्लो मुस्ताङमा बोलिने स्वरूपको नाम हो
। तोरकीनको शब्दार्थ यो हो भन्न त सरल होला तर यो शब्दले बोकेको गूढार्थ बुझ्न
एकपटक उपन्यास पढ्नै पर्ने हुन्छ । तोरकीन उपल्लो मुस्ताङको हराउँदै गएको भौगोलिक स्वरूप, जीवन, संस्कृति र मानवीय सम्बन्धको कथा हो। यो
उपन्यास केवल एक स्थानीय प्रेमकथा मात्र होइन, बदलिँदो समय, जलवायु,
सभ्यता, परिवेश र पहिचानको अभिलेख हो। लेखक क्षितिज समर्पणले
क्षितिजमा देखिने हिमालभन्दा पनि पारी रहेको गाउँको रूपान्तरणलाई यति संवेदनशील
ढंगले उतारेका छन् कि उनको स्थानीय जीवनको कथा भन्ने शिल्पप्रतिको समर्पणको जो
कोही पनि प्रशंसक हुन बाध्य हुन्छ । तोरकीन पढ्दै गर्दा पाठकले पाठकले आफ्नै
आँखाले हिमाल पग्लँदै गएको, बस्ती खाली हुँदै गएको र मानिसको
अन्तरात्मा थाक्दै गएको दृश्य देख्छ।
2.
चराङको
छेवाङ
कथाको
केन्द्रमा छन् चराङ गाउँका छेवाङ । उनको जन्मदेखि वयोवृद्घ
अवस्थासम्मको कथा तोरकीनमा छ । छेवाङका बा आमा नामग्याल र छुक्कीको
प्रेमसम्बन्धदेखि नै कथा शुरु हुन्छ । पछि छेवाङको बा र आमासँगको सम्बन्ध, उसको
बालसखा पेम्बासँगको बलियो मित्रता,
कुन्साङसँगको प्रेम र वियोग र उसले भोगेका नियतिका अनेक थप्पडहरू र
विषम परिस्थितिमा विकसित भएको उसको मनस्थितिको विशद वर्णन नै तोरकीनको विशेषता हो
। तोरकीनमा भूगोल, इतिहास, संस्कृति, परम्परा र मनोविज्ञान
सँगसँगै बग्छन् । मध्यान्तरसम्म कथाको प्रवाह सरल छ । ठुलो द्वन्द्व र मोड आउन्न
कथामा । बाल्यकालमा छेवाङ र पेम्बा हराउँछन्, पाइन्छन् । घोडा हराउँछ, पाइन्छ । कुन्साङ हराउँछे,
पाइन्छे । छेवाङ हराउँछ, पाइन्छ । कथाभन्दै जाँदा एकछिन चराङ र उपल्लो मुस्ताङ नै
हराउँछन् र एकछिन कथा मलेशियाको पेनाङ द्वीपको कोन्तार शहरमा पुग्छ ।
हिमालदेखि धेरै तल घर भएको खुशीराम छेवाङको साथी हुन आइपुग्छ । तर यो धेरै
समय टिक्दैन चराङ र उपल्लो मुस्ताङ फेरी पाइन्छन् । तैपनि मध्यान्तर पछिको कथा
धेरै अरू कथा जस्तै निष्ठुरी छ। त्यसपछि पनि धेरै कुरा हराउँछन् , धेरै जना हराउँछन् तर पाइँदैनन् । पुस्तक नपढेका
पाठकका लागि मध्यान्तर पछि के हुन्छ? रहस्य नै राख्नु उचित हुन्छ । नियति र समयले अग्रगति
लिन्छ । देश र काल पहिलेजस्तो रहँदैन । सुन्दर कुराहरू इतिहास बन्छन् । स्मृति
बन्छन् ।
3.
रोम्बाले
तोरकीन बुझ्छ त ?
