Saturday, January 19, 2019

मनमा बसिन् पाेखराकी निरमाया (नाटक समीक्षा)

~ शिव संकल्प

कृति:  निरमाया (नाटक )
लेखक: सरुभक्त/निर्देशक: परिवर्तन
मञ्चनस्थलः गन्धर्व
नाटकघर (पाेखरा थिएटर ) नक्शा 
मितिः २०७५ पुस २७ देखि माघ १२सम्म
समयः अपराह्ण ४ः४५ (शनिबार  अतिरिक्त शो)
अवधिः १ घण्टा ४० मिनेट
टिकटदर. रू. ३००/५०० (विद्यार्थीका लागि छुट)

गुणवत्ता: 


"पाेखरामा उहिले उहिले नाटकहरू मञ्चन हुन्थे अरे । अचेल बन्द भए अरे । अब फेरी शुरू गर्न भनेर युवाहरू जुर्मुराइरहेका छन् अरे ।" करीब दुई वर्ष अघि पोखरामा यस्ताे सुनिन्थ्यो। यसै प्रसङ्गमा पोखराका युवा नाट्यकर्मी परिवर्तनसित मेरो एकपटक संवाद पनि भएको थियो । अहिले दुई वर्ष पछि त पोखरामा नाटक शुरु भएको पनि केही समय भैसक्यो । धेरै नाटकहरू मञ्चन पनि भैसके तर मलाई भने आज मात्रै नाटक हेर्ने मौका मिल्यो ।  उनैले निर्देशन गरेको सरुभक्तको 'निरमाया' । 

गुगल-नक्शाको सहायताले मैले गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्वनाटकघर फेला पारेँ ।
साँधुरो बाटोमा ब्लकको गाह्रोको पर्खाल भित्र बाहिरबाट हेर्दा दु:खजिलो गरी बनाए जस्तो भवन । केही गाडी र मोटरसाइकलहरू चौरमा पार्किङ गरिएका भेटिए । मेरो मनमा यसै पनि अपेक्षा कम थियो त्यसमाथि पनि बाटोको भित्तामा "पोखरा थिएटर" लेखे पनि नाटकघरको भित्तामा "पोखरा थियटर" लेखेको देख्ता झनै आँखा बिझाएका थिए । 

बिस्तारै दर्शकहरू जम्मा हुन लागे । पाका दर्शकहरू जमानामा कल्पना सिनेमा हलबाट बज्ने 'रेकर्ड'को सम्झना गर्दै थिए भने युवा दर्शक र स्कूले नानी बाबुहरू पनि उत्तिकै उत्साहले पर्खिँदै थिए । अलिकति ढीला गरेर नाटक शुरु भयो । हामी भित्र पस्यौँ । नाटकका निर्देशक आँफैले हामीलाई बस्ने आसन देखाउँदै थिए । शायद अँध्यारोमा तिनले मलाई चिन्न भने चिनेनन् । भित्रको दृश्य र ध्वनि आकर्षक थियो । धमिलो प्रकाशमा पनि मञ्चको सज्जा आकर्षक लाग्यो । समग्रमा नाटकको मञ्चसज्जा, वेशभूषा, प्रकाश र ध्वनिव्यवस्थापन मलाई उत्कृष्ट लाग्यो । कलात्मक तरिकाले नाटक प्रारम्भ भयो । 

'निरमाया' नाटक मैले नपढेको हुँदा मेरालागि कथानक भने नौलो थियो । 

परापूर्वकालको गाउँको एक बिहान । पाँच पाँचवटा घरहरू लहरै हुँदा मञ्च साँघुरो अवश्य लागेको थियो तर अस्वाभाविक लागेको थिएन । घरको अग्लो र होँचोपन अनि जुटको बोरामा र प्लाईवुडमा गेरुलगाएर बनाइएका जस्ता मञ्चका सामग्री मलाई जीवन्त लागे । मञ्चको कुनामा बनाइएको सानो चौतारो र त्यसमाथि बनाइएको 'आँसी उद्याउनि ढुङ्गो' समेत चिटिक्क मिलेका थिए । गाउँको माथि डाँडामा हिँडेको जस्तो देखिने गरी मञ्चको पृष्ठभागमा बनाइएको मचान उत्कृष्ट लाग्यो । (यो के हो बुझ्न तपाईँलाई नाटक नहेरी सुख छैन।) 

