Wednesday, June 10, 2009

पण्डित र माझी

कुनै बखतमा एकजना महापण्डित डुंगाबाट नदी तर्दै थिए ।आफ्नो विद्वत्ताको ठूलो घमण्ड भएका तिनले माझीलाई सोधिहाले -"तैँलै कति पढेको छस् ? तँलाई दर्शनशास्त्रको ज्ञान छ ? मैलै त दर्शनशास्त्रमा विद्यावारिधि गरेको छु l" माझीले आँफू निरक्षर भएको बतायो । पण्डितले भने- "हेर् दर्शनशास्त्रको ज्ञानबिना तेरो एक चौथाई जीवन व्यर्थ भयो, खैर तैँलै हिसाब त जानेको होलास् नि ?" माझीले आँफूले हिसाब पनि नजानेको बतायो । पण्डितले अगाडी बताए, "ए तेरो त दोस्रो चौथाइ जीवन पनि व्यर्थ गएछ, हेर् मैलै त गणितमा आचार्य पास गरेको छु , खैर तैँले तर्कशास्त्र त जानेको होलास् नि ?" यत्तिकैमा नदीमा आँधी आयो र माझीले भन्यो, "तपाईँले पौडन जान्नु भएको छ? छैन भने त तपाईँको पूरा जीवन नै बेकम्मा हुन सक्छ " यति भनेर ऊ नदीमा हामफाल्यो l आँधीले डुंगा हुत्याइदियो l त्यसदिन पछि ती पण्डितको कुनै खबर सुनिएन ।

चित्रः स्वयं

Monday, April 20, 2009

पतञ्जलिलाई हृदयत: नमन छ

"योगेन चित्तस्य पदेन वाचां मलं शरीरस्य तु वैद्यकेन ।
योऽपाकरोत् तं प्रवरं मुनीनां पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि ।।"
~जसले योगशास्त्र (पातञ्जलयोगसूत्र)द्वारा चित्तको, शब्दशास्त्र (पाणिनीयव्याकरणको महाभाष्य)द्वारा वाणीको  वैद्यशास्त्र ( चरकसंहिता) द्वारा शरीरको ( टि. चरक पनि पतञ्जलिकै अर्को नाम हो भन्ने मत छ) मल/बिकारलाई दूर गरे त्यस्ता भगवान् पतञ्जलिलाई हृदयत: नमन छ ।

Friday, February 20, 2009

आशा

भीष्म द्रोण  कर्ण अादि बलवान् उस्ता महावीरको,
पत्ता केही चलेन आज अहिले प्रत्यक्ष नै देखियो ।
जाबो शल्य गएर पाण्डुसुतको संहार गर्ला भनी,
लागेकै छ मलाई हा! बलवती आशा अहो तैपनि ।
~चक्रपाणिकृत संक्षिप्त भारत

धेरै पढिएकाे

पृष्ठ संग्रह