तोरकीन
बुझ्न मुस्ताङ बुझ्नुपर्छ। विशेष गरी उपल्लो मुस्ताङ । तोरकीन बुझ्न
कालीगण्डकी र यसका सहायक नदीहरूको उद्गम र प्रवाहस्थल र तिनैका तटमा विकसित
पुरातन सभ्यता बुझ्नुपर्छ । छुसाङ,
समर, स्याङबोचे, घिलिङ, घमी, चराङ, र मराङहरू अनि अझै
उत्तर तिरका ल्हो मान्थाङ, छोन्हुप र
छोसेरहरू केवल गाउँहरू होइनन् ।
उपल्लो मुस्ताङको सभ्यताका धमनीहरू हुन् । अनि थुप्चेन गुम्बा, ल्हो घ्येकर गुम्बा, धोर्जेदेन
गुम्बा, थुक्छिपे गुम्बा केवल धार्मिक स्थलहरू मात्रै होइनन्, समग्र सभ्यताका शिराहरू हुन् । यिनै
धमनी र शिराहरूमा उपल्लो मुस्ताङको सभ्यताको रक्तसञ्चार हुन्छ । लेखकले यहाँको
भूगोल, रहनसहन, जन्मभन्दा अघिदेखि मृत्युभन्दा पछिसम्म गरिने
संस्कार, रीतिथिति, आस्था र विश्वासलाई अद्भुत सूक्ष्मतासँग समेटेका छन्। उपल्लो
मुस्ताङको पोशाक र गहनाहरू फुजे-कोयो, तोचे, काउ,
ल्हाम्डोक, केतेन, पाङदेन,
छिरिङ किङ्गा र ओदोक बुन्न र उन्न प्रयोग
भएका ऊनका रेशा रेशामा छिरेर ती लुगाहरू लगाउने पात्रहरूका मनोविज्ञानलार्इ लेखकले
उधिनेका छन् । उपल्लो मुस्ताङका नुन-चिया, गहुँ, जौ
र उवाका सातु, ढिँडो, याक र भेडाका
सुकुटि र छ्याङका थोपा थोपामा लेखक छिरेका छन् । हिमालय पारीका दुर्गम
उपत्यकाका विशाल मरुभूमिका मरुद्यानका रूपमा यी गाउँहरूका आपसी सम्बन्ध र
सङ्घर्षलार्इ लेखनले खोतलेका छन् । मुस्ताङका राजा र ठुलाबडाहरू कसरी बिष्ट र
सर्वसाधारणहरू गुरुङ बने भन्ने इतिहास कोट्याएका छन् । समग्रमा विषम वातावरणमा शताब्दीयौँदेखि मानवले
गरेका सङ्घर्षका कथा भनेका छन् ।
4.
लो बुझे
तोरकीन बुझिन्छ
तोरकीनका
पाठकले उपल्लो मुस्ताङको प्राणहीन शरीरलार्इ प्रकृतिका कूचीकार गिद्धहरूलार्इ
समर्पण गरिने परम्पराको सम्मान गर्नु पर्छ । ह्यार्का हालेर बिहे छिन्ने कुराको
संवेदना बुझ्नुपर्छ । यारतुङ मनाउँदै
गरेका गाउँलेले तेम्देन माग्दा दिन जान्नु पर्छ । गर्भवतीका घर अगाडि राखिने ढुङ्गाहरूको सङ्केत
बुझ्नुपर्छ । नामकरणको पद्धति बुझ्नुपर्छ । घरनिर्माणको पद्धति बुझ्नुपर्छ ।
घरबाहिर राखिने ल्हाजुको महत्त्व बुझ्नुपर्छ । धार्चेमा बाँधिएका धार्तरको
रङमा मनको रङ मिसाउन जान्नुपर्छ । विशाल थाङ्कामा
कुँदिएका बुद्ध, बोधिसत्व, धर्मपाल, यिदाम र रिम्पोचेहरूलार्इ चिन्नुपर्छ
। लेखकले यी सबै सांस्कृतिक
सम्पदाहरूलार्इ पात्रकै महत्त्वमा देखाएका छन् । काङलेन, ढुङचेन, ङा र घ्यालिङका बाजाका तालहरू कथाभरि सुनिन्छन्। ती
केवल कुनै वाद्ययन्त्रबाट निस्केका संगीत होइनन्,
ती त भूमिकै र समयकै धड्कन हुन्। आदिम कालदेखि यी सबै एक विशिष्ट
सभ्यताका अविच्छिन्न धरोहरका रूपमा रहेका छन् ।
5.