नाटकमा अभिनय गर्ने पाका र युवा सबै कलाकारले आफ्नो भूमिकालाई न्याय गरेका थिए । डम्बरे बनेका प्रकाश घिमिरे त चिनिएका सशक्त अनुहार भैहाले, बाटुली बनेकी प्रमिला तुलाचनको भावभङ्गी र संवाद पनि धेरै सशक्त लाग्यो । एउटा नि:सन्तान  सौताने आमाले आफ्नो सौताको छोराप्रति गर्ने कठोरता र स्नेह आफ्नो अभिनयमा सङसङै एकैपटक जीवन्त रूपमा पोख्न सक्नु उनको ठूलो खुबी हो । नाटकको नायक गोरे बनेका रेवान राईको भूमिका अधिकांश समय 'विचरापात्र' जस्तो भए पनि अन्तिममा क्रान्तिकारी चरित्रमा पनि उत्तिकै सुहाएको थियो । मनीषा थापाको बालसुलभ चञ्चलता, अञ्जु दाहालको निर्दोषपन अनि बबिता मल्ल ठकुरीको नवयौवनाका कटाक्ष र हाउभाउहरू मन हर्ने बनेका थिए । लाठे, बन्दुके र तमसुके बनेका कलाकारहरू कथाले मागे जत्तिकै छुचा र दुच्छर देखिएका थिए । जन्तीमा बाजा बजाउन आएका कलाकारहरूले समेत आफ्नो छोटो भूमिका बलियो गरी निभाएका थिए । 

नाटक हेर्नेका आँखा अत्यन्त चनाखा हुनुपर्दछ । किनभने यहाँ 'पज' र 'रिप्ले'को सुविधा हुँदैन । मञ्चको बीचमा रहेका पाका मान्छेहरूले सुन्तलीको बिहे छिन्दै गर्दा मञ्चको दायाँ र वायाँ आ-आफ्ना घरका पिँडीका खम्बामा अडेस लागेर लाज मानीरहेका सुन्तली र उसको हुनेवाला दुलाहाको उत्कृष्ट भावभङ्गी एकै पटक हेर्न उत्तिकै उत्कृष्ट कौशल चाहिन्छ । अझ सुन्तलीलाई पाउन नसकेको केटाको अर्को कुनाको भावभङ्गी समेत हेर्न त तपाईँ अझै चनाखो हुनु पर्दछ । प्रारम्भको दृश्य, गोरे र पातली अनि सुन्तली बीचका प्रेम र कलहका दृश्य, शुरवीरेलाई जबरजस्ती ल्याप्चे लगाउन लगाएको दृश्य अनि अन्तिम दृश्यले उत्कृष्टताको  उच्चतम बिन्दु छोएका थिए । 

आञ्चलिक भाषा र शैलीको स्वाभाविक प्रयोगले पनि नाटकलाई धेरै सशक्त बनाएको थियो । यद्यपि कतिपय स्थानमा प्रयोग गरिएका मध्ययुगीन शैलीका गालीहरू सुन्दा भने कलिला दर्शकहरूको संवेदना सम्झेर एक छिन मेरो मन चसक्क भने नभएको हैन । छिटो छिटो चलीरहेको कथानकका बीचमा मञ्चको अग्रभागबाट नै नाटकका विशेष मोडहरूमा प्रत्यक्ष रूपमा बजाइएको सारङ्गीको धुन उत्कृष्ट थियो । तर परिस्थितिको भावनाको अनुकूल कतिपय स्थानमा यो अझै लामो समय बज्नु पर्थ्यो जस्तो भने लागीरह्यो । 

