Friday, July 17, 2020

समूह असफल हुने पाँच कारण




(याे टिप्पणी हालै मैले भाग लिएकाे एक व्यक्तित्व विकास कार्यक्रमकाे सामूहिक गृहकार्यकाे रूपमा लेखिएकाे हाे । याे लेख्नमा मेराे समूहका मित्रहरू मञ्जुश्री अधिकारी, हृदयेन्द्र जङ्ग शाही ठकुरी र विष्णु केसी काे सामूहिक याेगदान छ । साथैमा भएकाे हस्तलिखित  चित्र मञ्जुश्री अधिकारीले बनाउनुभएकाे हाे  भने पुस्तककाे मुखपृष्ठकाे चित्र अमेजन डटकमबाट लिइएकाे हाे )

समूह असफल हुने अनेक कारण हुन सक्छन् । तिनलाई अलग अलग रूपमा गन्न पनि सकिएला तर यस स्यानाे टिपाेटमा  'द फाइव डिस्फङ्शन्स अव अ टीम' ( The Five Disfunctions of a Team) अर्थात् 'समूह असफल हुने पाँच कारण' भन्ने अमेरिकी लेखक प्याट्रिक लेन्सिय‍ोनि ( Patric Lencioni)द्वारा लिखित सन् २००२ मा प्रकाशित एउटा लोकप्रिय नेतृत्व वा व्यवस्थापन सम्बन्धित आख्यानमा गनिएका पाँच कारणबारे लेखिँदैछ ।
यसमा नेतृत्व, व्यापार र व्यवस्थापन सञ्चालन गर्दा समूहमा आउन सक्ने समस्या र त्यसलाई समाधान गर्ने उपायहरू 'डिसिजन टेक'भन्ने एक काल्पनिक कम्पनिका प्रमुख, पूर्व प्रमुख, बजार प्रमुख, आर्थिक प्रमुख आदिको बीचमा घटेको कथानकका माध्यमले बताइएको छ ।
पुस्तकमा गणना गरिए अनुसार कुनै पनि समूह असफल हुनुमा तलका पाँच कारणहरू जिम्मेवार हुन्छन् । ती कारणहरू र तिनका कारण उत्पन्न हुनसक्ने परिस्थितिलाई तल सूचीकृत गरिएको छ ।
१. विश्वासको अभाव:
कमजोरी र गल्तीको दोष एक अर्कालाई लगाउने । सिक्न र सिकाउन डर या लाज मान्ने । अरुको बाहिरी शैली वा व्यवहारबाटै उसको बारेमा अन्तिम अवधारणा बनाउने, यसबारे प्रष्टसित नसोध्ने, केवल एक्लै सोचेर समय नष्ट गर्ने । एक अर्काका विशिष्ट ज्ञान र शीपबाट सिक्न नखोज्ने । तुस पाल्ने । छलफलबाट बच्ने । एक अर्काको सामुन्ने पर्नै नखोज्ने ।
२. संघर्षको डर:
पट्यारलाग्दा बोक्रे बैढक गर्ने तर खुलेर कुरा नगर्ने । परोक्षमा अनेक तिकडम/राजनीति गर्ने । व्यक्तिगत आरोप प्रत्यारोप आक्षेप गर्ने । चर्चा गर्नुपर्ने विवादास्पद कुरामा छलफलै नगर्ने । गजक्क परेर बस्ने । झगडा हुन्छ कि वा एक्लै परिएला कि भनेर डराएर आफ्नो मत राख्नबाट पछि हट्ने ।
३. प्रतिबद्धताको कमी:
के गर्न खोजेको वा कुन कुरा महत्त्वपूर्ण छ भन्ने कुरा
छुट्याउन नसक्ने/नचाहने, अनावश्यक ढीलासुस्ती र ज्यादा विश्लेषण गरेर समय बिताउने र मौका गुमाउने । आत्मविश्वासको कमी र असफल हुने डर । फर्की फर्की पुरानै छलफल र निर्णयहरूमा भुल्ने ।
४. जबाफदेहिताबाट पन्छिने प्रवृत्ति:
फरक कार्यकुशलता भएका सदस्यबीच तीतोपन बढाउने । कामचलाउ प्रवृत्ति । समयसीमाहरू छुटाउने र परिणाम निकाल्न नसक्ने । सबै जिम्मेवारी समूह नेतामा थुपार्ने ।
५. नतिजामा ध्यान नदिने प्रवृत्ति:
यथास्थितिमा रहने/रहन चाहने । प्रतिस्पर्धामा विरलै रहने । सँधै पछि पर्नुलाई स्वीकार गर्ने । राम्रो गर्न चाहने व्यक्तिहरूलाई गुमाउँदै जाने । समूहका सदस्यहरू समूहको सफलताभन्दा पनि व्यक्तिविशेषको सफलतालाई प्राथमिकता दिने तर्फ पुग्ने । सजिलैसित आफ्नो कामभन्दा अन्य अनावश्यक कुरा तर्फ भुल्ने ।
यी चीजहरूबाट बच्न सकेमा मात्र कुनै पनि समूह सफल हुन सक्छ ।