बहुपतिप्रथादेखि
मिथ्याविवाहप्रथासम्म
तर
समय त के बित्छ र ? बित्ने त हामी हौँ भने
जस्तो यो भूगोल, यो सभ्यता र यो संस्कृति क्रमशः कालको ग्रासमा पुग्दै गरेको
यथार्थ त्यसपछि प्रकट हुन्छ । उपन्यासको सबभन्दा गहिरो तह यही हो। हिमालमा हिउँ
घट्दैछ । नदी र पोखरीमा पानी घट्दैछ
। लेकमा यार्सागुम्बा र जिम्बुहरू
पाइन छोड्दैछन् । वनमा घाँस पाइन छाडेसँगै नाउरहरू पनि घट्दैछन् । नाउरहरू
घटेसँगै चितुवाहरू गाउँ पस्न थालेका छन् र चितुवाले हानेर रित्तिएका
च्याङ्ग्राका गोठहरू धेरै हिमाली गाउँका साझा कथा बनेका छन् । ट्र्याक्टर र जीपले घोडा
र झोपालाई विस्थापित गरिसकेका छन्। हिमालको परम्परागत बहुपतिप्रथा हट्दैछ
। तर भौतिक सुखका लागि सम्पन्न देशको नागरिक बन्न गरिने मिथ्याविवाहप्रथा
भने शुरु भएको छ । अब ल्होमान्थाङको तिजी पर्वमा नाचिने छम
नृत्यको मुखुण्डो मुनि कुनै कुनै
युवती कुन्साङभन्दा कुनै अर्कै वयोवृद्ध कुन्साङ भेटिने संभावना छ । काङ्योर
पूजाको रौनक पनि मुस्ताङभन्दा धेरै परका गुम्बामा खोज्नुपर्ने भएको छ। आम्चीका
औषधिको प्रयोग र अनुसन्धान पनि हिमालमा भन्दा सातसमुद्रपारीका शहरमा हुन थालेको छ
। अचेल घोक हाल्नलार्इ लेतोक भेटिँदैनन् बरु मोबाइल फोनका टावरहरू भने
भेटिन्छन्।
6.
ॐ आः हुम्
वज्र गुरु पद्म सिद्धि हुम्
चराङका
बासिन्दा, जो पहिले जोमसोम र पोखरा पुग्थे, अहिले मलेशिया र अमेरिकासम्म पुगेका छन्। यो मात्र रोजगार वा सुखको खोजी
होइन, पहिचानको पलायन पनि हो। के यो जलवायु परिवर्तन
पृथ्वीको स्वाभाविक बुढ्यौलीका कारण मात्रै हो वा यसलार्इ तीव्रता दिन तथा कथित
सभ्य हुँदै गएको मानवजनित कर्म कारक हो ? यो प्रश्न खुला छ । के कथाभरी आध्यात्मिक
उपस्थितिका रूपमा रहेका गुरु रिम्पोचे पद्मसम्भवको प्रज्ञाले जलवायु
परिवर्तनको यो राक्षस सिङ्-मोलार्इ अलिक पर लखेट्न सक्ला त ? कि उपन्यासका पात्रहरूद्वारा पटक पकट
पुकारिएका, बज्रयानी बौद्ध दर्शनमा करुणा र दृढताका प्रतीक रहेका, हिन्दू दर्शनमा
संहारका देव भनेर जानिएका कालका पनि काल महादेवकै स्वरूप महाकालको नृत्यकै
रूपमा यो सबै भएको भनेर बुझ्नु पर्ने हो ?
7.
हिमालय
सभ्यताको अन्त्य ?