नेपथ्यमा रहेको 'सेतो घर' निवासी 'मालिकले 'अनारभन्दा सुन्तला स्वादिलो' भन्ने ठानेको सन्देश सुनेपछि नै मैले नाटकको मर्म पहिल्याएको थिएँ । तरपनि करीब एकसय मिनेटको समय एकछिन पनि पट्यारलाग्दो भएन । नाटकले क्षणिक रूपमा खुसी र हास्य पस्किएको भए पनि मुख्यत: यसले दर्शकहरूलाई पीडामा र करूणरसमा नै डुबाउन सफल भयो । मध्ययुगीन समयका शोषक र सामन्तले गरेका निर्धन र असहायहरू प्रतिको अत्याचार र त्यस विरूद्धको प्रतिकारको जीवन्त कथाका रूपमा रह्यो 'निरमाया' । 

बालक कालमै प्रज्ञाका प्रचण्ड मल्ल, सर्वनामका अशेष मल्ल र सुनील पोखरेल, मिथिलाका महेन्द्र मलङ्गिया अनि भारतको राष्ट्रीय नाट्य विद्यालयका नाटकहरू हेर्ने मौका पाएको मलाई, यो नाटक ती नाटकहरूभन्दा कुनै पनि दृष्टिकोणले कमजोर लागेन । बरू धेरै ठाउँमा अझै सशक्त नै लाग्यो । यो नाटक एक पटक हैन पटक पटक हेरे हुन्छ ।  मलाई यो नाटक हेरी सक्दा यसमा परिश्रम गर्ने सबैलाई र विशेषगरी प्रकाश परिकल्पना र व्यवस्थापन गर्ने  दिलप्रसाद गुरूङलाई सलाम गर्न मन लाग्यो । 


नाटक सकिए पछि बत्ति बल्यो । कलाकारहरूले आ-आफ्नो परिचय दिए । पालै पालो सबै दर्शकहरू बाहिर जान लागे । मैले भने एकछिन पर्खेँ अनि निर्देशक परिवर्तनलाई अङ्गालो हालेँ । 



Friday, January 11, 2019

घन भिन्दै चक्कर भिन्दै (कृति समीक्षा)



~शिव सङ्कल्प 

कृति: घनचक्कर (उपन्यास)

लेखक: सञ्जीव उप्रेती
प्रकाशक: अक्षर क्रिएसन्स
पृष्ठ: ३०८
मूल्य: रू. ३२०

गुणवत्ता: ✘✔✔✔✔



घनचक्करको पहिलो संस्करण छापिएको कहिले हो नयाँ संस्करणमा उल्लेख छैन । नयाँ सस्करणको पहिलो मुद्रण भएकै ६ वर्षभन्दा बढी भएछ । नाम सुनेको र पढ्न मन लागेको कृति भए पनि पढ्ने मौका जुर्दासम्ममा उज्यालो कागजमा छापिएको संस्करण अप्राप्य भैसकेछ । पहेँलो कागजको संस्करणमा नै चित्त बुझाउनु पर्‍यो ।  पुस्तकका लेखक सञ्जीव उप्रेती भोलि (पुस २८ गते)  र्‍याण्डम संवाद गर्न पोखरा आउने कार्यक्रमको निम्ता आयो । जान इच्छा भयो । उनका कुनै पुस्तकै नपढी त के कार्यक्रममा जानु भनेर पोखराको नयाँसडक स्थित हिमालयन रिडर्स कर्नरबाट अस्ति पुस्तक ल्याएँ ।अहिले बेलुका आठ बजे शुरू गरी पौने एघारबजे पुस्तक एक आवृत्ति पढेर भ्याएँ । निद्रा नलागेका सुरमा यसबारे टिप्पणी पनि लेखेरै सुतौँ भनेर यो टिप्पणी लेख्दैछु । भोलि चर्चामा त जानु त छँदैछ । 