Saturday, February 29, 2020

हंसपुरेलाई प्रश्न (कविता)


~शिव सङ्कल्प
खोल्साको किनारमा
टुक्रुक्क बसेको पुरानो तगाराले सोध्यो
'भीरमा पखेरामा
भ्याकुर नाचेको मात्रै हैन
गाउँमा मोटर अनि
पानी पनि उकालियो हैन र?



आधा बाँझो अनि आधा
तोरि फुलेको पाखाले सोध्यो
'गाउँमा चाउचाउ र विखालु पेयको
विक्रि मात्रै बढेको हैन
यहाँका साग सिस्नो यहीँ चिस्सिएर
आँटो पिठोसितै शहर छिर्न थाले हैन र?

बाख्राले बुत्रुक्क उफ्रदै

म्याँ गरेर सोध्यो
'मेरा साथी ती किसानको
छोराछोरी पनि
म जस्तै बुर्कुसी मार्दै
पाठशाला दगुर्दै छन् हैन र?'






देउरालीको पुरानो ढुङ्गाले

खु:इय्य  गर्दै सोध्यो
'बलिया बाङ्गाहरू परदेश
अनि बजार छिरेका मात्रै हैन
लेखे पढेका अनि जोश जाँगर भएकाहरू
गाउँ फर्किएका पनि हुन् हैन र?'


'हो त है?' भन्दै

लिप्यानी अनि देउरालीको सेरोफेरो घुमेर
स्याक्लुङ कोटअनि रामकोट उक्लेपछि
इन्द्रगुफा घुमेर औतारीमाइलाई ढोगेपछि
एउटा परदेशीले हंसपुरेलाई सोध्यो
'त्यसो भए म हंसपुरमा छु हैन र?'

२०७६ फागुन १७, हंसपुर अक्षरयात्रा
चित्रहरू:स्वयं, हंसपुरको सेरोफेरो

Saturday, February 22, 2020

महाभारत जारी छ (नाटक समीक्षा)

~शिव सङ्कल्प

कृतिः यो कस्तो महाभारत? (नाटक )
लेखकः दीपक पराजुली 
निर्देशकः पञ्च सुब्बा गुरुङ
मञ्चनस्थलः गन्धर्वनाटकघर (पाेखरा थिएटर नक्शा 
मितिः २०७६ फागुन ९ देखि  २४सम्म
समयः अपराह्ण ५ः०० ( मङ्गलबार विदा, शनिबार अपराह्ण १ः०० बजे पनि)
अवधिः १ घण्टा १० मिनेट
टिकटदर. रू. ३०० र ५०० (विद्यार्थीका लागि छुट हुनेछ)
गुणवत्ताः ★★★★☆




ऊर्ध्वबाहुर्विरौम्येष न च कश्चित् शृणोति मे
धर्मादर्थश्च कामश्च स किमर्थं न सेव्यते?

म आफ्ना दुबै हात आकाशतिर उचालेर चिच्याइरहेछु । तर पनि कसैले मलाई सुन्दैनन् । धर्म(स्वकर्तव्य)बाट नै अर्थ(धनसम्पत्ति) र काम(इन्द्रियसुख)को समेत प्राप्ति हुन्छ, तैपनि किन होला यहाँ धर्मको पालना हुँदैन ?