आदिम
कालमा वर्तमानको हिमालयक्षेत्र समुद्र थियो रे । यहाँ जलचरहरूको निवास थियो रे ।
कालान्तरमा यो भूमि बन्यो र थलचरप्राणी बस्न योग्य बन्यो रे । यसै विकासमा लामो
समयसम्म मानवले यो क्षेत्रमा बसोवास गरे । शायद सुदूर भविष्यमा जलवायु परिवर्तनले
ल्याएको वैश्विक उष्णताले एक यस्तो समय आउनेछ जब हिमालयमा हिउँ पूर्ण रूपमा
विलुप्त हुने छ। नदीहरू सबै सुक्नेछन् । भूमध्यरेखाका आसपासका क्षेत्रहरू अत्यधिक
उष्णताका कारण मानव बसोबासका लागि अनुपयुक्त हुनेछन् । मानवहरू हाल शीतको प्रकोप भएका उत्तरी ध्रुवका
निकटवर्ती स्थान तिर सर्ने छन् । तर यो समयको विराट् चक्रमा हुनेछ । हजारौँ लाखौँ वा करोडौँ
वर्षमा चल्ने यो चक्रको गति साधारण मानिसको एक दुर्इ पुस्ताले अनुभव गर्न सक्दैन ।
उसको आयु धेरै छोटो छ । उसले बोक्ने संवेदना धेरै सीमित छ । तर संभवतः छेवाङको कथा
अर्थात् तोरकीनको कथाले समयको यही विराट चक्रको एक महत्त्वपूर्ण अध्यायको अन्त्य
हुँदै गरेको कथा बताउँदैछ । हिमालय सभ्यताको अन्त्यको प्रारम्भको कथा ।
8.
समय,
भूगोल, भाषा र भावना
यस्तै
सीमित समयमा सीमित भूगोलमा र सीमित संवेदनामा छेवाङको कथा बाँचेको छ, तोरकीनको कथा
बाँचेको छ र छेवाङ र कुन्साङको प्रेममा हिमाल र हिमालपारिको मरुस्थलको नीरवता
मिसिएको छ। बतासमा सन्देश पठाउने प्रसङ्ग, वियोगको वर्णन, र आत्मिक मिलनका क्षणहरूमा लेखकको
कलम कवित्वमा रूपान्तरित भएको छ। कतै लेखक घट्टहरूले गरिबी र अभाव पिसिदिए हुने
कामना गर्छन् त कतै मन त पग्लेकै राम्रो देखिँदो रहेछ र पग्लिनु भनेको
रित्तिनु होइन भरिनु पो रहेछ भन्ने रहस्य बुझाउँछन् । उपन्यासको भाषा सजीव,
चित्रात्मक र स्थानीय स्वादले भरिएको छ। उपन्यासमा उपल्लो मुस्ताङमा
बोलिने स्थानीय भाषा ल्होवाका प्रशस्त शब्दावलीको प्रयोग गरिएको छ । पढ्दैँ
जाँदा तिनै शब्दप्रति आत्मीयता बढ्दै जान्छ । प्रसङ्गले धेरैजसो शब्दको अर्थ लाग्छ
।
उपन्यासको
अन्त्यमा दिइएको शब्दार्थसूचीमा पनि केही शब्दहरू समेटिएका छन् भने केही शब्दहरू
पाठकलार्इ नै घोत्लिन छाडिएका छन् । समग्रमा भाषिक प्रयोगले नेपाली उपन्यासमा स्थानीय
भाषाको सशक्त प्रयोगको परम्परा बलियो बनाएको छ। स्थानीय भौतिक बिम्बहरूलार्इ अभौतिक
अवस्थाको वर्णन गर्दा प्रयोग गर्नु पनि लेखकको लेखनको विशेषता रहेको छ । उनका पात्रका अनुहारमा लाजका च्याङ्ग्राहरू
ग्लानिको घण्टी बजाउँदै कुद्छन् , मायाको गहुँबालीमा धोकाका नाउरहरू
छोड्छन् , कसैका आँखामा डर र बिलौनाका झोपाले सिङौरी खेल्छन् । उनको लेखनमा
कामुक प्रसङ्गहरू छन् तर ती कलात्मक
र मर्यादित रूपमा व्यक्त गरिएका छन्। पुस्तकको
सुरु र अन्त्यमा चल्तीको फन्टको सट्टामा प्रयोग गरिएको पुरानो शीशा छापे अक्षरले
पनि समय र स्मृतिको सौन्दर्यमा थप पत्र दिएको छ।
9.