घनचक्कर चल्तीकै शब्द हो । पागल वा घामट अर्थमा । कथामा सुललितता खोज्नेलाई यो पुस्तक हैन । यो पुस्तक पढ्न आँफैमा अलिकति घनचक्कर नभै सुख छैन । उपन्यास लेखकको आत्मकथा जस्तो प्रारम्भ हुन्छ ।  लेखक त्रिविका प्राध्यापक हुन्, उपन्यासको मुख्य पात्र 'म' पनि । तर त्रिविमा न त पुस्तकको शुरूमा भनिएको जस्तो नेपाली सांस्कृतिक अध्ययन विभाग छ न त अन्त्यतिर भनिए जस्तो अंग्रेजी सांस्कृतिक अध्ययन विभाग नै । तर आत्मकथा आफूले भोगेका तथ्य मात्रै हैनन् आफूले कल्पना गरेका तथ्य पनि हुन् र वास्तवमा भोगेको भन्नु र कल्पना गरेको भन्नु खासै फरक छैन । तसर्थ यो उपन्यास कम्तिमा मेरा लागि आत्मकथाकै कोटीको छ । 

'पागलपनका प्रथम लक्षणहरू' ममा पनि धेरै पहिले देखा परेका हुन् । हाल सार्वजनिक जीवन यापनमा प्रत्यक्ष बाधा नभए पनि जब जब यस्ता कृति पढ्छु  मेरा लागि सर्पले सर्पले खुट्टा देख्छ भनेजस्तो भाव आउँदो रहेछ । मैले 'पूर्वेली मिथकहरूमा अवतार' पढाउनु पर्दैन न त ' विश्वव्यापीकरण र अन्तहिन खोज' नै तर पनि मैले पढाउने औषध विज्ञानमा पनि यी दुबै कुरा कता कता गाँसिएर आउँदा रहेछन् । हाम्रो विश्वविद्यालयमा उत्तरपुस्तिका पुनर्परीक्षणको पनि व्यवस्था छ तसर्थ यहाँँ 'रङ्नाथ पुडासैनी'हरू पुनर्परीक्षणको हैन अवलोकनको माग गर्छन् ।

खोज, थाहा र बुझ । यी महावाक्यहरू नै हुन् । 'बोरा आतङ्क'ले पीडित मजस्ताले यी महावाक्यका आदेश पनि तिनै बोरामा खोज्नुपर्छ न कि 'रूखका पारी पट्टी भएका शीतका थोपामा'। शायद राममान दाईको 'हिमाली मलम'ले पनि त्यसै भएर सम्पूर्ण रोगको 'निदान' त गर्छ तर निवारण गर्न सक्दैन ।  पाठकका आखाँ 'पिलिकपिलिक बल्ने पेनटर्च' झैँ तीव्र छन् । धेरै ठाउँमा आँखा चिम्ले पनि  'फ्' हुनु पर्ने ठाउँमा 'मुद्रा राक्षस' ले  पटक पटक 'रू' हुँदा भने ती आँखा बिझाउँछन् जसरी एकै पंक्तिमा 'वितण्डा'को ण र 'भागबन्डा'को न देख्दा पुराना र नयाँ व्याकरणसित निरपेक्ष रहँदा पनि आँखा धमिलाे र जिब्रो अमिलो हुन्छ ।

दिलवरनाथ जोगीका असम्बन्धित लाग्ने भविष्यवाणीको रहस्य र फ्रेन्ज राइनरले गरेका उपत्यकाभित्रका शक्तिको नापतौल पत्ता लाग्दा नलाग्दै म युवाबाट अधबैंसे हुन्छु । क्षमा गर्नुहोला किशोरबाट युवा हुन्छु ।म मोटरसाइकल चढ्दिन । म पैदल हिँड्छु । मेरी वेदिका कार हैन स्कूटर चढ्छिन् ।  शायद बटुका लिएर गल्ली गल्ली हिँड्न पर्ने छैन उनलाई ।  मेरी नानू अहिले १६ महिनाकी भइन् विस्तारमा कथा हाल्न त सक्दिनन् तर उनकाे कथामा पनि 'दुष्ट राजा' छ, उनलाई मन नपर्ने 'गुडिया' हो त्यो ।  उनले माया गर्ने जीवहरूको नाम 'याहु' र 'गुगल' हुनेछैन । शायद 'फेसबुक' र 'ट्विटर' पनि नहोला तर 'टिकटक' र 'इन्स्टा' या यस्तै अरू केही हुन भने बेर छैन ।  उनका बाका पुस्ताकाहरू 'प्याजका धरहरा'का प्रशिक्षणमा 'गुच्चा खेल्नमै' व्यस्त छन् । तैपनि पूर्णिमाको कुनै रात किरातेश्वरमा 'सुशील गर्तौला' सुनाउन लानेछु म उसलाई । चाहे शिवको भजन होस् या चाहे अरू कसैकै, आशा छ उनले पनि अनहद्नादको झल्को पाउने छिन् ।