अठार पुराण तथा महाभारतका रचयिता वेदव्यासलाई समेत आजभन्दा हजारौँ वर्ष पहिले नै यसो भन्न बाध्य पार्ने समय, क्रूर छ । 

यही क्रूर समयले महाभारतका दाउपेचलाई मानवसभ्यताका शाश्वत दाउपेच बनाएको छ । भनिन्छ, संसारको इतिहासमा भएका र हुनसक्ने सबै दाउपेच महाभारतमा छन् । यसैले पनि होला यसबाट मानवले धर्म भन्दा पनि दाउपेच नै सिकेका छन् । यसै प्रसङ्गमा जर्मन शासक विश्मार्कको भनेर प्रसिद्ध यो वचनको पनि सम्झना हुन्छ जसले भन्छ कि ‘इतिहासबाट केवल यति नै  सिकिन्छ कि इतिहासबाट कसैले पनि केही  सिक्दैन’ । 

मानव इतिहासको विशालतम महाकाव्य महाभारतका अनन्त कथाहरूबाट पनि शायद हामीले धर्म सिकेनौँ । सिक्यौँ त केवल खिचातानी र स्वार्थ, अनि फूट, लूट र गुटबन्दी  । नेपालको निकटभूतकालको इतिहासले पनि यस्तै चरित्रको पुनरावृत्ति देखायो । नेपालको यसै द्वन्द्वोत्तर कालखण्डको घटनाक्रमको महाभारतकालीन चरित्रको माध्यमले व्याख्या गरिएको नाटक हो ‘यो कस्तो महाभारत?’ 

‘मैं समय हूँ ’ धेरैको कानमा अझै पनि हरीश भिमानीको गम्भीर आवाज  गुञ्जीरहको हुन सक्छ । हो त्यही समय जसलाई सूत्रधार बनाएर आजभन्दा केही दशक अघि बीआर चोपडाले महाभारत टेलिधारावाहिक बनाएका थिए । धेरै अपूरो भए पनि धेरैका लागि महाभारतसित परिचित हुने अवसर प्रदान गरेको थियो उक्त धारावाहिकले । महाभारतका कथा र उपकथा वा महाभारतका चरित्रलाई आधार बनाएर यसअघि र यसपछि पनि धेरै कथा भनिए । नाटक र चलचित्रहरू बनाइए । जसरी पछिल्लो पटक समसामयिक राजनैतिक दाउपेचलाई महाभारतकालीन चरित्रका समानान्तर चरित्रका माध्यमले भारतीय निर्देशक प्रकाश झाले आफ्नो चलचित्र राजनीति मार्फत् देखाएका थिए । यसपटक भने लेखक दीपक पराजुली र निर्देशक पञ्च सुब्बा गुरुङले पोखराको गन्धर्व नाट्यशालामा नेपाली राजनीतिका समकालीन घटनाक्रमलाई बुनेर ‘यो कस्तो महाभारत?’ नाटक देखाइरहेछन् । 

नेपालको इतिहासमा घटित सशस्त्र द्वन्द्व तथा त्यसको अवतरण, राजतन्त्रको अन्त्य, राजनैतिक दल र त्यसका नेतृत्वको अवसरवादी चरित्र, विस्तृत शान्ति सम्झौता, मधेश आन्दोलन, संविधान निर्माण, सत्ताको खिचातानी अनि  यी सबै घटनाक्रमहरूमा भारतको भूमिका लगायतका अनेक  विषयहरूलाई महाभारतकालीन चरित्रहरूका माध्यमबाट नाटकमा देखाइएको छ ।  घटनाक्रमलाई अधिकांश  ठाउँमा कलात्मक र प्रतीकात्मक रूपमा सुरुचिपूर्ण तवरले बुनिएको हुँदा दर्शकको ध्यान टुट्न पाउँदैन । यद्यपि कतिपय स्थानमा भने आवश्यकता भन्दा ज्यादा वास्तविक घटनाक्रमसित साम्य हुँदा दर्शकको रसभङ्ग पनि भएको छ ।  

नाटकको कथानक नेपाली राजनीतिको घटनाक्रमसितै अघि बढ्छ भने चरित्रहरूलाई महाभारतका पात्रको नाम दिइएको छ । दर्शकहरूले महाभारतका पात्रका रूपमा देखाइएका नेपाली  राजनीतिका प्रमुख पात्रहरू राजा ज्ञानेन्द्र,   गिरिजाप्रसाद कोइराला, प्रचण्ड, केपीओली, बाबुराम भट्टराई, युवराज पारस, कमल थापा, सुशील कोइराला, मधेशवादी नेताहरू, भारतीय पक्ष आदिमध्ये कतिपय चरित्रहरूलाई सजिलै चिन्दछन् भने एकभन्दा बढी चरित्रको सम्मिश्रणको रूपमा रहेका कतिपय चरित्रलाई लिएर भने झुक्किन पनि सक्छन् ।  