तोरकीनका
दुर्बल पक्ष
निश्चय
पनि तोरकीनको सबभन्दा ठूलो शक्ति यसको स्थानीयता हो। लेखकले उपल्लो
मुस्ताङको आवाज, संस्कृति र परिवेशलाई
नेपाली साहित्यको केन्द्रमा ल्याएका छन्। उनले प्रकृतिलाई केवल पृष्ठभूमि होइन,
पात्रहरूको भावना र अनुभवको वाहकका रूपमा प्रस्तुत गरेका छन्। अनि
तोरकीनको दुर्बल पक्ष के हो त ? निश्चय पनि यसतर्फ पनि केही चर्चा गर्न सकिन्छ । उपन्यासको
पूर्वार्ध अत्यधिक सपाट र मन्द हुनु, उत्तरार्ध पूर्वार्धले तयार गरेको धरातलबाट
एकाएक जताततै छरपस्ट बन्नु । अनेक
स्थलमा अति तीव्र संवेदनाका लागि तयार भएका पाठकलार्इ मन्द संवेदना मात्रै पस्कन
सक्नु, स्थानीय संस्कृतिको वर्णनमा सशक्त हुँदा अनेक स्थलमा कथानक
खुकुलो हुन जानु, उपन्यासको अन्त्य अपेक्षाकृत रूपमा सशक्त हुन नसक्नु इत्यादि
तोरकीनका दुर्बल पक्ष हुन् । ध्वनिमाध्यमको प्रयोग नगरी केवल लिपि र
अक्षरमार्फत स्थानीय लवज र सांस्कृतिक बान्कीलाई उतार्ने लेखकको प्रयास दुस्साहसी
र प्रशंसनीय हुँदाहुँदै लिपिका
सीमितताका कारण कतिपय ठाउँमा ती लवजहरू पूर्ण न्याय पाउन नसक्नुलार्इ पनि
अर्को दुर्बल पक्ष मान्न सकिन्छ । निश्चय पनि ल्होवा भाषाका शब्दहरूको प्रशस्त
प्रयोगले पात्रहरूलाई बाँचेकै परिवेशमा राख्छ। पाठक मुस्ताङकै आँगनमा बसेर कुरा
सुनेझैँ अनुभव गर्छ। तर यही विशेषता
कहिलेकाहीँ चुनौती पनि बन्छ। कहिले काँही अचानक स्थानीय पात्रका मुखबाट
सुनिएको क्लिष्ट तत्सम शब्दहरूको प्रयोगले स्वाभाविक प्रवाह तोड्छ,
कहिले पात्रका संवादहरू अस्वाभाविक बन्छन्। यसरी पाठक कहिलेकाहीँ चराङका
गल्लीबाट सम्पादकको टेबलमा आइपुगेको महसुस गर्छ। पुस्तक
पढ्दा एकचित्त भएर पढ्ने र तत्काल अन्य सहायक सामग्री हेर्न नरुचाउने र मुस्ताङको
भूगोलसँग अपरिचित पाठकका लागि पुस्तकमा मुस्ताङको मानचित्र पनि भैदिए हुन्थ्यो
भन्ने लाग्न सक्छ । अझ अन्त्यमा दिइएको शब्दार्थसँगै चित्र पनि भैदिए हुन्थ्यो
भन्ने पनि लाग्न सक्छ । तर यी अति अपेक्षाहरू हुन् । समष्टिमा भन्दा तोरकीनमा भएका
त्रुटि, असङ्गति र सीमितताहरू मूलतः लेखकको कमजोरी भन्दा पनि समीक्षकको अति
अपेक्षा वा छिद्रान्वेषिता का कारण छन् । नगण्य छन् । उपेक्षायोग्य छन् ।
10.