फिरन्ते जोगीको जीवन रमाइलो हुन्छ । हरेक दिनको आहारा दैवले जुटाउँछ । र परिश्रमीको जीवन पनि, जसरी कालु रिक्सावाल परिश्रमसित पेट पाल्छ । तर जोगीले उत्तरतिर जाने सपना देख्छ, कालु रिक्सावालले देख्दैन, ऊ पाटीमै लठेब्रीसित सुत्छ । अघिल्लो खालेे जीवन मैले पनि जीवनको करीब छ महिना बिताएँ । स्वर्णीम समय थियो त्यो । नारायणदत्त श्रीमालीको सम्मोहनशास्त्रको ठूलो प्रभाव थियो म फिरन्ते साधक हुनमा ।  तर पछिल्लो खाले जीवन भने त्यसपछि करीब १६ वर्ष विताउन प्रयास गरेँ तर खै के ? खै के? भनेजस्तै छ जीवन ।

गैरीधाराको सरस्वतीथान वरिपरि खेलेर म पनि हुर्केको हुँ जहा उतिबेला खेतै खेत हुन्थे अहिले चम्किलो विज्ञापनका बोर्ड राखिएका अग्ला घर होलान् । अग्ला टावर होलान् । जो कालान्तरमा ढल्लान् पनि । र, टावरहरू ढल्नलाई वा ढालिनलाई नै बनाइन्छन् होला पनि । तर हरेक पटक हामी नयाँ टावर बनाउन जुट्छौँ, चाहे त्यो ढल्दा त्यसले हामीलाई पनि किन नकिचोस् । अनि हरेक पटक त्यो अलौकिक ऐना पनि झर्‍यामझुरूम हुन्छ,  आफ्नो स्वरूप जान्नै नपाउँदै । दुर्भाग्य!  बिग्रेका काङ्ग्रेस र बिग्रेका कम्युनिष्टले यो कुरा कहिल्यै बुझ्ने छैनन् । 

अन्त्यमा, सक्कली दिलवरनाथको कान चिरेको होला नक्कलीको कान चिरेको नहोला । यसले फरक पर्दैन । यसका 'राजनैतिक', 'मनोवैज्ञानिक', 'अस्तित्वपरक' र भौतिक' कारणहरू खोतलेेेर बुझेे प्रष्ट भैहाल्छ । किनभने 'इलायची' हैन 'अलैँची' हालेको चिया खाएको र 'मर्फी रेडियो' नसुने पनि त्यसको अवशेष देखेको मान्छे हुँ म ।

'घनचक्कर' पढ्नुपर्ने पुस्तक हो । यो कुरा तपाईँले 'पाइलेट पेनको कालो मसी'ले 'नीलो नोटबुकका सफा पाना'मा लेखेर राखे हुन्छ । 




