Sunday, January 22, 2017

म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु (कविता)

पाँच-पाँच वर्षमा
अझ कति हो कति वर्षमा
मेरो नङमा कालो पालिस लगाइदिएको सट्टामा
मलाई मन नपरेको मान्छेको
मलाई मन नपरेको चिह्नमा
छाप लगाउन पाउनु मात्रै मेरो अधिकार हो भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

सयौं विधायकहरूलाई संसद्‌मै थुनेर
मुट्ठीभर मान्छेले-
विदेशीको इशारामा नियम थोपर्छन् भने
हरेक समुदायका टाठा र बाठाले
आफ्नाको कुरा छाडेर
अरूकै इशारामा बकिरहन्छन् भने
निर्धा र निमुखाको घोडा चढिरहन्छन् भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

जागिरमा होस् या पढाइमा
ठेक्कामा होस् या नियुक्तिमा
सरूवामा होस् या बढुवामा
अमुक दलको कोटामा नपरी
मालिकका पाउमा दक्षिणा नछरी
सफल हुनलाई मैले देशै छोड्नपर्छ भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

मेरो व्यवसायमा अनि कार्यालयमा
मेरो विद्यालयमा अनि विश्वविद्यालयमा
कुनै भातृसंगठनको सदस्य नभएकै कारणले
म अछुत बनाइन्छु भने
दल नमिलेकै भरमा, फोन नआएकै भरमा
निरन्तर पछारिइरहन्छु भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

मासु र भातमा
मदिरा र मातमा
अनि चिल्ला बातमा
भोकमा, लोभमा र पापमा अचेत अनि विचेत भएका 
मेरा दाजुभाइ र दिदीबहिनीहरू दिउँसै बिक्छन् भने
चार साधुलाई पाँच चोरले जित्छन् भने 
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।
( २०७३ माघ ८ काे बाह्रखरीमा प्रकाशित http://www.baahrakhari.com/news-details/15861/2017-01-21 )

Monday, January 16, 2017

जुनेद जमशेद

साठीको दशकमा कराचीमा जन्मेका
जुनेद जमशेदको सानैदेखि गीतसंगीतमा रूचि थियो । एयरफोर्सका पाइलटका छोरा फेशन र गीतारका शौखिन जमशेदले इञ्जिनियरिङ पढे तापनि असीको दशकमा "भाइटल साइन" भन्ने ब्याण्डको सदस्य हुन रूचाए । भाइटल साइनको 'दिल दिल पाकिस्तान' भन्ने गीत बीबीसीको सर्वकालिन उत्कृष्ट १०मा पर्न सफल भएको थियो । नब्बेको दशकमा जमशेदका 'गोरे रंग का जमाना', 'तुम दूर थे' 'सावली सलोनी', 'नाराज तुम', 'उस राह पर' आदि गीतले तहल्का मच्चाए । युवाहरूका धड्कन बनेका जमशेदले धन र प्रसिद्धिको उचाइमा रहँदा २००४ ताक अचानक गीत संगीत छोडे, गीतार छोडे, जिन्स छोडे अनि इञ्जिनियरिङ पनि छोडे । उनले दाह्री बढाए, खद्दर लगाए, धार्मिक प्रवचन र धार्मिक संगीतमा मात्र संलग्न भए । खद्दरका कपडा बेचेर परिवार पाले । आफ्नो धर्मभित्रकै पनि अल्पसंख्यक समुदायका जमशेदलाई टीभीमा धार्मिक कार्यक्रम चलाउँदा बोलेको कुरालाई लिएर ईशनिन्दाको आरोप समेत लाग्यो । व्यापक बिरोध पछि उनले रूँदै माफी समेत माग्नु पर्‍यो । तैपनि उनी आफ्नो बाँकी जीवनभर धार्मिक समाजसेवामा संलग्न रहे । यस्ता जमशेदको हिजो (डिसेम्बर ७, २०१६ ) पीआईए ६६१ नं को हवाई उडान दुर्घटनामा निधन भयो । दुर्घटनामा परी निधन हुने सबैलाई सद्‌गति प्राप्त होस् ।

रहेनन् क.दी.


नेपाली भाषा, जर्नेल मदनशमशेर र रानी जगदम्बाका अनन्य सेवक कमलबाबु रहनुभएन । मदनपुस्तकालय, मदन तथा जगदम्बा पुरस्कार, जगदम्बा प्रेस, साझा प्रकाशन आदिमा कमलमणिको योगदान छ ।

कौण्डिन्यगोत्री आचार्य कुलमा जन्मेका यिनका बराजु शिरोमणिले वीरशमशेरका सहायतामा वाराणसीमा सोमयाग गरेपछि आचार्य दीक्षित वा आ.दी. लेख्न थालेका थिए । शिरोमणिका माहिला छोरा काशीनाथका जेठा छोरा राममणिका जेठा छोरा केदारमणिका माहिला छोराको रूपमा चन्द्रशमशेरको अन्त्यकालतिर जन्मेका कमलमणि आचार्य दीक्षितले भने नाम छोट्याएर कमल दीक्षित अझ क.दी. लेख्न थालेका थिए ।
लामो समयसम्म शासक र शासकका कुलको आश्रयमा बसेता पनि जुन अंशको नैतिकता र इमानदारी कमल दीक्षितमा थियो त्यो पनि नयाँ पुस्ताकाे लागि प्रेरणादायी छ ।
कमलबाबुको आत्मालाई शान्ति मिलोस् ।


धेरै पढिएकाे

पृष्ठ संग्रह