सार र
सन्देश
अन्त्यमा
निष्कर्षका रूपमा भन्नुपर्दा, तोरकीन
केवल एउटा उपन्यास होइन, एक यात्राको दस्तावेज हो । प्रेम, प्रकृति र समयबीचको मौन संवादको कथा हो । यो कथा शब्दभन्दा धेरै अनुभूतिको यात्रा हो,
जसमा चराङको आकाश, हावाको शीतलता,
अनि मानेहरूमा बगेको समयको आवाज मिसिएको
छ। यसका पानाहरू पल्टाउँदा लाग्छ, कुनै सन्तानले आफ्नो गाउँ,
संस्कृति र समयप्रतिको असीम माया शब्दमा पोखेको छ। यो केवल एउटा
कथानक होइन, आत्मा र माटोबीचको सम्झौता हो। लेखकले यस
उपन्यासमार्फत पाठकलाई एउटा जटिल प्रश्न सोध्छन् । सुख र समृद्धि आखिर के हो?
के हामी समृद्धिका नाममा आफ्नै जरा काटिरहेका छौँ? जब शहरका उज्याला बत्तीहरूबिच आत्मा अन्धकारमा हराउँछ, तोरकीन त्यहीँ उज्यालोको दियो बन्छ। यो पढ्दा लाग्छ, पहाडको हावा, गोठालोको गीत, अनि
चराङको निस्तब्धतामा हराएको एउटा जीवन फेरि उठिरहेको छ। यो
कृति भावनाको, बिर्सँदै गएको संस्कृतिको र आत्मिक सौन्दर्यको
पुनर्जागरण हो। हरेक पात्र, हरेक संवादले गाउँको आत्मालाई
बोलाउँछ। पाठकहरू आफैंलाई तिनै पहाड, गुम्बा र उच्च
हिमालय पारीका गहिरा उपत्यकाहरूमा हिँडिरहेको महसुस
गर्छन्। यसमा न त कृत्रिम भव्यता छ, न त चकाचौंधको
मोह, छ केवल माटोको गन्ध, अनि मनको तिर्सना।
उपन्यास
लेखनदेखि प्रकाशनसम्म, यस
यात्रामा जो जो प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्, ती
सबै साधुवादका अधिकारी हुन्। तोरकीन केवल पढिने होइन, महसुस गरिने कृति हो। यसको चर्चा चलिरहनेछ । शोधपत्रहरूमा,
पुस्तकालयहरूमा, अनि भावनाको गल्लीहरूमा पनि। कुनै दिन कुनै महत्त्वाकांक्षी चलचित्रकारले यो कथालाई पर्दामा उतार्ने
हिम्मत जुटाए भने, अक्षरहरूले भोगेको संवेदना दृश्य बनेर
झल्किनेछ। मानेहरू गुनगुनाउनेछन्, गुम्बाहरूको मौनता बोल्नेछ,
अनि चराङका हिमालहरूले फेरि आवाज निकाल्नेछन्। अनि अक्षरभन्दा
चित्रद्वारा रस लिने रसिकहरूले पनि यसको रस अनुभव गर्न सक्नेछन् । तोरकीन
पढेपछि उपल्लो मुस्ताङ घुम्न नगएकाहरू घुम्न जानेछन् । घुम्न गएकाहरू
उपल्लो मुस्ताङका कुनै सुदूर गाउँमा रोकिनेछन् । खण्डहर बन्दै गरेका पुराना
दरबार र धुलोले पुँरिदै गरेका
गुम्बाहरूमा पुग्नेछन् । र, संभवतः उनीहरू कुनै पुरानो गुम्बाको धुलोले
छोपिएको कुनै पुरानो माने घुमाउने बेलामा, केही बेर एकाग्र भएर गुनगुनाउनेछन्—“ओम् मणि पद्मे हुम्।”
~शिव सङ्कल्प (shivasankalpa.np@gmail.com)
यो अवधारणापत्रको प्रमुख अंश मिति २०८२ मङ्सिर १३ को नागरिक दैनिकमा बिर्सँदै गएको आत्मिक साैन्दर्य शीर्षकमा प्रकाशित भएको थियो ।


No comments:
Post a Comment