Wednesday, November 14, 2018

हज्जारौँ वर्षअघि

हज्जारौँ वर्षअघि

म मेरी नजन्मिएकी छोरी बोकेर
एक्लै तरीरहेको थिएँ पुरानो अमिलो नहर ।
छुट्याउन मुश्किल थियो
एकबित्ते ह्वेलहरूले
मेरा पाइतालामा काउकुती लगाएको
अनि भक्तपुरका सिकर्मीहरूले
करौँती तिखारेको ।
यक्कीन सम्झना छैन कुनचाहीँ हो
शब्द हो कि छाया हो
दुत्कारेको हो कि माया हो
मेरो कानमा बिझाइरहेको थियो ।
कुँडहर फाँटको जेठोबुडो अनि पएँलेको वास्ना
ह्वार्र नाकमा एकैचोटी पस्दा
मूढो लडे झैँ किंकर्तव्यविमूढ
मेरो चेतना लडेको थियो लम्पसार ।
प्लाष्टिकको झ्यालखानामा बटारिएर
कैद भएकाहरू
के जान्दथ्यौ कुहिनुको मजा
माटामा मिल्नुको मजा ।
शायद गम्भीर अत्याचारमा परेर होला
टाऽऽढा कतै नेपथ्यबाट चिहिरिएर रोएको सुनेँ
अँध्यारोलाई चिरेर ।
पऽऽर अनि एक्लै
केही गर्न सकिन मैले ।
केवल दोहोर्‍याइरहेँ
'अस्वत्थामाको नाक चुच्चो छ
अनि मेरी छोरीका बाको पनि'
यसो भनीरहँदा मलाई सम्झना भएन
'अस्वत्थामाको शिरमा घाउ छ
तर तिम्रा बाको टाउकोमा छैन' ।
घरैमा ब्याएकी बिरालाकी माउ म्याउँ गर्छे
ढाढेको अत्तोपत्तो छैन ।
छाउराहरू मुखमा च्यापेर
ओसार पसार गरीरहन्छे
ढुङ्गाको मूर्ति अनि ढुङ्गाकै हिमालले मित लगाएछन्
हिउँको अत्तोपत्तो छैन ।
मन्दिरका गर्भगृहमा
मूर्तिहरू छैनन् त के भयो?
ती गौण हुन् , कम्तिमा अँध्यारो त छ!
असीना पर्छ फाँटहरूमा
अनि पग्लिन्छ आत्मा
आमाका स्तनका मुण्टाहरूमा
मेरी छोरीले जीवन चुस्छे ।
हिलोमा घिस्रिएको कछुवाले
आफ्नो खबटो दान दिन्छ
निर्दयीहरूका पाइला कोमल छन्
सहृदयीहरूका पाइला कठोर छन्
आगो दन्काउने मान्छे हो
पानी उमाल्ने मान्छे हो
समुद्र तिमीले बनाएको होइन
धर्ती तिमीले बनाएको होइन
मैले बनाएको हुँ ।
सुस्तरी सास फेर्दैमा
शहरहरू सोत्तर पार्ने
दानवलाई भेटेँ मैले
मैले 'ए' भन्दा
'है' भन्दैथियो ।
अनि मीऽठो मानेर चुसीरहेको थियो
मेरो नलीहाडमा टाँस्सिएको मासु
मलाई लुछिएकोमा चिन्ता थिएन
दैत्यले रमाइलो मानेकोमा आनन्द थियो ।
उसका नङ्‌ग्रा अनि दाह्राका चेपमा
छिन्न भिन्न भएर लुकामारि खेल्नमा आनन्द थियो ।
अनि त्यसपछि सबै सकियो ।
यो मेरो सपना थियो
भनेको भए शायद तिमीले पत्याउँथ्यौ होला
तर यो त विपनै थियो
यदि तिमी मनमनै 'अहा!' भन्दैछौ भने
पत्रु छ मेरो लेखनी
यदी तिमी मनमनै 'छ्या: जेपायो तेही' भन्दैछौ भने
कृतकृत्य भयो मेरो लेखनी
अब त तिमी मनले जे ठान्यो त्यो भन्न पनि
दुई पटक घोरिन्छौ
ठीकै छ मैले खोजको पनि त्यही हो
तिमीलाई सहस्र शुभाशीर्वाद छ!
यो के लेखेँ मैले मलाई पनि थाहा छैन
हज्जारौँ वर्षपछि ।

धेरै पढिएकाे

पृष्ठ संग्रह