नाटक निर्देशक पञ्च सुब्बा (दिलप्रसाद) गुरुङ नाट्यक्षेत्रको लागि नयाँ नाम हैन । हाल पोखरा थिएटरसित सम्बद्ध रहेका उनले रङ्गकर्मका मञ्च र नेपथ्य दुबै क्षेत्रका प्रमुख विधामा पर्याप्त अनुभव पछि निर्देशनमा हात हालेका हुन् । उनले आफ्नो परिकल्पनाले नाटकमा पौराणिक र समसामयिक स्वादलाई सम्मिश्रण गर्न सफल भएका छन् ।  पौराणिक परिधानको झल्को  दिने परिधानमा रहेका पात्रले आधुनिक हतियार तथा सञ्चार उपकरण प्रयोग गरिएको देखाइनु यसको एक उदाहरण हो । सीमित साधन स्रोतमा तर परिश्रमपूर्वक तयार  पारिएको मञ्च र कलाकारका परिधान प्रशंसनीय छन् । 

दुर्याेधन बनेका नवराज गिरी आफ्नो जिउडाल र संवादले चरित्रमा जमेका छन् भने शकुनि बनेका विष्णु तिमिल्सिनाले शकुनिको कुटिलतालाई झल्काउन सफल भएका छन् । भीष्मपितामह बनेका रमेशबाबु तिमिल्सिनाले नाटकलाई शुरुदेखि अन्त्यसम्म आफ्नो चरित्रको वरिपरि घुमाउन सफल भएका छन्, यद्यपि बेलाबखत उनको चरित्र विशेष गरी बोलीबाट अझै वृद्धत्व झल्किएको देखिने अपेक्षा भने रहन्छ । सञ्जय बनेका रोशन ज्ञवालीले ल्यापटप हेर्दै गरेको युद्धको प्रत्यक्ष प्रसारणले दर्शकले पौराणिक समय र आधुनिक समयको राम्रो सम्मिश्रण अनुभव गर्छन् ।  धृतराष्ट्र र अस्वत्थामाको दोहोरो चरित्रमा रहेका निश्चल विमलले आफ्ना दुबै चरित्रलाई न्याय गरेका छन् । कर्ण बनेका एम डी काफ्ले, युधिष्ठिर बनेका राजेन्द्र अधिकारी, अर्जुन बनेका सरोज तिवारी, नकुल र सहदेव बनेका उज्वल ढकाल र गौरव पौडेल र सैनिक बनेका अञ्जन रोका, प्रतीक घिमिरे र धनकाजी श्रेष्ठ सबैले आआफ्नो स्थानबाट नाटकलाई बलियो बनाएका छन् । 

बर्बरिकको उल्लेख हुनुले सांकेतिक अर्थ बोकेको छ भने नाटकमा कुनै पनि स्त्री पात्र नदेखाइनु सुनियोजित छ । यहाँसम्म कि श्रीकृष्ण र द्रौपदीको समेत नाटकमा एक एक पटक उल्लेख मात्रै गरेर काम चलाइएको छ ।  छिटो छिटो दृश्य परिवर्तन गर्ने प्रयोजनले धेरै पटक मञ्चको दायाँ र बाँया आधा भागहरूमा प्रकाश परिवर्तन गरेर काम चलाइए पनि पूरा मञ्च प्रयोग गरिएको संवाद विहीन शान्तिवार्ताको दृश्य र नाटकको अन्तिममा देखाइने सत्ताको खिचातानीको दृश्य गहीरो अर्थ झल्काउने र जीवन्त बनेका छन् । 

नाटकका लेखक दीपक पराजुली इतिहास, पुराण र मिथकमा गम्भीर रूचि भएका लेखक हुन् । यस्ता लेखकले जब समसामयिक घटनाक्रमलाई बुनेर शाश्वत बनेका पौराणिक चरित्रमार्फत् कथा भन्छन् 'यो कस्तो महाभारत'को जन्म हुन्छ । इतिहास, राजनीति, मिथक र व्यंग्यमा रूचिराख्ने सबै कलाप्रेमीहरूको लागि यो कस्तो महाभारत स्मरणीय हुनेछ । यत्तिका लेखकबाट निकटभविष्यमा नै अझै नवीनतम घटनाक्रमलाई समेत समावेश गरिएको अझै चोटिलो  ‘उत्तरमहाभारत’को आशा राखिनु दुराशा हैन । 


चित्रः "याे कस्ताे महाभारत?" नाटकका दृश्यहरू (फेबुबाट)

धेरै पढिएकाे

पृष्ठ संग्रह